भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाका ३ हजार ८ सय ६६ मध्ये ७९.५१ प्रतिशत घरपरिवारलाई आफूले उब्जनी गरेको अन्नबालीले ६ महिनामात्रै खान पुग्छ
हतुवागढी, भोजपुर — हालैको एक बिहान स्थानीय अनिता राई चामलको बोरा पिठ्युँमा बोकेर कात्तिके बिसौनी चोकदेखि घरतिर ओरालो झरिन् । दशकअघिसम्म उनको परिवारले यसैगरी धानका बोरा आफ्नै खेतबाट ओसार्थे । हतुवागढी गाउँपालिकाको मुख्य प्रशासनिक र व्यापारिक केन्द्र घोडेटार बजारदेखि भोजपुर सदरमुकाम जाने सडक खण्डमा पर्ने यस चोकमा वरिपरिका स्थानीयले अर्डर गरेको दैनिक उपभोग्य सामान व्यापारीले ट्रयाक्टरमा ढुवानी गरिदिन्छन् । स्थानीयले पिठ्युँमा बोकेर घर–घर लैजान्छन् । यो चोकमा सबैभन्दा बढी चामल ढुवानी हुन्छ । अनिताले चामलका तीन बोरा दुई खेपमा ओसारिन् । पहिलो खेप आफैं पुर्याइन् । दोस्रो खेप छिमेकी बुहारीले सघाइन् ।
‘पहिले आफ्नै खेतबारीको उत्पादनले जीविका चल्थ्यो,’ उनले सम्झिइन्, ‘खेतबारीमा धान, मकै, कोदो, फापर, दाल, सिजन अनुसारका सागसब्जी फलाउँथेँ, गाईभैंसी पालेर दुधदही हुन्थ्यो र भान्सा चल्थ्यो । नुन, तेल, चिनी, मासुमांस र चाडपर्वका बेला केही मात्रामा चामल किनेर गर्जो टर्थ्यो ।’
पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी हतुवागढी–२ मा पर्ने कात्तिके र आहाले लगायत गाउँको जनजीवन अनिताको परिवारजस्तै परम्परागत खेतीपातीमा आधारित थियो । परिवारका सबैजसो सदस्य घरैमा हुन्थे । छरछिमेकामा अर्मपर्म चल्थ्यो, आत्मीयता र सौहार्द्रता हुन्थ्यो । नजिकै जसरी डाँडापारि सेताम्मे टल्कने कञ्चनजंघा हिमालको दृश्य तथा सिजनअनुसारका हावापानीमा रमाउन पाउनुले नै स्थानीयलाई अद्भुत सन्तुष्टि मिल्थ्यो ।
ठिकठाक चलिरहेको यहाँको जनजीवन अचानक बिथोलिन थालेको छ । पानी पर्ने प्रवृत्तिमा परिवर्तन र खडेरीको लहर चल्न थालेपछि अन्नबाली उत्पादन घट्न थाल्यो । समुन्द्री सतहदेखि करिब १३५०/१४५० मिटर उचाइमा पर्ने यो गाउँमा वैशाख १५ भित्रमा मकै छरिसक्ने र असारभित्रमा धान रोपिसक्ने परम्परागत कृषि चक्रलाई बदलिँदो हावापानी र मौसमले झुक्याउन थाल्यो । सुरुमा आकाशे पानीका भरमा रोप्नुपर्ने धानखेतीमा असर पर्यो ।
धान रोप्नुपर्ने बेला पर्याप्त पानी पर्न छाड्यो । जसोतसो रोपेको बीउबाट धानभन्दा बढी भुस फल्न थाल्यो । मिहिनेत परेअनुसार उब्जनी हुन छाडेपछि स्थानीयले २०७० देखि बिस्तारै धान खेती छोड्न थाले । एकघर–दुईघर हुँदै खेत रोप्न छाड्ने बढे । सँधियारहरूले छोडेपछि बल्लतल्ल कुलोको पानी जोहो गरेर रोप्नेलाई पनि बाँदरले सताउन थाले । अनि गाउँभरिको खेत बाँझै छाडे । पहिले धान फल्ने खेत अहिले झाडी र जंगलले ढाकिएका छन् ।
धानको तुलनामा कम पानी चाहिने हतुवागढीकै मुख्यबाली मकैलाई पनि खडेरीले छोप्न थालेको छ । स्थानीय ६१ वर्षीय रामप्रसाद राईका अनुसार मकै छरेपछि खडेरी पर्ने, किराले मकैका पातदेखि जरैसम्म खाइदिने, दाना राम्ररी नपर्ने हुन थाल्यो । ‘चार–पाँच वर्षयता त बहुतै असर पर्न थालेको छ,’ उनले भने, ‘हामीले बर्सेनि ४० हजारजतिको चामल किन्नुपर्छ ।’ हरेक फलफूल र सागसब्जीमा समेत रोगकिराको समस्या बढेकाले हरेक उत्पादनमा विषादी प्रयोग गर्नुपर्ने बाध्यता बढेको स्थानीय गीता राईले बताइन् ।
यो समस्या यही गाउँमा मात्रै सीमित छैन । कृषिमा आधारित जनजीवनमा खडेरी जलवायु परिवर्तनको मुख्य प्रभावका रूपमा देखापरेको गत वर्ष राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण–२०२२’ ले देखाएको छ । प्रत्यक्ष अन्तर्वार्तामार्फत सर्भेमा सहभागी देशभरिका ६,५०८ घरपरिवारमध्ये ६५.४ प्रतिशतले खडेरी खेपिरहेको बताएका थिए । ५४.३ प्रतिशत सर्वेक्षणमा सहभागीले बालीनालीमा नयाँ रोगकिराको प्रकोप भोग्नुपरिरहेको र ८७ प्रतिशतले हरेक सिजनमा पानी पर्ने प्रवृत्तिमा परिवर्तन महसुस गरिरहेको बताए । एकै थलोमा २५ वर्षदेखि बस्दै आएका ४५ वा सोभन्दा बढी उमेरका बासिन्दालाई सर्वेमा सहभागी गराइएको थियो ।
उक्त सर्वेले प्रस्ट पार्छ कि खडेरी र रोगकिराले देशैभरि खेती र उब्जनीमा गिरावट आएको छ । यद्यपि, स्थानीयले सदियौंदेखि गर्दै आएको खेतीपातीलाई निरन्तरता दिइरहेका छन् । तर खाद्यान्न नकिने वर्षभरि खान पुग्दैन ।
रोगकिराले प्रभावित मकैका बोट
अनिताको परिवारले धानखेत बाँझिए पनि बारीमा बर्सेनि मकै लगाउँछन् । तर चार जनाको परिवारले दैनिक छाक टार्न अन्न किन्नैपर्छ । उनले भनिन्, ‘वर्षमा एक–डेढ लाखको त किन्छौं, चामल मकै गरेर ।’ अन्न किन्ने, घर–व्यवहार चलाउने र छोराछोरीको पढाइ खर्च जुटाउने पैसा कमाउन उनका पति भारतमा मजदुरी गर्छन् । खेती गर्ने सिजन र चाडबाड मान्ने बाहेकका समय भारततिरै हुन्छन् ।
यता श्रीमतीले चामल किनेर ल्याउने, छोराछोरीलाई खुवाउने, स्कुल पठाउने, घरधन्दा, मेलापात र खेतालापात एक्लैले धान्नुपर्छ । यो उनका लागि ६/७ वर्षयता बिहान उठेदेखि नसुतेसम्मको दैनिकी भएको छ ।
यसले जलवायुजन्य प्रकोपले गर्दा खाद्य असुरक्षासँगै दोहोरोतेहरो मात्रामा बढेको महिलाको कार्यबोझलाई चित्रण गर्छ । बिहान–बेलुकीको छाक टार्न र परिवारको खर्च जोहो गर्न हरेकजसो घरबाट परिवारका सदस्य वैदेशिक रोजगारीमा जानुपरेकाले गाउँमा पुरुष र युवापुस्ता विरलै भेटिन्छ । ‘अचेल गाउँमा विदेशै जाऔं, उतै कमाऔं भन्ने लहर पनि छ,’ हतुवागढी–२ का वडाध्यक्ष बिचारी थापा भन्छन्, ‘तर जति नै दुःख गरेर खेती गरे पनि वर्षभरि खान पुग्नेजति उब्जाउ नहुने भएकाले महिला वा पुरुष जो भए पनि परिवारको एक जना विदेश पलायन हुनुपर्ने बाध्यता बनेको छ ।’
’६० को दशकयता गाउँमा सडक र विद्युतीकरण विस्तार भएको छ । झट्ट सुन्दा गाउँमा विकास भित्रिइरहेको लाग्छ । तर खडेरी र खानेपानीको स्रोतको अभावले गाउँमा जीवनयापन कष्टकर हुन थालेपछि थातथलो छोड्ने क्रम पनि बढेको वडाध्यक्ष थापाले बताए । एक बाली लाग्ने खेतबारीहरू जंगलमा परिणत भइसकेका छन् । ‘गाउँ त यसरी रित्तिन थाले कि पहिले एउटै टोलका मान्छे चिनिँदैन थिए, अब छ/सातवटा टोलका मान्छे घरैमा बसेर गन्ती गर्न सकिन्छ,’ हतुवागढीका अर्का स्थानीय दीपेन्द्र थापाले भने ।
‘थोरबहुत खेतीमा अर्मपर्म गर्न मात्रै होइन, सिकिस्तै बिरामी र मरिमराउ हुँदा मलामी जाने मान्छे पनि पाइन छाडिएको छ,’ स्थानीय रामकुमार राईले भने ।
हतुवागढी गाउँपालिकाको ‘विद्युतीय पार्श्वचित्र २०७८’ अनुसार साबिकका रानीबास, सिन्द्राङ, खैराङ, होमताङ, पात्लेपानी र हसनपुर गाविस बनाइएको यस पालिकाको ३ हजार ८ सय ६६ घरपरिवारमध्ये ७२.२२ प्रतिशत परिवारको दैनिक जीविका खेतीपातीमा निर्भर छ । तर, वर्षभरि खान पुग्दैन । ७९.५१ प्रतिशत घरपरिवारले आफूले उब्जनी गरेको अन्नपात ६ महिनाभित्रैमा उपभोग गरिसकेका हुन्छन् । उनीहरूसँग हरेक वर्ष सातौं महिनाको पहिलो दिनदेखि खाने अन्न भण्डारण हुँदैन । गाउँमा पहिले चामल किनेर खान सक्ने परिवार उच्च वर्गीय गनिन्थे । अब दिनभर मजदुरी गरेर कमाउनेले पनि चामल नकिनी हुँदैन ।
राष्ट्रिय प्रकृति संरक्षण कोषमा जलवायु परिवर्तन महाशाखा प्रमुख मनीषराज पाण्डे पूर्वी पहाडमा लामो खडेरी हुने, पानी नपर्ने, परेपछि बाढीपहिरो जाने गरी पर्ने, बमौसमी वर्षा, तापक्रमको वृद्धिलगायत जलवायु परिवर्तनजन्य अप्रत्यासित मौसमी घटना बढ्दै गएको बताउँछन् । ‘यसले गर्दा मुख्यगरी माटोको उर्वरा शक्तिमा ह्रास आएर र रोगकिराको प्रकोप बढेर खाद्यान्न उत्पादन घट्दा कृषक परिवारको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ,’ उनले भने ।
‘मनसुन सुरु हुँदाहुँदै छोटो समयमा भारी वर्षा भएर पहाडमा पहिरो र तराईमा बाढी जाने क्रम भयानक देखिन थालेको छ,’ अर्का जलवायु परिवर्तनविज्ञ मधुकर उपाध्याले भने, ‘औसत मात्राको हिउँदे झरी नपरेरै लगातार देशैभरि खडेरी परेको यो तेस्रो वर्ष हो ।’
पश्चिम नेपालबाट प्रवेश गर्ने हिउँदे झरी समेत सुदूरपश्चिम हुँदै कर्णालीका पहाडी भेगमा नै निख्रिने गरेकाले पूर्वी पहाड भोजपुरसम्म आइपुग्न छाडेको छ ।
तराईसँग सडक सञ्जाल जोडिएपछि हतुवागढीमा बाँझिएका खेतबारीमा हुर्केका रुख काटेर काठ बेचबिखन भइरहेको छ । बिचौलियाले जग्गाधनीसँग लाखौं तिरेर प्लटै किन्छन् । मालबाहक ट्रक चल्ने बाटोसम्म काठ ढुवानी गर्न जंगलैजंगल डोजर लगाएर ट्रयाक्टर कुद्न सक्ने सडक खन्छन् । तत्कालका लागि काठ किनबेचले रोजगारी र आयस्रोत सिर्जना भए पनि जतासुकै सडक विस्तारले चुनौती झन् थपिने देखिन्छ । ‘स्थानीय सरकार आएपछि सडक नपुर्याइएका गाउँ सायदै भेटिन्छन्, खडेरी लम्बिँदै गएका बेला जथाभावी सडक विस्तारले खानेपानीको स्रोत सुक्नमा बल पुगेको छ,’ उनले भने, ‘निजी जग्गा नै भए पनि रुख कटान र सडक विस्तारसँगसँगै हुनुले भविष्यमा पहिरोको डर थपिने हुन्छ ।’
गएको मनसुन प्रवेशकै बेला असार पहिलो साता पूर्वी पहाडमा भारी वर्षा हुँदा भोजपुरको छिमेकी जिल्ला संखुवासभा बाढीपहिरोको चपेटामा परेको थियो ।
