धावनमार्ग कालोपत्र भएर पनि नियमित उडान नभइरहेका विमानस्थलमा अर्बौं खेर गइरहेका बेला मन्त्रीको आश्वासनपछि स्तरोन्नतिका नाममा हुने करोडौं लगानी बालुवामा पानीसरह
काठमाडौँ — संघीय सरकारमा बर्सेनिजसो फेरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले आफ्ना क्षेत्रका मतदाता खुसी पार्न बिनाकुनै ठोस योजना बन्द रहेका विमानस्थलमा परीक्षण उडान गराइदिने वा नियमित उडानको आशा देखाउने गर्छन् । धावनमार्ग कालोपत्र भएर पनि नियमित उडान नभइरहेका विमानस्थलमा अर्बौं रुपैयाँ खेर गइरहेका बेला मन्त्रीको आश्वासनपछि स्तरोन्नतिका नाममा हुने करोडौं लगानी भने बालुवामा पानी खन्याएजस्तै भएको छ ।
नेपालमा तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल छन् । जसमध्ये २० वटा पूर्ण रूपमा बन्द छन् भने ३५ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेका ३५ मध्ये दुर्गम स्थानमा रहेका दर्जनभन्दा बढी विमानस्थल नाम मात्रैको सञ्चालनमा छन् ।
अहिलेका नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै तत्परतामा अछामको कमलबजार विमानस्थलमा चैत २२ देखि नियमित उडान सुरु हुने वाचा गरिएको थियो । तर त्यो योजना करिब एक साता पर सरेको छ । नेपालगन्जबाट सातामा एकपटक कमलबजार उडान गर्ने गरी तयारी भइरहेको छ । ग्राभेल रनवे भएको विमानस्थलमा माघ ५ गते तारा एयरको विमानले परीक्षण उडान गरेको थियो ।
२०४८ सालमा ४ करोड ६३ लाख लागत अनुमान गरिएको यो परियोजनामा प्रारम्भिक चरणमै २ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो । २०४९ सालमा निर्माण सुरु भएको उक्त विमानस्थल बन्नुअघि नै माओवादी आक्रमणमा परेर ध्वस्त भएपछि बन्द थियो । त्यसपछि लामो समयसम्म गौचरनमा परिणत कमलबजार विमानस्थलमा २०७९/०८० मा संघीय सरकारले स्तरोन्नतिका लागि १ करोड ५० लाख बजेट विनियोजन गरेपछि ग्राभेल गरियो ।
माघ ५ गते परीक्षण उडान भएको विमानस्थलका लागि प्राविधिकसहित ४ जना कर्मचारी आवश्यक पर्ने र सोको व्यवस्थापन कमलबजार नगरपालिकाले गर्ने नगर प्रमुख यज्ञप्रसाद ढकालले बताए । उनका अनुसार ग्राभेल मात्रै भएको विमानस्थलमा नै सातामा एक दिन २५ मिनेटको हवाई दुरीमा रहेको नेपालगन्जसम्म उडान गर्ने तयारी गरिएको छ । ‘विमानस्थलबाट नियमित उडान गर्नका लागि उद्घाटन गर्न धेरै पटक मिति पनि तोक्यौं, विभिन्न कारणले उद्घाटन गर्न सकिरहेका छैनौं,’ नगर प्रमुख ढकालले भने, ‘विमानस्थल सञ्चालनका लागि टावरका लागि काम गर्ने दुई कर्मचारीलाई तारा एयरलाइन्सले तालिम दिने सम्झौता भइसकेको छ ।’
विमानस्थल नियमित सञ्चालनका लागि आर्थिक समस्या पर्ने भएकाले विमानस्थलबाट लाभ लिनसक्ने अन्य पाँच स्थानीय तहले आर्थिक सहयोग गर्ने सम्झौता पनि भइसकेको उनले बताए । मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन, ढकारी, तुर्माखाँद गाउँपालिकाले आर्थिक सहयोग गर्ने बताएका छन् । ‘विमानस्थल सञ्चालनका लागि आवश्यक खर्चको १०/१० प्रतिशत गरी ५० प्रतिशत ५ स्थानीय तहले बेहोर्ने र कमलबजार नगरपालिकाले ५० प्रतिशत खर्च बेहोर्ने सम्झौता भएको छ,’ उनले भने ।
उनका अनुसार विमानस्थल निर्माणको काम २०४९ सालदेखि निरन्तर सुरु भएको थियो । उपभोक्ता समितिबाट निर्माण भइरहेको अवस्थामा तत्कालीन विद्रोही माओवादीले टर्मिनल भवन भत्काएको थियो ।
कमलबजार विमानस्थलबाट करिब ७५ किलोमिटरको दुरीमा अछामकै साँफेबगरमा अर्को विमानस्थल छ । कालोपत्र रनवे रहेको उक्त विमानस्थलमा ९ महिनायता उडान ठप्प छ । तत्कालीन उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जोडबलमा ११ करोड ५० लाख रुपैयाँमा कालोपत्र गरिएसँगै २०७५ सालमा उक्त विमानस्थल पुनः सञ्चालनमा आएको थियो ।
माओवादीले २०५८ फागुन ४ गते ध्वस्त बनाएको साँफेबगर विमानस्थलमा २०६२ सालसम्म यदाकदा विमान सञ्चालनमा थियो । १३ वर्षसम्म गौचरनमा परिणत विमानवस्थलमा २०७५ सालपछि भने नियमित उडान सुरु भयो । कालोपत्र रनवे भएको साँफेबगर विमानस्थल सञ्चालनमा आएर पनि बन्द भएको अवस्थामा कमलबजारको ग्राभेल रनवे भएको विमानस्थलमा मन्त्री पाण्डेकै जोडबलमा उडान हुने भएपनि त्यसको दीर्घकालिन सञ्चालनमा भने स्थानीयले शंका गरिरहेका छन् ।
सुदूरपश्चिम प्रदेशकै कैलालीको टीकापुरमा रहेको टीकापुर विमानस्थल पनि नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीको करकापमा सञ्चालनमा आएको थियो । सातामा तीन दिन उडान गर्ने गरी टीकापुर–नेपालगन्ज–काठमाडौं यती एयरलाइन्सले टीकापुर नगरपालिकासँग सम्झौता गरेको थियो । सातामा तीन दिन भनिए पनि हाल साताको एक उडान भइरहेको छ ।
टीकापुरमा उडान सेड्युल भएको दिनमा धनगढीबाट एक जना प्राविधिक टावर सञ्चालन गर्न त्यहाँ पुग्ने गरेको धनगढी विमानस्थलकी सूचना अधिकारी विद्या शाहले बताइन् । उनका अनुसार टीकापुरबाट बोर्डिङ गर्नका लागि तारा एयरले नेपालगन्जबाटै कर्मचारी लिएर आउँछ भने नगरपालिकाले ५ जना नगर प्रहरी र नेपाल प्रहरीले ५ जना प्रहरी सुरक्षाका लागि खटाउने गरेका छन् ।
सुदूरपश्चिमको कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पनि धमाधम निर्माण भइरहेको छ । तीन वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यकासाथ काम सुरु भए पनि हालसम्म जमिन प्राप्तिमै अन्योल छ । विमानस्थलको रन-वे निर्माणका लागि १३ सय मिटरमा बेस निर्माणको काम सकिएको छ । २ सय मिटर थप गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना मातहतको जमिन खाली गराउने तयारी भए पनि हालसम्म सेनाले उक्त जमिन छाडेको छैन । एक महिनाअघि गृह मन्त्रालयमा सेनाले उक्त जमिन खाली गर्ने सहमति गरेको थियो ।
‘जमिन खाली नहुँदा काम अगाडि बढेको छैन,’ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले भने, ‘सहमति भएको पनि एक महिना भयो, तर अझै रन-वे निर्माणका लागि जमिन खाली हुन सकेको छैन ।’ उनका अनुसार निर्माणको समय आगामी माघसम्मका लागि थपिएको छ ।
२०३० सालदेखि हवाई सेवा सुरु भएको उक्त विमानस्थल सशस्त्र द्वन्द्वका बेला २०५६ मा सुरक्षाका कारण देखाउँदै बन्द गरिएको थियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि आन्दोलनपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा २०७८ मा प्रेम आले नागरिक उड्डयनमन्त्री भएका बेलमा निर्माण सुरु भएको हो ।
विमानस्थल निर्माण तथा सञ्चालनका लागि भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनीको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र संघीय सरकारको ५० प्रतिशत लगानीमा रहने बताइएको छ । तीन वर्षमा काम सक्ने समयावधि तोकेर कान्छाराम/केएस/उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भए पनि गत माघ १० समय सकिएपछि एक वर्ष थप गरिएको छ ।
सुदूरपश्चिमकै बझाङ विमानस्थल पनि २०७५ सालबाट आंशिक रुपमा सञ्चालन हुन थाले पनि करिब आठ महिनादेखि बन्द छ । २०८० चैत अन्तिम सातादेखि बन्द विमानस्थलमा निजी क्षेत्रका विमानले मंसिरमा चार वटा उडान गरेका थिए । विमानस्थल सञ्चालनमा आएको सयममा समिट एयरले साताको दुई दिन नियमित उडान गर्दै आएको थियो । साताको दुई दिन धनगढी–बझाङ–धनगढी, बझाङ–नेपालगन्ज उडान गरिरहेको थियो । 
२०७८ कात्तिकमा आएको बाढीपहिरोका कारण सुदूरपश्चिमको सडक यातायात विच्छेद भएपछि नेपाल एयरलाइन्सले पनि करिब महिना दिन उडान गरेको थियो । कार्यालय स्थापना गरेर केही समय धनगढी र नेपालगन्जसम्म हवाई सेवा दिएको नेपाल एयरलायन्सले अहिले कार्यालयसमेत बन्द गरिसकेको छ । विमान सञ्चालन हुन छाडेपछि र सडक यातायात पनि अवरुद्ध हुँदा आपतकालिन अवस्थामा रहेका बिरामीलाई धनगढी र नेपालगन्ज यात्रा गर्न असहज भएको छ ।
यो विमानस्थल द्वन्द्वकालमा माओवादीको आक्रमणमा परेर ध्वस्त भएको थियो । बन्द रहेको विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन धावनमार्ग कालोपत्र गर्न, टर्मिनल भवन निर्माण, तारबार लगायतका काम गर्न नेपाल सरकारको १६ करोडभन्दा बढी खर्च गरिएको थियो ।
दिपायलस्थित डोटी विमानस्थल निर्माण गर्न तत्कालीन राजा महेन्द्र शाहकै निर्देशनमा २०२४ सालमा जग्गा अधिग्रहणको काम सुरु गरिएको थियो । २०२५ सालमा निर्माण सुरु गरेर २०२८ माघ १० गते पहिलोपटक त्यहाँ विमान अवतरण गरेको स्थानीय अगुवा कर्णबहादुर द्वारिया बताउँछन् । दिपायललाई सडकले छोएपछि भने त्यहाँ विमान आउन बन्द भएको हो । यद्यपि चुनावका बेला डोटीमा विमान अवतरण गराउने आश्वासन भने स्थानीयले पाइरहेका छ्न् ।
२०६८ सालमा विमान चढेर दिपायल उत्रिएका तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले डोटीको धर्ती–आकाश जोड्ने उद्घोष गरेका थिए । उनी फर्किएपछि विमान फर्किएर आएन । त्यसयता चुनाव लड्ने उम्मेदवारले विमानस्थलको मुद्दा उचालिरहन्छन् ।
४ सय ९० मिटर मात्रै धावनमार्ग रहेको विमानस्थल अहिले चल्तीका ठूला विमानका लागि उपयुक्त छैन । तैपनि २०७३ सालमा नागरिक उड्यन प्राधिकरणले धावनमार्ग कालोपत्र गरेको छ । सपना ग्याल्भा जेभी कन्स्ट्रक्सनले ६ करोड ८० लाख रुपैयाँमा कालोपत्र गरेको हो । यस्तै, टर्मिनल भवन र टावर निर्माणको काम २०७९ असारबाट सुरु भएको थियो । टीडीआर कस्ट्रक्सन धनगढीसँग ५ करोड ९ लाखमा भएको सम्झौताअनुसार यो काम २०८० मंसिरमा सम्पन्न भइसक्नुपर्थ्यो । तर, निर्माण सकिएको छैन ।
पछिल्लो समय नेताहरुले बलजफ्ती गरेर चार्टर्ड विमान र नेपाली सेनाका साना विमान आउनुबाहेक व्यावसायिक उडान हुने गरेका छैनन् । यस्ता विमान नआएको पनि दुई वर्ष भयो ।
बैतडी, दार्चुला, डडेल्धुरा र बझाङको केन्द्र भागमा रहेको बैतडीको पाटन विमानस्थल पनि बन्द छ । बन्द भएको २६ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको पाटन विमानस्थलमा २०७७ असोज १७ मा परीक्षण उडान गरिएको थियो । त्यस लगत्तै केही समय समिट एयरले आंशिक रुपमा धनगढी–पाटन–धनगढी उडान सञ्चालन गर्यो । तर यात्रु अभावको कारण देखाउँदै २०७८ चैतदेखि समिटले सेवा बन्द गर्यो । 
दार्चुलाको गोकुलेश्वर विमानस्थल र कञ्चनपुरको महेन्द्रनगर विमानस्थल अहिले पनि निर्माणाधीन अवस्थामै छन् । २०४४ सालमा निर्माण सुरु भएर २०४६ देखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल ५० सालदेखि पूर्णरुपमा बन्द छ । द्वन्द्वकालमा माओवादीले विमानस्थलमा रहेको टावरलगायतका संरचना ध्वस्त बनाएको थियो । अर्थ मन्त्रालयले २०७७ माघमा सो विमानस्थल पुनर्निर्माणका लागि बजेटको सुनिश्चितता गरेपछि हाल पुनर्निर्माण कार्य भइरहेको छ ।
कर्णालीको पनि उस्तै हाल
झन्डै ५३ वर्षअघि सञ्चालनमा आएको रुकुम पश्चिमको चौरजहारी विमानस्थल २०७२ भदौमा कालोपत्र गरियो । तर, ५ करोड ५९ लाख रुपैयाँको लागतमा धावनमार्गको कालोपत्र गरिएयता एउटा पनि जहाज अवतरण भएको छैन । ‘कच्ची धावनमार्ग हुँदासम्म सातामा ५ वटासम्म उडान हुन्थे, जब पिच भयो, त्यसपछि उडानै रोकियो,’ स्थानीय पदम लामिछानेले भने, ‘जहाजकै आशामा ९ वर्ष कुरियो, अब त फेरि प्लेन आउला भन्ने आशै छैन ।’ उनका अनुसार सुरुमा नेपाल वायुसेवा निगमले जहाज नभएको भन्दै उडान बन्द गराएको थियो भने हाल यात्रु नभएको कारण देखाउँदै उडान नभरेको हो ।
रुकुम पश्चिम, सल्यान र जाजरकोटलाई लक्षित गरी २०२८ सालमा चौरजहारीमा विमानस्थल बनाइएको थियो । विमानस्थलमा रहेको नेपाल वायुसेवा निगमको कार्यालय हटाएकै ८ वर्ष पुगेको छ । वायुसेवा निगमले कार्यालय उठाएर नेपालगन्ज लगेपछि त्यहाँ कार्यरत जुनियर सहायक कर्मचारी सुरेन्द्र नेपालीलाई सदरमुकामस्थित सल्ले विमानस्थलमा पठाइएको छ । विमानस्थलको धावनमार्ग नजिकै नागरिक उड्डयन प्राधिकरणको कार्यालय र टावर छ । तर त्यहाँ एयर ट्राफिक कन्ट्रोलर (एटीसी) छैनन् । यो टावर पनि वर्षौंदेखि ढोका लगाएकै अवस्थामा छ । विमानस्थल सुरक्षाका लागि प्रहरी चौकी भए पनि बजार गस्तीमै सीमित भएको स्थानीय कमल लामिछानेले बताए ।
त्यस्तै, निर्माण सुरु भएको ३७ वर्षपछि कालीकोटको कोटबाडा विमानस्थल कालोपत्र गरिएको छ । विमानस्थलमा टर्मिनल टावर, सुरक्षा भवन, शौचालय, पार्किङ, खानेपानी, बिजुली, सुरक्षा पोस्टलगायत संरचना निर्माण भइसकेका छन् । तर परीक्षण उडान भएको २०७३ सालयता कुनै पनि उडान भने भएका छैनन् । १५ करोड १४ लाख रुपैयाँको बजेटमा धावनमार्ग कालोपत्र भएको हो ।
६ सय ४० मिटर लम्बाइ रहेको विमानस्थल मोडिने ठाउँमा ३० मिटर र अन्यत्र २० मिटर कालोपत्र भएको छ । ‘करोडौं रकम खर्च गरेर कालोपत्र त गरियो, तर जहाज नचलेपछि बालुवामा पानी हालेजस्तै भएको छ,’ नरहरिनाथ गाउँपालिका उपाध्यक्ष कमलबहादुर शाहले भने, ‘सदरमुकामदेखि टाढा भएपछि खर्च नउठ्ने भन्दै विमान कम्पनीले यहाँ विमान उडाउने आँटै गरेका छैनन् ।’
डोल्पाको मसिनेचौर विमानस्थलको धावनमार्ग कालोपत्र गर्न राज्यले २८ करोड ६० लाख खर्च गरेको छ । तर उक्त कालेपत्र धावनमार्गमा एकपटक पनि विमानको चक्काले छोएको छैन । त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडामा पर्ने विमानस्थलको कालोपत्रलगायत सम्पूर्ण पूर्वाधार निर्माणको काम २०७८ सालमै सकिए पनि अझै सञ्चालनमा आउन सकेको छैन । विमानस्थल २०५१ सालमा शिलान्यास भएर २०५२ सालदेखि निर्माण सुरु भएको थियो । विमान चढ्ने आशामा उब्जाउयोग्य जग्गा दिएका पहाडावासीले २९ वर्ष पर्खंदा पनि विमान चढ्न पाएका छैनन् । नागरिक उड्डयन प्राधिकरण काठमाडौंका इन्जिनियर वीरप्रसाद शाहीका अनुसार २०५२ सालयता विमानस्थल निर्माणका लागि राज्यको २८ करोड ६० लाख खर्च भएको छ । कालोपत्रका लागि मात्रै २५ करोड खर्च भएको छ ।
डोल्पाको ठूलीभेरी नगरपालिका–७ मा पर्ने जुफाल विमानस्थल भने सञ्चालनमा छ । २०३३ सालमा शिलान्यास भई २०३५ सालमा निर्माण भएको विमानस्थल २०७४ सालमा मात्रै कालोपत्र गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ९ करोड ८१ लाख लगानीमा कालोपत्र गरिएको हो । एक वर्षअघिसम्म डोल्पाली जनताको यातायातको भरपर्दो साधन रहे पनि २०८० फागुनदेखि डोल्पासम्म सिधै गाडी पुग्न थालेपछि विमानस्थल अहिले सडक यातायातको विकल्पका रुपमा प्रयोग हुन थालेको छ । नेपालगन्जदेखि तारा, समिट, नेपाल वायुसेवा निगमले उडान भर्ने गरेका छन् ।
कर्णालीका हिमाली जिल्ला हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण हुँदा अहिले पनि विमानकै भर छ । दैलेख, जाजरकोट, सल्यान र दैलेखमा भने विमानस्थल छैन । अरु जिल्लामा विमानस्थल भए पनि भरपर्दो छैन । हुम्ला, मुगु र रारा विमानस्थलमा निजी विमान कम्पनी तारा, सीता र समिटले सातामा नेपालगन्जबाट २/२ वटा उडान भरिरहेको नेपालगन्ज विमानस्थलका सूचना अधिकारी धीरेन्द्र रिजालले बताए ।
प्रदेश राजधानी सुर्खेतबाट भने हिमाली जिल्लामा हुने उडान चल्दै रोकिँदै गर्छ । सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडान भर्दै आएको तारा एयरले चैत पहिलो सातादेखि कर्णालीमा उडान रोकेको छ । खर्च धान्न नसकेपछि सुर्खेतबाट हुने उडान बन्द गरिएको हिमाली टुर्स एन्ड ट्राभल्स निर्देशक मीनबहादुर रावलले बताए । उनका अनुसार प्रतिउडान जुम्ला र मुगुमा १ लाख ७५ हजार र हुम्लामा २ लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको थियो । तर यात्रु नपाइँदा खर्च धान्न गाह्रो भएको उनको भनाइ छ ।
रेसुंगा विमानस्थल पुनः सञ्चालनमा
लुम्बिनी प्रदेशको गुल्मीमा रहेको रेसुंगा विमानस्थल भने पुन: सञ्चालनमा आएको छ । यहाँ उडान भर्दै आएको नेपाल वायुसेवा निगमसँग भएका दुईवटा ट्विनअटर जहाज ग्राउन्डेड भएपछि सेवा बन्द भएको थियो । सातामा ४ वटासम्म उडान हुने गरेको विमानस्थलमा पुनः सेवा सुरु भएको निगमको रेसुंगा स्टेसन प्रमुख सुमन थापाले बताए ।
२०८० वैशाख २९ बाट नियमित उडान सुरु भएको विमानस्थलमा हालसम्म ९१ वटा उडान भएका छन् । २०६३ सालमा शिलान्यास भएर २०७१ देखि निर्माण सुरु भएको यो विमानस्थलको काम २०७९ पुसमा मात्र सम्पन्न भएको थियो । कुल ३३ करोड लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको धावनमार्गको लम्बाइ ५ सय २० मिटर र चौडाइ २० मिटर छ ।
२०८० वैशाख २९ देखि सञ्चालन भएको विमानस्थलमा सुरुमा ६ वटा मात्र उडान गरिएको थियो । पटकपटक बन्द हुँदै पछिल्लो तीन महिना ठप्प रहेको थियो । विमानस्थलमा सुरुमा २०७९ पुस २४ मा तारा एयरको विमानले परीक्षण उडान गरेको थियो ।
अर्घाखाँचीमा २१ करोड स्वाहा
अर्घाखाँचीको अर्घा भगवतीमा पनि विमानस्थल निर्माण भइरहेको छ । तर बजेट अभावमा १५ महिनादेखि ठप्प रहेको छ । २०७३ सालमा टोपबहादुर रायमाझीको जोडबलमा विमानस्थल निर्माण सुरु भएपनि उनी थुनामा परेपछि बजेट अभावका कारण अलपत्र पर्ने अवस्थामा पुगेको हो ।
सन्धिखर्क नगरपालिका–१० मा निर्माणाधीन विमानस्थलको ६० प्रतिशत काम सम्पन्न भए पनि रकम अभावका कारण त्यसपछि निर्माणकार्य बन्द छ । विमानस्थल निर्माणका लागि जंगल फाँडेर, डाँडा सम्याएर धावनमार्ग बनाउन २१ करोड रुपैयाँ खर्च भइसकेको छ । ९ मिटर धावनमार्ग रहेको विमानस्थल निर्माण पूरा गर्न थप ३० करोड रुपैयाँ आवश्यक पर्ने ठेकेदार कविराम खनालले बताए ।
बन्द बलेवा
२०२२ देखि २०५० सम्म बलेवा विमानस्थलमा नियमित विमान चल्थ्यो । कच्ची विमानस्थल भए पनि खचाखच यात्रु हुन्थे । सातामा तीन दिनसम्म विमान चल्दा पोखरा, भैरहवा र काठमाडौंका यात्रु यात्रा गर्थे । चार वर्षअघि उक्त विमानस्थलको धावनमार्ग कालोपत्र भएको छ । त्यसयता एकपटक पनि त्यहाँ जहाज ओर्लेको छैन । विमानस्थल सञ्चालनमा कसैको चासो पनि छैन । 
२०७८ वैशाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा ‘काष्ठमण्डप उमा एन्ड संयुक्त निर्माण कम्पनी’ ले कालोपत्र गरेको थियो । अन्दाजी ७ सय मिटर लम्बाइ कालोपत्रसहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मिटर चौडा मैदान तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मतपछि रंगरोगन समेत लगाएपछि विमान उडाउने पहल भने नभएको हो ।
चार वर्षअघि विमानस्थल कालोपत्र भएको छ । त्यस यता एकपटक पनि जहाज आएको छैन । विमानस्थल सञ्चालनमा भने कसैले पनि चासो नराखेको स्थानीय बासिन्दा बताउँछन् ।
बागलुङ सदरमुकामदेखि १ सय २६ किमि पश्चिमको अर्को ढोरपाटन विमानस्थल पनि अलपत्र छ । २०३२/०३३ सालमा स्विस सरकारले सहयोग र स्थानीयको श्रमदानले विमानस्थल बनाइएको थियो ।
हुम्डेमा छैन मनाङीको आस
हिमाली जिल्ला मनाङको माथिल्लो मनाङमा पर्ने हुम्डेस्थित हुम्डे विमानस्थल नागरिक उड्डयन प्राधिकरणले २०६९/७० मा ९ करोड रुपैयाँ खर्चेर धावनमार्ग कालोपत्र गर्यो । यसअघिको ६ सय मिटर धुले धावनमार्गलाई विस्तार गरी ९ सय मिटर बनाइयो । धावनमार्ग विस्तार भएपछि सोही वर्षको मंसिरमा तत्कालीन मन्त्री तथा प्राधिकरणका अधिकारी नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान चढेर हुम्डे ओर्लिए । आकाशबाटै मनाङ हेरे । विमानस्थल ओर्लिए । स्थानीयले भव्य स्वागत गरे । तर, त्यसपछि मनाङमा जहाज फर्केन ।
मनाङ ङिस्याङ गाउँपालिका-४ मा रहेको विमानस्थल समुद्री सतहदेखि ३ हजार ३ सय ३० मिटर उचाइमा छ । नेपालकै उच्च हिमाली क्षेत्रमा रहेको विमानस्थलमध्ये हुम्डे पनि एक हो । धुले धावनमार्गमा विमान उडे पनि कालोपत्र भएपछि विमानले उडान नभर्नु दुखद रहेको स्थानीयको गुनासो छ ।
५ वर्षअघि बलिउड फिल्म 'उचाइ' छायांकन गर्दा भारतीय कलाकारले तारा एयरको विमान ल्याएका थिए । त्यसपछि निजी कम्पनीका विमान पनि उडेका छैनन् । नेपाल वायुसेवा निगमको विमान नउडेको त दशक नाघ्यो ।
संघीय संरचनापछि गण्डकी प्रदेश सरकारले पनि मनाङमा विमान उडाउने प्रयास गर्यो । समिट एयरको विमान चढेर २०७६ भदौ २७ गते हुम्डे ओर्लिएका गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री (हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता) पृथ्वीसुब्बा गुरुङले मनाङमा नियमित उडानका लागि पहल थाल्ने आश्वासन दिलाएका थिए । अझ, प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले त्यही वर्षको असोज १० गतेदेखि मनाङमा नियमित हवाई उडान हुने भाषण नै गरेका थिए । तर त्यो सबै भाषणमा मात्रै सीमित रह्यो ।
धावनमार्ग विस्तार र कालोपत्र हुनुअघि साताको २ पटक निगमको ट्विनअटर विमानले पोखरा–मनाङ उडान भर्थ्यो । हिमपात र पानी परेको समयबाहेक सबै समय उडान हुन्थ्यो । पोखरा–मनाङ वा मनाङ–पोखरा हुँदा करिब २५ मिनेट लाग्थ्यो । सरकारको उदासीनताका कारण मनाङमा उडान हुन नसकेको मनाङीको दुखेसो छ ।
चराङगाउँ विमानस्थल डीपीआरमै सीमित
मुस्ताङको उपल्लो थलोमा विमानस्थल बनाउने योजना कागजमै सीमित छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आईएफआईडी कन्सल्टेन्सीमार्फत उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ चराङगाउँको तल्लो फाँटमा विमानस्थलको डीपीआर पनि बनाएको थियो । तर ४ हजार मिटर उचाइमा प्रस्तावित उक्त विमानस्थल बनाउने योजना र डीपीआर मन्त्रालयमा थन्किएको छ ।
२०७५ कात्तिक ११ गते तत्कालीन उड्ययनमन्त्री रवीन्द्र अधिकारी चराङ पुगेर विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । सरकारले चराङमा विमानस्थल बनाउन प्रारम्भिक अध्ययन पनि गर्यो । मन्त्री अधिकारीकै निर्देशनमा प्राधिकरणले आईएफआईडी कन्सल्टेन्सीका सिभिल इन्जिनियर नरेश सिवाकोटी र प्रकाश श्रेष्ठलाई चराङ पठाई विमानस्थलको डीपीआर बनाउन लगाएको थियो ।
‘मुस्ताङको उपल्लो थलो चराङमा विमानस्थल बनाउन धेरै प्रक्रिया पूरा भएको हो । प्राविधिकले डीपीआरसमेत बनाएका हुन् । त्यसपछि योजना र डीपीआर कता पुग्यो, अज्ञात छौं,’ गण्डकी प्रदेशसभाका तत्कालीन सदस्य इन्द्रधारा विष्टले भने, ‘हाई अल्टिच्युटको कुरा उठेको हो । उपल्लो मुस्ताङमा विभिन्न इस्युले गर्दा विमानस्थल बन्ने कुरा प्रभावित भएको छ ।’
पालुङटार विमानस्थल चुनावी एजेन्डा मात्रै
२०७४ र २०७९ को संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा पालुङटार नगरपालिका–५ स्थित हवाई मैदान चर्चामा रह्यो । उम्मेदवारले प्रमुख चुनावी एजेन्डा बनाउने हवाई मैदानको अवस्था भने दयनीय छ । चुनावको बेला मात्र चर्चामा आएर ६ दशकदेखि प्रयोगविहीन बनेको हवाई मैदानको अवस्था भने फेरिएको छैन । वर्षौंपहिले बनेका विमानस्थलका संरचना भत्किएका छन् । हवाई मैदान गौचरणमा परिणत भएको छ ।
२०१७ सालबाट सञ्चालनमा आएको विमानस्थलबाट २०३२ सम्म हेटौंडा, काठमाडौं, सिमरा र पोखरा उडान हुँदै आएको थियो । २०३२ सालमा पृथ्वी राजमार्ग खुलेपछि भने विमनास्थल बन्द भएको थियो ।
विमानस्थल पुन सञ्चालन गर्ने योजनाअनुरुप चार वर्षअघि स्तरोन्नतिको प्रक्रिया सुरु भएको थियो । नागरिक उड्डयन प्राधिकरणले ३ करोड १७ लाख खर्चिएर मैदान सम्याउने, ग्राभेल सहितको रन-वे वनाउने काम गरेको थियो । छोटो दुरीका साना जहाज उडान भर्न मिल्ने गरेर हवाई मैदान योग्य बनाउन संरचना थप गर्ने काम भएको थियो ।
‘ठेक्का लागेर दुई वर्षजति काम भएको थियो,’ मन्त्री पाण्डेले भने, ‘त्यसपछि बजेट पनि परेन, काम पनि बीचमै रोकियो ।’ प्रयोगविहीन अवस्थामा रहेको हवाई मैदानमा स्तरोन्नति गर्नुअघिसम्म स्थानीयले खेलमैदान र गौचरनको रुपमा प्रयोग गर्दै आएका थिए । ‘रन-वे वनाउने भनेर सब बेस राख्न ग्राभेल हाल्ने लगायतको काम दुई वर्षजति भयो, त्यसपछि बजेट पनि थप परेन, काम पनि रोकियो,’ उनले भने,‘चार वर्षसम्म काम नभएपछि ग्राभेल राखेको ठाउँमा झार पलाएको छ, त्यसै धुलो उडेर बसेको छ ।’
टाइगर टप्ससँगै बन्द मेघौली
भरतपुर र मेघौलीमा गरेर चितवनमा दुई विमानस्थल छन् । भरतपुरको विमानस्थल नियमित सञ्चालनमा आए पनि मेघौलीको विमानस्थल भने बन्द छ । मेघौली विमानस्थलमा नियमित उडान पहिले पनि हुँदैन थियो । नेपालको पहिलो जंगल लज टाइगर टप्स होटलका विदेशी पाहुनाले भरिएका चार्टर विमान त्यहाँ ओर्लने र उडान भर्ने गर्थे ।
सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नदिने भएपछि २०६७ सालदेखि टाइगर टप्स होटल बन्द भयो । सोही वर्षको मंसिरदेखि मेघौली विमानस्थल पनि बन्द भयो । बन्द भएको सात वर्षपछि २०७४ कात्तिकमा निगमको ट्विनअटर विमानले सेवा दिन सुरु गरेको थियो । तर त्यो पनि लामो समय चलेन । यो विमानस्थल भरतपुरबाट २४ किलोमिटर पश्चिममा छ ।
२०१७ सालमा स्थापना भएको विमानस्थलमा टाइगर टप्स सञ्चालनमा रहेका बेला १० वटासम्म विमान उड्ने-उत्रने गर्थे । बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा उनको विमान मेघौली विमानस्थलमै उत्रेको इतिहास छ । यसका साथै सो विमानस्थलको स्तरोन्नति गर्ने भनेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले दुई वर्षअघि भदौमा गुरुयोजना निर्माण अध्ययन कार्यको उद्घाटन पनि गरेका थिए । तर हालसम्म विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।
कथा बनेको जिरी विमानस्थल
जिरीमा कुनै बेला विमानस्थल पनि थियो भन्ने अहिलेका बालबालिकालाई कथा जस्तै लाग्न थालेको छ । ‘सगरमाथाको गेट-वे’ पनि भनिने जिरीमा २०४३ सालमा सडक पुगेदेखि त्यहाँ विमान अवतरण गर्न बन्द भएको हो । कुनै बेला स्वीसले आफ्नै लागि आउजाउ गर्न बनाएको जिरी विमानस्थलमा तीन दशकदेखि विमान उड्दैन । विमानस्थलको धावनमार्गमा सदावहार उम्रने दुबोमा चौपाया चर्छन् ।
२०५३ सालबाट भने विमानस्थल चालू गर्न स्थानीयले प्रभावशाली व्यक्तिहरुलाई गुहार्दै आएका छन् । प्रधानमन्त्रीदेखि मन्त्रीहरुले स्थानीयलाई खुसी पार्नकै लागि भए पनि भन्दिँदै आएका छन्, ‘एयरपोर्ट सञ्चालन गर्न पहल गर्छु ।’
२०१४ सालदेखि जिरी बहुद्देश्यीय विकास कार्यक्रम थालनी गरेको स्वीट्जरल्यान्ड सरकारले २०१७ सालपछि जिरीमा विमानस्थल बनाएको हो । भक्तपुरको साँगाबाट सात दिनमा जिरी आइपुग्नुपर्ने दुःख समाप्त गर्न स्वीसले जिरीको हाटडाँडामा सानो आकारको (ट्विनअटर) विमान बस्न सक्ने विमानस्थल बनाएको थियो । २०२० सालसम्म उक्त विमानस्थलबाटै साताको एकपटक विमान बस्थ्यो र उड्थ्यो । दुर्घटनाको खतरा भएपछि २०२१ सालमा जिरीको लिंकनमा अर्को विमानस्थल बनाएको मेयर टंक जिरेल बताउँछन् ।
लिंकनमा विमानस्थल सारिएपछि विमान अवतरण हुने दिन कुरेर रमाइलो हेर्न स्थानीयको भीड लाग्थ्यो नै, स्वीसका पनि अचम्मका सौख देख्न पाइन्थ्यो । मेयर जिरेलको भनाइमा कपाल र दाह्री काट्नकै लागि पनि स्वीसहरु जहाजमा आउजाउ गर्थे । कहिलेकहिले पाइलट र अर्को एकजना मात्रै पनि आउँथे । त्यसबेला स्वीट्जरल्यान्ड सरकारकै स्वामित्वको आफ्नै जहाज थियो र पाइलट पनि उसैका थिए ।
सुकेटारमा जहाजभन्दा हेलिकोप्टर बढी
ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा यसवर्ष मंसिर अन्तिम सातादेखि हवाई उडान भएको छैन । चैत्र १६ गते १० यात्रु बोकेर काठमाडौंबाट उडेको विमान अवतरण हुन नसकी काठमाडौं नै फर्किएसँगै त्यहाँ विमान पुगेको छैन ।
२०३२ सालमा निर्माण भएको सुकेटार विमानस्थलमा कहिल्यै नियमित उडान हुन सकेन । तत्कालीन वनमन्त्री विष्णु मादेनको पहलमा निर्माण गरिएको विमानस्थलको धावनमार्ग ७ सय ५० मिटरको थियो । २०७६ सालमा यसलाई स्तरोन्नति गरेर ९ सय ५० मिटर धावनमार्ग कालोपत्र गरिएको छ । विमानस्थल निर्माण हुँदाका बखत रहेको पूर्वपट्टिको डाँडासमेत भत्काइएको छ । 
ट्विनअटर मात्रै बस्ने यहाँ मध्याह्नपछि हावा लाग्ने भएकाले अधिकांश उडान बिहान ११ बजेअगाडि नै हुने गरेको छ । नेपाल वायुसेवा निगमका अलावा सीता, तारा, यती लगायतका निजी विमान कम्पनीले समेत उडान गरेको सुकेटारका ओमप्रकाश राई बताउँछन् । ‘तर नियमित उडानमा कसैले चासो दिएनन्,’ उनले भने, ‘निजी कम्पनी सोलुखुम्बुतिर पर्यटक नहुँदा मात्रै हाम्रोमा आउँदा रहेछन् । सरकारी विमान बिग्रने, समस्या आउने भइरहन्छ । हामीले हवाई सेवा राम्रो पाउन सकेनौं ।’
तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थललाई स्तरोन्नति गरेर ७२ सिटे विमान अवतरण गर्न मिल्ने बनाउन नखोजेका होइनन् । तर योजना बनाउँदै गर्दा मन्त्रीबाट बाहिरिएपछि उक्त योजना कागजी फाइलमै सीमित भएको छ । छोटो अवधि मन्त्री भएकाले विमानस्थललाई पूर्णता दिन नपाएको उनी आफैंले बताउने गरेका थिए। त्यहाँ तीन सय मिटर धावनमार्ग थप भए ७२ सिटको विमान राख्न सकिने सुझाव विमानस्थल प्राधिकरणका प्राविधिकले दिएका थिए । तर जग्गाको मुआब्जा लगायतमा कुरा मिलेको छैन ।
पाँच वर्षदेखि बन्द लामीडाँडा
खोटाङको तीन विमानस्थलमध्ये उत्तरी क्षेत्रमा पर्ने रावाबेसी गाउँपालिका–३ लामीडाडाँस्थित लामीडाँडा विमानस्थल पाँच वर्षदेखि बन्द छ । २०७७ साउनबाट बन्द विमानस्थल अझै सञ्चालनमा आएको छैन ।
रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठका अनुसार कोभिडको दोस्रो चरणका बेला विमानस्थल बन्द भएको थियो । सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायसमक्ष डेलिगेसन जाँदासमेत बेवास्ता गरिएको श्रेष्ठले गुनासो गरे । ‘विमानस्थल सञ्चालनका लागि मन्त्रीपिच्छे पटकपटक डेलिगेसन गइयो, जहाजै छैन भन्छन्,’ उनले भने, ‘त्यत्रो अनुरोध गर्दा पनि बेवास्ता गरियो, अब त कत्ति जानु, धाउँदाको हत्तु, मन्त्रीलाई पनि लाज हुनुपर्ने हो ।’
विमानस्थल २०२८ सालदेखि सञ्चालनमा आएको हो । तत्कालीन इन्जिनियर वीरेन्द्रकेशरी पोखरेलको पहलमा २०२५ को अन्त्यमा निर्माण सुरु गरिएको विमानस्थल २०२७ सालमा सम्पन्न भएको थियो ।
खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल चार महिनादेखि बन्द छ । विमान बिग्रिएपछि उडान बन्द भएको हो । यसअघि काठमाडौं–थामखर्क–काठमाडौं सातामा एकचोटि उडान भरिन्थ्यो । थामखर्कमा नेपाल वायुसेवा निगमले उडानको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । विमानस्थल २०५६ सालबाट सञ्चालनमा आएको थियो ।
जिल्ला सदरमुकाम नजिकै रहेको मनमाया राई खानीडाँडा विमानस्थलमा भने चार महिनादेखि बन्द भएर भर्खर उडान सुरु भएको छ । तर उडान तालिका भने निर्धारण भइनसकेको स्टेसन म्यानेजर सुरेन्द्र कसजूले बताए । विमानस्थल २०६६ मंसिरबाट सञ्चालनमा आएको हो । त्यत्तिखेर पर्यटन मन्त्री शरतसिंह भण्डारी थिए ।
सोलुमा ४ मध्ये २ बन्द
सोलुखुम्बुमा अहिले २ वटा मात्रै सञ्चालनमा छन् । करिब ३८०० मिटर उचाइमा रहेको स्याङबोचे विमानस्थल दुई दशकदेखि बन्द छ भने जिल्लाको दक्षिणी भेगमा रहेको काँगेल विमानस्थल द्वन्द्वकालपछि सञ्चालनमा आउन सकेको छैन ।
हाल तेन्जिङ हिलारी विमानस्थल लुक्ला र फाप्लु विमानस्थल मात्रै सञ्चालनमा छन् । सन् १९७१–७२ मै विमानस्थल बनेको हो । यहाँ सिंगल इन्जिनवाला पिलाटस पोर्टर विमान मात्रै सञ्चालन हुन सक्छ । उक्त विमान नै नबन्ने भएकाले वर्षौदेखि विमानस्थल बन्द छ । हाल विमानस्थलमा कुनै पनि कार्यालय र कर्मचारी छैनन् ।
तत्कालीन पर्यटनमन्त्री बलबहादुर केसीको पहलमा २०५४/५५ ताका निर्माण भएको काँगेल विमानस्थल पनि हाल गौचरणमा परिणत भएको छ । यात्रु अभावकै कारण पछिल्लो समय उडान हुन सकेको छैन । विमानस्थल कार्यालय र कर्मचारीको दरबन्दी रहे पनि कोही कर्मचारी कार्यरत छैनन् ।
सन् १९६४ मै बनेको लुक्ला विमानस्थल सन् २००१ मा भने कालोपत्र भएको हो । उक्त विमानस्थल देशकै व्यस्त विमानस्थलभित्र पर्छ । सन् १९७६ मा स्थापना भएको फाप्लु विमानस्थल कालोपत्र भएको १२ वर्ष भइसकेको छ । हाल उक्त विमानस्थल नियमित रुपमा सञ्चालित छ ।
सधैं अस्थिर इलाम
२०७८ साल माघ २९ गते उद्घाटन गरिएको इलामको सुकिलुम्बा विमानस्थलमा आवश्यक संरचना अहिलेसम्म पूरा भएका छैनन् । टिकट काउन्टर र प्रतीक्षालयजस्ता आधारभूत संरचना नबनेको यो विमानस्थलमा पानी र बिजुलीसम्म जोडिएको छैन ।
मेची राजमार्गदेखि करिब २ किलोमिटर दुरीमा रहेको यो विमानस्थल पुग्न राजमार्ग छोडेपछि कच्ची सडक हिँड्नुपर्छ । वर्षा लागेपछि ठप्पप्रायः हुने विमानस्थलमा हिँउदमा पनि नियमित उडान हुँदैन । नेपाल वायुसेवान निगमले यहाँ गत भदौदेखि प्रत्येक साता बुधबार १९ सिट क्षमताको विमान उडान थाले पनि हालसम्म ५ वटा मात्रै उडान भएका छन् ।
पछिल्लोपटक पुस ४ गते त्यहाँ काठमाडौंबाट गएको विमान अवतरण भएको थियो । चैत २० गते १३ जना लिएर उडेको विमान भिजिबिलिटी नपुगेको भन्दै काठमाडौं नै डाइभर्ट गरिएपछि यात्रु जिल्ल परेका थिए ।
२०५८ सालमा निर्माण प्रक्रिया सुरु भएको यो विमानस्थल २३ वर्षसम्म पूरा भएको छैन । विमानस्थलले इलाम नगरपालिका-९ को ३ सय २८ रोपनी क्षेत्रफल ओगटेको छ । निर्माण प्रक्रिया थालिएदेखि हालसम्म ३० करोड रुपैयाँ खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलमा स्थायी टर्मिनल भवन बनाउन बाँकी छ । यो सिध्याउँदा ४५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो । जिल्लावासीबाट समेत चन्दा संकलन गरेर बनाइएको विमानस्थलबाट स्थानीयले नै सेवा लिन पाएका छैनन् ।
