‘विदेश आएपछि झन् धेरै देश र परिवारको माया लाग्ने रहेछ । मेरो शरीर क्यानडा छ । मन र दिमाग घर परिवारको सम्झना हुन्छ’
काठमाडौँ — पोखराकी प्रशंसा तामाङले क्यानडाको लंन्गेरा कलेजबाट हालै स्नातकोत्तर डिग्री पूरा गरिन् । उनी पोखरामै बीबीए सकेपछि क्यानडा पुगेकी थिइन् । कहिले घरपरिवार नछोडेकी प्रशंसालाई प्रवासमा एक्लै बस्नुपर्दा सुरुवाती दिनमा घरकै यादले सताइरहन्थ्यो । झन् त्यसमाथि भाषा, काम र पढाइको दबाबले एकैचोटी थिच्थ्यो ।
‘सुरुका दिनमा अन्जान सहरमा चिनेको कोही छैन । नयाँ ठाँउहरु, भाषाको धेरै नै समस्या भयो । पढाइ र कामको प्रेसरले एमदमै लोड पर्दोरहेछ । अहिले पनि कहिलेकाहीँ मन भारी हुन्छ । यो बानी पार्न निकै समय लाग्यो,’ उनले भनिन्, ‘विदेश आएपछि झन् धेरै देश र परिवारको माया लाग्ने रहेछ । मेरो शरीर क्यानडा छ । मन र दिमाग घर परिवारको सम्झना हुन्छ ।’
उनी सेल्स एसोसिएट र क्यासियरको काममा सरिक छिन् । ‘यो आम्दानीले खर्च मात्रै चल्छ । बचत हुँदैन,’ उनले भनिन्, ‘म यहाँ बस्न होइन, अनुभव बटुल्न आएको हुँ । मलाई नेपालमै फर्केर आफ्नै उद्यम गर्ने मन छ ।’ उनलाई लाग्छ, आत्मसन्तुष्टि सधैं सम्पत्तिमा होइन । सम्बन्धमा हुन्छ । ‘नेपालमा सामान्य कपडामा सजिएर साझा यातायात चढेर साथीभाइ परिवारसँग घुम्न जाँदा जति खुशी मिल्थ्यो । त्यो खुसी क्यानडामा आफैंले गाडी लिएर हाँक्दा पनि नआउँदोरहेछ,’ प्रशंसाले भनिन्, ‘घरीघरी घर र साथीहरुको याद आइरहन्छ । यस्तो बेला पुराना फोटाहरु हेरेर मन बुझाउँछु । देशभक्ति गीतहरु सुन्छु ।’
नितेशजंग कुँवरको गीत ‘हाम्रो नेपालमा’ विदेशिने युवाहरूका लागि एन्थमझैं बनेको त्यसै होइन । उनीहरूको तन विदेशमा भए पनि मन कतै नेपालमा अड्किएको कथा नै नितेशको गीत हो । नवलपरासीका दीपक अधिकारीले अस्ट्रेलिया पुग्दा घरको यादले धेरै समय रोएर नै बिताएको बताउँछन् । ‘घर कहिल्यै छोडेको थिइनँ । एक्कैचोटी नयाँ सहर, नयाँ मान्छे नयाँ संस्कृति, नयाँ रितिरिवाजले गाह्रो बनाउँदोरहेछ,’ उनले भने ।
तीन वर्षअघि अस्ट्रेलिया पुगेका उनी ‘बिजनेस एडमिस्ट्रेसन’ मा स्नातकोत्तर गर्दैछन् । उनलाई बुबाले जसरी देश छोड्ने मन पटक्कै थिएन । २५ वर्षको उमेरमा बुबासँग तीनपटक मात्रै भेटेको सम्झना छ दिपकसँग । ‘बुबाले कुवेतमा गरेको दुःख महसुस भएपछि पढ्न अस्ट्रेलिया आएँ । देशभक्तिले मात्रै परिवार नचल्दोरहेछ,’ उनले भने, ‘ऋणको भारी बोकेर आएको थिए । सुखदु:ख अस्ट्रेलियामा संघर्ष गर्दैछु ।’
उनले कुवेतमा कार्यरत बुबालाई घर फर्काएको बताए । ‘बुबालाई घरमा थकाइ मार्नु भनेर भनिसकेको छु । बुबाले हाम्रा लागि धेरै समय बाहिर बस्नुभयो,’ उनले भने, ‘बुबाले विदेशमा बस्दा कस्तो दुःख गर्नुभएछ भन्ने म अनुभव गर्दैछु ।’ उनलाई पनि प्रशंसालाई जस्तै स्वदेश फर्केर आफ्नै उद्यम हाँक्ने इच्छा छ । दिपक आफूले चाहेअनुरुप कमाएर फर्केपछि आफ्नै मातृभूमिको काखमा लुटपुटिएर बस्न चाहान्छन् । पोखराकै दिनेश चापागाईंले अमेरिकामा कतै आफ्नोपन भेटेका छैनन् । ‘अमेरिकाको नियम कानूनको कार्यान्वयन हुन्छ । सबैले हरेक कामको सम्मान गर्छन् । हरेक कुरामा कृतज्ञता व्यक्त गर्छन् । यी पाटो राम्रो लाग्छ,’ उनले भने, ‘तर, यहाँ नेपालमा जस्तो आफ्नोपन हुँदैन रहेछ । यो त सम्झिने मात्रै रहेछ । ऋण खोजेर सपनाका चाङ पूरा गर्न अमेरिका आइपुग्यो । यहाँ गर्ने संघर्षको कथा अर्को रहेछ ।’ उनी अमेरिकाको सिभिल इन्जिनियरिङ/पर्यावरण र जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तरको तेस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
‘देशमै केही गर्छु भन्ने बलियो आत्मविश्वास थियो । काम अनुरुपको दाम नै भएन । अमेरिकाको बाटो खोज्नुपर्यो,’ दिनेशले भने, ‘अहिले कलेजले दिएको कामले खान बस्नलाई ठिक्क हुन्छ । कलेज फिका लागि पैसा पठाइदिनु भन्न गाह्रो हुन्छ । अरु दुःख गरेर जुटाइरहेको छु ।’ अमेरिका पुगेपछि उनलाई आफ्नो देशबारे थप अध्ययन गर्न मन लागेको छ । ‘अहिले मलाई नेपालको राजनीतिमा चासो बढेको छ । नियमित समाचार पढ्ने गर्छु । नेपालमा के भइरहेको छ भनेर अपडेट लिन्छु । नेपाली गीतसंगीत सुन्छु,’ उनले भने, ‘नेपालको शिक्षा, स्वास्थ्य र रोजगारीमा विकास भएमा कोही पनि विदेश जानु बाध्य हुँदैनथे होला जस्तो लाग्न थालेको छ ।’ दिनेश भने आफ्ना इच्छा,चाहना अमेरिकामै पूरा गर्न चाहन्छन् । नेपाल फर्केर केही गर्ने मनसाय भने अहिलेलाई नबनाएको उनी बताउँछन् ।
अमेरिकामै नर्सिङ पढिरहेकी काठमाडौंकी शिक्षा बस्नेतसँग विदेशमा नेपालीबाटै हेपाइ खानुपरेको अनुभव छ । ‘नेपालीले नेपालीलाई माया गर्नु र साथ दिनको साट्टो हेप्ने गर्छन् । थोरै पैसामा धेरै काम गराउने प्रवृत्ति छ । काम गरेपछि पैसा दिन नपरोस्जस्तो गर्छन्,’ उनले भनिन् । उनी ३ वर्षअघि साइकोलोजी पढ्न अमेरिका पुगेकी थिइन् । अहिले नर्सिङ पढिरहेकी छिन् । ‘मैले भविष्य राम्रो बनाउन पैसा, समय, आफ्नो उमेर सबै लगानी गरेको छु । नेपालमै केही गर्ने सपना बेचेर नयाँ सपना बोकेर अमेरिका आएको छु,’ शिक्षाको अठोट छ, ‘सपना पूरा नगरी कतै मोडिने कल्पना पनि गरेकी छैन ।’ उनलाई पनि हरेक दिन परिवारको यादले भने सताउने बताउँछिन् । शिक्षा पनि दिनेश जसरी नै अमेरिकामा आफूले टन्न पैसा कमाएर आफ्नो इच्छा अनुरुपको जिन्दगी परदेशमै बाँच्न चाहन्छिन् ।
पढाइसँगै श्रम गर्न आफ्नो देश छोडेर अलग अलग देश पुगेका युवाहरुका आआफ्नै अनुभव र संर्घषका कथाहरु छन् । ४ वर्ष अगाडि जापान पढ्न पुगेकी अर्घाखाँचीकी बन्दना अधिकारीलाई विदेशको जिन्दगी रोबोटजस्तै लाग्छ । ‘पढेर फर्कदा तँ आमाले जसरी भोकाइस् छोरी भनेर सोध्ने कोही हुँदैन । कमाउन सक्ने भए । परिवार साथमा नहुँदा एक्लोपन महसुस हुन्छ,’ उनले भनिन्, ‘नेपालमा हुँदा कतै घुम्न जाने बेला पैसा नदिँदा आमाबुबाको अगाडि आँसु झार्थें । अहिले आफैंले पैसा कमाएको छु । आमाबुबासँगै नहुँदा आमाबुबाले आँसु नदेखुन् भनेर यादमा एक्लै रुन्छु ।’ नेपालको जस्तो खुसी र आफ्नोपन भने परदेशमा नहुने उनले बताइन् । बन्दना पनि पैसा कमाएर नेपालमै फर्किएर उद्योग, व्यवसाय गर्न चाहन्छिन् ।
पढ्ने विद्यार्थीलाई सुरु सुरुमा खर्च जुटाउन नै धौधौ पर्छ । कलेजले दिएको कामबाट आउने शुल्कले उनीहरुलाई पुग्दैन । एक वर्षदेखि बेलायतमा पढिरहेकी सीमा खड्काले बेलायतको महँगीमा जीवन चलाउन सुरुका दिनहरुमा निकै कठिन भएको बताइन् । ‘कलेजले दिएको कामले सुरुवाती दिनमा कलेजको शुल्क, अपार्टमेन्ट र अन्य खर्च जुटाउन निकै गाह्रो भयो । विदेश आउन पनि महँगो लगानी लागेको छ । गाह्रो भयो भनेर घर फर्किने कुरा भएन,’ उनले भनिन्, ‘दुःख भएपनि आफ्नो सपना, इच्छा, आकांक्षा बेलायतमै पूरा गर्ने सोच छ ।’ सीमालाई आफ्नो आमाबुबालाई एकपल्ट बेलायत घुमाउने चाहाना छ । उनको पनि नेपाल फर्कने सोच भने अहिलेलाई नभएको बताइन् ।
सबै विद्यार्थीले जानेबित्तिकै पढाइसँग भाषाको अभावमा तुरुन्तै काम पाइहाल्छ भन्ने हुँदैन । दक्षिण कोरिया पुगेका मोरङका सुशान्त निरौला कामको खोजीमा भौंतारिइरहेका छन् । उनी ५ महिना अगाडि कोरिया पुगेका थिए । कोरियाको पढाइ बढीजसो प्रयोगात्मक हुन्छ । ‘भाषा राम्रो नहुँदा काम नपाएर दिन काट्न गाह्रो छ । ऋण लिएर पढ्न आए । आउनेबित्तिकै काम गरिहाल्छु भन्ने सोचमा थिए,’ उनले भने, ‘नेपालबाट ल्याएको पैसा पनि सक्किन लाग्यो । कहिले काम पाउँछु केही थाहा छैन । घरको जिम्मेवारीले गर्दा पढ्छु केही गर्छु भनेर आएको थिएँ । भाषाको कारणले काम नपाएर निकै नै गाह्रो भएको छ ।’
सुशान्तले कोरिया पुग्नेबित्तिकै काम गरेर टन्न पैसा कमाएर आफ्ना सपना पूरा गर्ने सोचेका थिए । सपना आफ्नो मानसपटलमा नभरेका भने होइनन् । तर कोरिया पुगेपछि आफूले सोचेअनुरुप नभएको उनको गुनासो छ । ‘कोरिया आउनेबित्तिकै मैले सोचेका सपना पूरा गर्ने सोचमा थिए । तर चाहेअनुरुप केही हुँदो रहेनछ । सपनाका चाङहरु मनमा थुपारेर जागिर पाउने आशामा कोठामा बसिरहेको छु,’ उनले भने । उनी पढाइ र भिसा सकिएपछि कमाउन कोरियाबाट अर्को देश जाने योजनामा छन् तर आफ्नो देशमा फर्केर केही गर्ने योजना भने उनले बनाएका छैनन् । ‘नेपालको राजनीतिले हामीलाई तानेको छैन । देशको माया र घरपरिवारको मायाले मात्रै संसार नचल्दोरहेछ,’ उनले भने ।
आर्थिक वर्ष २०७१/२०७२ देखि २०८१/२०८२ को फागुनसम्म वैदेशिक अध्ययनका लागि ७ लाख २१ हजार ३ सय ३२ विद्यार्थीले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति लिएका थिए । शिक्षा विज्ञान तथा प्रविधि मत्रालयले सार्वजनिक गरेको वैदेशिक अध्ययन अनुमतिपत्र विवरण अनुसार नेपालमा हरेक वर्ष सो तथ्यांक बढ्दो छ । विवरण अनुसार आर्थिक वर्ष २०७१/२०७२ मा ३० हजार ७ सय ९७, २०७२/२०७३ मा ३७ हजार १ सय ४८, २०७३/२०७४ मा ५० हजार ७ सय ९६, २०७४/२०७५ मा ५८ हजार ७ सय ५८, २०७५/२०७६ मा ६३ हजार ४ सय १७, २०७६/२०७७ मा ३३ हजार १ सय ९६, २०७७/२०७८ २८ हजार ८ सय ८३, आर्थिक वर्ष २०७८/२०७९ १ लाख २ हजार ५ सय ४,२०७९/२०८० १ लाख १० हजार २ सय १७, आर्थिक वर्ष २०८०/२०८१ मा १ लाख १२ हजार ९ सय ६८ र २०८१ २०८२ मा ९२ हजार ६ सय ४८ विद्यार्थीले वैदेशिक अध्ययनको अनुमतिपत्र लिएका थिए ।
श्रमविज्ञ चिरञ्जिवी बरालका अनुसार नेपालको सैद्धान्तिक शिक्षा प्रणाली र पढाइ अनुरुपको रोजगार देशमा नभएको कारण विद्यार्थीहरु विदेशिन बाध्य भएको बताउँछन् । उनी भन्छन्,‘नेपालमा पढ्दै जागिर खाँदै गर्न निकै नै गाहृो छ । काम अनुसारको कमाइ गर्न पनि उस्तै कठीन छ । यहाँको शिक्षा प्रणाली प्रयोगात्मकभन्दा बढी सैद्धान्तिक छ । जसले उनीहरु पढ्नलाई पढे तर आफ्नो जीवनमा लागु नभएपछि राम्रो अवसर खोजीका लागि विदेशिन बाध्य भएका हुन् ।’
नेपालमा नै केही गर्छु भनेर बसेकाको पनि साथीहरु सबै विदेश गएपछि र परिवार, समाजले नेपालमा बस्न प्रोत्साहनभन्दा पनि नेपालमा बस्नेलाई कमजोर तुल्याउँदा र अहिलेका विद्यार्थीहरुका इच्छा,चाहना पनि ठूला भएका कारणले हरेक दिन विदेशिनेको संख्या बढ्दो क्रममा रहेको उनले बताए ।
