सप्तरीमा मात्र कान्छाराम कन्स्ट्रक्सनको झन्डै २ अर्बको ठेक्का अधुरै

सडक र नाला निर्माणको ठेक्का लिने कम्पनी ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको हो ।

फाल्गुन २३, २०८१

अवधेशकुमार झा

In Saptari alone, Kancharam Construction's contract of nearly 2 billion is incomplete

राजविराज — सडक तथा नाला निर्माणको काम अलपत्र बन्दा सप्तरीको राजविराज नगर क्षेत्रको अवस्था कुरूप मात्रै होइन प्रदूषित पनि बनेको छ । विभिन्न फर्मसँग मिलेर कान्छाराम कन्स्ट्रक्सनले ठेक्का लिए पनि समयमै नसकिँदा पाँचपटकसम्म म्याद थपिँदै आएको छ ।

यी निर्माणको ठेक्का लिने कान्छाराम कन्स्ट्रक्सन संघीय सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको कम्पनी हो । यो कन्स्ट्रक्सनले साझेदारहरूसँग मिलेर लिएका विभिन्न सडक निर्माणको काम अलपत्र पारेको छ । 

यस्तै, हुलाकी राजमार्ग आयोजना इटहरीबाट सप्तरी क्षेत्रमा लिएको लिएका दुई वटा ठेक्का पनि कान्छाराम कन्स्ट्रक्सनले पूरा गरेको छैन ।

कन्स्ट्रक्सनले विभिन्न साझेदार कम्पनीसँग मिलेर सघन सहरी आयोजना राजविराज तथा हुलाकी राजमार्ग आयोजनामार्फत सप्तरीमा लिएको १ अर्ब ९४ करोड १९ लाख ३२ हजार ८ सय ३६ रुपैयाँ ६५ पैसाको योजनाको काम अधुरै छ । तिनको पटकपटक म्याद थप्ने गरिएको छ ।

विभिन्न फर्मसँग संयुक्त रूपमा कन्स्ट्रक्सनले राजविराजमा सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८२ करोड ९ लाख १३ हजार ३ सय ५६ रुपैयाँ ६५ पैसा बराबरको दुई वटा ठेक्का लिएको छ ।

दुवै ठेक्कामा ६ वर्ष समय बितिसकेको र पटकपटक म्याद थप गरिँदै गए पनि ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । राजविराज नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्र, स्तरोन्नतिका लागि डाँफे/कान्छाराम, देव एन्ड सायर जेभी काठमाडौँले पहिलो प्याकेजअन्तर्गत भ्याटबाहेक ३९ करोड ७३ हजार ९ सय २६ रुपैयाँ ६७ पैसा बराबरको ठेक्का सम्झौता गरेको थियो ।

२०७४ पुस १६ गते सम्झौता गरी कार्यादेश पाएको निर्माण कम्पनीले सात वर्ष पुग्न लाग्दा पनि काम सम्पन्न गर्न सकेको छैन । यो ठेक्काको सम्झौतामा अहिले राज्यमन्त्री रहेका तामाङले तत्कालीन अवस्थामा कान्छाराम कन्स्ट्रक्सनतर्फबाट हस्ताक्षर गरेका छन् ।In Saptari alone, Kancharam Construction's contract of nearly 2 billion is incomplete

पहिलो पटक तोकिएको म्यादभित्र निर्माण सम्पन्न हुन नसकेपछि २०७७ पुस १६ देखि ०७८ असार १५ सम्मका लागि आयोजना प्रमुखले म्याद थप गरेका थिए । म्याद थप गरिएको अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०७८ असार १६ देखि २०७८ चैत २५ सम्म दोस्रो पटक, २०७८ चैत २६ देखि २०७९ चैत २५ सम्म तेस्रो पटक म्याद थप गरियो ।

तेस्रो पटक थपिएको म्यादभित्र पनि निर्माण सम्पन्न भएन । २०७९ चैत २६ देखि २०८२ असार २२ सम्मका लागि विभागीय प्रमुखले अर्को म्याद थप गरे । यो ठेक्कामा रहेका कामको भौतिक प्रगति ६० प्रतिशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर राजकुमार मिश्रले जानकारी दिए । कन्स्ट्रक्सन समेतको कम्पनीले हालसम्म भ्याटबाहेक १८ करोड ८५ लाख ५८ हजार २ सय ४५ रुपैयाँ ७ पैसा भुक्तानी पाइसकेको छ ।

राजविराज नगरपालिकाभित्रकै विभिन्न वडामा सडक तथा नाला निर्माणको अर्को ठेक्का कान्छाराम/डाँफे जेभी काठमाडौँले ४२ करोड ३६ लाख १२ हजार ४ सय २९ रुपैयाँ ९८ पैसामा पाएको थियो । २०७५ माघ २१ गते सम्झौता भएर सोही दिन कार्यादेश पाएको निर्माण कम्पनीले २०७७ साउन २१ भित्र यो ठेक्काअन्तर्गतका कार्य सम्पन्न गर्नुपर्ने थियो । तर यो पाँच पटक थप भइसकेको छ ।

पहिलोपटक तोकिएको अवधिभित्र कार्य नभएपछि विभागीय प्रमुखले २०७७ साउन २१ देखि २०७७ पुस ५ सम्म म्याद थप गरेका थिए । सो अवधिमा पनि काम पूरा हुन सकेन । त्यसपछि आयोजना प्रमुखले २०७७ पुस ६ देखि २०७८ असार ५ सम्म दोस्रोपटक, २०७८ असार ६ देखि २०७८ चैत ३० सम्म तेस्रोपटक, २०७९ वैशाख १ देखि २०७९ चैत ३० सम्म चौथो पटक म्याद थप गरियो । चौथोपटक थपिएको म्यादभित्र पनि काम सम्पन्न हुन नसकेपछि २०८० वैशाख १ देखि २०८२ असार ३० सम्म अर्को म्याद थप गरिएको छ ।

यो ठेक्कामा निर्माण कम्पनीले हालसम्म २० करोड ७१ लाख ९६ हजार २ सय ७७ रुपैयाँ २६ पैसा भुक्तानी पाइसकेको छ । दुवै ठेक्कामा राज्यमन्त्री तामाङले नै सम्झौतामा हस्ताक्षर गरेका छन् ।In Saptari alone, Kancharam Construction's contract of nearly 2 billion is incomplete

पछिल्लो समय यो दुवै ठेक्काको कार्य रोकिएपछि काम अलपत्र परेको छ । विभिन्न स्थानमा सडक र नाला खनेर छोडिएका कारण आवतजावतमा समस्या हुनुका साथै धुलोले राजविराजवासी हैरान छन् ।

पटकपटक म्याद थप गर्दै काम सम्पन्न गर्न ताकेता पत्र दिँदा पनि निर्माण कम्पनीले अटेर गरिरहेको छ । कान्छाराम कन्स्ट्रक्सनका सञ्चालक तामाङ संघीय सरकारमा मन्त्री भएपछि अहिले आयोजनाका कर्मचारीले डराएर ताकेता गर्न छाडेको एक कर्मचारीले बताए । ‘कारबाही गर्ने निकायमा कारबाही हुनुपर्ने व्यक्ति मन्त्री छन्, कहाँ भन्नु ? कसले सुन्छ ?’ ती कर्मचारीले भने ।

पछिल्लो समय राज्यमन्त्री तामाङले दीपक थिङ नाम गरेका व्यक्तिलाई यी ठेक्काको आधिकारिक व्यक्ति तोकेको पत्र पठाएका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजलाई २०८० चैत १ मा पत्र पठाउँदै तामाङले थिङ आफ्नो आधिकारिक व्यक्ति भएको उल्लेख गरेका थिए । एक वर्षदेखि कन्स्ट्रक्सनले यी ठेक्कामा काम गरेको छैन । ‘बेलाबेला केही दिन सुस्त गतिमा काम गर्छन्, फेरि बन्द गर्छन्,’ इन्जिनियर मिश्रले भने ।

तोकिएको समयमा यो दुवै ठेक्काको कार्य सम्पन्न हुन नसक्दा अहिले नगरपालिकाको बाटोघाटो अस्तव्यस्त भएको राजविराज नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष जयनारायण मण्डलले बताए । ‘हामीले जनताको गाली सुन्दै हिँड्नुपरेको छ,’ उनले भने, ‘काम अधुरो गरेर छाडेका कारण आवतजावतमा त समस्या छ नै, प्रदूषण बढ्नुका साथै सवारी दुर्घटनासमेत बढेको छ ।’

सरकारी प्रावधान अनुसार संघीय सरकारले टेन्डर लगाइसकेको योजनामा पालिकाबाट खर्च गर्न नसकिने प्रवक्ता मण्डलले बताए । ‘सडक त्यतिकै छोडिएको छ, नालामाथि स्ल्याब नहालिएका कारण नगरपालिका क्षेत्रलाई अहिले अस्तव्यस्त बनाइएको छ,’ उनले भने । आफूहरूले पटकपटक सघन सहरी तथा भवन निर्माण आयोजनामा भन्दाभन्दै थाकिसकेको उनको भनाइ छ ।

हुलाकी आयोजनाबाट लिएको ठेक्काको अवस्था पनि साझेदार कम्पनीसँग मिलेर कन्स्ट्रक्सनले हुलाकी राजमार्ग आयोजना इटहरीबाट सप्तरीमा दुई वटा ठेक्का लिएको छ । जसमध्ये कठौना–पातो सडक १८ किलोमिटर निर्माण गर्नुपर्ने थियो । चौथोपटक म्याद थप्दा नि यो अधुरै छ ।In Saptari alone, Kancharam Construction's contract of nearly 2 billion is incomplete

हुलाकी राजमार्ग आयोजना इटहरीका इन्जिनियर उपेन्द्र दासका अनुसार २०७५ जेठ ४ गते कान्छाराम/बागमती/देव एन्ड सायर जेभीले कठौना-पातो सडकखण्डको १८ किलोमिटर निर्माणका लागि ७० करोड ४६ लाख ६१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

तर चौथो पटक थपिएको म्याद २०८१ माघ २६ गते सकिए पनि यो सडकको भौतिक प्रगति ५५ प्रतिशत मात्र रहेको इन्जिनियर दासले बताए । यसमा निर्माण कम्पनीले ४० प्रतिशत भुक्तानी पाइसकेको उनले जानकारी दिए ।

हुलाकी राजमार्ग आयोजनासँग अर्को ठेक्का हो, राजविराज–कुनौली सडक । अन्य ठेक्काको तुलनामा यो ठेक्कामा काम भने अन्तिम चरणमा छ । १२ दशमलव ७६ किलोमिटर यो सडक निर्माणका लागि कन्स्ट्रक्सनले २०७४ असार ३० मा ४१ करोड ६३ लाख ५८ हजार ४ सय ८० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

ठेक्का सुरु हुँदा यो सडक २०७६ पुस ३० भित्र निर्माण भइसक्नुपर्ने हो । तर ६ पटक म्याद थप भएर २०८० पुस २९ सम्म पूरा हुनुपर्ने कार्य थोरै अड्किएको छ । इन्जिनियर दासका अनुसार ६ पटक म्याद थप भएर सकिएको अवस्थामा राजविराज–कुनौली सडकको भौतिक प्रगति ९५ प्रतिशत छ भने वित्तीय प्रगति ९३ प्रतिशत छ ।

‘अन्यको तुलनामा यसमा काम अन्तिम चरणमा छ, तर बाँकी थोरै काम पनि पूरा नगरेर अल्झाएर राखेको छ,’ इन्जिनियर दासले भने । उनले म्याद सम्पन्न भइसकेको ठेक्काबारे के गर्ने भन्ने विषयमा माथिल्लो निकायबाट निर्देशन माग गरेको बताए ।

अवधेशकुमार झा

Link copied successfully