हेमजामा ठडिँदै घर, मासिँदै आलु

आलुका लागि प्रख्यात हेमजामा १० वर्षमा घर संख्या ५२.१० प्रतिशतले बढेको छ । खेतमा घर ठडिँदा आलु खेती घट्न थालेर गाउँको पहिचान नै मासिने चिन्ता छ । 

वैशाख २, २०८२

अनुप पौडेल

The house is standing in Hemja, potatoes are being mashed

कास्की — हेमजाकी शारदा पौडेल २७ वर्षदेखि आलु खेतीमा सक्रिय छिन् । पोखरा महानगरपालिका–२५ स्थित २ रोपनी खेतमा ८/१० वर्षअघि उनी वार्षिक २५ क्विन्टल आलु फलाउँथिन् । पछिल्ला वर्ष उनको बारीमा मुस्किलले १५ क्विन्टल आलु फल्छ । ‘हिउँदमा पानी छैन । पहिले कुलो २४ घण्टा नै आउथ्यो ।

आजकल मुहान पनि सुक्दै गए । बस्ती पनि धेरै बढिसक्यो,’ ५२ वर्षीय शारदाले सुनाइन् । शारदाले अब आलु खेती नगर्ने मनासय बनाएकी छन् । अपर्याप्त सिँचाइ, महँगो मल, उत्पादन ह्रासले गर्दा उनी आलु खेतीबाट टाढिन खोजेकी छन् । ‘पहिला कुखुराको मल १ सय ५० रुपैयाँ बोरा पाइन्थ्यो । अहिले ६ सय ५० पर्छ । किसानलाई केही छैन,’ उनले थपिन्, ‘अब खेती गरेर केही हुन्छजस्तो लाग्दैन ।’

छिटो पाक्ने र स्वादिलो भएकाले हेमजाको आलु निकै रुचाइन्छ । आलु उत्पादनमा ख्याति कमाएको हेमजामा आलु फल्ने खेतमा घर ठडिने क्रम बढ्दो छ । डेढ दशकदेखि आलु खेती गरिरहेका अर्जुन तिमिल्सिना माटोले सुधार नपाउनु, खेतीयोग्य जमिनमा घर ठडिनु, खेती महँगो हुनाले उत्पादनमा ह्रास आएको बताउँछन् । ‘मेरो खेत वरिपरि घर नै थिएनन् । आलु खेती हुन्थ्यो । अहिले प्लटिङ छ, घर–घडेरी बनेको छ,’ उनले सुनाए, ‘मैले पहिला २०-२५ रोपनीमा खेती गर्थे । अहिले १० रोपनी मात्र छ ।’ १० वर्षको अन्तरमा हेमजा क्षेत्रमा घर संख्या ५२.१० प्रतिशतले बढेको छ ।

०७८ को जनगणनाअनुसार पोखरा–२५ मा ४ हजार ५ सय ९२ घर छन् । ०६८ को जनगणनामा साविकको हेमजा गाविससहित हालको पोखरा–२५ मा ३ हजार १९ घर थिए । १० वर्षमा १ हजार ५ सय ७३ घर (५२.१० प्रतिशत) थपिएका छन् । ०६८ मा साविकको हेमजा गाविसमा २ हजार १ सय १३ कृषक थिए । महानगरपालिकामा सूचीकृत हेमजाका निर्वाहमुखी र व्यवसायिक कृषकको संख्या हाल १ हजार ६ सय २४ छ । यहाँ ४ सय ८९ जना कृषक घटेका छन् । खेतमा घर बनेपछि कृषि गर्नेको संख्या घटेको यो तथ्यांकले देखाउँछ । ‘घर बनाउने र खेती गर्ने जमिन छुट्याउनुपर्ने हो । हाम्रोमा त मूल्यवान खेतीयोग्य जमिन मासिएको छ,’ तिमिल्सिनाले भने । 

The house is standing in Hemja, potatoes are being mashedहेमजा बजार क्षेत्रमा निर्मित घरवरपर रहेका खेत । पर्वत, बाग्लुङ, म्याग्दीसहित छिमेकी माछापुच्छ्रे गाउँपालिकाबाट भइरहेको बसाइँसराइका कारण हेमजामा आलु उत्पादन हुने खेतमा घर बन्ने क्रम बर्सेनि बढ्दो छ । तस्बिर सौजन्य : निराजन अधिकारी

सडकको विकासले हेमजा आसपासका गाउँका बासिन्दा बसाइँ सर्न थालेपछि यहाँ घर थपिने क्रम सुरू भएको हो । छिमेकी माछापुच्छ्रे गाउँपालिकासहित पर्वत, बागलुङ, म्याग्दीबाट हेमजा क्षेत्र आएर बस्नेहरु बढेका छन् । हेमजाको माथिल्लो बेल्टमा म्याग्दीबाट झरेकाले ‘म्याग्दी चोक’ भनेर ठाउँको नामकरण नै गरेका छन् । तल्लो बेल्ट जहाँ आलु खेती बढी हुन्छ त्यहाँ माछापुच्छ्रे गाउँपालिकाबाट झरेका बढी छन् । पोखरा बजारबाट नजिक, सबैखाले सुविधाको उपलब्धता नै हेमजामा बस्ती विकास हुनुको प्रमुख कारण हो । बस्ती विकास र सेवासुविधाको सहजताले हेमजाले दशक आसपासमै ग्रामीण भेगबाट एउटा सहरको स्वरूप लिएको छ ।

तर, व्यवस्थित बस्ती विकास अवधारणाको अभावमा आलु खेती बर्सेनि संकटमा परेको छ । कृषि ज्ञान केन्द्र कास्कीको तथ्यांकअनुसार कास्कीमा १ हजार ७ सय ८९ हेक्टर क्षेत्रफलमा आलु खेती हुन्छ । ५ पालिकामध्ये कुल क्षेत्रफलमध्ये ६९.८७ प्रतिशत खेती पोखरा महानगरपालिकाभित्र हुन्छ । पोखराका ३३ वडामध्ये वडा १३, २३, २४, २५, २६, २७, २९ मा आलु खेती धेरै हुने पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको तथ्यांक छ । हेमजाका किसानले एमएस ४२.३ जातको आलु लगाउँछन् । अन्य ठाउँमा जनकदेव, पीबीएस, अंगुरे जातको आलु धेरै उत्पादन हुन्छ । 

पोखरामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा आलु खेती गरिने कृषि ज्ञान केन्द्र कास्कीको २०८०/८१ को तथ्यांक छ । त्यहाँबाट वार्षिक २२ हजार ५ सय टन आलु उत्पादन हुन्छ । हेमजाको करिब ४ सय ५० हेक्टरमा आलु खेती गरिन्छ जहाँ वार्षिक करिब ५ हजार टन आलु फल्छ । हेमजाले पोखरामा खपत हुने आलुको करिब ४० प्रतिशत माग धानेको छ । महानगरपालिकाको तथ्यांक अनुसार २०७७/७८ देखि २०८०/८१ सम्म आउँदा पोखरामा आलु उत्पादन बढेको छ । २०७७/७८ मा १ हजार २५३ हेक्टरमा २१ हजार ३ सय १ टन आलु फलेको थियो । २०८०/८१ मा १ हजार २ सय ५० हेक्टरमा २२ हजार ५ सय टन आलु फलेको छ । हेमजा क्षेत्रमा आलु खेती केही घटे पनि पोखराका अन्य क्षेत्रमा बढेकाले पोखरामा आलु उत्पादन बढेको पोखरा महानगरपालिका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनहर कडरियाले बताए । 

पोखरालाई आवश्यक भन्दा उत्पादन हुने आलु ४१.५८ प्रतिशत कम छ । जनसंख्यालाई आधार मानेर पोखरा महानगरपालिकाले गत वर्ष निकालेको तथ्यांकअनुसार वार्षिक ३८ हजार ५ सय १२ टन आलु आवश्यक पर्नेमा १६ हजार १२ मेट्रिक टनमात्र यहाँ उत्पादन हुन्छ । आवश्यक बाँकी आलु छिमेकी अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र तराईबाट आयात हुन्छ । पोखरा महानगरपालिकाले हेमजाको आलुलाई ब्रान्डिङ गर्नुका साथै न्यूनतम समर्थन मूल्य ३० रुपैयाँ निर्धारण गरेको छ ।

The house is standing in Hemja, potatoes are being mashedहेमजा आलु महोत्सवमा आलु खरिद गर्दै ग्राहक । तस्बिर : अनुप पौडेल/कान्तिपुर

अर्थात् कृषकले प्रतिकेजी ३० रुपैयाँभन्दा कममा बिक्री गर्नु पर्दैन । ३ वर्षअघि हेमजामा कोल्डस्टोर बनेको छ । आलुको बीउ उत्पादन र कोल्ड स्टोरमा राख्दा ५० प्रतिशत अनुदान महानगरपालिकाले दिन्छ । सरकारी निकायको लगानी बढे पनि खेतमा घर ठडिनु हेमजाको आलु खेतीका लागि चिन्ताको विषय भएको पोखरा महानगरपालिका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । ‘खेती गर्छु भन्नेसँग भूमि भएन । भूमि लिएर खेती गर्दा महँगो पर्ने भयो । हिउँदमा पानीको समस्या पनि छ,’ उनी कारणबारे भन्छन्, ‘अर्को दुःख गर्ने बानी पनि घटेको हो कि भन्ने लाग्छ । नभए सरकारको लगानी पहिलेभन्दा बढेकै छ ।’ 

पोखराको आलु बिक्री गर्न बजारको अभाव नरहेको प्रमुख कडरियाको दाबी छ । धान काटेपछि लगाइने भएकाले आलु छोटो समयमै राम्रो नाफा दिने नगदे बाली भएको उनी सुनाउँछन् । ‘आलु नबिक्ने, बजार नपाउने भन्ने छैन । १ सय ३० दिनमै राम्रो आम्दानी गर्न सकिने नगदे बाली हो,’ उनले थपे, ‘१ किलो उत्पादन गर्दा २३/२४ रुपैयाँ पर्छ । ४२ रुपैयाँमा बिक्री हुनु भनेको राम्रो हो ।’ 

बढ्दो बस्ती विकासले आलु उत्पादन घटेर महोत्सव नै संकटमा पर्ने चिन्ता आयोजकलाई छ । छोटो समयमै ग्रामीणबाट सहरी क्षेत्रको रूपमा विकास हुँदा उत्पादन भूमि मासिन थालेको क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठ बताउँछन् । ‘हेमजाको माथिल्लो भागमा निकै बस्ती बढेको छ । त्यहाँ खेती हुने जमिन तलभन्दा कम छ । आलु फल्ने बडहरे, माईस्थानमा पनि यो क्रम बढेको छ,’ उनले सुनाए । सरकारले उत्पादयोग्य भूमि संरक्षणमा नीतिमार्फत विशेष ध्यान दिन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । खेतीयोग्य जमिन संरक्षण नभए आलु उत्पादन नै नहुनेसम्मको अवस्था आउने उनी बताउँछन् । ‘भोलि उत्पादनमै समस्या हुने तड्कारो चुनौती हो । आलु महोत्सव भन्ने तर आलु नै उत्पादन नहुने हो कि भन्ने समस्या छ,’ श्रेष्ठले भने । 

खेतीयोग्य जमिन जोगाउने उद्देश्यले ०७९ मंसिरमा पोखरा महानगरपालिकाले कृषि र गैरकृषि क्षेत्र छुट्याएर भू-वर्गीकरण गरेको थियो । त्यसमा कृषिलाई गैरकृषि, गैरकृषिलाई कृषि क्षेत्रमा राखिएपछि उच्च अदालत पोखरामा रिट परेको थियो । अदालतले स्थानीय जनतालाई सूचित गरेर काम गर्न आदेश दिएपछि महानगरपालिकाले गत असोजमा अघिल्लो भू–वर्गीकरणमा गुनासो भए निवेदन दिन सूचना निकालेको थियो । प्राप्त निवेदन अध्ययन गरेर छिट्टै कृषि र गैरकृषि क्षेत्र छुट्याउने तयारी भइरहेको मेयर धनराज आचार्यले बताए । हेमजामा उत्पादित आलुको बजार बढ्नुको कारण यहाँ प्रत्येक वर्ष हुने आलु महोत्सव पनि हो । गाउँमा उत्पादित आलुको प्रचार र बजारीकरणको उद्देश्यले ०६६ सालमा महोत्सव सुरू भएको थियो । 

स्थानीय विष्णुपादुका युवा क्लबको आयोजनामा चैत २४ देखि १३ औं संस्करणको महोत्सव जारी छ । वैशाख ३ सम्म चल्ने महोत्सवमा आइतबारसम्म करिब ६२ हजार केजी आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिमिल्सनाले जानकारी दिए । प्रतिकेजी ४२ रुपैयाँ पर्ने आलुको आइतबारसम्म करिब २६ लाख रुपैयाँको कारोबार भएको छ । 

अनुप

Link copied successfully