लुम्बिनीमा सुनदेखि नुन, पेट्रोलदेखि चुनढुंगाका २३ खानी पहिचान

उत्खनन्‌को अधिकार संघमा, प्रदेशमा अध्ययनमात्र

जेष्ठ २८, २०८२

घनश्याम गौतम

23 gold to salt, petrol to limestone mines identified in Lumbini

बुटवल — लुम्बिनी प्रदेशमा खनिज पदार्थको पर्याप्त सम्भावना भए पनि सरकारले त्यसको उत्खनन् र पहिचानमा चासो दिएको छैन । खानीजन्य पदार्थको उत्खनन्को अधिकार संघीय सरकारले आफैं राखेको छ । संघीयताले अधिकार पनि नदिएको र प्रदेशले पनि छुट्टै कानुन निर्माण नगरेपछि प्रदेशमा पहिचान भएर पनि उत्खनन् अभावमा बहुमूल्य खानीहरू जंगल र झाडीका रूपमा अलपत्र परेका छन् ।

लुम्बिनी प्रदेशका पहाडी जिल्लामा सुनदेखि नुन र पेट्रोल, फलामदेखि चुनढुंगा तथा स्लेट खानी छन् । प्रदेश सरकारको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले २०७७ सालमा गरेको अध्ययनअनुसार लुम्बिनी प्रदेशका ९ जिल्लामा ९ प्रकारका धातुजन्य, ११ प्रकारका अधातुजन्य र ३ प्रकारका निर्माणजन्य खनिजको पहिचान गरेको थियो । निर्देशनालयअनुसार प्रदेशको उच्च पहाडी जिल्ला रोल्पामा सुन खानी छ । खानी तथा भूगर्भ विभागको तथ्यांकअनुसार रोल्पाको सुनछहरी गाउँपालिकाको बार्गो भन्ने स्थानमा सुन पाइन्छ । सुनछहरीमै बहुमूल्य मानिने पोलिमेटल धातु पनि रहेको पत्ता लागेको छ । रोल्पामा सुन र धातु दुवैका लागि लाइसेन्स वितरण भए पनि त्यसको उत्खनन् हुन सकेको छैन ।

त्यस्तै, लुम्बिनी र गण्डकी प्रदेश हुँदै बग्ने कालीगण्डकी किनारमा पनि सुन भेटिन्छ । गुल्मीको कालिगण्डकी गाउँपालिकाको पूर्तिघाटदेखि बागलुङ खण्डको गण्डकी किनारमा बर्सेनि फागुनदेखि वैशाखसम्म सुन खोज्नेको भीड लाग्छ । तर, रोल्पा, रुकुम र गुल्मीका कुनै पनि स्थानीय सरकारले अहिलेसम्म त्यस्ता खानीको पहिचान र अध्ययन गरेका छैनन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा संघीय सरकारले नै सुन खानीको अध्ययन गर्ने गरी तयारी गरेको थियो । तर, संघीय कानुनकै कारण स्थानीय सरकारले खानीहरूको अध्ययनसम्म गर्न नसकेको गाउँपालिका पूर्वअध्यक्ष आशबहादुर पुन मगरले बताए । ‘हामीले गर्न खोज्दा खानीहरू संघीय सरकार मातहत भन्ने जानकारी आयो,’ उनले भने, ‘त्यसपछि न संघीयले गरेको छ, न स्थानीय सरकारले केही गर्न सकेको छ ।’ स्थानीय सरकारले सहजीकरण र समन्वय मात्र गर्ने भन्ने भएपछि सुनको धेरै सम्भावना देखिएका स्थानमा कुनै काम हुन नसकेको उनले बताए । खोजी र अध्ययन गरेमा रोल्पाका आधा दर्जन बढी स्थानमा सुन खानी भेटिने उनको दाबी छ ।

23 gold to salt, petrol to limestone mines identified in Lumbiniदाङको घोराहीमा रहेको कोइलाखानी । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

दाङमा पनि पेट्रोल, नुन, फलाम, कोइला, चुनढुंगा, डोलोमाइट, रातो माटो उत्खनन् गर्न ३५ स्थानका लागि लाइसेन्स वितरण भएको खानी तथा भूगर्भ विभागको तथ्यांकमा उल्लेख छ । दाङमा सबैभन्दा धेरै खानी बंगलाचुली गाउँपालिकामा मात्र १७ वटा छन् । घोराही र तुलसीपुर उपमहानगरपालिका तथा शान्तिनगर र बबई गाउँपालिकामा पनि खानी छन् । तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीमा पेट्रोल खानी रहेको छ । दाङ रिहार क्षेत्रमा नुनको खानी रहेको अनुमान छ । त्यसको अहिलेसम्म पनि उत्खनन् हुन सकेको छैन । ‘यस क्षेत्रमा पुरै नुन छ भन्ने सुनेका छौँ,’ स्थानीय सतिशलाल थारुले भने, ‘तर, अहिलेसम्म उत्खनन्‌का लागि कसैको ध्यान पुगेन ।’

प्यूठान, अर्घाखाँचीमा चुनढुंगा खानी छन् । बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिलिका सेन्ड नामक खनिज पदार्थ रहेको भए पनि अहिलेसम्म उत्खनन् हुन सकेको छैन । रुकुम पूर्वको भुमे गाउँपालिकाको सेरावाङ, मोराबाङ र झुम्लाबाङमा रहेको तामाखानी अलपत्र छ । झुम्लाबाङमा सिसा खानी पनि छ । भुमे गाउँपालिका–५ सेरावाङका चक्रबहादुर बुढाले सेरावाङमा रहेको तामाखानी २०२८ सालदेखि २०५२ सालसम्म भारतीय टाटा कम्पनीले उत्खनन् गरेको बताए । ‘माओवादी द्वन्द्व चर्किएपछि बन्द भएको हो,’ उनले भने, ‘त्यसपछि अहिलेसम्म पनि कसैले वास्ता गरेन । स्थानीय सरकारले पनि चासो दिएन । खानी सबै पहिरोले बगाएर लग्यो ।’ २०६६ सालमा चिनियाँ टोली आएर अध्ययन गरेको तर उत्खनन्को पहल कसैले नगरेको उनले बताए ।

23 gold to salt, petrol to limestone mines identified in Lumbiniगुल्मीका अधिकांश स्थानमा खानीकै नामबाट गाउँका नाम राखिएका छन् । कालीगण्डकी गाउँपालिकाका जयखानी, फोक्सिङलगायत स्थानमा २०४० सालसम्म खानीबाट तामा निकाल्ने काम हुन्थ्यो । तर, त्यसपछि रोकिएका खानी अहिलेसम्म पनि अलपत्र छन् ।

पाल्पामा तामा, फलाम, कोइला, चुनढुंगा, डोलोमाइट, क्रिस्टल जस्तै चम्किलो ढुंगा तथा खनिज पदार्थ छ । पाल्पाको माथागढी, पूर्वखोला, तिनाउ, त्रिवेणी, निस्दी र रैनादेवी गाउँपालिकामा धेरै खानी छन् । तिनाउ र रिब्दीकोटमा फलाम खानी छ । तिनाउमा रहेको १ दशमलव ५ सय वर्गकिलोमिटर क्षेत्रफलमा रहेको फलाम खानीको उत्खनन् गरिएको भए पनि अहिले अलपत्र छ । रिब्दीकोटमा भने उत्खनन् भएको छैन ।

लुम्बिनी प्रदेशका विभिन्न स्थानमा औषधि बनाउनेदेखि जहाजको इन्जिन, रकेट र वैज्ञानिक उपकरणका फिलामेन्ट बनाउन प्रयोग हुने धातुजन्य खनिज पाइन्छन् । अर्घाखाँची र गुल्मीको सिमानामा रहेको समरभमर क्षेत्र र रोल्पाको लुङ्ग्रीमा मोलिब्डेनम धातु पाइन्छ । अति धेरै ताप र चाप सहन सक्ने यो धातु जहाजको इन्जिन, रकेट र वैज्ञानिक उपकरणका फिलामेन्टहरूमा प्रयोग गरिन्छ । यो पनि बहुमूल्य धातु हो । तर, यसको पनि अहिलेसम्म कतै अध्ययन भएको देखिँदैन । रोल्पाकै धेरै स्थानमा पाइने आर्सेनिक धातुको पनि खोजी भएको छैन । यो धातु कीटनाशक औषधि, छाला संरक्षक रसायन, औषधि र सञ्चार उपकरणमा प्रयोग हुन्छ ।

त्यस्तै, रुकुम, गुल्मी, नवलपरासी, अर्घाखाँची, रोल्पा र दाङका केही स्थानमा तामाखानी छन् । तीन दशकअघिसम्म प्रयोगमा रहेका धेरै तामाखानी अहिले पनि अलपत्र अवस्थामा छन् । गुल्मीको कालीगण्डकी, रेसुंगा र मुसिकोट नगरपालिकामा मात्र १० ठाउँमा तामाखानी छ । २०४० सालसम्म सञ्चालन र उत्खनन् भइरहेका खानी अहिले भने जंगल र झाडीमा परिणत भएका छन् । त्यस्ता खानीमा पनि स्थानीय सरकारले चासो देखाएका छैनन् । गुल्मी र अर्घाखाँचीमै इनामेल बनाउन प्रयोग हुने कोबाल्ट, ब्याट्री र एक्स–रे मेसिनमा प्रयोग हुने लिड, जिंक धातु पनि पाइन्छ ।

दाङमा पेट्रोलियम पदार्थदेखि नुनसम्मको सम्भावना देखिए पनि अधिकारकै कारण अहिलेसम्म खोजबिन हुन नसकेको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए । खानीहरू स्थानीय तहमा छन्, तर त्यसको अध्ययन, अनुसन्धान र उत्खनन्को अधिकार संघ मातहत छ । ‘हामीकहाँ पेट्रोल, नुन, चुनलगायत उत्खनन् गर्न सक्ने सम्भावना भएका धेरै खानी छन्,’ उनले भने, ‘तर, त्यसको पहिचान र उत्खनन् गर्ने अधिकार संघमै छ, त्यसले पनि खोजबिन र उत्खनन्को काममा समस्या देखिन्छ ।’ स्वदेशमै खानी रहेर पनि उत्पादन र प्रशोधन अभावले धेरै त्यस्ता खनिज पदार्थ अहिले भारतबाटै आउने गरेको उनले बताए ।

23 gold to salt, petrol to limestone mines identified in Lumbiniतानसेन नगरपालिका–८, छापगाउँमा रहेको फलाम खानी । तस्बिर : माधव अर्याल/कान्तिपुर

धातुसँगै अधातुजन्य खनिजको पनि लुम्बिनी प्रदेशमा धेरै सम्भावना छ । चुनढुंगादेखि कृषि र रासायनिक मल उत्पादनमा प्रयोग हुने अधातुजन्य खनिज प्रदेशमा छन् । कृषिमल र रासायनिक उद्योगमा प्रयोग हुने म्याग्नेसाइट पनि लुम्बिनीमा उपलब्ध छ । रासायनिक मल उत्पादनमै प्रयोग हुने फोस्फोराइट, विद्युतीय उपकरणमा प्रयोग हुने अभ्रक, भाँडा, औषधि, कागज, सिमेन्ट बनाउने प्रयोग हुने क्ले, छालामा दल्ने एन्टिसेप्टिक पाउडर बनाउन र कीटनाशक औषधिमा प्रयोग हुने खरीढुंगा पनि प्रदेशका धेरै स्थानमा पाइन्छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आ.व. २०७७/०७८ मा झण्डै ६० लाख रुपैयाँ खर्च गरेर प्रदेशमा रहेका खानी र खानीजन्य पदार्थहरूको पहिचान गरेको थियो । तर, त्यसको थप विवरण अहिले मन्त्रालयमा नरहेको मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत सुशील सुवेदीले बताए । ‘खानीहरूको अध्ययन भएको त्यस्तो कुनै फाइल मन्त्रालयमा फेला परेको छैन,’ उनले भने, ‘तैपनि खानीसम्बन्धी अधिकार संघीय सरकारमै रहेकाले पनि हामीले केही गर्न सक्ने अवस्था छैन ।’ खानीसम्बन्धी अनुसन्धानदेखि त्यसको वातावरणीय प्रभाव मूल्यांकन गर्ने अधिकार पनि संघमै रहेको उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले २०७५ चैतमै खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी विधेयक पारित गरेको थियो । तर, त्यसको कार्यविधि र नियमावली बन्न नसक्दा ऐनले अहिले नदीजन्य पदार्थको मात्र नियमन गरिरहेको छ । लुम्बिनीको वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले लुम्बिनी प्रदेशमा रहेका खानीहरूको सूची तयार गरेर त्यसको अवस्था अध्ययन गरिने बताए । ‘लुम्बिनी प्रदेशमा देखिएका खानी र खनिजजन्य पदार्थको विषयमा अध्ययन गर्छौँ,’ उनले भने, ‘त्यसपछि मात्र त्यसको उत्खनन् र उपयोगिताको अध्ययन गरेर सूची तयार गरी काम गर्न सकिन्छ ।’ त्यही सूचीका आधारमा संघीय सरकारसँग पनि समन्वय गरेर उत्खनन् र अन्वेषणका काम गर्न सकिने उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully