चुरेका खोलामा पानी न खेतमा बाली

अहिले भालुखोपमा पानीको मुहान सुक्दै गए भने पहाडका भित्ताबाट उम्रिएको पानी बग्ने तेलपानी खोला सुक्दा गोलाटार मारमा पर्‍यो । त्यसको परिणाम, तेलपानी खोला किनारमै रहेको ५० बिघाभन्दा बढी खेत उराठलाग्दो बनेको छ

चैत्र २५, २०८१

नवराज सुवेदी

There is no water in the stolen river nor crops in the fields

झापा — निन्दा र तेलपानी खोलाको बीचमा छ– गोलाटार गाउँ । चुरे क्षेत्रमा पर्ने यो गाउँमा करिब डेढ सय परिवारको बसोबास छ । गाउँको पूर्व र पश्चिमतर्फ नै खोला बग्छ । तर, गाउँमा खानेपानीकै हाहाकार निम्तिने अवस्था छ भने खेतीयोग्य जमिन बाँझो बनेको छ । यहाँको खोलामा पानी छैन, किनारका खेत सिचाइँ अभावमा उराठलाग्दो खण्डहर बनेका छन् । 

मेचीनगर-३ को उत्तरमा पर्ने यो गाउँमा करिब १०-१२ वर्ष अघिसम्म पानीको अभाव थिएन । बर्खामा धान फल्थ्यो, हिउँदमा मकै, तोरी, गहुँको खेती गरिन्थ्यो । तेलपानी खोलामा वर्षैभर पानी हुन्थ्यो । जहाँको सिचाइँले गाउँ नै हराभरा हुन्थ्यो । ‘७२ सालमा भूकम्प गएपछि भने मुहानमा पानी नै हराउँदै गयो, अनि गाउँमा बाली पनि हुन छोड्यो,’ मेचीनगर–३ गोलाटारका प्रेम आचार्य भन्छन्, ‘मेरो एक बिघा खेतमा हिउँदमा तोरी, गहुँ लहलह हुन्थ्यो । खेत बाँझो छाडेकै आठ वर्षभन्दा धेरै भइसक्यो ।’ उनका अनुसार रोङ गाउँपालिका-५ र ६ को सीमाना भालुखोप भन्ने ठाउँमा पानीको मुहान थियो । जहाँबाट पूरै गाउँलाई पुग्ने खानेपानी ल्याइएको थियो ।

अहिले भालुखोपमा पानीको मुहान हराउँदै गयो भने पहाडका भित्ताबाट उम्रिएको पानी बग्ने तेलपानी खोला सुक्दा गोलाटार मारमा पर्‍यो । त्यसको परिणाम, तेलपानी खोला किनारमै रहेको ५० बिघाभन्दा बढी खेत उराठलाग्दो बनेको छ भने गाउँमा पानीको विषयलाई लिएर झगडा नै पर्ने अवस्था सिर्जना भएको छ । स्थानीय खगेन्द्र पौडेललाई तेलपानी खोलाको पानी लगेर हिउँदे बाली लगाइएको हिजोअस्तिझैं लाग्छ । पानी नै सुकेको तेलपानी खोलालाई देखाउँदै उनी भन्छन्, ‘मंसिरदेखि बर्खा नलाग्दासम्म खोलामा पानी नै आउँदैन, पानी नै नभएपछि उत्पादन नहुने भएकाले बाली लगाउने कुरै भएन ।’ 

There is no water in the stolen river nor crops in the fieldsटिमाई खोलामा भएको उत्खनन् । तस्बिर सौजन्य : नारायण दाहाल

 पहाडमा बाटो बनाउने, विभिन्न संरचना निर्माण गर्ने जस्ता काम गर्दा डोजर चल्यो । डोजर चल्दा पहाडका भित्तामा रहेका पानीका मुहान खल्बलिएको र मुहानबाटै पानी हराउँदै गएको स्थानीयको बुझाइ छ । यही गाउँको दक्षिण सीमा भएर मदन भण्डारी राजमार्ग निर्माण भएको छ । चुरे–तराई हुँदै पूर्व–पश्चिम जोड्ने यस राजमार्ग निर्माण गर्दा पनि कैयौं पटक डोजर लगाइयो भने धेरै रुख काटिँदा पानीको स्रोतमा हलचल ल्याइदिएको उनीहरू बताउँछन् । डेढ सय परिवारको बसोबास रहेको गाउँमा दिनमा एकपटक खानेपानी आउँछ ।

गोविन्दपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था गठन गरेर स्थानीयले दुःखका साथ खानेपानीको जोहो गरेका छन् । ‘त्यही पानी पनि दिनमा एकपटक बिहान ७-८ बजे आउँछ, त्यतिञ्जेलमा आफूलाई चाहिने पानी भरिसक्नुपर्छ,’ पौडेल भन्छन्, ‘त्यो पानी पनि कहिलेसम्म आउने हो थाहा छैन, यस्तै परिस्थिति हो भने अर्को साल नै पानी खोज्न कहाँ जानुपर्ने हो ? थाहा छैन ।’

There is no water in the stolen river nor crops in the fieldsहिउँदमा सुकेको तेलपानी खोला जहाँ ७-८ वर्ष अघिसम्म पानी नै सक्दैनथ्यो, सारा गाउँ सिचाइँका लागि यसैमा निर्भर थियो । तस्बिर : नवराज सुवेदी/कान्तिपुर  

पौडेललाई सम्झना छ, २०५२ सालतिरको गाउँको मध्य भागमा जरुवा पानी उम्रिन्थ्यो । पानी खाने, कपडा धुनेलगायत सारा गाउँनै त्यतिबेला जरुवा पानीमा निर्भर थियो, गाउँमा पानीको अभाव थिएन । तर, समय बदलिँदै गयो । अचेल सारा गाउँलाई पानी खुवाएको त्यही जरुवा पानी उम्रने जमिन बाँझो अवस्थामा छ । बुद्धशान्ति–४ झोडाईमा १३ वटा टोल छन् । चुरे क्षेत्रमै रहेको यहाँ पनि १० वर्षअघिसम्म बोरिङ एउटै थिएनन् ।

गाउँभन्दा करिब ५ किलोमिटर उत्तर रहेका पहाडको भित्तालाई मुहान बनाएर बग्थ्यो टिमाई खोला । जुन खोला स्थानीयका लागि सिचाइँको स्रोत थियो भने टिमाइमै रहेको खानेपानीको मुहानबाट पूरै गाउँमा पर्याप्त उपलब्ध भइरहेको थियो । ‘चुरे क्षेत्रमा अत्यधिक दोहन गर्ने क्रम बढ्यो, टिमाई खोलालाई ढुंगा–गिटी निकाल्ने बाहनामा गहिर्याइयो । खोला गहिरो भयो भने चुरे दोहन हुँदा पहाडका भित्ताबाट पानी उम्रन छोड्यो,’ स्थानीय प्रकाश साम्सोहाङ भन्छन्, ‘मुहानबाट आएको पानीमा निर्भर रहेको गाउँ मानव निर्मित बोरिङमा निर्भर पर्नुपर्ने अवस्था आयो ।’ उनका अनुसार अहिले टिमाइ खोलामा पानी नै छैन । जसका कारण सिचाइँ हुने कुरा नै भएन ।

यसरी जथाभावी चुरे दोहन हुँदा बुद्धशान्ति–४ का मंगलबारे, बाँझोखेत, सट्टाभर्ना, गुराँसबस्ती, पानीघट्टा जस्ता गाउँ पानीको प्रत्यक्ष अभाव भोग्न बाध्य छन् भने बुद्धशान्ति–५ का किङ्रिङ डाँडा, आयाबारी, बाबरीटार लगायतका गाउँसमेत पानीको अभावमा समस्या भोगिरहेका छन् । चुरे क्षेत्रमा अत्याधिक दोहन भएको भन्दै रोक्न पहल गर्नुपर्ने मागसहित स्थानीयले जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएको स्थानीय साम्सोहाङ बताउँछन् । हिउँदमा पानी नै नभएर सुकेका खोला बर्खामा भने भेलबाढीले क्षति निम्त्याउने गरेको स्थानीय बताउँछन् । 

चुरे क्षेत्रमा अनुमतिबिनै ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन् भइरहेको छ । त्यसको असर पानीको स्रोतमा परेको र बर्खामा बाढी र कटानको समस्या निम्त्याइरहेको स्थानीयको गुनासो छ । अर्जुनधारा नगरपालिकाको माथिल्लो भेग हुँदै गएको मदन भण्डारी राजमार्गलगायत अन्य ग्रामीण सडक निर्माणका क्रममा कैयौं पटक डोजर चलाइयो भने वनमा रहेका रुख काट्ने क्रम अहिले पनि जारी छ । अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली पानीका मुहान सुक्नु, खोलामा पानी हराउँदै जानु जलवायु परिवर्तनको असर रहेको बताउँछिन् । चुरे क्षेत्रमा अनधिकृत दोहन नभएको दाबी गर्दै उनी भन्छिन्, ‘कसैकसैले चोरी निकासी गर्दै अवैध उत्खनन् गर्नु फरक कुरा हो, जुन रोक्न सकिरहेको पनि छैन । तर, प्रक्रियागत रूपमा ठेक्का लगाएर चुरे क्षेत्रमै उत्खनन् गर्ने कुरा भने हुँदैन । पालिकाले त्यो गर्दैन ।’

There is no water in the stolen river nor crops in the fieldsटिमाई खोलाको पानी मुहान सुकेको ठाउँ । तस्बिर सौजन्य : प्रकाश साम्सोहाङ

यता पानीको हाहाकारकै अवस्था रहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं पनि चुरे दोहन नभएको दाबी गर्छन् । पानीकै सतह घट्दै गएको भन्दै उनी चुरे क्षेत्रमा दोहन गर्ने कुरा पालिकाले कहिल्यै नगर्ने बताउँछन् । त्यसो भए चुरे क्षेत्रमै किन भइरहेछ पानीको हाहाकार ? चुरेसम्बन्धी नै अध्ययन गरेका विजयकुमार सिंह जंगल क्षेत्रका रूपमा रहेको चुरेमा मान्छेको बसोबास बढ्दै जानु, चुरे पहाडमा उत्खनन् हुनु, रुख काटिनु, खेती गर्ने क्रममा वन विनास बढ्नुलगायतका कारणले नै पानीको हाहाकारको अवस्था सिर्जना गरेको बताउँछन् ।

‘चुरेमा गोलो ढुंगा, खस्रो बालुवा, गिट्टीलगायत हुन्छ, जसले सहजै पानी सोसेर भित्रैसम्म जान्छ । पहिला गहिरो रहेका खोला अहिले पुरिन थाले, त्यसैले पानी चुरेभन्दा निकै तलको भेगमा उम्रन थाल्यो, चुरेमा होइन,’ चुरे क्षेत्रमा भइरहेको परिवर्तनले तराईमा पारिरहेको प्रभावका विषयमा विद्यावारिधि गरेका उनी भन्छन्, ‘जब चुरेमा मान्छेको बसोबास बढ्यो, त्यहाँ भएका जंगल मासिन थाले र खुकुलो रहेको त्यहाँको माटो बगेर खोला उचाइमा पुग्न थाल्यो । परिणामस्वरूप चुरेमै पानीको हाहाकार हुन थालेको हो ।’

नवराज

Link copied successfully