दुर्गम बस्तीलाई 'वरदान' बन्यो कालीगण्डकी करिडोर

पहिले निकै कष्टकर यात्रा हुन्थ्यो, अहिले एक दिनमै सहर पुग्न सकिने भएको छ । ठूला ट्रकले लोमान्थाङ, कोरोलाका गाउँसम्मै सामान ल्याइपुर्‍याउँछन् ।

वैशाख २९, २०८२

माधव अर्याल

Kaligandaki Corridor has become a 'boon' to remote settlements

पाल्पा — मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ का ६७ वर्षीय कर्मा आङ्गेल गुरुङलाई ६ दिन लगाएर पोखरा पुगेको याद ताजै छ । जडीबुटी, जिम्बुलगायतका सामान लिएर बुबाआमासँग हिँडेर गएको र फर्किँदा दुई महिनाभन्दा बढी लगाएको उनी सम्झिन्छन् । 

उनले भने, ‘६ वर्षअघिसम्म पनि निकै कष्ट थियो । अहिले त एकै दिनमा पोखरा पुग्न सकिने भयो ।’ हेर्दादेर्दै जोमसोमसम्म सवारीसाधन आयो । त्यसपछि लोमान्थाङ हुँदै चीनसँगको सिमाना कोरोला नाकासम्म सवारीसाधन पुगेका छन् । लोमान्थाङ–१ वडाध्यक्ष पेमा आङ्ग्या गुरुङलाई अहिले सवारीसाधनमै चढेर जोमसोम हुँदै बेनी, बाग्लुङ हुँदै पोखरा, बुटवल पुग्न पाउँदा धेरै सहज भएको छ । ६/७ दिन हिँडेर जानुपर्ने बाध्यता अहिले हटेको उनले बताए । 

‘पहिले निकै कष्टकर यात्रा हुन्थ्यो,’ उनले भने, ‘अहिले भने एक दिनमै सहर पुग्न सकिने भएको छ ।’ लोमान्थाङ, कोरोलासम्म ठूला ट्रकले सामान गाउँसम्म ल्याउने गरेको छ । पर्यटक गाउँसम्म पुग्न थालेका छन् । कालीगण्डकी करिडोर सडक निर्माणले गति लिएसँगै मुस्ताङको दुर्गम गाउँ जोड्न सफल भएको छ । गण्डकी प्रदेशको पूर्वी नवलपरासीबाट सुरु भएर लुम्बिनीको पाल्पा, गुल्मी, पुनः गण्डकीकै बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङसम्म करिडोर अन्तर्गत सडक निर्माण भएको छ । 

Kaligandaki Corridor has become a 'boon' to remote settlements

राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी सरकारले प्राथमिकतामा राखेको ४ सय ४५ किलोमिटर सडक निर्माणले गति लिएसँगै दुर्गम जिल्लाका बासिन्दालाई यातायातको पहुँच पुगेको छ । कालीगण्डकी नदीको छेउ हुँदै रेखांकन गरिएको सडकले दुर्गममा बसोवास गर्नेलाई बजारसम्मको पहुँच पुगेको छ । सडक आसपास नयाँ बस्ती बस्न सुरु भएको छ । 

‘हामीलाई बजार जान दुई/तीन दिन लगाएर सदरमुकाम जानुपर्ने बाध्यता थियो,’ बागलुङको जैमनी नगरपालिका–७ का ६८ वर्षीय चन्द्रश्वर ढुंगानाले भने, ‘अहिले त सहर जान कुनै दुःख छैन । एकै दिनमा बजार गएर आउने गरिन्छ ।’ उनका अनुसार बुटवलबाट एक साता लगाएर नुन बोकेर ल्याएको सम्झना ताजै छ । कालीगण्डकी करिडोर निर्माण भएपछि भने उनको यात्रा मात्र होइन बागलुङका दुर्गमका बासिन्दालाई समेत सहज भएको छ । 

कालीगण्डकी करिडोर सडक ट्रयाक खुलेपछि अहिले धेरै खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । जसले गर्दा कतिपय स्थानमा नयाँ सहर बसेको छ भने दुर्गमका बस्तीलाई करिडोरसम्म जोडेपछि यात्रा सहज बनेको छ । पाल्पाको राम्दीदेखि रानीमहल १७ किलोमिटरबाहेक अन्यत्र सडक ग्राभेल छ । झन्डै २ सय ५० किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ । सडकको स्तरोन्नतिसँगै कृषिउपज उत्पादन गर्ने, शिक्षा, स्वास्थ्यमा पहुँचलगायतमा सहज भएको छ ।

Kaligandaki Corridor has become a 'boon' to remote settlements

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्वेनीकी हरिकला न्यौपानेका अनुसार करिडोर सडक खुलेपछि गाउँमा तरकारी खेती गर्ने, दुग्ध उत्पादन गर्नेहरु बढेका छन् । ‘हामीलाई बजारसम्म पुग्न धेरै सहज भएको छ,’ उनले भनिन्, ‘हामीलाई यात्राका लागि मात्र होइन, स्वास्थ्य सेवा लिनका लागि पनि धेरै सजिलो भएको छ ।’ गुल्मीको दुर्गम गाउँलाई सडकले जोडेको छ । जसले गर्दा दैनिक जीवनयापनमा सहज भएको छ । सुत्केरी व्यथा लागेका महिलालाई कालीगण्डकी तीरैतीर बोकेर पाल्पा मिसन अस्पताल लगेको सम्झँदै सत्यवती गाउँपालिका–२ की महिला स्वास्थ्य स्वयंसेविका शान्ति थापा तरामुले भनिन्, ‘अहिले हामीलाई धेरै सहज भएको छ ।’ 

उनका अनुसार १० वर्षअघिसम्म पनि निकै कष्ट गरेर उपचार गर्न जानुपर्ने बाध्यता थियो । अहिले भने दुई/तीन घण्टामै तानसेन र बुटवल पुग्ने सुविधा पुगेको छ । कालीगण्डकी करिडोर सडक स्तरोन्नतिसँगै गाउँका सबैलाई सहज बनाएको छ । ‘हाम्रा दैनिक जीवनशैली नै परिवर्तन गराउन सडक महत्वपूर्ण भएको छ,’ उनले भनिन्, ‘यसका लागि करिडोर सडक वरदान नै भएको छ ।’ 

पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पाको राम्दी, गुल्मीको रिडी अर्वेनी पूर्तिघाट हुँदै बागलुङको जैमिनी, बलेवा, मालढुंगा म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, लोमान्थाङ हुँदै कोरला नाकासम्मका नजिकका बस्तीका बासिन्दालाई यात्रामा सहज मात्रै होइन कतिपयको जीवनमै परिवर्तन ल्याएको छ । कालीगण्डकी नदी किनारका दुर्गम गाउँ सुगम बन्दै बजार र व्यापारिक केन्द्रमा परिणत हुन थालेका छन् । दुर्गम र विकट बस्तीमा पनि यातायातको सहज पहुँच पुगेर नयाँबजार बनेका छन् । हिमाललाई पहाड र पहाडलाई तराईसम्म जोड्न सफल भएको छ ।

Kaligandaki Corridor has become a 'boon' to remote settlements

करिडोरको ट्रयाक खोल्ने काम २०६४ मा सुरु भएको हो । २०६७ मा राष्ट्रिय गौरवका आयोजनामध्येको मानिएको यो उत्तरदक्षिण राजमार्ग ५ वर्षमा बनाइसक्ने लक्ष्य थियो । सडक विभागअन्तर्गत उत्तरदक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले यसलाई दुई खण्डमा बाँडेर काम अघि बढाएको छ । भारत र चीन जोड्ने आर्थिक, सांस्कृतिक र पर्यटकीय महत्वको त्रिदेशीय पारवहन मार्गका रूपमा प्रचार गरिएको कालीगण्डकी करिडोरमा कालोपत्रको काम धमाधम अघि बढेको छ भने यस खण्डमा पर्ने ग्रामीण दुर्गमका बस्तीका बासिन्दाको भाग्यरेखा बदल्ने परियोजना बनेको छ । 

पाल्पाको तानसेन नगरपालिका–१३ बौघागुम्हाको छेलुङका ७० वर्षीय थानेश्वर भट्टराईलाई पनि कालीगण्डकी करिडोरले सहज बनाएको छ । सदरमुकामबाट १४ किलोमिटर मात्र टाढा भएपनि दुर्गमजस्तै थियो । अहिले भने २५ मिनेटमै तानसेन पुग्न पाउँदा खुसी लागेको उनले बताए । ‘हामीलाई दुःख बिमार पर्दा धेरै सजिलो भएको छ,’ उनले भने, ‘घरघरमै सवारी साधन चल्दा धेरै आनन्द आएको छ ।’

कालीगण्डकीको किनारैकिनार निर्माणाधीन करिडोरलाई आर्थिक समृद्धिको ‘लाइफलाइन’ आयोजनामा राखेको छ  । कालीगण्डकी करिडोरले नयाँ बजार मात्र होइन, धार्मिक क्षेत्रलाईसमेत समेटेको छ । जसले गर्दा आन्तरिक तथा बाहृय पर्यटककोसमेत वृद्धि भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमासमेत करिडोरले सहयोग पुगेको छ । पूर्व नवलपुरका धेरै दुर्गमबस्ती अहिले सहज बनेका छन् । बुलिङटार, डेढगाउँ, रुचाङलगायतका बस्तीलाई सडकले गैंडाकोटसम्म जोडेको छ । कालोपत्र सडक भएपछि पर्यटकीय क्षेत्रको विकास भएको छ । 

Kaligandaki Corridor has become a 'boon' to remote settlements

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका डेढगाउँ, पूर्वी नवलपुरकी ममता श्रेष्ठलाई अहिले व्यापार व्यवसाय फस्टाएकामा खुसी लागेको छ । ‘पहिले दुई दिन लगाएर गैंडाकोट जानुपर्ने बाध्यता थियो,’ उनले भने, ‘तर अहिले भने दुई घण्टामै पुग्न पाउँदा धेरै खुसी लागेको छ ।’ कालीगण्डकी करिडोरले गाईबस्तुलाई कुँडो पकाएर खुवाएर बन्दा, आलु, साग अहिले नारायणगढ पठाउन पाएकी छिन् । करिडोर कालोपत्र हुनेबित्तिकै तरकारी, फलफूललगायत स्थानीय उत्पादनले बजार पाएको उनले बताइन् । 

कालीगण्डकी करिडोर सडक खुलेपछि धेरै सवारीसाधन सञ्चालन चलेका छन् । होटल व्यवसाय फस्टाएको छ । गाउँका तरकारी, फलफूल बिक्री भएका छन् । जसले गर्दा आर्थिक आम्दानी पनि बढेको छ । कालीगण्डकी करिडोरकै कारण रामपुर नगरपालिकाको विभिन्न स्थानमा बस्ती बढेको छ । पर्यटकीयस्थलहरु नजिकिएका छन् । ‘भारतीय पर्यटकलाई यहाँसम्म ल्याउन सहज भएको छ,’ तानसेन नगरपालिका–१४ अर्गलीका कमल रानाले भने, ‘धार्मिक स्थललाई करिडोरले नजिक्याएकाले धार्मिक पर्यटक बढेका छन् ।’ 

Kaligandaki Corridor has become a 'boon' to remote settlements

करिडोरअन्तर्गत माथिल्लो खण्ड अन्तर्गत बाग्लुङ र पर्वतको सीमाना मालढुंगादेखि कोरला नाकासम्म बेनी–जोमसोम–कोरोला २ सय २ किलोमिटर छ । तल्लो खण्ड मालढुंगादेखि पूर्वी नवलपुरको गैंडाकोटसम्म गैडाकोट–राम्दी–मालढुंगा २ सय ४५ किलोमिटर छ । करिडोरले लुम्बिनी र गण्डकी प्रदेशका ६ जिल्लाका २० लाख बढी जनसंख्यालाई सिधा सडक सञ्जालमा जोडेको छ । कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना प्रमुख कल्पना अधिकारीले सडकको स्तरोन्नतिसँगै आर्थिक, सामाजिक, सांस्कृतिक विकास भएको बताइन् । उनका अनुसार कतिपय धार्मिक र पर्यटकीय क्षेत्रलाईसमेत जोडेका कारण भारतीय पर्यटकलाई भित्रिन सहज भएको छ । 

सडक विभागअन्तर्गत उत्तरदक्षिण तथा व्यापारिक मार्ग बिस्तार आयोजना निर्देशनालयले यसलाई दुई खण्डमा बाँडेर काम अघि बढाएको छ । कालीगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) आयोजना खण्डको २ सय ४५ किलोमिटरका लागि पाल्पामा आयोजना कार्यालय छ । बेनी–जोमसोम–कोरला (उत्तर) खण्डको २ सय २ किलोमिटर खण्डका लागि मुस्ताङको जोमसोम कार्यालयबाट काम भइरहेको छ । 

कालीगण्डकी करिडोर (मालढुंगा–जोमसोम–कोरला) सडक योजनाका सूचना अधिकारी विष्णु चापागाईकाअनुसार माथिल्लो खण्डको मुस्ताङको कागबेनीदेखि कोरोलानाकासम्म ग्राभेलस्तरको सडक पुगेको छ । तर कालोपत्रका लागि भने छुसाङसम्मका लागि मात्र ठेक्का भएको छ । त्यसपछिका खण्डका लागि अझै बजेट सुनिश्चित भएको छैन । कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगा) सडक आयोजना प्रमुख अधिकारीका अनुसार पाल्पाको राम्दीदेखि रानीमहलसम्मको १७ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भइसकेको छ । कालीगण्डकी करीडोरको पूर्वी नवलपरासीमा ८७ किलोमिटर, पाल्पामा ७८, गुल्मीमा ४२, बाग्लुङमा ३८, पर्वतमा १३, म्याग्दीमा ४२ र मुस्ताङमा १४७ किलोमिटर पर्छ ।

Kaligandaki Corridor has become a 'boon' to remote settlements

कालीगण्डकी करिडोरमा समावेश गरिएको सडक परापूर्वकालदेखि चलनमा रहेको बाटो हो । तिब्बत–लोमान्थाङ–मुक्तिनाथ–बेनी–रिडी हुँदै लुम्बिनीसम्म जाने रेशम मार्गको खण्ड यही सडक अन्तर्गत पर्छ । यो करिडर निर्माण सम्पन्न भए सडक क्षेत्र वरपरका ग्रामीण भेगका १० लाख ३० हजार बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजनाको छ । सडकको काम छिटो सकिए यस क्षेत्रको कृषि उत्पादनदेखि खनिज उद्योगले पनि लाभ लिन सक्ने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । 

करिडोरअन्तर्गत १ लाख ३३ हजार ३ सय १८ हेक्टर खेती गर्न योग्य जमिन मध्ये ९२ हजार ९ सय ६६ हेक्टरमा खेती गरिने अनुमान छ । वार्षिक ४ लाख ४८ हजार ५ सय ३९ मेट्रिक टन करिडोर क्षेत्रमा खाद्यान्न उत्पादन हुने र सडक सञ्जालले यो उत्पादनलाई देशभर पुर्‍याउन सक्ने विश्वास लिइएको छ । 

(स्टोरीमा समावेश तस्बिर कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङदेखि पूर्वी नवलपरासीसम्मका हुन् । तस्बिर : माधव अर्याल/कान्तिपुर) 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully