अध्ययन, अनुसन्धानमा २६ वर्ष भारतमा बिताएर स्वदेश फर्केका कुन्क्याप अनाथ, असहाय र विपन्न ८७ विद्यार्थीलाई नि:शुल्क पढाउने स्कुल चलाइरहेका छन्
डोल्पा — चिटिक्क परेका कक्षाकोठा । अलग्गै कम्युटर कक्षा । व्यवस्थित पुस्तकालय । ठूलो खेलमैदान । सफासुग्घर विद्यार्थी अनि आवासीय बसाइ । यो कुनै सहरबजारको निजी स्कुलको दृश्य होइन । यो त डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित लामापाइलामा रहेको डोल्पो बोन विद्यालयको हो ।
जहाँ पढिरहेका छन्, नर्सरीदेखि कक्षा ८ सम्म ८७ विद्यार्थी । त्यो पनि निः शुल्क । १६ वर्षदेखि यो विद्यालयलाई एक्लै हाँकिरहेका छन्, खेन्पो गेसे निमा कुन्क्याप रोकायले ।
कर्णालीको दुर्गम हिमाली जिल्ला डोल्पामा एकल पहलमा निःशुल्क शिक्षा बाँडिरहेका रोकायको पृष्ठभूमि नबुझेसम्म उनको समाजप्रतिको गहिरो लगाव बुझ्न सकिन्न । दलित, विपन्न, बेसहारा र हिंसापिडित बालबालिकालाई निःशुल्क पढाउने स्कुल खोल्ने सपना उनले कसरी देखे ?
बोन धर्मबाट विद्यावारिधी गरेका उनको सपनाको कथा बुझ्न २०६१ सालमा पुग्नुपर्छ । त्यतिबेला उनले डोल्पो बोन समाज नामक संस्था खोलेका थिए । यो संस्था खोल्नुअघि उनी आफ्नै प्राज्ञिक संसारमा थिए । भारतको हिमाचलस्थित बोन धर्मको विश्वकै सबैभन्दा ठूलो मेन्ड्री गुम्बाबाट बुद्ध धर्मदर्शनमा सन् १९९४ मा उनले विद्यावारिधि सके । त्यसपछि पनि उनको प्राज्ञिक यात्रा रोकिएन । उनले सन् २००२ मा बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट फिलोसोफी अफ बुद्धिस्टमा पोस्ट डक गरे ।
वर्षौं लामो अध्ययन र अनुसन्धानको यात्रापछि उनी पुगे, भारतको उत्तर प्रदेश सारनाथस्थित केन्द्रीय तिब्बती अध्ययन विश्वविद्यालयमा । त्यहाँ उनी बोन विभागको प्रमुख भए । सन् १९९५ देखि २००८ सम्मका १३ वर्ष उनले यही नेतृत्वदायी भूमिकामा बिताए ।
भारतमा वर्षौं बिताए पनि उनको मनमा डोल्पाकै सम्झना ताजा थियो । त्यहाँको गरिबी र अशिक्षाबारे उनी परिचित नै थिए । किनकि डोल्पाको काइके गाउँपालिका–५ बैजीबाडामा २०२० सालमा एक विपन्न परिवारमा जन्मिएका उनलाई आफ्नो गाउँ परिवेशको यथार्थ थाहा नहुने कुरै थिएन ।
वर्षौंसम्म भारत बसेर नेपाल फर्केका बेला उनले काठमाडौंको आरुबारीमा घर बनाउने र यतै बस्ने योजना बनाएका थिए । त्यतिका वर्ष विश्वविद्यालयमा काम गरेर र विभिन्न थान्काचित्र, प्राचीन चित्र बनाउने सीपबाट उनले झन्डै ३५ लाख नगद नै जम्मा पारिसकेका थिए । तर उनी आफ्नो सोचमा अडिएनन् । एक दिन आफैंलाई प्रश्न गरे, म अविवाहित छु । बा–आमा बितिसके । कसका लागी घर बनाऊँ ? यही प्रश्नले झस्केपछि उनी आफ्नो जन्मथलो डोल्पा पुगे । त्यही बेला उनले सोचे, यहीँ एउटा धार्मिक स्कुल खोल्छु ।
सात वर्षको हुँदा आमा बितिन् । बाले दोस्रो बिहे गरेपछि उनका थप दुःख सुरु भएका थिए । गाउँमा ठूलो लामाको परिचय बनाएका हजुरबाको लालनपालमा हुर्केका उनले सानैदेखि बोन धर्मबारे जान्ने र बुझ्ने मौका पाएका थिए । १२ वर्ष हुँदा उनले बाबु र १७ वर्ष हुँदा हजुरबा गुमाएपछि उनले फेरि अत्यासलाग्दा दिन भोगेका थिए । यो सबै पृष्ठभूमिले पनि उनलाई गाउँमै केही गर्नुपर्छ भन्ने निष्कर्षमा पुर्याएको थियो ।
उनीमाथि एक दाजु थिए । मुनी एक बहिनी । दाजु बागलुङको ढोरपाटनमा व्यापार गर्न गइराख्थे । कान्छीआमाले बिहे गर्न दबाब दिएपछि उनी गाउँका हजुरबुबा नाता पर्ने रिम्पोछेको फेरो समातेर भारततिर लुसुक्क लागेका थिए । उनले विगत सम्झिँदै सुनाए, ‘हजुरबाकै सहयोगमा मैले सिम्लाको मेन्ड्री गुम्बामा १३ वर्ष बिताएँ ।’ संयोगले उनी उच्च शिक्षाको ढोकासम्म पुगेका थिए । तर यस्तै संयोग डोल्पाका दशौं हजार बालबालिकाले पाइरहेका छैनन् भन्नेबारे उनी जानकार नै थिए । त्यसैले उनी सधैंका लागि डोल्पा फर्किनुपर्छ भन्नेमा पुगे ।
डोल्पा फर्केको सुरुवाती दिनमा उनी सदरमुकाम दुनैस्थित ‘ब्लुसीप’ होटलमा बसेका थिए । त्यही बसाइमा क्रममा उनको भेट होटलका सञ्चालकनक लक्ष्मीशरण शर्मासँग भयो । उनले आफ्नो योजना बताए । अनि शर्माले गफै गफमा भने, ‘तपाईं अघि बढनुस् । म जग्गा दिन्छु ।’
यति भनेका शर्माले तत्कालै दुनै बजार पारिपट्टि रहेको लामापाइलामा साढे पाँच रोपनी जग्गा डोल्पो बोन समाजका नाममा पास गरिदिए । त्यही जग्गामा उनले व्यक्तिगत खर्चमा एउटा स्तूप निर्माण गरे ।
स्तूप निर्माण गर्ने बेलासमम उनले थाहा पाए, काइकेसहित जिल्लाभर नै लामा (बौद्ध धर्मका पुजारी) का छोराले लामा नै पढ्नुपर्छ भन्ने सामाजिक मान्यता रहेछ । अनि स्थानीय बासिन्दा ठूलो दुःख सहेर पढ्नकै लागि भारतका अनेक प्रान्त धाउन बाध्य थिए । गाउँमा लामा पढ्ने विद्यालय नभएपछि पुरोना धर्म, संस्कृति र लामा भाषासमेत लोप हुने चिन्ता उनले महसुस गरे । अनि आफ्नो बाजे पुर्खाको सम्पत्तिका रुपमा रहेको संस्कार, संस्कृति र धर्म मासिन्छ कि भन्ने उनलाई लाग्यो । रोकायले सम्झिए, म पनि त यसैगरी १७ वर्षको उमेरमा भारतमा पढन पुगेको थिएँ ।
आफ्नै विगत अनि विद्यमान परिपाटीपछि उनी निष्कर्षमा पुगे, एउटा विद्यालय किन नखोल्ने ? उनले काठमाडौंमा घर बनाउने योजनाका साथ जम्मा गरेको पैसा यही स्कुल खोल्न खर्चिने निर्णय गरे ।
सुरुमा उनले लामापाइलामा तीन वटा भौतिक संरचना बनाए । उनी यतिमै अडिएनन् । पोखरामा रहेको आफ्नो जग्गा बेचेर स्कुलको भवन निर्माणको थप काम अघि बढाए । अनि सुरु भयो, डोल्पो बोन विद्यालय ।
सुरुवाती दिनमा उनको स्कुलमा लामा पढ्ने २१ जना मात्र विद्यार्थी थिए । तीमध्ये नौ जनाले लामा र बोन धर्मसम्बन्धी विशेष कक्षा पढे । जसमा ध्यान गर्ने, पूजा लगायतका लामा संस्कारका विधि पद्धति पर्छन् । तीन वर्षको पढाइ सकेर उनीहरु गाउँ फर्के ।
रोकायले सुनाए, ‘हामीकहाँ पढेर फर्केकाहरु राम्रोसँग पूजापाठ गर्न सक्ने भए । त्यसले गाउँमा खुसीयाली छायो ।’ गाउँकै विद्यालयमा लामा पूजा विधि, ज्ञानगुणका कुरा सिक्न पाइने भएपछि बालबालिकाको पैसा र समय पनि जोगियो । अनि अभिभावकलाई पनि परदेशमा छोराछोरी पठाउने चिन्ता हट्यो ।
सुरुका केही वर्ष यो विद्यालयबाट लामा मात्रै पढाइ भयो । तर पछि उनले विद्यालयलाई फराकिलो बनाउने प्रयास सुरु गरे । भने, ‘लामा पढ्न नचाहने विद्यार्थीलाई पनि पढ्ने मौका दिनुपर्छ भन्ने लाग्यो । अनि सबै विषय पठनपाठनहुने बोर्डिङ स्कुलकै रुपमा पढाइ सुरु गरियो ।’ अहिले यो विद्यालयमा लामाबाहेक नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक लगायतका थप विषय पढाइ हुन्छ ।
दुर्गम भेगमा सुविधासम्पन्न विद्यालय चलाउनु सजिलो कुरा पक्कै छैन । विद्यालय सञ्चालनका लागि खर्च जुटाउन एक्लै प्रयत्न गरिरहेका छन् । भन्छन, ‘सुरुमा एक्लै भए पनि दुई वर्षयता देशविदेशमा रहेका साथीभाइबाट वार्षिक ८/१० लाख रुपैयाँ नियमित सहयोग मिलेको छ ।’ उनले विद्यालय सञ्चालनका निम्ति लाग्ने खर्चमध्ये ८० प्रतिशत आफू एक्लैले गरिरहेको र अरु विभिन्न स्रोतबाट जुटाइरहेको बताए ।
विद्यालयका प्रधानाध्यापक सिराप नाम्दो रोकायका अनुसार विद्यालय सञ्चालनमा अहिले १६ जना शिक्षक र कर्मचारीको तलब, विद्यार्थीका निम्ति खाजा, खाना, कपडा र पाठ्यसामग्री गरेर वार्षिक ८० देखि ८५ लाखसम्म खर्च हुने गरेको छ । त्यसो भए यतिका धेरै रकम उनले कसरी जुटाइरहेका छन् त ?
आधुनिक शैलीको व्यवस्थित र निःशुल्क शिक्षाको सुरुवात गरे पनि उनले सरकारी निकायबाट भनेजस्तो आडभरोसा भने पाएका छैनन् । जिल्ला शिक्षा कार्यालयले ५० हजार सहयोग दिएको थियो । विद्यालय रहेको ठूलीभेरी नगरपालिकाले अहिले वार्षिक रुपमा स्कुललाई दुई लाख ४० हजार अनुदान सहयोग गरिरहेको छ । अरु रकम भने रोकायले देश विदेशमा गर्ने पूजा पाठ र मनकारीहरुको सहयोगबाटै जुटाइरहेका छन् ।
निमा ज्योतिषशास्त्र, तन्त्रमन्त्र विद्या जान्ने रोकायसँग सेवा लिने स्वेदशमा भन्दा विदेशमा धेरै छन् । उनी पूजापाठ, भविष्यवाणी लगायतका कामकै लागि अमेरिका, मेक्सिको, रुस, पोल्यान्ड लगायतका देश पुगिरहेका हुन्छन् । त्यता पुगेर हुने सबै आम्दानी विद्यालयमै खन्याइरहेका छन् । उनले सुनाए, ‘विदेशमा पूजापाठबाटै एकै दिन पच्चीस लाखसम्म कमाएको अनुभव पनि छ । यसरी हुने सबै आम्दानी विद्यालयमै लगाइरहेको छु ।’
यसका अलावा उनले विद्यार्थीका अभिभावकले पनि विद्यालयप्रति स्वामित्व होस् भनेर आफ्नो घरमा जे अन्नबाली उत्पादन हुन्छ, त्यही वार्षिक रुपमा ३५ किलो बुझाउनुपर्ने नियम पनि बसालेका छन् । तर यो नियम बाबुआमा नभएका अनाथ विद्यार्थीको हकमा भने लागू हुँदैन ।
ठूलीभेरी नगरपालिकाका नगर प्रमुख सुवर्णकुमार बुढाले शैक्षिक क्षेत्रमा यस विद्यालयले ठूलो योगदान दिएको बताए । उनले भने, ‘हुनेखानेका बालबच्चा जिल्लाभित्र र बाहिरका निजी स्कुलमा चर्को शुल्क तिरेर पढिरहेका छन् । तर एकजनाको पहलबाटै गुणस्तरीय शिक्षा प्रदान गरिनुभन्दा ठूलो समाजसेवा के होला र ?’ प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आफूहरुले बोन विद्यालयको अनुगमन गर्दा त्यहाँको शैक्षिक, भौतिक, वातावरणीय पक्ष सुन्दर रहेको बताए । भने, ‘यो विद्यालयले साँच्चिकै डोल्पाको शिक्षा क्षेत्रमा योगदान दिएको पाइयो ।’
विद्यालयका प्रधानाध्यापक सिराप नाम्दो रोकायले वर्तमान समय परिवेशसाग सुहाउँदो गुणस्तरीय शिक्षा निःशुल्क दिन आफूहरुले मिहिनेत गरिरहेको बताए ।
यहाँ पढ्न आउने अधिकांश विद्यार्थीको आफ्नै संघर्ष र दुःखले भरिएको विगत छ । केही विद्यार्थी बाबुआमा दुवै गुमाएका छन् भने कोही परिवारका अनेकन अप्ठ्यारोबाट गुज्रिइरहेकाहरु । धेरैजसो भने अत्यन्तै दुर्गम भूभागका छन् । जस्तो कि, विद्यालयबाट गाडी र पैदल दुवै सिंगो एकदिनपछि पुगिने मुड्केचुला गाउँपालिकाको विकट होर्त गाउँबाट पढ्न आएका विद्यार्थी कुमार बुढा । विद्यालयमा कुमार जस्तै धेरै विद्यार्थी छन्, जसको घर यहाँबाट पुग्न सिंगो दिन हिँड्नुपर्छ ।
६१ वर्षको उमेरमा निमा कुन्क्याप रोकायसँग उति ठूलो सपना छैन । यही स्कुललाई सधैंका लागि सजिलोसँग चलाउने माध्यम बनाउन पाए हुन्थ्यो भन्नेमा दत्तचित्त छन् । १३ वर्ष स्थायी सेवा गरेर पनि पेन्सन नपकाएरै जागिर छाड्ने निर्णयमा न उनलाई पछुतो छ न आफूसँगैका साथी मासिक २ लाख भारु तलब बुझिरहेका छन् भन्ने कुराको सम्झनाले दिने रमरम अनुभूति नै ।
२० वर्षमा पेन्सन पाक्छ भन्ने कुरा पनि थाहा नपाएजसरी दुर्गम डोल्पा फर्किन लागेको कुरा सुनेर सुरुमा त उनकै साथीहरुले समेत पत्याएका थिएनन् । तर उनले केही फरक गर्ने सोचिसकेका थिए । उनले भने, ‘एकै ठाउँमा बसेर जागिर नखाने सोच बनाइसकेको थिएँ । त्यही भएर म आफ्नो कुरामा प्रस्ट थिएँ ।’
अब १०/१५ वर्ष सक्रिय रुपमा विद्यालयका लागि काम गर्ने मनसुवा उनको छ । त्यसपछि भने राम्रो व्यक्तिलाई विद्यालय हस्तान्तरण गरेर गाउामा रहेको गुफामै बसेर ध्यान साधना गर्ने योजना उनको छ । उनले भने, ‘जीवनको उत्तरार्द्धमा त्यही गुफामै समाधी लिने मेरो विचार छ ।’
नेपाल बोन बुद्धिस्ट महासंघका अध्यक्ष समेत रहेका उनले उनले कोभिडको समयमा व्यक्तिगत रुपमा ७० लाख खर्चेर आफ्नो गाउँमा रहेको प्राचीन ऐतिहाासिक सेताङ्ग युङ्ड्रुङ्ग सुक्टसाल गुम्बाको पुनः निर्माण समेत गरेका छन् । करिब चार सय वर्ष पुरानो जीर्ण गुम्बा मर्मत गर्दाको खुसीले उनी अहिले पनि पुलकित देखिन्छन् ।
काइके–७ का वडाध्यक्ष रामचन्द्र रोकायले उनले बोन धर्म संरक्षण संवर्द्धनका लागि अतुलनीय योगदान दिएको बताए । ‘उहाँ काइके गाउँपालिका मात्र नभएर जिल्लामा निःस्वार्थ समाजसेवा गर्नेमा अग्रपंक्तिमा हुनुहुन्छ,' उनले भने, 'गाउँमा पनि प्राचीन गुम्बाको जीर्णोद्धार गर्नेदेखि पढ्न नपाएका बालबालिकालाई निःशुल्क पठनपाठन गर्ने जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।’
