'विप्लव'को ‘ब्यालेट’ बाटो

मुख्य चुनावी मुद्दा 'आत्मनिर्भर आर्थिक क्रान्तिको बाटो' बताउने नेकपाले हिमाल, पहाड र तराईमा गरी १ सय २० बिघामा धान, दाल, तेलजन्य तथा फलफूल खेती सुरु गरेको जनाएको छ ।

जेष्ठ १, २०८२

गंगा बीसी

The 'Ballet' way of 'Biplav'

काठमाडौँ — माओवादीले दस वर्ष सशस्त्र युद्ध गरी ‘बुलेट’ बाट राज्यसत्ता कब्जा गर्ने नीति लिए पनि २०६३ मा ‘ब्यालेट’ अर्थात् चुनावको बाटो समात्यो । २०६४ ‘ब्यालेट’बाट पहिलो पार्टी बनेको माओवादीमा अर्को धारले ‘बुलेट’को बाटो लियो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाले अब कानुनी रूपमै बुलेटको बाटो छोड्दै ‘ब्यालेट’ लाई नै सही ठानेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने अन्तिम चरणमा पुगेको नेकपाले जनाएको छ ।

२०६९ असारमा माओवादीबाट अलग भएको मोहन वैद्य धारले सशस्त्र विद्रोह गर्ने नीति लिएपनि त्यो नीति कार्यान्वयनमा आएन । तर वैद्य समूहबाट नेत्रविक्रम चन्दको समूह २०७१ मसिरमा अलग भएपछि बुलेटको बाटो लिने निर्णय गर्‍यो । दुई वर्षसम्म भूमिगत भएर सशस्त्र संघर्षको अभ्यास गरेका नेतृत्वविक्रम चन्दले अन्ततः ब्यालेटको बाटो नै सही भएको निष्कर्ष निकालेका छन् । प्रतिस्पर्धात्मक राजनीतिबाट समाजवादी क्रान्तिको आधार निर्माण गर्ने भन्दै चन्द महासचिव रहेको नेकपा निर्वाचन आयोगमा दर्ताको अन्तिम चरणमा पुगेको छ । चन्दसहित केन्द्रीय समितिका सदस्यहरूले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरिसकेका छन् । 

नेकपा यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले नाम परिवर्तन गरी दर्ता गर्ने तयारी छ । कम्युनिस्ट पार्टी नेपाललगायत अरु तीनवटा नाम प्रस्ताव गरिएको छ । नेकपा निर्वाचन व्यवस्थापन विभाग प्रमुख कर्णजित बुढाथोकीले आयोगमा दर्ताका लागि अन्तिम चरणमा पुगेको बताए । ‘कम्युनिस्ट पार्टी नेपाल प्रस्ताव पनि छ । अरु पनि नाम छन्,’ उनले भने, ‘पार्टी दर्ताका लागि हामी अन्तिम चरणमा छौं ।’ उनले जेठको दोस्रो साता बस्ने केन्द्रीय समिति बैठकले पार्टीको नाम र चुनाव चिन्हका साथै निर्वाचन अभियानको कार्यक्रम तय गर्ने बताए । 

निर्वाचन आयोगको ढाँचाअनुसार विधान, नियमावली घोषणापत्र तयार भइसकेको उनले बताए । नेकपाले ‘समाजवादी क्रान्तिको तयार गर्न चुनावको उपयोग गरेको’ बुढाथोकीको भनाइ छ । निर्वाचनका लागि नेकपा सम्भावित मुद्दा तयार गर्ने गृहकार्यमा लागेको छ । ‘आत्मनिर्भर अर्थतन्त्र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, सुशासनको सम्बन्धमा  देशभक्त, प्रगतिशील, वामपन्थी अग्रगामी शक्तिको संयुक्त मोर्चा बनाउनेलगायत मुद्दामा छलफल भइरहेको छ,’ उनले भने, ‘वैकल्पिक शक्ति निर्माणको लागि हामीले देशव्यापी रूपमा राजनीतिक अभियान चलाउने छौं ।’

नेकपाले आगामी निर्वाचनमा माओवादी केन्द्रको हाराहारीमा मत ल्याउने गरी तयारी गर्ने जनाएको छ । ‘आगामी निर्वाचनमा हामी ११ देखि १५ लाख मत ल्याउने गरी सबै जिल्ला संगठनलाई परिचालन गर्दैछौं,’ उनले भने, ‘यसमा हाम्रो पार्टी एकताबद्ध छ । अरु पार्टी जस्तो विवाद छैन ।’ नेकपाले ‘आर्थिक मोर्चाबाट राजनीतिक कमान्ड गर्नुपर्ने आवश्यकता बनेको’ निष्कर्ष निकालेको छ । यही नै उसको निर्वाचनको राननीतिक मुद्दा हो । 

नेकपाले हालसम्म संसदीय राजनीतिमा परीक्षण हुन बाँकी महासचिव चन्दको नेतृत्वमा अभियान चलाउने छ । माओवादीमा रहँदै सांसद हुन अरुचि गरेका चन्द कुनै पनि राज्यको सुविधाको पदमा नरहेकाले उनको नेतृत्वमा राजनीतिक अभियान चलाइने छ ।  ‘हाम्रो महासचिव विप्लव जनताले आशा गरेको व्यक्ति हो,’ नेता बुढाथोकीले भने, ‘हाम्रो आर्थिक उत्पादन र अन्य राजनीतिक मुद्दालाई जोडेर निर्वाचनमा जान्छौं ।’

पूर्वसांसद एवं नेकपा नेता सन्तोष बुढामगरले आवश्यकताअनुसार पार्टीले कार्यदिशा तय गर्ने बताए । ‘पार्टीको कार्यदिशा कहिले बुलेट हुन्छ, कहिले ब्यालेट हुन्छ । अहिले ब्यालेटलाई प्राथमिकतामा राखेका छौ’ उनले भने, ‘अरु पार्टीभन्दा गर्नसक्ने गरी मात्र निर्वाचन घोषणापत्र बनाउँछौ ।’ गत पुसमा नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा रहेको केन्द्रीय समितिले औपचारिक रुपमा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । 

गत स्थानीय तह निर्वाचनमा पार्टीले स्वतन्त्र उम्मेदवार उठाए पनि जित्न सकेका थिएनन् । त्यो केन्द्रीय समितिले निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर पार्टीका काम अघि बढाउने निर्णय गरेको थियो । जेठ दोस्रो साता हुने केन्द्रीय समितिले पार्टी दर्ता, विधान, नियमावली र घोषणापत्र पारित गर्ने नेता बुढाथोकीले बताए ।  पुसको केन्द्रीय समिति बैठकले पारित चन्द्रको प्रतिवेदनमा निर्वाचनलाई केन्द्रित कार्यक्रम बनाउने निर्णय गरेको थियो । ‘चुनावलाई प्रयोग गर्दा अहिले नै मोर्चा, गठबन्धनको मानसिकतामा नअल्झेर एकल र स्वतन्त्र पहलमा जाने गरी गर्नुपर्दछ,’ महासचिव चन्दको पारित प्रतिवेदनमा  उल्लेख छ, ‘त्यसका लागि सबै वडा, पालिका, प्रदेश एवं संघका निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर कामलाई अगाडि बढाउनुपर्छ ।’

पार्टीले २०८४ को चुनावलाई लक्षित गरी उपयुक्त चुनाव चिहृन लिने निर्णयसमेत गरेको थियो । २०८४ को चुनावलाई क्रान्तिको एक महत्वपूर्ण मोर्चाका रूपमा प्रयोग गर्ने नीतिसमेत उसले लिइसकेको थियो । ‘यसका लागि चुनावसम्बन्धी सारा पुराना मान्यतालाई सर्वप्रथम भत्काउनुपर्छ र नयाँ मान्यताहरूलाई आत्मसात् गर्नुपर्छ,’ बैठकद्वारा पारित प्रतिवेदनमा छ ‘हामीले चुनावलाई सोचेभन्दा बाहिरबाट सञ्चालन गर्नुपर्दछ । त्यसको समाधान नै एकीकृत जनक्रान्तिभित्र चुनावलाई क्रान्तिको मोर्चाका रूपमा बुझेर प्रयोग गर्नु हो । मोर्चका रूपमा प्रयोग गर्दा के–के गर्न आवश्यक हुन्छ, त्यो सबै गर्नुपर्दछ ।’

चुनाव जित्ने तरिका र उम्मेदवारबारे चनाखो हुनुपर्ने पनि बैठकले निर्णय गरेको छ । ‘नेकपा चुनावमा जानुपर्ने स्थितिमा जनतासँग पुग्ने, जनप्रतिनिधिहरू छनोट गर्ने, विजय हासिल गर्ने मौलिक र नयाँ तरिकाहरू प्रयोग गर्नुपर्दछ,’ नेकपाको आगामी रणनीतिमा भनिएको छ ‘यसका लागि परिवार, समाज, वडा, पालिका, प्रदेश एवं संघ चुनाव क्षेत्रको दुरुस्त विवरण तयार पार्ने, भूमिका निश्चित गर्ने र निरन्तर लागिपर्ने तरिका प्रयोग गर्नुपर्दछ ।’

सूचनामा सामाजिक सञ्जालको प्रयोगले नयाँ पुराना पार्टीलाई प्रभाव पारिरहेकोले पार्टीले नयाँ तरिका अपनाउन भनिएको छ । ‘सूचनामा सामाजिक सञ्जालले प्रवेश पाएपछि नेपालका पुराना पार्टी र नेताहरू कमजोर हुन थालेका हुन् । विश्वमा उदारवाद र निजीकरणको प्रभूत्व बढेपछि समाजवादले धक्का खाएको हो,’ नेकपाको प्रतिवेदनमा छ, ‘समाजमा नयाँ विशेषता पैदा हुँदा राजनीतिक सत्ता, शक्तिले पनि सोचविचारलाई नयाँ उठाउनैपर्ने हुन्छ, अन्यथा उल्टो परिणाम भोग्नुपर्छ ।’ यो मुद्दा निर्वाचनलाई केन्द्रित गरी अघि बढाउने नेकपाको तयारी छ ।

The 'Ballet' way of 'Biplav'फाइल तस्बिर : समाजवादी मोर्चाको कार्यक्रम ।

निर्वाचनलाई केन्द्रित गरी कम्युनिस्टबीच ध्रुवीकरण र पार्टी एकताको पहल गर्ने पनि नेकपाको दस्तावेजमा भनिएको छ । माओवादी केन्द्र र नेकपाबीच लामो समयदेखि एकता लागि छलफल चले पनि निष्कर्षमा पुग्न सकेको छैन । एकताको विषय माओवादी केन्द्रको निर्णयमा पनि भर पर्ने पार्टीको ठहर छ । ‘हामी एकताको पक्षमा हो, तर माओवादी केन्द्रले कस्तो धारणा बनाउँछ भन्ने विषय मुख्य छ, हामीले एकताको विषय उठाउँदा जहिले पनि क्रान्तिकारी पार्टी, यसको विचार, उद्देश्य, संगठनलाई केन्द्रमा राख्दै आएका छौं,’ प्रतिवेदनमा भनिएको छ, ‘केबल एकताको एकहोरो नारा मात्र दिने तर विचार, उद्देश्य र संगठनजस्ता विषयमा स्पष्टता ल्याउन वास्ता नगर्ने या ध्यान नदिने तरिकाले हुँदैन ।’ तर नेकपाले हाल माओवादीसँग एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । ‘समाजवादी मोर्चा, वामपन्थी सहकार्य गरेरै चुनावी रणनीति बनाउँछौँ,’ नेकपा नेता सन्तोष बुढा मगरले भने । 

०६९ असारमा माओवादीबाट अलग भई मोहन वैद्यले क्रान्तिकारी माओवादी गठन गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईले शान्ति प्रक्रिया र सेना समायोजनमा सम्झौता गरेको भन्दै क्रान्तिकारी माओवादी गठन गरेका थिए । वैद्यले जनविद्रोह गर्ने नीति पास गरे पनि त्यसबाट अलग भएको चन्द समूहले सशस्त्र संघर्षको अभ्यास गरेको थियो । 

वैद्यले जनविद्रोहको नीति लिँदै अर्को माओवादी गठन गरे पनि त्यो पार्टी पनि विभाजनतिर गयो । वैद्य समूहबाट बाहिरिएका चन्द र धर्मेन्द्र बास्तोलाले छुट्टाछुट्टै पार्टी सञ्चालन गरेका छन् । अध्यक्ष वैद्यले सशस्त्र संघर्षको नीति अघि नबढाएपछि चन्द अलग भएका थिए । यही विषयमा वैद्य र नेता चन्दबीच अन्तरसंघर्ष चर्कियो । त्यसपछि २०७१ मंसिरमा वैद्य र चन्द अलग भए । चन्दले एकीकृत क्रान्ति गर्ने भन्दै नयाँ पार्टी गठन गरेका थिए । पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखेका थिए । 

सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । चन्दले  सशस्त्र गतिविधि गर्न थालेपछि तन्कालीन केपी शर्मा  ओली नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको थियो । सरकारी टोली र नेकपाबीच वार्ता भएपछि चन्द शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएका थिए । त्यसपछि ओली नेतृत्वको सरकार र नेकपाबीच २०७७ फागुन २१ मा तीनबुँदे सहमतिपछि नेकपामाथि लगाइएको प्रतिबन्ध हटाइएको थियो ।

शान्तिपूर्ण राजनीतिमा आएपछि  माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीको मोर्चामा चन्दले नेतृत्व गरेको नेकपा ०८० असारमा सहभागी भएको थियो । चन्दको नेकपाले सशस्त्र गतिविधि गरेपछि १० व्यक्तिको मृत्यु भएको थियो । प्रतिबन्धपछि प्रहरी कारबाहीमा चन्द समूहका ४ जना मारिए । चन्द समूहका ७ जनाले सडकमा आफैंले राखेको बम विस्फोटमा परी ज्यान गुमाए ।

नेकपा प्रतिबन्धपछिको २ वर्षमा चन्द समूहका २ हजार ८९ जना नेता/कार्यकर्ता पक्राउ परेकामा अधिकांश रिहा भए पनि व्यक्ति हत्या, विस्फोट, आगजनीलगायत गम्भीर किसिमका कसुरमा संलग्न भएको आरोपमा १ सय ३३ जना पुर्पक्षका क्रममा विभिन्न कारागार चलान भएका थिए । तीमध्ये अधिकांश रिहा भए पनि केही कार्यकर्ता अझै पनि जेलमा छन् । चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध विस्फोट र आगजनी, मोरङको मिक्लाजुङमा एक शिक्षकसहित ४ जनाको मृत्यु भएको थियो । 

मुख्य चुनावी मुद्दा : आत्मनिर्भर आर्थिक क्रान्तिको बाटो

कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा भएको केन्द्रीय समितिमा राजनीतिक र आर्थिक क्रान्ति सागसँगै अघि बढाउनुपर्ने निर्णय गरेको थियो ।  यो साता नेकपा महासचिव नेत्रविक्रम चन्द अर्घाखाँचीमा खुर्सानी गोड्न व्यस्त थिए । अन्य नेता कार्यकर्ता पनि धान खेतीको तयारी, आलु, गहुँ, जहुँ भित्र्याउने काममा खटिएका थिए ।

The 'Ballet' way of 'Biplav'फाइल तस्बिर : कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा आफैंले उत्पादन गरेको पोसाकसहित केन्द्रीय समिति बैठकमा जाँदै चन्दलगायतका नेताहरू । 

२०७७ फागुनमा शान्तिपूर्ण राजनीतिमा आएपछि नेकपाले कपिलवस्तु, चितवन, बाँके, कैलालीलगायत केही जिल्लामा भाडामा जग्गा लिएर सामूहिक खेती सुरु गर्दै आएको छ । त्यसअघि नेकपाले भूमिगत रहेर विद्रोहको अभ्यास गरे पनि असफल भएको थियो ।

पार्टी, नेता–कार्यकर्तालाई आत्मनिर्भर बनाउने आर्थिक अभियान सोचेभन्दा प्रभावकारी र परिणाममुखी देखिएको नेकपाको दाबी  छ । उसले प्रचारात्मक रूपले मात्र नभई परिणामका दृष्टिले समेत अरूले अनुमान गर्ने स्तरभन्दा धेरै सफल भएको जनाएको छ । ‘यो समयमा पार्टीको पहिचान र प्रतिष्ठा नै उत्पादन बन्न पुगेको छ,’ महासचिव चन्दले गत केन्द्रीय समिति बैठकले पारित गरेको प्रतिवेदनमा भनेका छन्, ‘यो नेकपा र नेता कार्यकर्ताका लागि सुखद अनुभूति हो ।’

आर्थिक मोर्चाले राजनीतिलाई डोर्‍याउन उत्पादनमा जोड दिने महासचिव चन्दले जनाएका छन् । ‘समयले आर्थिक मोर्चाबाट राजनीतिक कमान्ड गर्नुपर्ने आवश्यकता बनेको छ । क्रान्तिमा पैदा भएको उतारलाई चढावतिर, रक्षात्मकतालाई आक्रामकतातिर, पराजयलाई विजयतिर बढाउन अर्थ सम्बन्धमा नयाँ विकास अझै आवश्यक बनेको छ’ चन्दको राजनीतिक प्रस्तावमा भनिएको छ, ‘नेकपाले यो बुझेर पनि आर्थिक विषयमा दीर्घकालिक महत्वको संश्लेषण गर्दै अगाडि बढिरहेको छ । परिणाम पनि सकारात्मक आइरहेका छन् ।’

नेकपाले हिमाल, पहाड र तराईमा १ सय २० बिघामा धान, दाल, तेलजन्य तथा फलफूल खेती सुरु गरेको जनाएको छ । जुम्ला, कालीकोटमा स्याउ खेती पनि यही वर्ष सुरु गरेको छ ।‘असारदेखि भएको उत्पादन गत वर्षभन्दा माथि पुगेको छ । १२० बिघामा धान खेती र पहाडमा सिमी, कोदो, फलफूल उत्पादन गरियो । यसबाट दुई हजार क्विन्टल धानलगायत खाद्यान्न, दलहन र फलफूल उत्पादन भएको छ,’ राजनीतिक प्रतिवेदनमा छ, ‘नेकपाको उत्पादन कार्य नेपालको कम्युनिस्ट आन्दोलनको सन्दर्भमा नयाँ भइरहेको छ र विगतमा केही प्रयत्नहरू भएको पाइन्छ तर ती आन्दोलनका रूपमा उठ्न सकेनन्, न त टिक्न नै सके ।’

त्यस्तै नेकपाले कपिलवस्तु, काठमाडौंमा गार्मेन्ट सुरु गरेको छ । केन्द्रीय समितिका नेताहरूले लगाउने कोट, पाइन्ट र सर्ट आफ्नै गार्मेन्टमा सिलाएर लगाएका थिए । काठमाडौंको बुढानीलकण्ठमा मार्ट सुरु गरेको छ । आफ्नै कृषि फार्मबाट उत्पादन भएका सामग्री मार्टबाट बिक्री गर्दै आएको छ । 

गंगा

Link copied successfully