लुम्बिनी प्रदेशका तीन रंगशालाको पूर्वाधारले क्रिकेट विकासमा गति मात्रै दिने छैन, यसले क्रिकेटको क्रेज पनि जनस्तरसम्म पुर्याउनेछ
What you should know
बुटवल — गत वर्षको चैतमा लुम्बिनी प्रदेश सरकारले नै एक दिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा नेपाललाई पुर्याउन सफल भएको भन्दै लुम्बिनी प्रदेशका ६ खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गर्यो । प्रदेश सरकारको यो कदम लुम्बिनीमा कसरी क्रिकेट खेलाडी जन्माउने प्रदेशको रुपमा चिनिएका छ भनेर बुझ्ने एउटा संकेत थियो ।
यही प्रदेशमा फागुनको २५ देखि चैत १६ सम्म चल्ने प्रतियोगिता प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्तिम तयारी भइरहेको छ । त्यो पनि प्रदेशकै तीन वटा रंगशालामा ।
नेपाल क्रिकेट संघ (क्यान)ले लुम्बिनी प्रदेशको रूपन्देहीका दुई र दाङको लमहीस्थित एक खेल मैदान छनोट गरेको हो । तीनमध्ये भैरहवाको सिद्धार्थ रंगशाला र लमहीको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सरकारी स्तरबाट निर्माण भएका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–मा व्यावसायिक प्रयोजनका लागि निजी लगानीमा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल मैदानमा हुनेछन् ।
प्रदेशमा हुन लागेको यो खेल किन पनि अर्थपूर्ण छ भने पहिलो पटक काठमाडौं बाहिर पूरै प्रतियोगीता एकै प्रदेशमा समपन्न हुँदैछ । क्यानका अनुसार प्रतियोगिताका ४६ खेलमध्ये भैरहवाको सिद्धार्थ रंगलाशामा १७, तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट खेल मैदानमा १५ र दाङको लमहीमा १४ खेल हुनेछन् ।
गत संस्करणको प्रधानमन्त्री कपका केही खेल रूपन्देहीको सिद्धार्थ रंगशालामा भएका थिए । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग खेल्नेछन् । नेपाली क्रिकेट खेलका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा अहिलेका प्रशिक्षक शक्ति गौचनले पहिलो पटक यो महत्त्वपूर्ण खेलका लागि लुम्बिनी प्रदेशलाई छानेर क्यानले राजधानी बाहिर खेलको पूर्वाधार छ भन्ने आभास दिलाएकोमा खुसी व्यक्त गरे । ‘यति महत्त्वपूर्ण खेल पहिलो पटक राजधानी बाहिर लुम्बिनी प्रदेशमा हुँदैछन्, खेलप्रेमीलाई यो भन्दा ठूलो खुसी के हुन्छ र,’ उनले भने, ‘क्यानले राजधानी बाहिर यो खालको अवसर दिएपछि क्रिकेट खेलाडीको स्वभाविक ऊर्जा बढ्नेछ ।’

लुम्बिनीमा क्रिकेटका लागि आश लाग्दा धेरै खेलाडी भएकाले पनि क्यानको निर्णयले लुम्बिनी बढी उत्साहित भएको गौचनको भनाइ छ । अहिले तिलोत्तमा नगरपालिकामा तयार भएको निजी क्षेत्रको खेल मैदान अर्न्त राष्ट्रिय खेल खेलाउन सक्ने पूर्ण क्षमताको भएको उनले बताए ।
तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा नेपालमै पहिलो पटक ५ वटा फ्लड लाइट जडान गरिएको छ । फ्लड लाइट जडानसँगै रातिमासमेत क्रिकेट खेलाउन मिल्ने यो नेपालको पहिलो क्रिकेट मैदान भएको सञ्चालकको दाबी छ ।
तिलोत्तमा एक्स्ट्राटेक ओभल स्टेडियमका निर्देशक विनोद कुँवरले ७ करोड लागतमा ५ वटा फ्लड लाइट जडान गरिएको बताए । ‘सोमबार लाइट जडानको काम सकेर अहिले परीक्षण गरिरहेका छौं,’ उनले भने, ‘प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेलाउनका लागि आवश्यक सबै तयारी गरिरहेका छौं ।’
२०८० साल जेठ २९ गते शिलान्यास भएको तिलोत्तमा एक्स्ट्राटेक ओभल २०८० फागुनमै खेल्न योग्य मैदान तयार भएको थियो । अहिलेसम्म गत फागुनदेखि अहिलेसम्म १ सय बढी खेल भएको उनले बताए । ५० करोड लागतमा निर्माण सुरु गरिएको मैदानमा अहिलेसम्म १५ करोड बढी खर्च भएको सञ्चालक कुँवरले बताए ।
अस्ट्रेलियामा प्रविधि सम्बन्धी व्यापार र शिक्षा दिइरहेका कुँवरले निजी लगानीमै खेल मैदान निर्माण गरिरहेका छन् । नेट प्राक्टिसका लागि पनि पिच अन्तिम चरणमा रहेको स्टेडियमका निर्देशक सूर्य कुँवरले बताए । चार तलाको २ वटा भवन भीआईपी बक्स प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स निर्माण अन्तिम चरणमा पुगेको उनले बताए । २५ हजार दर्शक क्षमताको प्यारापिटसहित करिब ५० करोड लागतको परियोजनाको ५० प्रतिशत बढी वित्तीय प्रगति पनि भएको उनले बताए ।
नेपाल क्रिकेट संघ लुम्बिनीका अध्यक्ष सञ्जय गुरुङले पहिलो पटक पीएम कप क्रिकेटका सबै खेल खेलाउन लुम्बिनी प्रदेशले अवसर पाएकोमा आफुहरु निकै खुसी भएको बताए । लुम्बिनी प्रदेश खेलाडी उत्पादनसँगै प्रतियोगिता खेलाउने खेल मैदानमा पनि सक्षम बन्दै गएको देखिएको उनले बताए । ‘सिनियर सबै खेलाडी फरक वातावरणमा पहिलो पटक राजधानी बाहिर खेल्न पाउने भएका छन्, अनुभवका हिसाबले यो निकै महत्त्वपूर्ण अवसर हो,’ उनले भने, ‘लुम्बिनीका तीन वटै मैदान राम्रा र मापदण्ड पुगेका छन् ।’
फाइनल प्रतियोगिताका ४६ वटै खेल लुम्बिनीका सिद्धार्थ, तिलोत्तमा र लमही खेल मैदानमा हुने उनले बताए । रूपन्देहीका दुवै खेल मैदान गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टबाट झण्डै ४ देखि १५ किलोमिटर दूरीमा रहेको र होटल पनि प्रयाप्त भएकाले खेल व्यवस्थापनमा कुनै समस्या नरहेको उनले बताए । ‘लमहीमा पनि सुविधायुक्त प्रयाप्त होटल छन् ।’ उनले भने । गत वर्षको प्रतियोगितामा पनि लुम्बिनी प्रदेशले ११ वटा खेल खेलाएकाले सबै कुराको अनुभव रहेको उनले बताए ।
कस्ता छन् लुम्बिनीका तीन खेल मैदान
सिद्धार्थ रंगशाला

भैरहवाको सिद्धार्थ रंगशालामा क्रिकेट मैदानका अलावा अभ्यास गर्ने ठाउँ र एकेडेमीसमेत छ । यो नेपालमै जिल्लास्तरमा ५० ओभरको १ दिवसीय खेल हुने पहिलो रंगशालाका हो । यहाँबाट करिब १ सय अन्तर्राष्ट्रिय र २ सयभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भएको पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचनले बताए । कुनैबेला मेला महोत्सव र राजनीतिक सभा गर्ने स्थलका रूपमा परिचित सिद्धार्थ रंगशाला अहिले देशभरका क्रिकेटप्रेमीको आकर्षण हो । यहाँ अहिलेसम्म २ सय बढी राष्ट्रिय र जिल्लास्तरका प्रतियोगिता भएको गौचनले बताए । सिद्धार्थ रंगशाला खेल मैदानमा पीएम कप क्रिकेटका १७ खेल हुनेछन् ।
तिलोत्तमा एक्स्ट्राटेक ओभल 
अस्ट्रेलियामा व्यवसाय गर्दै आएका गुल्मीका विनोद कुँवरको लगानीमा तिलोत्तमा नगरपालिका–१७ दरखसवामा निर्माणाधीन एक्स्ट्राटेक ओभल निजी क्षेत्रबाट बनेको देशकै पहिलो व्यावसायिक क्रिकेट मैदान हो । २०८० साल जेठमा निर्माण सुरु भएको मैदान २०८० फागुनमै खेल्न योग्य बनेको थियो । गत फागुन २८ गते उद्घाटनसँगै लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको थियो ।
तिलोत्तमा एक्स्ट्राटेक ओभल खेल मैदानमा गत फागुनदेखि अहिलेसम्म १ सय भन्दा बढी खेल भइसकेको सञ्चालक कुँवरले बताए । नेपालको १९ वर्षमुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले यो मैदानमा अभ्यास गरेको थियो ।
देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान

प्रतियोगिताका लागि दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पनि तयारी तीव्र पारिएको छ । मैदान सम्याउने, पिच निर्माण, दर्शकदीर्घा व्यवस्थापन, सुरक्षा संरचना मजबुत बनाउने तथा अन्य भौतिक पूर्वाधार मर्मत कार्य तीव्र गतिमा भइरहेको नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशका सचिव तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका संयोजक कैलाश रोकाले जानकारी दिए ।
नेपाल क्रिकेट संघ (क्यान) को टोली, लुम्बिनी प्रदेश क्रिकेट संघका पदाधिकारीहरू स्थलगत निरीक्षण गरेर पीएम कप क्रिकेट प्रतियोगिताका लागि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान टुंगो लगाएका हुन् । नेपाल क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मजगैंयाले प्रतियोगिताका लागि अति महत्त्वपूर्ण मानिएको पिचको काम पूरै सकिएको र खेल मापदण्ड अनुसार आवश्यक पर्ने अन्य काम तीव्र गतिमा भईरहेको छ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान लमही नगरविकास समितिले १० करोड लागतमा निर्माण गरिरहेको छ ।
‘पछिल्लो एक वर्षमा झण्डै तिन दर्जन प्रदेशस्तरका प्रतियोगिता र ५० बढी अभ्यास खेल यहाँ भइरहेका छन्,’ उनले भने, ‘राष्ट्रियस्तरको प्रतियोगिताका लागि पनि कुनै समस्या छैन् ।’ दाङका क्रिकेट खेलाडी प्रेम पुलामीले लमहीमै राष्ट्रिय प्रतियोगिता चल्ने खबरले यस क्षेत्र र प्रदेशकै क्रिकेट खेलाडी उत्साहित भएको बताए ।
