सुदूरपश्चिममा सडक दुर्घटना : ७२ प्रतिशत मृतक मोटरसाइकलका

दुर्घटनाका मुख्य कारण- सडकको दुरवस्था, ट्राफिक नियम पालना नगर्नु, द्रुत गति, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु र सडक सचेतना नहुनु

जेष्ठ ३, २०८२

अर्जुन शाह

Road accidents in the Far West: 72 percent of the dead are motorcyclists

धनगढी — गत वैशाख १८ गते कैलालीको जानकी गाउँपालिका–३ स्थित वडा कार्यालयअगाडि दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा जानकी गाउँपालिकाकै १९ वर्षीय राकेश परियार र ४५ वर्षीय पुष्कर शाहीको मृत्यु भयो ।

गत पुस १२ गते कैलालीको धनगढीस्थित ६ लेन सडकमा दुई मोटरसाइकल ठोक्किँदा बाजुराको बडिमालिका नगरपालिका-७ घरभएका मार्तडी स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक ३० वर्षीय धर्मराज खत्रीको ज्यान गयो । 

गत माघ २९ कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिकाका २१ वर्षीय गणेश बिष्ट र २१ वर्षीय कैलाशसिंह साउँदको मृत्यु भएको थियो । 

सुदूरपश्चिममा तराई कैलाली कञ्चनपुर मात्र होइन, पहाडी जिल्लामा पनि सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या उल्लेख्य छ । गत कात्तिकमा डडेलधुरामा मोटरसाइकल दुर्घटनामा परी परशुराम नगरपालिका–४ का २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भयो । चैतमा अछामको मंगलसेन नगरपालिका–१ का २० वर्षीय जीवन थापाले पनि मोटरसाइकल दुर्घटनामै ज्यान गुमाए । 

पछिल्ला दुई वर्षमा ठूला सवारीसाधन दुर्घटनाको संख्या विगतका तुलनामा केही घटे पनि मोटरसाइकल दुर्घटनामा धेरैजसो युवाले अकालमा ज्यान गुमाइरहेको पाइएको छ । सडक दुर्घटनामा ज्यान गुमाउनेमा युवाको संख्या बढी भए पनि बालकदेखि वृद्धसम्म छन् । दुई दिनअघि कैलालीको पूर्व-पश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पसनजिकै भएको मोटरसाइकल दुर्घटनामा लम्कीचुहा नगरपालिका-२ का ६५ वर्षीय लक्षिराम रिमालको मृत्यु भयो । Road accidents in the Far West: 72 percent of the dead are motorcyclists

नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष ०८०/०८१ देखि ०८१/०८२ चैतसम्मको अवधिमा सुदूरपश्चिममा ८ सय ६६ सडक दुर्घटनामा २ सय ९३ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई सय ३८ पुरुष र ५५ जना महिला छन् । घाइते हुनेको संख्या १ हजार ४४८ जना रहेको कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार मृत्य भएकामध्ये करिब ७२ प्रतिशत मोटरसाइकल दुर्घटनाका घटनाको छ । 

०८० साउनदेखि ०८१ चैतसम्मको २१ महिना अवधिमा कुल दुर्घटनामा मोटरसाइकलको संख्या ७२ प्रतिशत र कुल मृतकमध्ये मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ प्रतिशत रहेको छ । यो अवधिमा मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाले ज्यान गुमाएका छन् । त्यसमा पनि अधिकांश युवा उमेर समूहका छन् । सार्वजनिक सवारीसाधन दुर्घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३ जना रहेको छ । घाइतेमध्ये आधा बढी मोटरसाइकल दुर्घटनाकै छन् । मोटरसाइकल दुर्घटनामा घाइते हुनेको संख्या कुल दुर्घटनाका घाइतेमध्ये ५६ प्रतिशत रहेको छ ।

कुल घाइते १ हजार ९१६ जना रहेकामा मोटरसाइकल दुर्घटनाबाट १ हजार ६१ भएको प्रहरीको तथ्यांक छ । दुर्घटनामा मृत्यु हुने उमेर समूहमा २५ वर्षमाथिको संख्या धेरै छ । ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार २५ वर्षमाथि उमेर समूहका २ सय ४ जनाको मृत्यु भएको छ । जसमध्ये १ सय ६८ पुरुष र ३६ महिला रहेका छन् । घाइते हुनेको संख्यामा पनि सोही उमेर समूहका बढी छन् । यो अवधिमा भएका सडक दुर्घटनामा २५ वर्षमाथिको उमेर समूहका ८ सय ३२ जना घाइते भएकोमा ६ सय ५१ पुरुष र १ सय ८१ महिला रहेको तथ्यांक छ । Road accidents in the Far West: 72 percent of the dead are motorcyclists

सडक दुर्घटनामा ज्यान गुमाउने दोस्रो नम्बरमा १६ देखि २५ वर्ष उमेर समूहका ६५ जनामध्ये ५५ पुरुष र १० महिला छन् । यो उमेर समूहमा ४ सय ६९ जना घाइते भएकोमा ३ सय ६९ पुरुष र १ सय महिला रहेको तथ्यांक छ । यस्तै, ६ देखि १६ वर्ष उमेर समूहमा मृत्यु हुनेको संख्या ११ जना छ । ती मध्ये ६ पुरुष र ५ महिला छन् । यो उमेर समूहका १ सय ४ जना घाइते मध्ये ६५ पुरुष र ३९ महिला छन् । सडक दुर्घटनामा यो अवधिमा १३ नाबालकको मृत्यु भएको छ । 

ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराका अनुसार सडकको दुरावस्था, ट्राफिक नियम पालना नगर्नु, द्रुत गति र मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनु, सडक सचेतना नहुनुलगायत सडक दुर्घटनाका मुख्य कारण हुन् । ‘अक्सर महिलाहरू स्कुटी चलाउँछन् । महिलाको तुलनामा युवाहरू अत्यधिक दुर्घटनामा परिरहेका छन्,’ डीएसपी जोराले भने । अभिलेखअनुसार मोटरसाइकल दुर्घटनामा ८४ जना चालकको मृत्यु भएकोमा महिला चालकको मृत्यु संख्या शून्य छ । अधिकांश दुर्घटना तराई क्षेत्रमा भएको प्रहरीको अभिलेख छ । 

अर्कोतिर ट्राफिक प्रहरीले कानुन उल्लंघनकर्ता सवारी चालकलाई कारबाहीको नाममा जरिवाना गराएर छाड्ने गरेको छ । जिपदेखि यात्रुवाहक र मालवाहक साधनलाई नियमविपरीत गर्दा ट्राफिक प्रहरीले जरिवाना गरेर छाड्ने गरेको छ । ‘रकम जरिवाना गराएर उक्त गाडीमा दुर्घटनाको जोखिम न्यूनीकरण हुने होइन नि,’ धनगढीका स्थानीय प्रेमबहादुर पाठकले भने, ‘मापदण्डविपरीत यातायातका साधन चल्नै दिनुहुन्न ।’  

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully