श्रम, म्यानपावर, मेडिकल र भिसा सेन्टर कहिले खुल्ने ?
काठमाडौँ — आकाशमा ठूला जहाज हेर्दै चिया–चौतारीमा गफिनुपर्ने रुपन्देहीका बासिन्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट निरन्तर अन्तर्राष्ट्रिय उडानका लागि एक महिनादेखि दबाबपूर्ण आन्दोलन गरिरहेका छन् । काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सरहकै संरचना र क्षमताको विमानस्थलबाट दिगो रूपमा जहाजको उडान/अवतरण कहिले सुरु होला ? जिल्लावासीले यही प्रश्नको उत्तर खोजिरहे पनि अहिलेसम्म आश्वासन धेरै जवाफ कम पाइरहेका छन् ।
हरेक साता विमानस्थलको आन्तरिक टर्मिनल भएर एक-दुईजना राष्ट्रियस्तरका नेता/कर्मचारी आइरहेका हुन्छन् । यहाँ आयोजना गरिने कार्यक्रममा प्रदेश र संघीयमन्त्री, मुख्यमन्त्री र प्रधानमन्त्रीसमेत सहभागी हुन्छन् । त्यस्ता कार्यक्रममा अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन प्रमुख विषय बनिरहेको छ । यहाँ आएर नेताहरू जुनसुकै हालतमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिने बताउँछन् । उनीहरु फर्केपछि पहल गरेको देखिँदैन । भनाइ र गराइमा तालमेल नदेखिएपछि निजी क्षेत्र आन्दोलित छ । गत वर्ष विमानस्थल सञ्चालन माग राखेर सिद्धार्थनगरका व्यवसायी १५ दिन धर्ना बसेका थिए । उक्त धर्नामा निजी क्षेत्रका संघसंस्था सहभागी थिए ।
यहाँ आयोजना गरिएका दबाबमूलक कार्यक्रमको सुनुवाइ नभएपछि व्यवसायीले काठमाडौंसम्म पुगेर मन्त्री र प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । होटल एसोसियसन, उद्योग वाणिज्य संघलगायत संघसंस्थाले नियमित उडान माग गर्दै एक दर्जनभन्दा धेरैपटक ज्ञापनपत्र बुझाइसके । अहिले पनि ध्यानाकर्षण र ज्ञापनपत्र बुझाउने क्रम जारी नै छ । तीन वर्षदेखि चौबिसै घण्टा सञ्चालनमा रहे पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान निश्चित हुन सकेको छैन । सुरु गरिएका उडान पनि मौसमी मात्र हुँदा यहाँका बासिन्दामा निराशासँगै आक्रोश बढिरहेको छ ।
गत असोज–कात्तिकमा यहाँबाट विभिन्न ५ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान थालेपछि चहलपहल छाएको थियो । कुबेतको जजिरा, फ्लाई दुबई, थाई एयर एसिया, कतार एयरवेज र नेपाल एयरलाइन्सले ४-५ महिना उडान गर्दा विमानस्थलको रौनक नै बेग्लै थियो ।
उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) विस्तारका क्रममा भैरहवा विमानस्थललाई ‘डाइभर्सन’का रूपमा प्रयोग गरिएकाले सीमित अवधि चहलपहल कायम भएको बताउँछन् । ‘सडक निर्माण गर्दा डाइभर्सन तयार गरेजस्तै टीआईए विस्तार गर्दा केही जहाज स्लट नपाएर यहाँ आएका हुन्,’ उनले भने, ‘यथार्थ बुझ्नपट्टि नलागी हामी हौसियौं, अहिले काठमाडौंमा स्लट पाएपछि जहाज फर्किए, हामी निराश बन्यौं ।’
तीन वर्षअघि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी पूरा गरिएको थियो । नागरिक उड्डययन प्राधिकरणअन्तर्गत यहाँ कुल १ सय ४१ कर्मचारीको दरबन्दी छ । तीमध्ये यहाँ महाप्रबन्धकको नेतृत्वमा दरबन्दी अनुसारका ८७ कर्मचारी कार्यरत छन् । त्यसबाहेक २४ जना सेवाप्रदायक र ६० जना दैनिक ज्यालादारीका कर्मचारी रहेका छन् । विमानस्थल सुरक्षाका लागि तारादल गणअन्तर्गत ७० जना हाराहारी सैनिक खटिइरहेका छन् भने एसएसपीको नेतृत्वमा १ सय ८५ नेपाल प्रहरीको दरबन्दी छ । अहिले १ सय ६७ प्रहरी तैनाथ छन् । आन्तरिक र बाह्य गरेर विमानस्थलको वार्षिक आम्दानी सरदर २५ करोड रहेको छ । सञ्चालन खर्च वार्षिक ३५ करोड हाराहारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ । अन्तराष्ट्रिय उडानका लागि आवश्यक भन्सार, अध्यागमन, राष्ट्रिय अनुसन्धान, पारबहन तथा गोदाम व्यवस्थापन कम्पनी, वाणिज्य बैंकलगायत कार्यालय सञ्चालनमा छन् । विमानस्थलमा इन्धनका लागि पहिल्यै आयल निगमको डिपो रहेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि डिपोको स्तरोन्नति गरिएको छ । विमानस्थल परिसरमा पार्किङ व्यवस्थित गरिएको छ । हेल्थ डेस्क सञ्चालनमा छ ।
सञ्चालन ‘प्रयत्न’
नियमित उडानका लागि स्थानीयको दबाबसँगै नागरिक उड्डयन प्राधिकरणले गरेका उडान प्रयत्न खेर गइरहेका छन् । उडान/अवतरणका लागि समस्या नभए पनि यहाँ यात्रु र जहाजको अभाव खड्किएको छ । वैदेशिक यात्राका लागि आवश्यक सुविधा संघीय राजधानीकेन्द्रित भएकाले यात्रुको रोजाइ पनि टीआईए नै बनिरहेको विमानस्थलका कर्मचारी बताउँछन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भाडादर कम तोकिएको खण्डमा यात्रु आकर्षित गर्न सकिन्छ कि भनेर प्राधिकरणले वायुसेवा कम्पनीलाई उडान/अवतरण गरेबापत छुट प्याकेजसमेत घोषणा गरेको छ । उनका अनुसार विमान कम्पनीले ‘इन्सेन्टिभ’ माग गरेपछि यस्ता छुट सुविधा उपलब्ध गराउँदा भाडादर घट्ने र यात्रु आकर्षित हुने विश्वास थियो ।
गत साउनमा संघीय मन्त्रिपरिषद्ले भैरहवा उडान/अवतरण गर्ने विमान कम्पनीलाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्क छुट गर्ने निर्णय गरेको थियो । साथै इन्धनमा समेत छुट व्यवस्था गरिएको छ । यही अप्रिलबाट प्यासेन्जर सर्भिस चार्ज पनि छुट गर्न लागिएको महाप्रबन्धक तिवारीले बताए । ‘छुट सँगसँगै मन्त्रिपरिषद्ले म्यानपावर कम्पनी, स्वास्थ्य जाँच, भिसा सेन्टर पनि विकेन्द्रित गर्ने निर्णय गरेको थियो,’ उनले भने, ‘निर्णयअनुसार अहिलेसम्म सरोकारवाला कार्यालय यहाँ खुल्न सकेका छैनन् ।’
गत साउनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवा र पोखरास्थित विमानस्थल सञ्चालनका लागि कार्ययोजना बनाएको थियो । उक्त कार्ययोजनाअनुसार श्रम तथा रोजगार मन्त्रालयले विमानस्थल सञ्चालनका लागि आवश्यक श्रम, मेडिकल, भिसालगायत कार्यालय भैरहवा र पोखरामा सञ्चालन गर्ने जनाएको थियो । श्रम तथा रोजगार मन्त्रालयको वेबसाइटमा राखिएको सय दिने उपलब्धिअन्तर्गत भैरहवा र पोखराबाट श्रम स्वीकृति र सबै प्रदेशमा वैदेशिक रोजगार र इजाजतपत्रवालाको शाखा स्थापना गरिएको उल्लेख गरिएको थियो । तत्कालीन समयमा भैरहवा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल सम्बन्धित मन्त्रालयका प्रतिनिधि बोलाएर समीक्षा बैठक गरेर कार्यालय सञ्चालनको पहल गर्ने आश्वासन दिएका थिए ।
श्रम, मेडिकल, भिसा, कार्गो, क्वारेन्टाइनका विषय उठेकाले सरोकारवाला मन्त्रालयको सहभगितामा समीक्षा बैठक राखिने उनले बताएका थिए । तर, अहिलेसम्म यस्ता कार्यालय यहाँ नभएपछि वैदेशिक उडानका लागि आवश्यक सम्पूर्ण प्रक्रिया काठमाडौंमा पूरा गर्नुपर्छ । त्यसका बाबजुद यहाँबाट आउजाउ गर्ने यात्रुको संख्या उल्लेख्य देखिन्छ ।
महाप्रबन्धक तिवारीका अनुसार सन् २०२४ नोभेम्बरमा यहाँबाट ४ हजार २ सय ७९ यात्रुले ओहोरदोहोर गरेका थिए । त्यस्तै डिसेम्बरमा ३ हजार ८ सय ७८ ले आउजाउ गरेका थिए । गत जनवरीमा बाक्लो हुस्सु र कुहिरोका कारण कम उडान भएपछि यात्रुको संख्या पनि घटेको छ । जनवरीमा १ हजार ३ सय ६५ यात्रु मात्रै ओहोदोहोर गरेको देखिन्छ । त्यसपछि यात्रुको संख्या ह्वात्तै बढेको थियो । गत फेब्रुअरीमा ६ हजार ७ सय ७९ र मार्चमा ७ हजार ३४ यात्रुले ओहोरदोहोर गरेको उनले बताए । ‘यात्रुको संख्या बढ्दो क्रममै थियो, काठमाडौंबाट यहाँ ल्याएर उडाउनुपरे पनि पछिल्लो समय यात्रुको संख्या बढिरहेको थियो,’ उनले भने ।
उनका अनुसार अप्रिलबाट ‘समर सेड्युल’ सुरु भयो । अन्तर्राष्ट्रिय उडानका लागि विमान कम्पनीले पहिल्यै उडान तालिका स्वीकृत गराउनुपर्छ । यसपटक कुनै कम्पनीले पनि भैरहवाबाट उडानका लागि आवेदन भरेनन् । जसले गर्दा उडान शून्य बनेको उनले बताए । ‘उडानका लागि सबै प्रक्रिया काठमाडौंमा पूरा गरेर उड्न मात्र यहाँ आउनुपर्ने बाध्यताले समस्या सिर्जना गर्यो,’ उनले भने, ‘यसबारे सरोकारवाला निकाय र गन्यमान्य व्यक्तिलाई पनि बारम्बार अवगत गराइरहेको छु ।’ यहीँबाट म्यानपावर, मेडिकल र भिसा सेन्टरको काम सुरु भएपछि नियमित उडानको वातावरण तयार हुने उनको भनाइ छ । लामो समय आकाशमा विमान होल्ड गरेर भए पनि काठमाडौंमै अवतरण गर्ने गरिएको उल्लेख गर्दै उनले भने, ‘उता होल्ड गराउनुभन्दा यता पठाउने वातावरण बनाउनुपर्यो, यसले टीआईएको ट्राफिक होल्डको समस्या पनि कम हुने, भैरहवा पनि सञ्चालनमा आउने हुन्छ ।’
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेशकुमार अग्रवालले भैरहवा आउने विमानका लागि ‘बिजनेस’ अभाव रहेको बताए । ‘कुनै पनि विमान कम्पनीको प्राथमिकता व्यापार हो,’ उनले भने, ‘नारायणी पश्चिमका बासिन्दा यहाँबाट विदेश उड्न सक्छन् भन्छौं, तर उनीहरुलाई सहजै उडने वातावरण तयार गर्दैनौं । यस्तो अवस्थामा कुन विमान कम्पनीले घाटा खाएर उडाउँछ ।’ साथै यसलाई कुनै विमान कम्पनीको ‘हब’का रूपमा रूपान्तरण गरेर पनि चलाउन सकिने उनले बताए । स्वदेशी विमान अपुग भइरहेको अवस्थामा विदेशी वायुसेवा कम्पनीलाई यहीँ केन्द्रित भएर उडानका लागि आमन्त्रित गर्न सकिने उनले बताए ।
लगानी डुब्दै
विमानस्थल निर्माणमा ४० अर्ब हाराहारी खर्च भइसकेको छ । तारबार, नाली, सडक, पार्किङलगायत निर्माणका काम अहिले पनि धमाधम भइरहेका छन् । पूर्वाधार निर्माणको गति हेर्दा दिनप्रतिदिन लगानी बढ्दै छ । अन्तर्राष्ट्रिय विमानस्थल लक्षित गरेर व्यवसायीले अहिलेसम्म ८० अर्ब हाराहारी लगानी गरिसकेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले बताए ।
विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने विश्वासमा भैरहवा, तिलोत्तमा, लुम्बिनी र बुटवलमा साना–ठूला होटलदेखि रेस्टुरेन्टमा लगानी गरिएको छ । धेरै उद्योगी र व्यापारीले बसोबास बढ्ने ठानेर हाउजिङ र जग्गामा लगानी गरेका छन् । अधिकांश बैंकबाट ऋण लिएर लगानी गरेका कारण किस्ता तिर्न नसकेर सडकमा पुगेको गुनासो गरेका छन् । विमानस्थल निर्माणको चरणदेखि रूपन्देहीस्थित निजी क्षेत्रले झकझक्याउने काम गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले बताए । ‘पहिले नेताले विमानस्थल चलेपछि पाहुना आउँदा बस्ने होटल छैनन्, लगानी गर्नुस् भनेपछि हामीले लगानी गर्यौं,’ उनले भने, ‘विमानस्थलमा सरकारको ४० अर्ब लगानी भयो । हामीले त्यसको दोब्बर ८० अर्ब लगानी गरिसक्यौं ।’ टर्मिनल भवन र धावनमार्ग बनाएर मात्र विमान नचल्ने रहेछ भन्ने बल्ल बुझेको उनले बताए । निजी क्षेत्रको लगानी सुरक्षाका लागि सरकार उदासीन देखिएको उनको भनाइ छ ।
सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सीपी श्रेष्ठले तीन वर्षदेखि एउटै माग राखेर चिच्याइरहे पनि सुनुवाइ नभएको दुखेसो पोखे । ‘श्रम, म्यानपावर, मेडिकल र भिसा सेन्टर कहिलेसम्म माग्नुपर्ने हो,’ उनले भने, ‘पर्यटनमन्त्रीदेखि प्रधानमन्त्रीसम्म गुहारिसक्यौं, मन्त्रिपरिषद्को निर्णयसमेत कार्यान्वयन नहुने कस्तो मुलुक हो ।’ लगानी डुबेर धेरैजना सडकमा आइसकेको अवस्थामा विमानस्थल जरुरी हो कि होइन भन्ने विषयमा बहस थाल्नुपर्ने उनले बताए । तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले विमानस्थल नेताहरूका लागि भाषण गर्ने विषय बनेको उल्लेख गर्दै भने, ‘हाम्रो समस्या कसैले सुनेनन् । के कारणले विमानस्थल चलाउन रोकिरहेको छ भनेर नेताहरूको समस्या बुझेर समाधान खोज्नुपर्ने बेला आयो, आश्वासनले मात्र समाधान दिँदैन ।’
आन्दोलनको चेतावनी
विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि गत वर्षसम्म रूपन्देहीका निजी क्षेत्र मात्रै आन्दोलित थिए । यसपालि जिल्लाका जनप्रतिनिधिले समेत आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । यहाँबाट उडान भरिरहेका सबै वायुसेवा कम्पनी फर्किएलगत्तै सिद्धार्थ सञ्जाल रुपन्देहीले दबाबका कार्यक्रम सुरु गरेको थियो । सञ्जालले सरोकारवाला पक्षको सहभागितामा पटकपटक बहस सञ्चालन गरेको थियो । धेरै पटकको छलफलपछि सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग–व्यापार संगठनले चरणबद्ध विरोधका कार्यक्रम घोषणा गरेको थियो । ती संस्थाले विरोधमा कालोपट्टी बाँधेर काम गर्नेदेखि र्याली आयोजना गरेका थिए ।
निजी क्षेत्रको दबाबपछि सिद्धार्थनगर नगरपालिकाले पनि सरोकारवाला बोलाएर कार्यालयमा छलफल आयोजना गरेको थियो । उक्त कार्यक्रममा रुपन्देहीका राजनीतिक दल, निजी क्षेत्रका प्रतिनिधि सहभागी थिए । भेलाले तत्काल विमानस्थल सञ्चालनको वातावरण तयार नगरिए भन्सार नाका बन्ददेखि हवाई टिकट काट्न रोक लगाउने निर्णय गरेको सिद्धार्थनगर प्रमुख इस्तियाक अहमद खाँले बताए । ‘नगरक्षेत्रमा रहेका होटल व्यवसायी धमाधम कालोसूचीमा परिरहेका छन्,’ उनले भने, ‘जबरजस्ती हाँस्न बाध्य व्यवसायीको आत्मा जलिसकेको छ ।’ सरकारलाई दबाब दिन आन्दोलित हुनुपरेको उनले बताए । ‘भाषण गरेर, सुनेर थाकिसक्यौं,’ उनले भने, ‘अब पनि एयरपोर्ट नचले भन्सार नाका रोक्छौं, हवाई टिकट काट्न दिन्नौं ।’ 
पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद यादवले विमान चलाउन बन्द/हडतालजस्ता कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था राज्यले सिर्जना गरेको बताए । ‘लामो समय आकाशमा विमान घुमाएर भए पनि काठमाडौंमै अवतरण गर्नुपर्ने कारण के हो ?’ उनले भने, ‘यसबाट नाफा खाइपाइ आएका काठमाडौंका व्यापारी र कर्मचारी भैरहवा जहाज पठाउनै चाहन्न भन्ने स्पष्ट हुन्न र ?’
सिद्धार्थ उद्योग वाणिज्य संघले पनि बुधबार जिल्लाका स्थानीय तहका प्रमुख, जिल्लाबाट प्रदेश र संघमा प्रतिनिधित्व गर्ने सांसद, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, निजी क्षेत्रका संघसंस्थामा अध्यक्षको सहभागितामा विमानस्थल दिगो सञ्चालनका लागि दबाबमूलक कार्यक्रम आयोजना गरेको थियो ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले यहाँबाट अन्तर्राष्ट्रिय उडानमा बिलम्ब गरिए सरकार र निजी क्षेत्रको लगानी डुब्ने बताए । ‘विमान चलाउने विषयमा भैरहवाले मात्र चासो लिने हो कि ? समग्र लुम्बिनी प्रदेश नै जाग्ने बेला भएन र ?’ उनले भने । यहाँबाट जनताको मत पाएर जितेर प्रदेश र संघमा पुगेका नेताहरूले विमानस्थल सञ्चालनका लागि भूमिका नखेलेको उनले गुनासो गरे । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक साताअघि काठमाडौं पुगेर पर्यटन र प्रधानमन्त्रीसित भेटघाट गरेर विमानस्थल सञ्चालनका लागि अनुरोध गरेको जानकारी दिए । ‘बुद्धिष्ट मुलुकबाट सिधैं उडानका लागि पहल गरिरहेको छु,’ उनले भने, ‘राज्यको लगानी डुब्न दिनुहुँदैन ।’
