सडक विभागले दुई दर्जन हाराहारी सुरुङको अध्ययन गरिरहेको छ, केहीको अध्ययन सकिएर रिपोर्ट थन्किएर बसेको छ, केहीको अध्ययन जारी छ
काठमाडौँ — नेपाल सरकारको आफ्नै स्रोतमा बनिरहेको पहिलो सुरुङमार्ग हो, पाल्पाको सिद्धबाबा सुरुङ । बर्खा न हिउँद । सिद्धबाबा राजमार्गको सिद्धबाबा खण्डमा त्रासैत्रासमा यात्रा गर्नु विकल्प छैन । कतिको त पहिरोले ज्यान लियो । गुडिरहेका सवारीसाधनमा ढुंगा बज्रिए । बर्सेनिजसो यस खण्डमा धनजनको क्षति भई नै रह्यो ।
पहिरोबाट जोगिन के गर्ने त ?
यसमा अनेकौं विकल्प खोजिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल सुनाउँछन् । ‘यस खण्डमा सधैं पहिरोको त्रास रह्यो, पहिरोकै कारण कतिले ज्यान गुमाउनुपर्यो,’ उनी भन्छन्, ‘बर्सेनि जोखिम बढ्दै गएपछि पहिरोको विकल्प खोज्नतिर लाग्यौं, धेरै उपायका बीच अन्तिममा सुरुङ निर्माण गर्नेमा पुग्यौं ।’ अहिले सुरुङको ‘ब्रेक थ्रु’ भएर फिनिसिङको काम भइरहेको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड चुरे भूभागमा पर्छ, तराई सकिनेबित्तिकै सिद्धबाबा खण्ड आइपुग्छ । ‘त्यहाँ अग्ला पहाड छन्, ठूला–ठूला ढुंगा खसिरहने जोखिम थियो, विकल्पमा वैकल्पिक सडक कुनै हुन सक्छ भन्ने लाग्यो,' पौडेल भन्छन्, 'त्यसअनुसार बुटवलको बेलासबाट नुवाकोट हुँदै दोभान निस्कने सडकलाई लिइयो, तर यो सडक लामो, चुरे भूभाग भएरै जानुपर्ने भयो, सबै हिसाबले सुरक्षित देखिएन ।’
दोस्रो विकल्प पूर्वपश्चिम राजमार्गदेखि बुटवल औद्योगिक क्षेत्रबाट चरंगे हुँदै डाँडामा निस्किएर झुम्सा झरी सिद्धार्थ राजमार्गमा जोडिने विकल्पबारे सोचिए पनि यो पनि जोखिममुक्त नदेखिएको उनले सुनाए । ‘त्यसैले सिद्धार्थ राजमार्गबाटै यात्रा सहज, सुरक्षित र छिटो हुने गरी पूर्वाधार सुधार गर्नेबारे अध्ययन गरियो, सिद्धबाबाको खण्डको पारिबाट सडक लग्दा सुरक्षित हुन्छ कि भन्ने भयो । तर जमिनको अवस्था उस्तै देखियो,’ उनले भने, ‘त्यो पनि त्यति उपयुक्त देखिएन, अर्को विकल्प नदी माथिमाथि तीन किमि लामो पुल बनाउने कि भन्ने भयो, तर लागत र प्राविधिक हिसाबले यो पनि त्यति उपयुक्त देखिएन ।’
कतिले हल्लिएर रहेका ढुंगा निकालेर र बाँकी रहेका ढुंगामा रड राखी नखस्ने बनाउन सुझाए । रक नेटिङ गर्न पनि सुझाव दिए, तर यो पनि उपयुक्त देखिएन । ‘त्यसपछि सुरुङ निर्माण गर्ने कुरा आयो, फेरि चुरेमा सुरुङ सम्भव हुन्छ त भनेर स्विस सरकारलाई अनुरोध गर्यौं,’ अर्थमन्त्री पौडेल भन्छन् ।
सुरुङ र पहिरोको जोखिम भएको ठाउँमा ‘रक सेट’ बनाउने गरी अध्ययन गरेर रिपोर्ट स्विस सरकारले उपलब्ध गरायो । ‘त्यसपछि नेपाल सरकारले आफ्नो स्रोतबाट निर्माण थालेको यो पहिलो सुरुङमार्ग हो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबाको अवलोकन गरेर त्यहाँ भएको क्षतिबारे पहिल्यै जानकारी लिनुभएको थियो, उहाँकै नेतृत्वमा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम अघि बढाइयो ।’ सुरुङको निर्माण निर्धारित समयभित्रै सकिने अर्थमन्त्री पौडेलले सुनाए ।
लुम्बिनी, भैरहवा, बुटवल र पोखरा उद्योग, पर्यटन लगायतका दृष्टिले महत्त्वपूर्ण केन्द्र भएकाले सुरुङ मात्र होइन, सिद्धार्थ राजमार्गको १ सय ६५ किमि खण्ड नै दुई लेन स्ट्यान्डर्डमा स्तरोन्नति गरिन लागेको उनले बताए ।
सिद्धबाबा सुरुङको २०७८ फागुनमा ठेक्का सम्झौता भए पनि सुरुङ खन्ने काम २०८० जेठबाट गरिएको थियो । सुरुङमार्गभित्र सवारीसाधनमा केही समस्या आइपरे सहजताका लागि र तत्काल उद्धार गर्न १५१ मिटरको पहिलो, १६१ मिटरको दोस्रो र १३० मिटर दुरीको तेस्रो बाइपास सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । उक्त खण्डमा २ हजार ३ सय ९८ मिटरमा सडक सुधारको काम पनि गरिनेछ । सुरु सम्झौताको म्याद २०८३ फागुनसम्म छ । उक्त समयभित्र काम सकिने दाबी आयोजनाको छ ।
सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड ‘रक सेट’ बनाइनेछ । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले लिएको हो । ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ हो । सुरुङ, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा बनिरहेको छ ।
नागढुंगा–सिस्नेखोलाको प्रगति के छ ?
जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण पनि अन्तिम चरणमा छ । तर स्थानीयले पटक–पटक निर्माणमा अवरोध गर्दा सुरुङको काम समयमै सकिनेमा शंका छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।
अहिले सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्ने खोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ । आपत्कालीन र मुख्य सुरुङ छुट्टाछुट्टै निर्माण गरिएको छ । आपत्कालीन सुरुङको दुरी २ हजार ५ सय ५७ मिटर छ ।
काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्ने खोलामा पर्ने मुख्य सुरुङको दुरी २ हजार ६ सय ८८ मिटर छ । बलम्बुस्थित किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म सडकको दुरी २.३०७ किमि छ । यसको निर्माण २०७६ कात्तिक ४ मा थालिएको हो । २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उक्त सुरुङमार्ग नेपालकै पहिलो यातायातका साधन गुड्ने सुरुङ हो ।
सडक विभागले दुई दर्जन हाराहारी सुरुङको अध्ययन गरिरहेको छ । केहीको अध्ययन सकिएर रिपोर्ट थन्किएर बसेको छ । केहीको अध्ययन भइरहेको छ । अहिले सरकारको प्राथमिकतामा बीपी राजमार्गअर्न्तगत सिन्धुलीको चियाबारी–खुर्कोट र नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दुम्किबास–बर्दघाट सुरुङमार्ग छन् । यी दुवैको पूर्वसम्भाव्यता अध्ययन सकिएको छ ।
चियाबारी–खुर्कोट सडकको दुरी अहिले २९.८ किमि रहेकोमा सुरुङ मार्ग निर्माण भए ८.५ किमिमा झर्ने दाबी छ । अध्ययनअनुसार सुरुङको दुरी ४.९० किमि छ । समस्या रहेको सडक खण्ड हो, नारायणगढ–बुटवल । यस सडकअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा बढी समस्या छ । यस खण्डमा उकालो र घुम्ती बढी छ । मालवाहक सवारीसाधन उकालोमा आइपुग्दा बिग्रेरसमेत ट्राफिक जाम हुने गरेको छ । २०८० सालमा भएको अध्ययनअनुसार यसको कुल दुरी ५.३ किमि छ । प्रारम्भिक अध्ययनअनुसार निर्माणमा ३८ अर्ब ६९ करोड रुपैयाँ चाहिने छ ।
करिब दुई दर्जन सुरुङको अध्ययन गरिएको भए पनि निर्माणमा जाने गरी पहिलो प्राथमिकतामा यिनै दुई सुरुङमार्गलाई राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । ‘धेरै सुरुङको अध्ययन भएको छ,’ उनले भने, ‘तर, मन्त्रालयको पहिलो प्राथमिकतामा बढी सवारी चाप रहेका खुर्कोट–चियाबारी र दुम्किबास–बर्दघाट सुरुङमार्ग नै छन् ।’
पहाडी क्षेत्रमा सुरुङमार्ग पूर्वाधार निर्माणको एउटा महत्त्वपूर्ण आयाम भएको अर्थमन्त्री पौडेलले बताए । ‘हाम्रो भौगर्भिक अवस्था जे छ, यातायात पूर्वाधारमा भौगोलिक अवस्थितिलाई हेक्का राखेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘हाम्रो आजको स्रोतसाधनले कति भ्याउँछ, त्यो अलग कुरा हो, समग्रमा पहाडी क्षेत्रमा सुरुङमार्ग हाम्रो पूर्वाधार निर्माणको एउटा महत्त्वपूर्ण आयाम हो भन्ने कुरा सबैले स्विकार्नुपर्छ ।’
