पानीको खोजीमा भौंतारिएका साम्जोङका १८ परिवार पुरानो बस्ती छाडेर नाम्सुङ खोला किनारमा छन् भने ध्ये गाउँका २० परिवार कालीगण्डकी किनारको थामसुङमा ‘जलवायु शरणार्थी’ जीवन बिताइरहेका छन्
मुस्ताङ — जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्न थालेपछि मुस्ताङका गाउँ नै विस्थापित हुन थालेका छन् । मूल सुकेर मानिस र चौपाया तथा सिँचाइका लागि पानीको संकट हुन थालेपछि पुर्ख्यौंली थलो छाडेर बसाइँ सरेका बस्ती हुन्, साम्जोङ र ध्ये गाउँ ।
मुहान सुक्न थालेपछि पानीको खोजीमा भौंतारिएका लोमन्थाङ गाउँपालिका–२ साम्जोङका १८ परिवारका ८५ जना २०७१/७२ देखि पुरानो बस्ती छोडेर सोही वडाको नाम्सुङ खोला किनारामा विस्थापित भएका थिए ।
‘मुस्ताङ्गी कान्छो गाउँ’ अर्थात् नयाँ साम्जोङमा उनीहरु बसेको जग्गा अधिकांश पूर्व मुस्ताङ्गी राजाको हो । केही सरकारी पर्ती जग्गा पनि छ । खोला किनारको समथर बगरमा सरेको नाम्सुङको यो बस्तीलाई ‘नयाँ साम्जोङ’ भन्ने गरिन्छ ।
सिँचाइ र पिउने पानी पर्याप्त भएकाले नाम्सुङको बसाइँ साम्जोङको भन्दा धेरै सहज छ । नामसुङमै जोडिएको अन्तरदेशीय सडकले अन्य सुविधा पनि भएको छ । ‘साम्जोङमा पानीका मुहान सुकेपछि काकाकुल बनेको थियो । विभिन्न दाताको सहयोगमा साम्जोङ बस्ती नामसुङमा सारिएको हो,’ लोमन्थाङ–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ग्याल गुरुङले भने, ‘हिउँदमा हिउँ नपर्ने र बर्खामा अस्वाभाविक वर्षा हुँदा खेती प्रणाली, पशुपालन र जीवन पद्धतिमै प्रभाव पारेको छ । हिमपात र वर्षाको चक्र यसरी नै बिग्रने हो भने साम्जोङजस्तै समस्या पूरै मुस्ताङ्गीले बेहोर्नुपर्ने दिन आउन सक्छ ।’
हेर्दै गुजमुज्ज परेका घर रहेको गाउँ रमाइलोजस्तो देखिए पनि लोमन्थाङ–१ मा पर्ने पुरानो साम्जोङ बस्ती अहिले उजाड छ । घर रित्ता र खेतबारी बाँझो छन् । साम्जोङवासीले गाउँ छाडेर हिँडेपछि उनीहरुले खुल्ला चरिचरनका लागि छाडेका घोडाहरुले रित्तो साम्जोङ गाउँ रुँगेका छन् ।
साम्जोङजस्तै खानेपानी र सिँचाइ गर्ने पानीका मुहान सुकेपछि लोघेकर–दामोदरकुण्ड गाउँपालिका–५ मा पर्ने ध्ये गाउँका २० परिवारको एक सयभन्दा बढी जनसंख्या कालीगण्डकी नदी किनाराको थामसुङमा ‘जलवायु शरणार्थी’ जीवन बिताइरहेको छ । खानेपानी र सिँचाइ गर्ने मूल सुकेपछि उनीहरू सन् २००७ मा २ घन्टा तल ३७०० मिटर उचाइमा रहेको सोही पालिका ५ मा पर्ने कालीगण्डकी नदी किनाराको थामजुङमा बसाइँ सरेको थियो । ‘हिमालपारिको मुस्ताङमा जलवायु परिवर्तन वर्तमान पुस्ताले सामना गर्नुपरेको कठिन चुनौती मात्र होइन, भविष्यका लागि गम्भीर खतरा पनि हो,’ लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोप्पेल विष्टले भने, ‘हामी जलवायु परिवर्तनको असर सामना गर्न पालिका तहबाट जलवायु अनुकूलन कार्ययोजना निर्माण गर्ने र सोहीअनुसार असर कम गर्ने प्रयासमा लागेका छौं ।’
मुस्ताङमा वर्षा र हिमपातको क्रम फेरिन थालेको दुई दशकभन्दा बढी भयो । चाहिने बेलामा पानी नपर्नु, हिउँदमै हिउँ नपर्नु, पानीका मुहान सुक्दै जानु, माटो सुक्खा भएर खेती गर्न नमिल्नु, चरन क्षेत्र घट्दै जानु, अस्वाभाविक र औसत बढी पानी पर्दा बाढी आएर जनजीवन कष्टकर बनेकाले साम्जोङ र ध्ये गाउँ खाली भएका हुन् ।
यस्तै बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने तेताङमा पनि जलवायु परिवर्तनका कारण खेतबारीमा सिँचाइ गर्ने पानी सुक्दै गएको स्थानीयले बताएका छन् । पानीको स्रोत अझै सुक्यो भने साम्जोङ र ध्ये गाउँवासीले झैं बस्ती छाड्नुपर्ने त्रासमा तेताङका बासिन्दा पनि छन् ।
तेताङमा सिँचाइका लागि बस्तीदेखि माथि चार घण्टा हिँडेर पुगिने मनाङको सीमामा पर्ने को र याचो मूलको पानी ल्याइएको छ । तर हिउँ पर्न कम भएर मूल सुक्दै गएपछि सिँचाइका लागि अपुग हुन थालेको छ । ‘पहिला कुलोमा सिँचाइ गर्न पुग्ने गरी आउँथ्यो,’ बारागुङ मुक्तिक्षेत्र–३ का वडा सदस्य धर्पो गुरुङले भने, ‘अहिले मूलमै पानी घटेपछि कुलोबाट बगाएर खेतबारीमा पुर्याउँदा पानी नै सानो हुन्छ । पाइपबाट ल्याउन सजिलो छैन, महँगो पनि छ ।’
हिमालय शृंखलाको बृष्टि छाँयामा पर्ने उपल्लो मुस्ताङमा मनसुनी वर्षा अति सामान्य हुन्थ्यो । हिउँदमा भने बाक्लो हिमपात हुन्थ्यो । दुई दशकदेखि जलवायु परिवर्तनले हिउँदमा हिउँ नपर्ने र बर्खामा औसत बढी बर्षा हुन थाल्यो । हिउँदमा बाक्लो हिमपात परेर पग्लेपछि फागुन अन्तिम/चैतमा बारीका फाँटअनुसार आलोपालो गरी उवा, फापर, तोरी र आलु रोपेपछि मध्य असोज–कात्तिक पहिलो सातासम्म बाली भित्र्याउने गरिन्छ । तर अचेल खेती प्रणाली नै फेरिन थालेको छ । हिउँ नपर्दा खेतबारी सुक्खा भएर उत्पादन घट्दै गएको छ ।
‘हिउँदमा हिउँ परेन । एक बाली मात्र खेती हुने हाम्रो ठाउँमा फागुन मध्यदेखि चैतमा बाली लगाउनुपर्छ । हिउँ नपरेपछि बलौटे माटो सुक्खा भयो, मुहान सुकेकाले बस्ती छेउको खोलामा पानी आएन, सिँचाइ गर्न पनि समस्या भयो । उब्जाउ नभएपछि गाउँमा अनिकाल पर्यो त्यसैले जन्मथलोबाट लालाबाला च्यापेर नाम्सुङ झरेका हौं,’ ६० वर्षीया छिङ्जु गुरुङले भनिन्, ‘नाम्सुङको जीवन सजिलो त छ तर याद उतैको आइरहन्छ ।’
जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार मुस्ताङको सबैभन्दा माथिल्लो लोमन्थाङ गाउँपालिका–१ छोसेरस्थित मौसम मापन केन्द्रको रेकर्डमा सन् २००९ सम्म उपल्लो मुस्ताङमा अधिकतम वर्षा २ सय मिलिमिटर भन्दा तल थियो । त्यसयता वर्षाको मात्रा बढेर सन् २०२३ सम्म आइपुग्दा अधिकतम ३ सय ३१ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड छ । त्यस्तै, जोमसोमस्थित एरोसिनप्टिक केन्द्रको रेकर्डमा सन् २०१० सम्म जोमसोम क्षेत्रमा अधिकतम वर्षा ३ सय मिलिमिटरभन्दा तल रहेकामा सन् २०२३ सम्म आइपुग्दा वर्षाको मात्रा बढेर वार्षिक अधिकतम ६ सय ६५ मिलिमिटरसम्म पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा वार्षिक औसत अधिकतम तापक्रम ०.०५६ डिग्रीले वृद्धि भइरहेको छ । सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान वृद्धिले ठूलो असर गर्न थालिसकेको छ । 
अर्न्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार अहिले विश्वको तापक्रम १.१ डिग्री बढ्दा पनि हिमाली क्षेत्रको हिउँ पग्लने क्रम तीव्र भएको छ । यो तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित पार्न सके मात्र पनि हिमाली क्षेत्रको एक तिहाइ हिउँ पग्लेर सकिने सम्भावना छ । ‘प्राकृतिक रुपमै मुस्ताङको भूगोलमा पानी सहन क्षमता छैन । प्रकृतिले मुस्ताङको भूगोल हिउँ धेरै पर्ने र पानी अति कम पर्ने गरी बनेको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा हिमपात हुने र पानी पर्ने प्याटर्न चेन्ज भएको छ । हिउँ जम्नुपर्ने भूगोलमा हिउँ पर्ने क्रम बिस्तारै घट्दै गएको, हिउँ पर्दा तह पनि पातलो हुँदै गएको र लामो समय नजम्ने हुँदा पानी सोसिएर (स्टोर) रहन पाएन । हिउँ बिस्तारै पग्लिएर जमिनको पानी भण्डारण भरिनुपर्नेमा रित्तो बनेपछि स्वाभाविक रुपमा पानीका मुहान सुक्न थालेका हुन्,’ इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठले भने, ‘विश्वले जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र प्रदूषण गरी प्रमुख तीन वटा संकट सामना गरिरहेको छ । त्यसमध्ये हिउँ पर्ने स्थानमा पानी पर्न थालेपछि हिउँले ढाकेको क्षेत्र माथिमाथि सर्दै गएको छ । केही वर्षअघिसम्म जुन स्थानको घेरासम्म मंसिरदेखि माघमा हिउँ पर्थ्यो, अहिले त्यो घेरामा हिउँ पर्न छाडेको छ ।’
जलवायु परिवर्तनको प्रभावले गाउँमा पानीको मुहान सुक्दै गएपछि पुर्खाले जोडेको थातथलोको माटो छाडेर स्थानीय बासिन्दा सजिलो ठाउँमा स्थानान्तरण भएपछि साम्जोङ र ध्ये गाउँका घर भत्किँदै गएका छन् । बस्ती खण्डहर र उराठलाग्दा बनेका छन् । उर्वर खेतबारी घोडाको चरन खर्क बनेका छन् । जलवायु परिवर्तनका कारण तापक्रम बढ्दो छ । वर्षा र हिमपातको शैली फेरिन थालेको छ । हिउँदमा हिउँ पर्ने क्रम कम भएसँगै हिमरेखा माथि सर्दै गएको छ । हिउँ कम पर्ने र हिमरेखा माथि सर्दा घाँस उम्रने तह पनि माथि सर्दै छ । हिउँदमा हिउँले जति भिज्यो, उत्ति राम्रो घाँस पलाउँथ्यो । घाँस उम्रने रेखा पनि माथि सर्दै गएपछि चरन खुम्चिन थालेको छ । बस्ती नजिक चरन नभएपछि च्याङ्ग्रा, चौंरी चराउन धेरै माथि पुर्याउनुपरेको छ । चरन अभावमा पशुपालन पेसा पनि घट्दो छ ।
‘लगातार तापक्रम वृद्धि र समयमा हिमपात नहुँदा हिमपातको लाइन माथि सरेको, न्यून हिमपातले जमिन भिज्न नपाउँदा हिमाली झार उम्रिने क्रम पनि माथि सर्दै गएको छ,’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमन्थाङ कार्यालयका प्रमुख उमेश पौडेलले भने, ‘जलवायु परिवर्तनले अनियमित हिमपात र वर्षाका कारण हिमाली चरनमा असर गरेको छ । चरन क्षेत्र माथि खुम्चिन थालेपछि च्याङ्ग्राका गोठ माथि जाने र हिमचितुवाको आक्रमण बढेको देखिन्छ ।’
उपल्लो मुस्ताङका खेतीबालीमा रोगकिरा देखिन थालेसँगै रैथानेबाली संरक्षण, वृक्षारोपण र हिमचितुवाको आक्रमणबाट बचाउन च्याङ्ग्राको गोठसुधार जस्ता अनुकूलनका क्षेत्रमा काम थालेको पौडेलले बताए । इसिमोडले २२ वर्षदेखि निरन्तर निकालेको ‘स्नो अपडेट रिपोर्ट’ अनुसार हिमाली क्षेत्रमा सन् २०२४ मा दोस्रोपटक सबैभन्दा कम हिउँ देखिएको छ । इसिमोडको अध्ययनमा १३ वर्षयता हिउँले ढाक्ने क्रम कम हुँदै गइरहेको उल्लेख छ ।
