काठमाडौँ — दशक अघिसम्म जिल्लाको दक्षिणीभेगका गाउँपिच्छे इँट्टाभट्टाको बम्बा ठडिएको भेट्टिन्थ्यो । अकाश ढाकिने गरी निस्किएको धूँवाको मुस्लो निस्केको ठाउँसम्म पुग्न इँट्टा बोक्ने सवारीसाधनको लाइन हुन्थ्यो । हरेकजसो भट्टामा दुई सय हाराहारीमा मजदुर अबेर रातिसम्म काममा खटिएका हुन्थे ।
विपन्नका लागि जीविकोपार्जनको बलियो स्रोत बनेका इँट्टा उद्योग आर्थिक शिथिलताका कारण बन्द हुँदै जाँदा हजारौं मजदुरको रोजगारी गुमेको छ । उद्योग बन्द भए पछि अधिकांश रोजगारीका लागि भारत गएका छन् ।
मधेश प्रदेशका आठ जिल्लामा खुलेका ७ सय इँट्टा उद्योगमध्ये अहिले ३१४ मात्र छन् । कोरोना महामारीपछि मधेशमा मात्रै ३ सय ८६ इँटा उद्योग बन्द भए । ७६ हजार मजदुरले रोजगारी गुमाएको इँट्टा उद्योग महासंघ मधेश प्रदेशको तथ्यांकमा छ ।
तीमध्ये ५ हजार हाराहारी छिमेकी भारतबाट आएका मजदुर पनि परेका छन् । बृन्दावन नगरपालिका–६ हरसाह गाउँका ५५ वर्षीय ब्रम्हदेव साह अहिले घरमै बस्छन् । दुई दशक इँटा उद्योगमा काम गरिसकेका साह पछिल्लो समय केटिएम इँटा उद्योग बन्द भएपछि बेरोजगार भए । चन्द्रपुर–१० मा रहेको यो उद्योगको इँटा चितवन, पोखरा, काठमाडौंसम्म बिक्री हुन्थ्यो । आर्थिक मन्दीकै कारण उद्योग बन्द भयो । साहलगायत २ सयको रोजगारी गुम्यो । ‘दुई छोरा मुकेश र राकेशलाई रोजगारीको लागि मलेसिया पठाएँ । म घरमा बेरोजगार भएर बसेको छु,’ उनले भने,‘लामो समय विभिन्न इँटा उद्योगमा मजदुरी गरेर जीवन बिताएँ । अहिले उद्योग बन्द हुन थालेपछि रोजगारी गर्नेहरु समस्यामा परे ।’ उनी सँगै काम गरेकाहरु झण्डै एक सय जना उद्योग बन्द भएपछि भारत गएको सुनाए । सम्पत्तिको नाममा साहको एक कठ्ठा घडेरी छ । छोराले कमाएर पठाउला भन्ने आशमा रहेको उनले सुनाए । उद्योग बन्द भएपछि धेरै मजदुरहरु छिन्नभिन्न भए । भारतबाट आएकाहरु सबै निरास भएर उत्तै फर्किए । नेपालीको तुलनामा भारतीयहरु कम आउँछन् ।
रौतहट इँटा उद्योग संघका सचिव मोहन साहले उद्योग मात्र होइन मजदुरको अवस्थासमेत नाजुक बनेको बताए । ‘हामी समस्यामा परेको जायज हो । यसको अलावा मजदुरको जीविकोपार्जन समेत गुम्यो,’ उनले भने,‘केही अन्य उद्योगमा गएर काम गरे । धेरैजसो काम गर्न भारत गए ।’ सचिव साहका अनुसार एउटा इँटा उद्योगमा २ सय बढी मजदुहरु विभिन्न सेक्सनमा काम गर्छन् । ठूलो म्यान भएकोमा ३ सयसम्म मजदुर खटिएका हुन्छन् । एउटा उद्योग बन्द हुँदा यतिधेरै मजदुरको रोजगारी गुम्ने सचिव साहले सुनाए ।
रौतहटमा एक सिजनमा कति मजदुर काम गर्छन् ? संघसित यकिन तथ्यांक छैन । तर एउटा उद्योगमा २ सयको दरले जोड्दा अहिले ८ हजार हाराहारी मजदुर काम गरिरहेको बुझिन्छ ।
इँटा बनाउन सबैभन्दा पहिला माटो तयार पार्नुपर्छर्, त्ससपछि पानी पटाउने, काँचो इँटा बनाउने, बोझाई गर्ने, काचो ईँटा म्यानमा राख्ने, कोईला वा दाउरा बोक्ने, म्यानको इँटा पोल्ने, त्यसको निगरानी गर्ने, पाकेको इँटा ट्रकमा लोड गर्ने जस्ता कामको जिम्मेवारीमा मजदुर हुन्छन् ।
परोहा नगरपालिका–१ स्थित जिंगडवामा रहेको राज इँटा उद्योग १० वर्ष सञ्चलनमा आएर यो पटकबाट बन्द भएको छ । आर्थिक संकट र मजदुरलाई समेत ज्ज्याला दिन नसके पछि बन्द भएको सञ्चालक मामुन रसिदले बताए । ‘दुई सय बढी मजदुर काममा थिए । इँटा बिक्न छाडेपछि उनीहरुलाई मजदुरी वापतको रकम दिन सक्ने अवस्था रहेन,’ उनले भने,‘कोरोना पछि आर्थिक मन्दीले सबै बर्बाद भयो ।’
आफ्नो उद्योगमा काम गरेकाहरु अधिकांश भारत पलायन भएको उनले सुनाए । राजपुर नगरपालिका–३ का मोहम्मद समसेर राजपुर नगरपालिकास्थित भगवान चोकमा रहेको बेष्ट इँट्टा उद्योगमा काम गर्थे । दुई वर्षअघि उद्योग बन्द हुँदा उनी बेरोजगार भए । त्यसपछि गाउँकै साथीहरुसित लागेर उनी अहिले मुम्बईस्थित झोला कारखानामा काम गरिरहेको राजपुरका मोहम्मद इस्ताकले सुनाए ।
यता इँट्टा बिक्री ठप्प, कोइलाको मूल्य बृद्धि, हावाहुरी, असिनापानीबाट हुने क्षति, बैंकको चर्को ब्याज, उधारोमा बिक्री गर्दा असुलीमा समस्या, मजदुर र ईन्धनको खर्च आकासिने जस्ता समस्याले ईट्टा उद्योग धमाधम बन्द हुँदै गएको रौतहट ईट्टा व्यवसायी संघका सचिव मोहन साहले बताए । उनका अनुसार सरकारले ढाड सेक्ने गरी असुल्दै आएको भ्याट र आयकरमा सहुलियत दिए ब्यवसायीहरुले ठूलो राहत महशुस गर्थे ।
साहको गुजरा–५ पल्टुवास्थित रामजानकी इँट्टा उद्योगका सञ्चालनमा छ । जिल्लाको सबैभन्दा ठूलो भट्टा मध्ये साहको एक हो । १४ वर्षदेखि व्यवसायमा लागेका उनको पाँच वर्षअघिसम्म आर्थिक अवस्था ठिकठाक थियो । व्यवसाय राम्रो चलेको थियो । भट्टामै मोलमोलाई गर्न बाहिरका व्यापारी आउँथे । १२/१३ रुपैयाँसम्ममा ईट्टा बिक्री हुन्थ्यो । अहिले ८ रुपैयाँ ५० पैसामा दिनुस् भनेर बार्गेनिङ गर्न थालेको साहले सुनाए ।
‘कोभिडले थला पारेपछि धेरै ईट्टा ब्यवसायी साथीहरु ऋणकै कारण उद्योग बन्द गरेर हिडिसके । केही भारत पलायन भए,’ उनले भने, ‘यस्तै अवस्था रह्यो भने हामी नै डिप्रेसनमा जाने अवस्था आउन सक्छ ।’
गाउँघर र बैंकको गरी २ करोड बढी ऋण रहेको उनले बताए । आधुनिक ईट्टाभट्टा सञ्चालन गर्न सुरुमै १ करोड पुँजी लाग्छ । त्यसपछि ५ करोडसम्म लगानी हुने साहले सुनाए । सुरुको वर्षमा मधेशका ईट्टा उद्योगमा १ लाख ४० हजार मजदुरले काम गरेका थिए । कोभिडपछि उद्योग बन्द हुन थाले । यसले ५ वर्षको अवधिमा ७६ हजार मजदुरको रोजगारी गुमेको नेपाल इँट्टा उद्योग महासंघ मधेश प्रदेश अध्यक्ष विक्रम साहले जानकारी दिए ।
‘एउटा ईट्टा उद्योग बन्द हुँदा २ सय जना हाराहारी मजदुर प्रभावित हुन्छन् । मधेशभरीका मजदुरको संख्या जोड्ने हो भने ७६ हजार बढीको रोजगारी गुमिसकेको छ,’ उनले भने,‘मजदुरहरुको दुःख कसले बुझ्ने ? हामी ब्यवसायीको पीडा कसले सुन्ने ? ईट्टा उत्पादन गर्र्यो बिक्री हुँदैन । लगानी ब्लक भएर बस्छ । बैंकले ब्याज छोड्दैन ।’ लगानी अनुसारको मूल्यमा इँट्टा बिक्री गर्न नपाएपछि समस्या भएको ब्यवसायीहरुको गुनासो छ ।
सप्तरीस्थित शम्भुनाथ नगरपालिका–५ का दुर्गानन्द साह जिल्लाका पुराना ईट्टा व्यवसायी हुन् । २०५४ मा शम्भुनाथमै शिवशक्ति इँट्टा उद्योग सञ्चालन गरे । २७ वर्ष निरन्तर व्यवसायमा लागेका साहलाई यतिखेर आर्थिक मन्दीले निकै तनावमा पारेको छ । कोभिड अघिसम्म उनले एक सिजनमा ३० लाखसम्म ईट्टा बिक्रि गर्थे । यसैमा हौसिएर व्यवसायलाई फराकिलो पार्ने उद्देश्यले उनले २०७० मा नेपाल बैंकबाट ३ करोड ऋण लिए । महिनाको ३ लाख ब्याज बुझाउनु पर्थ्यो । व्यवसाय चम्किएका बेला सहजै ब्याज तिर्थे । एक किस्ता पनि ढिला गरेनन् । कोभिड पछि भने ब्यवसाय ओरालो लाग्न थाल्यो । आर्थिक मन्दीले ईट्टा बिक्न छाड्यो । प्रति ईट्टा २० रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले १२/१३ रुपैयाँ भनेर मोलमोलाई गर्न थालेको साहले बताए । ‘यही अवस्था रह्यो भने अब उद्योग बन्द गर्नुको विकल्प छैन् । बैंकको ब्याज समेत तिर्न सक्ने अवस्था रहेन्,’ उनले भने, ‘गत वर्ष उत्पादन भएको ईट्टा ग्राहक नपाएर बिक्री गर्न सकिन । यस वर्ष थप ३० लाख यतिकै छ ।’ जग्गा बेचेर बैंकको ऋण चुक्ता गर्ने सोचमा रहेका साहले त्यो पनि गर्न सकेका छैनन् । प्रति कठ्ठा १ लाख पर्ने जग्गा अहिले ४०/५० हजारमा बेच्छु भन्दा पनि ग्राहक पाउन छाडेको उनको भनाई छ । एउटा ईट्टा तयार गर्दा ८ रुपैयाँसम्म खर्च हुने व्यवसायीको भनाई छ । अहिले यही मूल्यमा बिक्रि गर्न बाध्य हुनुपर्ने उनीहरुको गुनासो छ । जिल्लाभरी १ सय ६६ वटा ईट्टा उद्योग सञ्चालनमा थिए । यसवर्ष ४२ वटा मात्र सञ्चालनमा रहेको रौतहट ईट्टा उद्योग संघले जनाएको छ ।
राजपुर नगरपालिकास्थित भगवान चोकमा रहेको बेष्ट ईट्टा उद्योग दुई वर्षअघि बन्द भयो । जिल्लाको सबैभन्दा ठूलो र राम्रो ईट्टा उद्योगमा गनिन्थ्यो । आर्थिक मन्दीकै कारण बन्द भएको हो । उद्योग सञ्चालक शेख समिरुल्लाहले उद्योगमा कार्यरत २ सय मजदुर समस्यामा परेको सुनाए । ‘उद्योग बन्द हुँदा मालिक र मजदुर दुवैलाई आर्थिक संकट पर्छ,’ उनले भने, ‘अब उद्योगधन्दा सञ्चालन गर्ने वातावरण छैन ।’ शेखका अनुसार उनको भट्टामा काम गर्ने स्थानीय मजदुर रोजगारीको लागि भारत पलायन भइसकेका छन् । धेरैजसो मुम्बईस्थित झोला कारखानामा काम गर्न गएका छन् । जिल्लाका पुराना ईट्टा व्यवसायी रामआशिष साह, शिवजी साह, औजेर सेख, रविन्द्र साह, अलि अख्तर लगायतहरुले उद्योग बन्द गरिसकेका छन् । उनीहरु ऋणकै कारण अहिले तनावमा रहेको संघले जनायो ।
गुजरा नगरपालिका–५ का रुपेश दास ५ वर्ष पोठियाही ईट्टाउद्योगमा मजदुरको रुपमा काम गर्थे । उनी काँचो ईट्टा बोक्ने मजदुर हुन् । उद्योग बन्द भएपछि उनको रोजगारी गुम्यो । कामको खोजीमा उनी गत फागुन २५ गते भारतको पन्जाव गए । ‘यहाँ रोजगारीको अवसर गुम्न थाल्यो । बसेर काम छैन,’ उनले भने,‘भारतमा केही वर्ष काम गर्छु र पैसा कमाएर आउँछु ।’ दास जस्ता धेरैको मजदुरी गुमेको छ । ईट्टा उद्योगमा काँचो ईट्टा बजाउने, बोकेर म्यानसम्म लैजाने, माटो मुछ्ने, पानी पटाउने, पाकेको ईट्टा निकाल्ने, ट्रकमा लोड गर्ने जस्ता समूहमा मजदुरहरु बाटेर काम गर्छन् । यही कारण एउटा उद्योगमा २ सयका दरले मजदुर राख्नुपर्ने ब्यवसायी बताउछन् ।
नेपाल ईट्टामा आत्मनिर्भर छ । तर पनि राज्यले ईट्टा उद्योगलाई प्रोत्साहन नगरेको भन्दै ब्यवसायीहरु आक्रोशित छन् । यहाँका ईट्टा चितवन, पोखरा, हेटौंडा, गोरखालगायतका सहरमा जान्छन् । व्यवसायीका अनुसार दैनिक २ सय ट्रक लोड हुन्थ्यो । अहिले मुस्किलले २० ट्रक पनि हुँदैन । यहाँ उत्पादन हुने ईट्टा सबैभन्दा बढी चितवन र पोखरामा खपत हुन्छ । यस जिल्लामा मात्र ८ हजार बढी मजदुर कार्यरत छन् । गएको वर्ष जिल्लाभरीका व्यवसायीको झण्डै २० करोडको ईटा गलेर नष्ट भएको थियो । बेलाबेला आईपर्ने प्राकृतिक प्रकोपले व्यवसायी मारमा परेको बताउँछन् ।
मधेशका ८ जिल्ला मध्ये सबैभन्दा बढी सिरहा र रौतहटमा ईट्टा उद्योग बन्द भएका छन् । यी जिल्लाका व्यवसायीको गुनासो एउटै छ–मन्दीले ईट्टा बिक्री हुन छाड्यो । यी जिल्लाका एक सय बढी उद्योगले केही समयअघि मात्र काचो ईट्टा पोल्न आगो लगाएका छन् । यसरी ढिला हुनुको कारण पनि आर्थिक मन्दी नै रहेको महासंघका प्रदेशका अध्यक्ष साहले बताए । ‘व्यवसायी साथीहरुको अवस्था भयावह छ, अब आधुनिक उद्योगतर्फ जानु पर्छ । त्यो भनेको धूँवारहित उद्योग हो,’ उनले भने । पछिल्लो समय निर्माणको काम सुस्ताएपछि व्यवसायी थप मारमा परेका हुन् । अहिले घर निर्माणको काम सुस्ताएको संघको भनाई छ । यसको प्रत्यक्ष प्रभाव इँट्टा व्यवसायीलाई परेको पाइएको छ । यहाँका ईट्टा उद्योगमा भारतबाट समेत मजदुर आउँछन् । उनीहरु सिजनमा काम गरेर उतै फर्कने गरेको इँट्टा उद्योग संघ रौतहटका सचिव मोहन साहले बताए । साहका अनुसार एउटा चिम्नी भट्टामा २०/२५ जनासम्म भारतीय मजदुर काम गर्न आउँछन् ।
