हिमाली जिल्लामा बर्सेनि कोर्स नसकिँदै परीक्षा

शिक्षक तथा भौतिक पूर्वाधार अभाव, समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यार्थी र शिक्षक नियमित उपस्थित नहुनु लगायतका कारण कर्णालीको शैक्षिक गुणस्तर खस्किँदै

फाल्गुन २६, २०८१

कृष्णप्रसाद गौतम र तुलाराम पाण्डे

Examination in the Himalayan district without completing the annual course

सुर्खेत/कालिकोट — कालिकोटको निगासैनी मावि दशालाको माध्यमिक तह तीन जना राहत शिक्षकको भरमा छ । केही विषय आधारभूत तहका शिक्षकले पढाउँछन् । तर विद्यालयमा अधिकांश विषयको कोर्स आधा पनि नसकिएपछि विद्यालयले जुक्ति निकाल्यो- अतिरिक्त कक्षा सञ्चालन गर्ने । 

विद्यालयले बिहान ५ देखि ८ बजेसम्म अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढायो । अतिरिक्त कक्षाबापत विद्यार्थीले प्रतिव्यक्ति ३ महिनाको ९ हजार रुपैयाँ तिर्नुपरेको कक्षा १० का विद्यार्थी सरोज नेपालीले बताए । ‘अरु विषय त अहिलेसम्म आधा पनि पढाइ भएको छैन, अब आफै पढेर परीक्षा दिने त होला,’ उनले भने, ‘पैसा हुनेहरु सुर्खेतिर गएर ट्युसन पढे, हामीले यहीँ पढेर भए पनि एसईईको तयारी गरिरहेका छौं ।’ 

विद्यालयबाट ३३ जना नियमित र ३ जना ग्रेडवृद्धिका परीक्षार्थीले एसईई दिँदै छन् । विद्यालयका प्रधानाध्यापक देवकला आचार्यले जाडो र वर्षे बिदा, दसैंतिहार, खेतीपातीको समय विद्यार्थीहरु अभिभावकसँगै जडिबुटी टिप्न बाहिर जाने लगायतका कारण कोर्स सक्न मुस्किल हुने गरेको बताइन् ।

खाँडाचक्र-३ ताडीस्थित जनजीवन माविको माध्यमिक तह पनि निजी स्रोतका तीन र संघीय अनुदानका दुई शिक्षकको भरमा छ । कक्षा १० मा अध्ययनरत सृष्टि शाहीले विद्यालयमा कोर्स नसकिएपछि सदरमुकाम मान्म गएर तीन महिना ट्युसन पढ्दा ८ हजार शुल्क तिर्नुपरेको बताइन् । ‘कहिल्यै कोर्स सकिँदैन, हाम्रा दाइदिदीले पनि यसैगरी ट्युसन पढेर परीक्षाको तयारी गरेका हुन्,’ उनले भनिन्, ‘विद्यालयको लापरबाहीले विद्यार्थीको आर्थिक भार थपिएको छ, पढ्नकै लागि गाउँ छाड्नुपर्ने बाध्यता छ ।’ Examination in the Himalayan district without completing the annual course

विषयगत शिक्षक नहुँदा पनि समस्या भएको बताउँछन्, विद्यालयका शिक्षक भीमप्रसाद पाण्डे । 'बिदैबिदाले पनि बर्सेनि कोर्स सक्न मुस्किल हुन्छ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई ट्युसन पढ्न नजाऊ भन्दा पनि समस्या छ ।’ उनका अनुसार विद्यालयबाट ७५ नियमित र १८ ग्रेडवृद्धिका परीक्षार्थीले एसईई दिँदै छन् ।  

कर्णालीका हिमाली जिल्लामा बर्षेनि कोर्स नसकिने समस्या छ । शिक्षा विकास निर्देशनालयले गत वर्ष १ सय विद्यालयमा गरेको अध्ययनअनुसार शैक्षिक सत्रको अन्त्यसम्म मुस्किलले ६० प्रतिशत कोर्स पूरा हुने गरेको निष्कर्ष निकालेको थियो । ‘जसरी पनि आफ्नो विषयको सबै कोर्स वार्षिक परीक्षाअघि नै सक्नु सबै शिक्षकको पहिलो सर्त हो,’ शिक्षा विकास निर्देशक दीपा हमालले भनिन्, ‘तर विभिन्न कारण सबैजसो विद्यालयमा कुनै न कुनै कोर्स अपुरै हुन्छन्, धेरै बिदाले पनि यसमा असर पारेको छ ।’ 

उनका अनुसार शिक्षक तथा भौतिक पूर्वाधार अभाव, समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यार्थी र शिक्षक नियमित कक्षामा उपस्थित नहुनुलगायत कारण कर्णालीको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ ।

समयमै कोर्स नसकिँदा कर्णाली प्रदेशबाट गत वर्षको एसईईमा ४१.८५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भए । शिक्षा विकास निर्देशनालयका अनुसार ३५ हजार ६१ परीक्षार्थी सहभागी भएकामा १४ हजार ६ सय ७७ जना मात्रै उत्तीर्ण भएका थिए । ‘परीक्षामा सहभागिता जनाएका ७ सय ३० मध्ये ४६ विद्यालयको नतिजा त शून्य नै भयो,’ निर्देशनालयका वरिष्ठ शिक्षा अधिकृत लोकप्रसाद पौडेलले भने, ‘सामुदायिक विद्यालयबाट उत्तीर्ण भएका अधिकांश विद्यार्थीले पनि राम्रो अंक ल्याउन सकेनन्, ४ सय ६ जनाले मात्र २.१ देखि २.४ जीपीए ल्याए, पछिल्लो समय निजी विद्यालयका विद्यार्थीको मात्र राम्रो नतिजा आउँदा अभिभावक पनि निजीतिरै आकर्षित भएका छन् ।’ Examination in the Himalayan district without completing the annual course

समयमै कोर्स नसकिनुको प्रमुख कारण शिक्षक अभाव पनि भएको वरिष्ठ शिक्षा अधिकृत पौडेलले बताए । उनका अनुसार कर्णालीमा ३ हजार २६ सामुदायिक विद्यालय छन् । त्यसमध्ये १ हजार २ सय विद्यालयमा एउटा पनि शिक्षकको दरबन्दी छैन । माध्यमिक तहमा ३ हजार २५ दरबन्दी हुनुपर्ने भए पनि १ हजार २ सय ७६ मात्र दरबन्दी छ । त्यसमा पनि १ हजार ७ सय दरबन्दी अपुग रहेको उनले जानकारी दिए । 

कर्णालीमा समग्र विद्यार्थी संख्याका आधारमा १७ हजार ३ सय ८४ दरबन्दी हुनुपर्ने हो तर ११ हजार ८ सय ६५ मात्र दरबन्दी छ । त्यसमध्ये ५ हजार ५ सय ४० दरबन्दी अपुग रहेको निर्देशनालयले जनाएको छ । 

कालिकोटको तिलागुफा नगरपालिका–४ राचुलीस्थित कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा ३३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा मंसिर दोस्रो सातासम्मका लागि एक महिना जाडो बिदा दिइएको थियो । तर अधिकांश विद्यार्थी जाडो बिदा सकिनुअघि नै ट्युसन पढ्न सुर्खेत र सदरमुकाम मान्म गएपछि विद्यालयले कक्षा १० मा बीचमै पढाइ रोक्नुपरेको प्रधानाध्यापक चक्रबहादुर शाहीले बताए । 

‘ट्युसन पढ्न बाहिर जाने त यहाँका लागि फेसनजस्तै भइसक्यो, विद्यार्थी नै बाहिर गएपछि कक्षा १० मा झन्डै ३ महिना पढाइ नै भएन,’ उनले भने, ‘मुस्किलले सबै विषयको पढाइ आधाजसो भएको थियो होला ।’ उनका अनुसार गत वर्ष विद्यालयबाट ३४ जनाले एसईई दिएकामा नियमिततर्फ एक जना मात्र उत्तीर्ण भएका थिए । विद्यालयमा माध्यमिक तहका स्थायी शिक्षकको संख्या शून्य छ भने दुई राहत र एक जना पालिका अनुदानका शिक्षकले अध्यापन गरिरहेका छन् । जसका कारण बर्सेनि शैक्षिक गुणस्तर कमजोर भइरहेको उनले गुनासो गरे । 

विद्यालयमा कोर्स नसकिने अवस्था देखिएपछि झन्डै तीन महिना सुर्खेत आएर ट्युसन पढेको तिलागुफास्थित शिवालय माध्यमिक विद्यालय कक्षा १० का छात्र आदित्य शाहीले बताए । गाउँमा एसईईको तयारी नपुग्ने देखिएपछि सुर्खेत आएर ट्युसन पढेका उनी यसै साता एसईई दिन जिल्ला फर्किने तयारीमा छन् । प्रतिविषय मासिक दुई हजार रुपैयाँ शुल्क तिरेर अंग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढेको उनको भनाइ छ । 

तिलागुफा नगरप्रमुख शंकरप्रसाद उपाध्याय बर्षेनि एसईई दिने विद्यार्थी बाहिर जाने प्रवृत्ति वर्षौंदेखि रहेकाले रोक्नका लागि कार्ययोजना बनाउन थालिएको बताए । ‘यसमा शिक्षक, विद्यार्थी, अभिभावक सबै जिम्मेवार हुन जरुरी छ,’ उनले भने, ‘विद्यालयमा नियमित पठनपाठन गराउने, समयमै कोर्स सकाउने, अतिरिक्त कक्षा विद्यालयमै सञ्चालन गर्नेलगायत योजना समेटेर विद्यालय सुधारका लागि पालिकास्तरीय कार्ययोजना बनिरहेको छ ।’Examination in the Himalayan district without completing the annual course

हुम्ला, डोल्पा, मुगु र कालीकोटमा अत्यधिक हिमपात हुने भएपछि माथिल्लो बस्तीका स्थानीय बर्सेनि कात्तिक पहिलो सातादेखि फागुन अन्तिमसम्म बेँसीतिर बसाइँ सर्छन् । झन्डै पाँच महिना अभिभावकसँगै विद्यार्थीहरु बाहिर जाने भएकाले पनि पढाइ रोकिने गरेको हो । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ, शेफोक्सुण्डोलगायत पालिकाका गाउँका स्थानीय  बासिन्दा अहिले पनि गाउँबाहिर छन् । जसका कारण पनि लामो समय विद्यार्थीको पढाइ छुट्ने गरेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । 

‘दुर्गम भएकाले पालिकामा शिक्षक नै आउन मान्दैनन्, आए पनि नियमित विद्यालयमा उपस्थित हुँदैनन्, शिक्षक नभए विद्यार्थीले कसरी सिक्छन्, कसरी कोर्स पूरा हुन्छ ?,’ उनले भने, ‘हाम्रा लागि वैशाखदेखिको शैक्षिक सत्र नै अव्यावहारिक छ ।’ उनका अनुसार कोरोना महामारीअघि कात्तिकदेखि माघसम्म भारी हिमपात र अत्यधिक जाडो हुने भएपछि मुगुमा फागुनदेखि कात्तिकसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो ।

यार्सागुम्बाको सिजन, विभिन्न चाडबाड, जिल्लाबाहिरका शिक्षक बढी समय बिदा बस्दा पनि कोर्स सकिन मुस्किल हुने गरेको उनको भनाइ छ । ‘यार्साको सिजनमा त दुई महिनासम्म अभिभावकसँगै विद्यार्थी पाटन जान्छन्, खेतीपातीका काम र विभिन्न चाडपर्वले विद्यार्थीलाई १/२ साता विद्यालय जान डिस्टर्ब हुन्छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति सबैको लापरबाहीले हाम्रो पढाइ खस्किँदै गइरहेको छ ।’  

विद्यालयमा नियमित पढाइ नहुने भएपछि पालिकाका अधिकांश बालबालिकालाई अभिभावकले बौद्ध शिक्षा पढाउन काठमाडौं लगायतका बौद्धगुम्बामा पठाउने गरेको हुम्लाको नाम्खा गाउँपालिका-६ का पाल्जोर तामाङले बताए । उनका अनुसार गाउँका विद्यालयमा आर्थिक रुपले विपन्न बालबालिका मात्र पढ्छन् । ‘कोर्स पूरा नहुँदै वार्षिक परीक्षा सञ्चालन गर्ने र सिकाइ उपलब्धि कमजोर भए पनि माथिल्लो कक्षा उकाल्ने समस्या छ,’ उनले भने, ‘जसका कारण गाउँपालिकाभरिकै शैक्षिक गुणस्तर कमजोर  छ ।’ उनका अनुसार कक्षा ५ मा पढ्ने अधिकांश विद्यार्थीले आफ्नो नाम लेख्न र राम्ररी किताबको पाठ पढ्नसमेत सक्दैनन् । Examination in the Himalayan district without completing the annual course

अधिकांश विद्यालयमा शिक्षक अभाव र कार्यरत शिक्षकसमेत नियमित उपस्थित नहुँदा सबैजसो सामुदायिक विद्यालयमा सबै तहका सबैजसो विषयको पढाइ पूरा नहुने जुम्लास्थित हिमा गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तराज रावतले बताए । उनका अनुसार हिमपात, यार्चा सिजन, विभिन्न चाडपर्व, घरायसी कामले पनि बर्सेनि बालबालिकाको पढाइमा बाधा परिरहेको छ । 

यस वर्षको एसईईमा कर्णालीबाट ३९ हजार ९ सय ११ विद्यार्थी सहभागी हुँदै छन् । जसका लागि करिब १ सय ८० परीक्षा केन्द्र तोकिएको र आवश्यक तयारी भइरहेको शिक्षा विकास निर्देशक दीपा हमालले बताइन् । ‘परीक्षाका लागि उत्तरपुस्तिकासमेत जिल्लामा पठाइसकेका छौं,’ उनले भनिन्, ‘केन्द्राध्यक्षहरुले आवश्यक व्यवस्थापनका अन्य काम पनि गरिरहनुभएको छ ।’

कृष्णप्रसाद

Link copied successfully