तत्काल हलको विकल्प बनाउन नसके पनि ओटीटी प्लेटफर्मबाट आशावादी छन्, फिल्मकर्मी
काठमाडौँ — नेपालमा फिल्म रिलिजका बेला प्राय: फिल्मकर्मीको साझा गुनासो हुन्छ, ‘हामीलाई शो दिइएन ।’ शो बाँडफाँटका क्रममा नेपाली फिल्मकर्मीले जहिल्यै आफूहरूलाई अन्याय भएको महसुस गर्छन् ।
गत १७ असोजमा प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’का अभिनेता तथा निर्माता निश्चल बस्नेतले पनि यही महसुस गरे । फिल्मलाई दर्शकहरूले रुचाइरहँदा पनि हिन्दी फिल्मका कारण शो संख्या खुम्च्याइएको उनको गुनासो थियो । त्यतिबेला निश्चलले असन्तुष्टि पोख्दै लेखे, ‘मचाहिँ अब हलको विकल्पतिर लागेँ ।’
अन्तत: उनले हलबाट फिल्म झिक्दै ओटीटी प्लेटफर्म 'एमएसएम'मा राखे । निश्चलले हलबिना फिल्म चलाउन सकिन्छ भन्ने सन्देश दिन खोजेका थिए । दसैंमा ‘बेहुली फ्रम मेघौली’बाटै नयाँ ओटीटी प्लेटफर्म सुरु भएको थियो । राम्रो प्रचार भइरहेका बेला उक्त प्लेटफर्ममा राख्दा फिल्मले व्यापार पनि राम्रो गर्यो ।
एमएसएमका बिजनेस डेभलपमेन्ट म्यानेजर छत्र थापाका अनुसार फिल्मले अहिलेसम्म एक करोडभन्दा माथिको व्यापार गरिसकेको छ । ‘अहिले पनि यो फिल्म हेर्नेहरू हरेक दिनजसो देखिन्छन्,’ उनी भन्छन् ।
तर निश्चलले खोजेझैँ हलको विकल्प भने ओटीटी हुन सकिरहेको छैन । एमएसएमले ‘बेहुली फ्रम मेघौली’मा मात्र अहिलेसम्म बढी दर्शक पायो । ‘त्यतिबेलामा हल्ला थियो । अरु फिल्ममा त्यही निरन्तरता उहाँहरूले दिनसक्नुभएन,’ निश्चल भन्छन् ।
तत्काल हलको विकल्प बनाउन नसके पनि फिल्मकर्मीहरू पछिल्लो समय ओटीटी प्लेटफर्मबाट आशावादीचाहिँ छन् ।
निर्देशक कृषा चौलागाईं नेपाली फिल्म हेर्नबाट वञ्चित ठूलो जमातलाई यस्तो प्लेटफर्मले तान्न सक्ने बताउँछिन् । ‘नेपालमा धेरै भूगोलमा हल छैनन् । नेपाली दर्शकको ठूलो जमात फिल्म हेर्नबाट वञ्चित छन् । ती मासलाई ओटीटीमा जोड्न सकिन्छ,’ उनी भन्छिन् ।
निर्देशक नवीन सुब्बा ओटीटीमा सम्भावना भए पनि नेपालमा जुन किसिमले यसको विकास भइरहेको छ, त्यसमा समस्या रहेको बताउँछन् । ‘हामीलाई ओटीटी चाहिन्छ । तर अझै डिजिटल लिट्रेसी छैन । हाम्रा फिल्ममा पनि विविधता छैन,’ उनी भन्छन् ।
निर्देशक मनोज पण्डितले पनि २०७८ असोजमा फिल्म ‘एक’ हलमा नभई सिधै ओटीटी प्लेटफर्म 'सिनेमा घर एप'मा रिलिज गरेका थिए । तर ओटीटीमा फिल्मले राम्रो व्यापार गर्न सकेन ।
सिनेमा घरका सीईओ सागर खरेलका अनुसार त्यतिबेलासम्म नेपाली फिल्म युट्युबमा छ्यापछ्याप्ती आउँथे । दर्शकलाई फिल्म अनलाइनमा किनेर हेर्ने बानी थिएन । ‘अहिलेचाहिँ विस्तारै ओटीटीमा बानी पर्न थालेको छ । फिल्म हेर्नेहरूको संख्या बढेको छ,’ उनी भन्छन् ।
निश्चल अझै पनि नेपाली दर्शकलाई ओटीटीमा फिल्म पैसा तिरेर हेर्ने बानी बसाउनुपर्ने बताउँछन् । ‘फिल्म पैसा तिरेर हेर्ने बानी बसाउनुपर्नेछ । एपहरूको ट्रान्जिक्सन बनाउनुपर्नेछ । सब्सक्रिस्प्सन बेसमा गएर निश्चित रकममा महिनाभरि हेर्न मिल्ने बनाउनुपर्नेछ,’ उनी भन्छन् ।
ओटीटी छन्, लगानी कम
नेपालमा ओटीटी खुल्ने र बन्द हुने क्रम त भइरहेका छन् । सक्रिय भइरहेका ओटीटीमा पनि पर्याप्त लगानी गर्न सक्ने अवस्था छैन । सिनेमा घरका सीईओ खरेल भन्छन्, ‘अन्तर्राष्ट्रिय रुपमा ओटीटी कल्चर बढिरहेको छ । तर नेपालमा ओटीटीबाटै त्यसरी कमाउने अवस्था अझै बनेको छैन ।’ उनका अनुसार सिनेमा घर अझै सब्सक्रिप्सनमा जान सकेको छैन । ‘हामी पे पर भ्यूज मै छौं । सब्स्क्रिप्सनमा जान सकेका छैनौं । त्यसमा जान करोडौं लगानी चाहिन्छ । लगानीकै कारण अहिले रोकिएको छ ।’
१८ महिनादेखि सञ्चालनमा आएको ओटीटी कान्तिपुर सिनेमाज्का प्रकाश पुरी पनि आफूहरूले कलेजका प्रोडक्टभन्दा बाहिर अरु खासै राख्न नसकिएको बतउँछन् । ‘हामी सब्स्क्रिप्सन बेसमा त छौं तर धेरै लगानी गर्न सकिने अवस्था अहिले छैन । यद्यपि जति धेरै लगानी गर्न सक्यो उति राम्रो हुने हो,’ उनी भन्छन् ।
ओटीटीहरूमा पर्याप्त फिल्म पनि छैनन् । दसैंबाट सुरु भएको एमएसएमले ‘बेहुली फ्रम मेघौली’देखि 'महाजात्रा', 'बुलबुल', 'ममी', 'परदेशी २', 'फर्कीफर्की' लगायत एक दर्जभन्दा बढी फिल्म राखिसकेको छ । यद्यपि एमएसएम पनि सब्स्क्रिप्सन बेसमा नभएको थापा बताउँछन् । ‘हामीसँग पर्याप्त फिल्मका कन्टेन्ट पनि छैनन् । धेरै फिल्म राख्न लगानी धेरै चाहिन्छ । त्यो हामी विस्तार गर्दैछौं,’ उनी भन्छन् । २०७६ मा सञ्चालनमा आएको एप ‘भिडियो पसल’मा पनि पर्याप्त कन्टेन्ट पाइन्नन् ।
फिल्म निर्माता रामकृष्ण पोखरेल नेपाल ओटीटीहरूमा लगानी नै नभएको प्रस्ट्याउँछन् । ‘नेपालमा ओटीटी भीओडी सिस्टममा छ । कन्टेन्टमा लगानी गरिएको छैन । अरुले बनाएको कन्टेन्ट रेन्टलमा राखिएको छ,’ उनी विदेशी ओटीटीका उदाहरण दिँदै भन्छन्, ‘नेटफ्लिक्सहरूले त आफैं कन्टेन्ट उत्पादन गर्छन् । हाम्रोमा अरुले बनाएको हालेर मात्र करिअर राम्रो हुँदैन ।’ उनी नेपाली ओटीटीमा ‘पटके अडियन्स’ ल्याउनुभन्दा दीर्घकालीन सोचअनुसार कन्टेन्टमा लगानी गर्नुपर्ने बताउँछन् ।
निर्माता अर्जुन कुमार ओटीटीमा नेपाली निर्माता नै पीडित हुनुपरेको बताउँछन् । ‘नेपाली ओटीटी सञ्चालक लगानी नगर्ने, फिल्मको एड्भान्स नदिने किसिमका भए,' उनी भन्छन्, ‘बरु फिल्म हाल्दा पब्लिसिटीको खर्चसमेत माग्छन् ।’
हुन पनि नेपालमा लञ्च भएका कतिपय ओटीटी बन्द नै भए । अभिनेत्री ऋचा शर्माले २०७७ मा ‘चलचित्र टीभी एप’ सञ्चालनमा ल्याइन् । एप ल्याउँदै गर्दा उनले भनेकी थिइन्, ‘अब घरमा बसेर चलचित्र हेर्न नपाएका दर्शकको चाहना पूरा हुन्छ ।’ एपमा सुरुमा ‘छ माया छपक्कै’ र ‘छक्का पञ्जा ३’ राखिएको थियो । तर यो एपको आयु लामो रहेन । कतिपयले लगानीकै कारण बन्द भएको टिप्पणी गरे पनि ऋचा यो मान्न तयार छैनन् । भन्छिन्, ‘लगानीका कारण होइन, मैले साझेदारीमा गरेको थिएँ । पार्टनरहरू अमेरिकामा बस्नुहुन्थ्यो । हाम्रो भिजन नमिलेर बन्द भयो ।’
चलचित्र टीभी एपसँगै, फोपी एप, नेपाल फ्लिक्स, आइफ्लिक्स लगायतका ओटीटी अहिले सक्रिय छैनन् ।
दीर्घकालीन सोच
सक्रिय ओटीटीका सञ्चालकहरू दीर्घकालीन सोचले आफूहरू अगाडि बढिरहेको बताउँछन् । एमएसएमका बिजनेस डेभलपमेन्ट म्यानेजर छत्र थापा क्षणिक समयका लागि आफूहरू ओटीटीमा प्रवेश नगरेको बताउँछन् । भन्छन्, ‘हामी दीर्घकालीन समयका लागि सोचेर आएका हौं । २/३ वर्ष घाटा खाएर पनि लामो समयको योजना बनाउने सोच छ ।’ उनका अनुसार एमएसएमले ४० प्रतिशत नेपाल र ६० प्रतिशत बाहिर बस्ने नेपालीलाई लक्षित गरेर यो ओटीटी सुरु भएको हो । ‘कति फिल्म सबै जनाले हलमा हेर्न सम्भव छैन । फिल्म हल पुग्न नसक्ने दूरदराजका मान्छेले ओटीटीमा हेर्छन् । विदेशमा पनि कति ठाउँमा नेपाली सिनेमा पुग्दैन । हेर्न सम्भव हुन्न । त्यस्तो अवस्थामा ओटीटीले सहयोग गर्छ,’ उनी भन्छन् ।
पछिल्लो समय राखेका कन्टेन्टले दर्शकको राम्रो साथ पाएको उनी बताउँछन् । अहिले एमएसएममा ३ लाखभन्दा बढी प्रयोगकर्ता छन् ।
२०१६ देखि सुरु भएको सिनेमा घर पनि दीर्घकालीन योजनाका साथ आएको सीईओ सागर खरेलको दाबी छ । अहिले आफूहरूले राम्रो प्रचार पाएका र हलमा चलेका फिल्मलाई नै बढी प्राथमिकतामा राखेको उनले बताए । ‘जुन फिल्मले मार्केटिङ राम्रो पाएका छन्, ओटीटीमा ती फिल्म चल्ने रैछन् । जुन फिल्मले मार्केटिङ कम पाएको छ, हलमा चलेका छैनन्, ती नचल्ने रहेछन्,' उनी भन्छन्, 'हामीले चलेका फिल्म राख्न थालेपछि ओटीटीमा राम्रै दर्शक आए ।’ उनी अहिले आफूहरूले युट्युबको भन्दा गुणात्मक रेभिन्यू दिने दाबी गर्छन् । भन्छन्, ‘पर्फमेन्स राम्रो हुँदै छ । हाम्रा १० लाख प्रयोगकर्ता छन् । हामीले भविष्य देखेर लगानी गरेका हौं ।’ पहिलेभन्दा अहिले आफूहरूले रणनीति पनि बदलेको उनी बताउँछन् । भन्छन्, ‘पहिलापहिला एकैपटक ४/५ वटा कन्टेन्ट हाल्थ्यौं । अहिले महिनामा एउटा दुईसम्म हाल्छौं ।’
कान्तिपुर सिनेमाज्का प्रकाश पुरी अहिले नेपालमा ओटीटी परीक्षणकालबाट गुज्रिरहेको बताउँछन् । विस्तारै दर्शकहरूलाई विश्वास दिलाउँदै लगिएको उनको भनाइ छ । ‘हलका प्राथमिकतामा नपरेका, हलको समयसीमामा नअटाएका सिनेमा ओटीटीका लागि उपयुक्त हुन्छन् । हामीले ती सिनेमालाई प्रोमोट गरिरहेका छौं । विस्तारै सकारात्मक अवस्था आइरहेको छ,’ उनी भन्छन् ।
अभिनेत्री ऋचा शर्मा प्राविधिक कारणले आफूले सुरु गरेको ओटीटी बन्द भए पनि सम्भावना भने धेरै रहेको बताउँछिन् । ‘मैले विदेश जाँदा कति मान्छेले तपाईंको फिल्म ओटीटीमा हेरेको छु भन्नेको पनि सुनेकी छु । अहिले नेपालमा चलेका ओटीटी राम्रो बाटोमा छन् । डायस्पोरामा भएका नेपाली पनि नेपाली भाषा र नेपालीपनसँग नजिक हुन चाहन्छन् । त्यो माध्यम फिल्म हो । ओटीटी उहाँहरूका लागि त्यसकारण पनि प्रभावकारी हुन्छ, ’ उनी भन्छिन्, ‘विस्तारै लगानी बढाउने र आफैं कन्टेन्ट उत्पादन गर्ने हो भने हलमा नचलाई सिधै ओटीटीमा पनि फिल्मको सम्भावना छ ।’
ऋचा ओटीटी विस्तारै पे पर भ्यूबाट सब्स्क्रिप्सन मोडलमा जानुपर्ने पनि बताउँछिन् । भन्छिन्, ‘यहाँ एउटा फिल्म हेर्न दर्शकले २/३ सय तिर्नुपर्छ । विश्वका ठूलाठूला एपमा २ हजार तिर्यो भने थुप्रै फिल्म हेर्न पाइन्छ । विस्तारै हाम्रो नेपालका ओटीटीले पनि त्यो मोडल फलो गर्नुपर्छ ।’
ग्लोबल ओटीटीमा नेपाली फिल्म
विश्वका चर्चित ओटीटीहरू नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नीहरूमा नेपाली फिल्मको बलियो उपस्थिति कहिले होला ?
निर्माता अर्जुन कुमारले २०७८ मा निफको एक छलफलमा ग्लोबल प्लेटफर्ममा नेपाली फिल्म जानुलाई दिवास्वप्नका रुपमा चित्रित गरेका थिए । उनले २० वर्षसम्म नेटफ्लिक्स, अमेजनजस्ता ओटीटी प्लेटफर्ममा नेपाली फिल्म रिलिज हुन्छ भनेर कल्पना नगरेको बताएका थिए ।
तर अर्जुन कुमार नै अहिले नेपाली फिल्म ग्लोबल ओटीटी प्लेटफर्ममा जान सक्ने विश्वास व्यक्त गर्छन् । ‘अहिले त्यस्तो लाग्दैन । विस्तारै सम्भावना देखिँदै छ । तर कन्टेन्ट पनि त्यही स्तरको हुनुपर्यो,’ उनी भन्छन् ।
निर्देशक कृषा चौलागाईं भने फिल्मको क्वालिटीले नै त्यसको निर्धारण गर्ने बताउँछिन् । ‘जबसम्म हामी कुन फिल्म चल्यो भनेर ट्रेन्ड फलो गर्छौं । स्क्रिप्ट नलेखी फिल्म रिलिजको घोषणा गर्छौं, त्यस्ता फिल्म अन्तर्राष्ट्रिय प्लेटफर्ममा जान लायकका हुँदैनन्,' उनी भन्छिन् ।
निर्माता रामकृष्ण पोखरेल ग्लोबल प्लेटफर्ममा सम्भावना रहेको बताउँछन् । 'हामीले सुरुदेखि नै यसबारे योजना बनाउनुपर्थ्यो तर फिल्म बनाइसकेपछि मात्र पुग्न खोज्ने प्रवृत्ति छ । हाम्रो फिल्म अमेजन, नेटफिल्क्समा गयो भनेर भनिरहेका हुन्छौं तर त्यो रेन्टल सर्भिसमा हो । त्यो त जुनसुकै जान सक्छ, ’ उनी भन्छन्, ‘ग्लोबल प्लेटफर्ममा जानका लागि पहिल्यै समझदारी गर्नुपर्छ । सुटिङमा जानुअघि नै सम्झौता गरेर सबै प्रक्रियामा जोडियौं भने सम्भावना छ ।’
