जगदीशपुर ताल : चराको बासस्थानमा ‘मोटरबोट’को धावा

जगदीशपुर तालमा गैरकानुनी मोटरबोट सञ्चालन हुँदा चराको बासस्थानमा असर परेको छ । यो विषयबारे जानकारी हुँदा पनि डिभिजन वन कार्यालय मूकदर्शक मात्रै छ ।

जेष्ठ ७, २०८२

मनोज पौडेल

Jagdishpur Lake: 'Motorboat' attack on bird habitat

कपिलवस्तु — पन्छी आरक्ष जगदीशपुर तालमा गैरकानुनी रूपमा मोटरबोट सञ्चालन हुँदा पनि त्यसलाई रोक्न नियामक निकाय डिभिजन वन कार्यालयले बेवास्ता गरेको छ । गत वैशाख ५ गतेबाट मोटरबोट सञ्चालन भएको जानकारी हुँदाहुँदै पनि डिभिजन वन कार्यालयले बन्द गराउन पहल गरेको छैन ।

तालमा माछा ठेक्काका लागि टेन्डर आह्वान गर्दै सूचना प्रकाशित गर्दा तत्काल रोक्न पत्राचार गर्ने डिभिजन वन कार्यालयले गैरकानुनी मोटरबोट रोक्न भने सकेको छैन । डिभिजन वन कार्यालयको मौनताले गैरकानुनी काम गर्ने झन् उत्साहित बनेका छन् । 

मुलुकको दोस्रो पन्छी आरक्ष तालमा अत्याधुनिक १० सिटे (चालकसहित) मोटरबोट एक महिनादेखि सञ्चालन हुँदा चराको बासस्थान बिथोलिएको छ ।  यसले जलचर, स्तानधारी र सरिसृपलाई समस्या परेको छ भने उनीहरूको बासस्थान टुक्रिएको छ ।

विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले ठेक्का लगाएर मोटरबोट चलाइरहेकोछ । जैविक विविधता, सीमसार र चराका कारण विश्व सीमसार क्षेत्रमा सूचीकृत भएको ठाउँमा उनीहरूलाई असर पर्ने गतिविधि गर्न नपाउने प्रावधान हुँदाहुँदै मञ्चले जबर्जस्ती ठेक्का लगाएको हो । मञ्चले ठेक्का लगाएपछि वैशाख ५ गतेबाट तालमा मोटरबोट सञ्चालन गरिएको छ । यसअघि पनि ०८० कार्तिक २८ गतेदेखि ताल मोटरबोट चलाउन ठेक्का लगाइएको थियो । तर, साता १० दिनपछि नै डिभिजन वन कार्यालय कपिलवस्तुले मोटरबोट चलाउन रोक लगाएको थियो । 

Jagdishpur Lake: 'Motorboat' attack on bird habitatयसपटक पनि गैरकानुनी मोटरबोट सञ्चालन भएको जानकारी नियामक निकाय डिभिजन वन कार्यालयका वन अधिकृत ईश्वरीप्रसाद पौडेललाई समयमै गराइएको थियो । तर, उनले लिखित रूपमा बन्द गराउन पत्राचार गरेकै छैनन् । ‘मौखिक रूपमा निर्देशन गरेको थिएँ’, उनले भने,‘के भएको रहेछ बुझ्छु ।’

उनको निर्देशन जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले बेवास्ता गरेको छ । अहिले तालभरि नै ५०/६० किमीको गतिमा मोटरबोट कुदाइएको छ । जबकि ५ वटा पेडल डुंगा चलाउन पश्चिमी किनारको केही भाग छुट्याइएको थियो ।

मञ्चले एक वर्ष (वैशाख–चैत)का लागि ८ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिएको छ । ठेक्का मायादेवी गाउँपालिकाका विनोद पालले लिएका छन् । कानुनी रूपमा उनको नाम भए पनि मञ्चकै ३/४ जनाको ठेक्कामा सेयर छ । तालभरि तीव्र गतिमा घुमाइघुमाइ मोटरबोट चलाउँदा चरा डराएर त्रसित भई भाग्ने गरेका छन् । मोटरबोट चलाउँदा समुन्द्रमा जस्तै छाल उठ्ने हुँदा सबै आनन्दित भएर कराउने हल्ला गर्ने गर्दा चरालाई असर गरिरहेको चराविद् कृष्णप्रसाद भुसालले बताए । मोटरबोट चल्दा त्यसबाट निस्कने धुँवा र आवाजले पनि चरा, वन्यजन्तु र जैविक विविधतालाई असर गरिरहेको उनले बताए । 

जिल्ला वन कार्यालयले बनाएको ५ वर्षे कार्ययोजनामा ५ वटा पेडल डुंगा चलाउने व्यवस्था गरिएको छ । मोटरबोट चलाउने कुनै प्रावधान छैन । मोटरबोट नचलाउन मौखिक निर्देशन दिएको सहायक वन अधिकृत सन्त थिङले बताए ।   

मञ्चले ०७६ सालदेखि यहाँ पेडल डुंगाको ठेक्का लगाउँदै आएको थियो । २०८० कात्तिकमा सर्लाहीबाट साढे १३ लाखमा मोटरबोट खरिद गरेर ल्याइएको थियो । त्यस्मा कपिलवस्तु नगरपालिकाले ५ लाख सहयोग गरेको छ । बाँकी साढे ८ लाख रकम गत र अघिल्लो वर्ष डुंगा चलाउन लगाइएका ठेक्काबाट आएको रकमबाट भुक्तानी गरिएको थियो । 

पाँचवटा पेडल डुंगासँगै एउटा मोटरबोट चलाउन यस वर्ष गरिएको ठेक्का प्रक्रिया पनि पारदर्शी छैन । अघिल्लो वर्ष १० लाख ५० हजारमा लागेको ठेक्का यस वर्ष ८ लाख ५५ हजारमा लागेको छ । दोस्रो पटकको सूचनामा ३ जनाले ८ लाख ५१ हजार, ८ लाख ५३ हजार र ८ लाख ५५ हजारको बोलकबोल गरेकामा पछिल्लोलाई दिइएको छ । मोटरबोटमा ४/५ मिनेट घुमाएर प्रतिव्यक्ति १ सय ५० रुपैयाँ  उठाइन्छ । 

पेडल डुंगा सञ्चालन गैरकानुनी र अपारदर्शी रहेको उजुरी २०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयमा परेको थियो । अख्तियारले छानबिन गरी डिभिजन वन कार्यालयलाई तत्काल डुंगा बन्द गर्न निर्देशन गरेको थियो । निर्देशनको तीन  वर्ष भइसक्दा पनि पेडल डुंगा बन्द हुन सकेको छैन । झन् मोटरबोट पो थपिएको छ । 

Jagdishpur Lake: 'Motorboat' attack on bird habitatतालबाट जैविक विविधता संरक्षण गर्दै कसरी गरिबी निवारण गर्न सकिन्छ भनेर महिलाहरूले गरेको उदाहरणीय कामका लागि सन् २०१४ मा इक्वेटर पुरस्कारसमेत पाइसकेको छ । संयुक्त राष्ट्र संघ वातावरणीय कोषले संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा उक्त पुरस्कार दिएको थियो । उक्त पुरस्कारको स्पोन्सर ब्राज्रिलकी चर्चित सुपरमोडल गिसेल वन्डचेनले गरेकी थिइन् ।

कुनै बेला चराको स्वर्ग मानिने जगदीशपुरमा अहिले पाहुना चराको अवस्था देख्दा कहालीलाग्दो रहेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘विकासको नाममा जगदीशपुर विनासतिर लाग्यो,’ उनले भने, ‘अब यहाँको जैविक विविधता र चरा आकर्षण फर्काउन सकिँदैन ।’ मोटरबोट सञ्चालनपछि रामसार साइटबाट हटने खतरा बढेको उनले बताए । ५/६ वर्षअघिसम्म नेपालमा सबैभन्दा बढी पानी चरालाई आश्रय दिँदै आएको तालमा ४ वर्षदेखि पानीको चराको संख्या घट्दै आएको उनले बताए । 

२०१९/२० तिर २०–२२ हजार पानी चरालाई आश्रयस्थल दिँदै आएको ठाउँमा गत वर्ष ८ हजारमात्र पानी चरा गणना गरिएको थियो । मोटरबोट सञ्चालनपछि तालमा मानवीय चहलपहल बढेको छ । यात्रुले मोटरबोटमार्फत चरालाई जिस्क्याउने, खेदाउने गर्दा त्रसित बनेका छन् । तीव्र गतिमा मोटरबोट पुग्दा ठाउँ छोडेर भाग्ने गरेका छन् । लुम्बिनी प्रदेश वन सचिव प्रमोद भट्टराईले के भएको छ भन्ने बुझेर गलत काम रोक्न डिभिजन वन कार्यालयलाई निर्देशन दिने बताए । 

बिनानिर्णय सञ्चालन

मोटरबोट सञ्चालन गर्न दिने विषयमा कहीँ कतैबाट निर्णय छैन । जगदीशपुर बर्ड सेन्चुरी घोषणा गर्दा बनाइएको ५ वर्षे एकीकृत  व्यवस्थापन योजनामा पनि मोटरबोट सञ्चालन गर्न नपाउने उल्लेख छ । डिभिजन वन कार्यालय मातहत रहेको जगदीशपुर बर्ड सेन्चुरी व्यवस्थापन समितिलाई कुनै जानकारी छैन । डिभिजन वन कार्यालयलाई पनि सूचना दिइएको छैन । 

मोटरबोट सञ्चालन गर्न स्थानीयले माग गरेपछि ठेक्का लगाइएको जगदीशपुर ताल जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका उपाध्यक्ष रामसवारे यादवले बताए । चरा नबस्ने क्षेत्र निर्धारण गरेर मोटरबोट चलाएएको दाबी गरे । ‘रामसार क्षेत्रमा सूचीकृत ठाउँमा मोटरबोट चलाउन हुन्न,’ चराविद् हठन चौधरीले भने, ‘अब जगदीशपुरको ब्युटी हराउँछ । विदेशी पर्यटकको राम्रो गन्तव्य बनेको थियो ।’ 

पटक-पटक अतिक्रमणको प्रयास

यसअघि पनि सौन्दर्यकरण गर्ने भनेर तालको प्राकृतिक आकर्षण संकटमा पार्दै लागिएको थियो । जलाशय व्यवस्थापन बहुसरोकार मञ्चले बीच भागमा अग्लो बुद्धको मूर्ति राख्न थालेको थियो । मूर्तिका लागि तालको मध्यभागमा ७० फिट गोलाइ र १५ फिट उचाइको माटोको ढिस्को एक दशक अघि बनाइएको थियो । व्यापक विरोध भएपछि उक्त योजना तुहिएको थियो ।  

रामसार क्षेत्रमा प्रभाव मूल्यांकन नगरी कुनै काम गर्न नपाइने लुम्बिनी प्रदेश वन निर्देशनालय प्रमुख यज्ञमूर्ति खनालले बताए । तालमा मानवीय अतिक्रमण बढ्दा चरा र पानीमा पाउने स्तनधारी जन्तुलाई असर पुग्छ । जुन रामसार सन्धिविपरीत रहेको उनले बताए । ‘ठूलो ताल हुँदा जता पनि रमाउन पाउँछन्,’ कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले भने, ‘सुरक्षित पनि उत्तिकै महसुस गर्छन् ।’ 

रामसार क्षेत्रमा सूचिकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल १५७ हेक्टरमा फैलिएको छ । सिँचाइ प्रयोजनका लागि निर्माण गरिएको ताल अहिले चरा अवलोकलन गर्ने मुलुककै उत्कृष्ट स्थल बनेको हो । बसाइँसराइ आउने पाहुना चरा, विभिन्न प्रजातिका माछा, उभयचर, आसपास पाइने वन्यजन्तु, वनस्पति यहाँका मुख्य जैविक विविधता हुन् ।

आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । विश्वमै दुर्लभ जन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि पाइन्छन् यहाँ । 

लुम्बिनी प्रदेश वन ऐन-२०७८ को परिच्छेद् ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पंक्षी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार तीन वर्षअघि चरा आरक्ष घोषणा गरिएको हो । 

ताल महत्त्वपूर्ण सीमसार क्षेत्र बन्न पुग्दा सन् २००३ मा नेपाल सरकारको पहलमा रामसार सचिवालयले यसलाई अन्तर्राष्ट्रिय महत्त्वको विश्व सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो । तालमा नेपालमा एकैठाउँमा उभिएर सबैभन्दा बढी चरा देख्न सकिन्छ । हिउँदमा बसाइँ सरेर नेपाल आउने सबैभन्दा धेरै चरालाई आश्रय दिँदै आएको छ । रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा यहाँ आउने गर्छन्  ।

मध्य एसियाका तुर्केमेनिस्तान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । तालमा हाँस प्रजातिका खडखडे, सिलसिले, कालीजुरे र मालक आउने गर्छन् । त्यस्तै सुइरोपुच्छ्रे, बिजुलागैरी, बेल्चाठुडे, सिन्दुरे, कैलो टाउके र हरि हाँसले पनि यहाँ उत्तिकै देखिन्छन् । रुख सुडसुडिया, चिमचिमे र जल रंक चरा पनि आउने गर्छन् । सदरमुकाम तौलिहवादेखि करिब ११ किमी उत्तर रहेको तालमा जुनसुकै मौसममा पनि जान सकिन्छ । कृत्रिम रूपमा बनाइएको नेपालको सबैभन्दा ठूलो ताल हो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully