करिब १४ वर्ष अवधिमा १२ अर्बबाट बढेर २९ अर्ब पुग्यो
धनगढी — रानी जमरा कुलरिया सिँचाइ आयोजनाको करिब १४ वर्ष अवधिमा खरिद गुरुयोजना १२ अर्बबाट बढेर २९ अर्ब पुगेको छ ।सुदूरपश्चिममा सञ्चालित कैलालीको चिसापानीस्थित कर्णाली पुल नजिकबाट सुरु हुने यो राष्ट्रिय गौरवको आयोजना हो ।
आर्थिक वर्ष २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य लिएर ०६७/६८ मा सुरु गरिएको उक्त आयोजनाका लागि ०६८ फागुनमा सिँचाइ मन्त्रालयले १२ अर्ब ६३ करोड २१ लाखको खरिद गुरुयोजना स्वीकृत गरेको थियो । तर निर्धारित ०७४/७५ सम्म ४८ प्रतिशत पनि काम पूरा हुन सकेको थिएन ।
०७४ चैतमा ०८१/०८२ को कार्य सम्पन्न गर्ने लक्ष्यका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २७ अर्ब ७० करोड २४ लाख अद्यावधिक खरिद गुरुयोजना स्वीकृत गर्यो । जसअन्तर्गत नेपाल सरकारको १७ अर्ब ७४ करोड ७२ लाख रहेको छ भने विश्व बैंकको ९ अर्ब ९५ करोड ५१ लाख ऋण सहयोग रहेको थियो । तर हालै ०८५/०८६ सम्मको अवधि राखेर २९ अर्ब लागतको गुरुयोजना स्वीकृत गरिएको आयोजनाका सूचना अधिकारी नवीन पौडेलले बताएका छन् । ‘आयोजनाले निर्माण गरेको पूर्वाधारहरुको सुदृढीकरण, मुआब्जाको दर परिवर्तन, कर्णाली, मोहना, पथरैया नदी नियन्त्रणलगायतका कार्य थपिँदै गएकाले काम र बजेट पनि बढ्दै गएको हो,’ पौडेलले भने, ‘हालसम्म २० अर्ब खर्च भएको छ ।’
पौडेलका अनुसार यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्ने कार्यमा हालसम्म ७५ प्रतिशत काम मात्रै भएको छ । उनका अनुसार पूर्वाधार निर्माणतर्फ केही महत्वपूर्ण उपलब्धिहरु प्राप्त गरिएको छ ।
कैलाली जिल्लाका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्कीचुहा नगरपालिका (साबिकका आठ गाविस पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंहपुर, नारायणपुर, बलिया र मुनुवा) का दुई लाख जनसंख्यालाई सिँचाइ लगायतका सुविधा उपलब्ध गराउने आयोजनाको उद्देश्य हो । जस अन्तर्गत रानी जमरा कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर विस्तार (लम्की विस्तार) को ६ हजार हेक्टर र सिँचित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी जम्मा ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउनु रहेको छ । हाल २० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको आयोजना कार्यालयका प्रतिनिधिहरुको दाबी छ ।
अयोजना सुरु भएको आठ वर्षपछि ०७६ साउनमा रानी–जमरा–कुलरिया सिँचाइ कुलोको प्रारम्भिक परीक्षण गरिएको थियो । हाल सिँचाइ आयोजनाको नहरबाट ४.७१ मेगावाट बिजुली उत्पादन सुरु गरेर उत्पादित बिजुली ०८० माघदेखि लम्कीस्थित १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी पौडेलका अनुसार करिब ३४ किलोमिटर मूल नहर निर्माण गरिएको छ । जस अन्तर्गत इन्टेकदेखि नयाँ शाखाको मुखसम्म ८.८७५ किलोमिटर, त्यहाँदेखि रानी नहर प्रणालीको मुहानसम्म १०.६० किलोमिटर फिडर नहर, पश्चिमतर्फ लम्की विस्तारअन्तर्गत पथरैया नदीसम्म १४.६० किलोमिटर नहरको निर्माण कार्य सम्पन्न भइसकेको छ । ‘मूल नहरमा प्रति सेकेन्ड एक सय घनमिटर पानी प्रवाह भइरहेको छ,’ पौडेलले भने ।
यस आयोजनाको अर्को मुख्य उपलब्धि ४.७१ मेगावाट विद्युत् उत्पादन हो । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कैलालीको कटासेमा नहरबाट करिब साढे ७ मिटर तल खसालेर तीन वटा कपलान टर्बाइनबाट बिजुली उत्पादन गरिएको छ । त्यहाँ निर्मित विद्युत् गृहबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएको छ । आयोजनाले जानकी गाउँपालिका-९ स्थित कटासेमा निर्माण गरेको विद्युत् गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
रानी जमरा कुलरिया जल उपभोक्ता मूल समितिका अध्यक्ष कुमारराज शाही आयोजनाअन्तर्गत चरणबद्ध रुपमा काम भइरहेको बताउँछन् । उनले भने, ‘पहिलो चरणमा इन्टेक, नहर, बिजुली योजना निर्माण गरिएका छन् ।’ उनले डुडेझारी हुँदै पथरैया नदीमा पानी झारिएको बताए । साथै, कर्णाली, पथरिया र मोहनामा तटबन्धन निर्माण, सडक पूर्वाधार स्तरोन्नति, पुल तथा कल्भर्ट निर्माण लगायतका काम पनि यस अवधिमा सम्पन्न भएको उनको भनाइ छ ।
आयोजनाअन्तर्गत रानी, जमरा, कुलरिया सेक्टरको ठेक्का अलगअलग लगाइएको छ । शाहीका अनुसार जमराअन्तर्गत ठेक्का अनुसारका काम पूरा भएका छन् । ‘कुलरियाको ७० प्रतिशत काम भएको छ भने सबैभन्दा कम रानी अन्तर्गतका काम छन् । गौरी पार्वती निर्माण सेवाले हालम्म ३८ प्रतिशत मात्र काम गरेको छ,’ शाहीले भने, ‘जुनसुकै तहबाट जतिसुकै ताकेता गर्दा पनि त्यो कम्पनीले काम नै गरिरहेको छैन ।’ आयोजनाअन्तर्गत टीकापुरमा एक हजार मेट्रिक टन क्षमताको कोल्डस्टोरसमेत निर्माण भइरहको उनले बताए । जल उपभोक्ता मूल समिति समुदायको सहभागिताको अवधारणा अन्तर्गत आयोजनाको महत्वपूर्ण सहकार्य हुने अंग हो । जसका अध्यक्ष हुन् शाही । उनै शाहीले भने, ‘जानकी गाउँपालिकाका जगतपुर, सुवर्णपुर लगायतका र टीकापुरलगायत गाउँमा आधुनिक सिँचाइ कुलोमा प्रवाह भएको पानीबाट सिँचाइ सुविधा उपलब्ध भइरहेको छ ।’
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इतिहास एक शताब्दीभन्दा लामो छ । कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी जमरा र कुलरिया कुलामध्ये रानी कुलो सबभन्दा पुरानो कुलो हो । रानी कुलो १९५३ सालमा रानी पदमकुमारी शाहले निर्माण गर्न लगाएकी थिइन् । रानी पदमकुमारीकै नामबाट आजसम्म पनि यस कुलोलाई रानी कुलोको नामले चिनिँदै आएको स्थानीय बासिन्दा बताउँछन् ।
राणाकालमा टीकापुर क्षेत्र सुवर्ण शमशेरको क्षेत्र थियो । बिर्ता क्षेत्र भएकाले बस्ती विस्तारका लागि दाङबाट थारु जातिलाई ल्याएर कुलो बनाउन लगाएका थिए । त्यतिखेर थारूलाई कुलो खन्न पठाउने र कुलो खनेबापत सुँगुर काटेर खुवाउने चलन थियो । रानी कुलोबाट टीकापुर क्षेत्रका करिब ४८ गाउँमा सिँचाइ सुविधा उपलब्ध हुन्थ्यो ।
यस्तै अर्को कुलो हो जमरा । करिब १ सय २० वर्षअघि कर्णेल ढुण्डीराज शाहीले जमरा कुलोको निर्माण गराएको इतिहास छ । उक्त कुलोबाट त्यसबेला ३८ गाउँलाई सिँचाइ सुविधा उपलब्ध हुने गरेको थियो । यस्तै अर्को कुलो हो कुलरिया । करिब ९० वर्षअघि स्थानीय किसान मधु महतो र कन्हैया महतोले कुलरिया सिँचाइ कुलोको निर्माण गर्न लगाएका थिए । त्यसबेला उक्त कुलोले करिब ३३ गाउँलाई सिँचाइ सुविधा पुर्याउँदै आएको थियो । कर्णाली नदीको पानी गाउँलेहरुले परम्परागत कुलो निर्माण गरेर टीकापुर क्षेत्रमा खेतीपातीलाई हराभरा बनाउँथे ।
रानीजमरा र कुलरिया तीन वटा मूल कुलोमा ४८ वटा उपशाखा र एक हजार सहायक शाखा रहेको स्थानीय बासिन्दा बताउँछन् । वर्षको एकपटक कुलो खन्ने अभियान सञ्चालन हुन्थ्यो । बरघरले कुलो खन्ने योजना बनाएर सबै गाउँलाई खबर गरेपछि एकसाथ कुलो खन्ने, मर्मत गर्ने काम सुरु गर्थे । जसलाई स्थानीयहरुले देशावर भन्ने गर्थे । देशावरमा कुला मर्मतमा जुटेका हजारौं स्थानीय बासिन्दा एकसाथ खाने, बस्ने गर्थे । काम नसकिँदासम्म उनीहरु कुलो वरिपरि बास बसेर रात बिताउँथे ।
‘रानी जमरा कुलरिया सिँचाइ कुलोलाई समुदायले परम्परागत रुपमा व्यवस्थापन गरेको दक्षिण एसियाकै पहिलो र सबैभन्दा ठूलो सिँचाइ कुलो भनिन्थ्यो,’ टीकापुरका प्रेम भाटले भने । त्यही कुलोलाई सरकारले ०६८ सालदेखि सिँचाइ प्रणालीसहित बहुद्देश्यीय आधुनिक संरचना निर्माण गर्नका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना सुरु गरेको थियो ।
एकातिर सरकारले अर्बौं रकम खर्चेर सिँचाइ आयोजना निर्माण गरिरहेको छ भने अर्कोतिर स्थानीय स्तरमा खेतीयोग्य जमिन खण्डीकरण भएर घरघरेडीमा परिणत भइरहेको छ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिँचित क्षेत्र सहरीकरण र औद्योगिक विकासले खण्डीकरण हुँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।
आयोजनाको ३८ हजार ३ सय कमान्ड क्षेत्रभित्र बसेका स्थानीय बजार सहरीकरणतर्फ उन्मुख भइरहेका छन् । राजमार्गमा पर्ने लम्की–चुहा र बहुनियामा खाद्य तथा अन्य करखानाको स्थापनाले औद्योगिक क्षेत्रका रुपमा पनि विकास भइरहेको छ । साथै, टीकापुर पर्यटकीय सहरका रुपमा विकास भइसकेको छ ।
पछिल्लो समयमा उद्योग र सहरीकणले गर्दा जनसंख्या र बसाइँसराइको अत्यधिक चाप बढेको छ । खेतीयोग्य उर्वरभूमि प्लटिङ भएर मासिँदै गएको छ ।
लम्कीको डुँडेझाडीमा औद्योगिक क्षेत्र स्थापनाको चर्चाले भविष्यका लागि केही व्यवसायीले जग्गा किनेर राखेको स्थानीय बासिन्दा बताउँछन् । ‘अबको केही वर्षमा राजमार्गको ५ किलोमिटर आसपास देखिने उर्वर खेतीयोग्य जमिन सहरीकरणमा परिणत भएको देखिनेछ,’ लम्कीका बीरबहादुर रावलले भने, ‘स्थानीय बजारलाई कति विस्तार गर्ने र खेतीयोग्य जमिन कति राख्ने, सरकार र स्थानीय तहले गुरु योजना बनाएर अघि बढ्नु जरुरी छ ।’ जग्गाको प्लटिङ रोक्न सकिएन भने रानी जमरा कुलरिया सिँचाइ आयोजनामा खर्चिएको अर्बौं रकम खेर गए सरह हुने उनको भनाइ छ ।
