विकासको पर्खाइ : रित्तिन लाग्यो बर्मे गाउँ 

माघ २७, २०८१

लक्ष्मी गौतम

Awaiting development: Burmese village in Rittin Lagad

पाँचथर — सिङ्गो बस्तीमा १२ घर मात्रै छन् भन्दा अचम्म लाग्न सक्छ । पाँचथरको याङवरक गाउँपालिका- २ मा पर्ने विकट गाउँ बर्मेलाई १२ घरका ६३ नागरिकले रुँगिरहेका छन् । बर्मे गाउँ सदरमुकाम फिदिमदेखि १ सय ९ किलोमिटर टाढा अर्थात् यातायात सुविधा भएको स्थानदेखि ५ घण्टा लामो पैदल यात्रा गरे मात्रै पुगिन्छ । यो गाउँ भौगोलिक रूपमा मात्र होइन, स्वास्थ्य, शिक्षा र पूर्वाधारका दृष्टिले पनि टाढा छ ।

छिमेकी जिल्ला सिदिङ्वा गाउँपालिका-१ कालिखोला सामन्ने रहेको बर्मे गाउँ पुग्न सदरमुकाम फिदिमदेखि याङवरक गाउँपालिका केन्द्र थर्पुबाट ओयाम, फलैंचा, च्याङथापु,  तिमतिम्बु हुँदै बेतेनीसम्म करिब १ सय किलोमिटर सवारी साधन प्रयोग गरेर ओर्लिएपछि पुनः ५ घण्टा पैदल यात्रा गर्नुपर्छ ।

ताप्लेजुङतर्फबाट भने पारिपटि्ट कालिखोला श्यामटारसम्म मोटरबाटोको ट्रयाक खुलेको छ ।  त्यो बाटो भएर जाँदा मध्यपहाडी लोकमार्ग हुँदै पाँचथरको फलैंचा पुगेपछि देब्रे मोडिएर इङ्वा खोलो तरेपछि ताप्लेजुङको सिदिङवा गाउँपालिका-२ सादेवा कालिखोला पुगेर पैदल यात्रा गरी झण्डै एक घण्टामा बर्मे पुगिन्छ ।

यही हिँउददेखि जेनतेन श्यामटारसम्म खाद्यान्न र उपभोग्य बस्तु ट्याक्टरले श्यामटार पुर्‍याउन थालेका छन् । तर वर्षायाममा गाडी चल्न सक्ने अवस्था छैन । त्यसकारण बर्मे गाउँसम्म सामग्री मात्रै नभएर त्यस क्षेत्रमा बिरामी परेका सर्वसाधारणलाई उपचार गर्न ढाकरमै बोकेर लैजानु पर्छ ।

यो ठाउँसम्म सामग्री बोकाएर पुर्‍याउँदा लाग्ने ढुवानी भाडाका कारण सामग्रीको मूल्य पनि धेरै पर्छ ।

यो स्थानसम्म ल्याइपुर्‍याउँदा चामलको प्रतिकिलो १ सय, नुनको ४० र तेलको प्रतिलिटर ४ सय रुपैयाँ पर्छ । सडक मात्रै होइन, यो ठाउँका नागरिकलाई बिरामी हुँदा उपचार गर्ने स्वास्थ्य चौकी र बालबालिकाले ५ कक्षा उत्तीर्ण गरिसकेपछि कक्षा ६ पढ्ने स्कुल बस्तीनजिक छैनन् । यहाँबाट ५ घण्टा पैदल दूरीमा पर्ने गङ्गवाको नारायणी मावि र बेतेनीको उपस्वास्थ्य चौकीसम्म पैदलै जानुपर्ने बाध्यता छ ।

बर्मे गाउँमा रहेको तिम्मु पोखरी आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । हाल ७ छात्रछात्रालाई २ जना शिक्षकले पढाइरहेका छन् । तिम्बु पोखरी आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष दीपबहादुर राई कक्षा ५ पढिसकेपछि ६ कक्षामा भर्ना हुने विद्यार्थीले ५ घण्टा टाढा रहेको नारायणी मावि पुगेर पढ्नुपर्ने बाध्यताले छोराछोरी पढाउन अभिभावक नै बसाइँ सर्नुपर्ने बाध्यता रहेको सुनाउँछन् । ‘नारायणी माविसम्म ओहोरदोहोर गर्न कम्तीमा १० घण्टा लाग्छ, घरबाट हिँडेर स्कुल पुगेर साँझ घर फर्किने सम्भावना छैन, त्यही भएर ५ कक्षा पास गरेका छोराछोरी पढाउन कि अभिभावक नै बसाइँ सर्नु पर्‍यो कि त पढाइ छोड्नु पर्‍यो,’ उनले भने । उनका अनुसार यसअघि पाँच कक्षा पास गरेका धेरै विद्यार्थीले पढाइ छोडेका छन् । 

यो गाउँका अधिकांश नागरिक पशु पालन गर्छन् । यो बस्तीका मानिसका फलेके, गैरी डुँड,पहाडे मेगु र तिम्बुङ पोखरी क्षेत्रमा चौंरी गोठ छन् । स्कुल छोडेका केटाकेटीमध्ये केही अभिभावकलाई सघाउन चौंरी गोठ जान्छन् त केही घरैमा काम सघाउँछन् ।

उपचार नपाए जान्छ ज्यान, गर्भवती भएदेखि डेराको सुरसार

स्वास्थ्य संस्थाको पहुँच नभएका कारण यो गाउँका महिला गर्भवती भएदेखि जोखिम बढ्न थाल्छ । नियमित गर्भ परीक्षण गराउन समेत ५ घण्टा पैदल यात्रा गर्नु परेकाले प्रायः गर्भवती स्वास्थ्य संस्था जाँदैनन् । धेरैजसो घरैमा सुत्केरी हुन्छन् । स्वास्थ्य संस्था जानैपर्छ भन्ने लागे एक–डेढ महिनाअगाडि नै च्याङथापु, थर्पु वा सदरमुकाम फिदिममा डेरा सर्छन् ।

स्थानीय ५२ वर्षीया चन्द्रमाया राईले ६ जना सन्तान घरैमा जन्माएको बताइन् । ‘पहिले–पहिले अस्पताल जाने चलन थिएन, घरैमा जन्मिन्थे, जन्मिइसकेपछि भने बिरामी भएर दुई जना छोराछोरी मरे, उपचार गर्न पाएको भए मर्ने थिएनन् जस्तो लाग्छ,’ उनले भनिन् ।

बर्मे गाउँकै सुस्मिता राईले पनि सुत्केरी व्यथा लागेको दुईदिनसम्म उपचार नपाउँदा गर्भमै सन्तान गुमाउनु परेको सुनाइन् । ‘कुरो सात वर्षअघिको हो, घरैमा व्यथा लाग्यो, बेतेनीको स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मी बोलाउँदा आइपुग्न ढिला भयो, अन्ततः बच्चा गर्भमै खेर गएछ, हात हालेर निकाल्नु पर्‍यो,’ उनले भनिन् । 

बर्मेकै स्थानीय प्रेम राईले पनि आफ्ना तीन जना छोराछोरी समयमा उपचार नपाएर बितेको बताए ।

गाउँ छोड्नेको लहर

बर्मे गाउँका १२ घरमा मान्छे बसेका छन् । मान्छेले छोडिसकेका १५ घरमा ताला लागेको छ । तीमध्ये धेरै जसोको छाना मक्काएका छन् भने केहीमा गाईबस्तु बाँधिएको छ । ‘हामीअगाडिका पुस्ता गाडी नदेखी मरे, बिरामी हुँदा अस्पताल नगएका, एक गोली नखाएका र सुई नलगाएका हामी जीवितै छौं,' अर्का स्थानीय प्रेम राईले भने, 'बाटोघाटो र स्वास्थ्य चौकी खुल्ला, केटाकेटीलाई कम्तीमा ८ कक्षासम्म पढाउन गाउँमै सम्भव होला भन्ने आश गरिरहेका छौं ।’

बर्मेकै बेनुप्रसाद भट्टराई र पर्समान प्याकुरेलको परिवार यही वर्ष फलैंचा बजारमा स्थानान्तरण भएको छ । ‘जिजुबाजेका पुस्ता विकास कुर्दा कुर्दै बिते, तत्काल मोटरबाटो आउला, स्वास्थ्य संस्था खुल्ला अनि केटाकेटीले माथिल्लो कक्षासम्म पढ्न पाउने गरी दरबन्दी थपिएला भन्ने सम्भावना नदेखेर बसाइँ सर्दैछौं,’ यसै वर्ष गाउँ छोडेका फर्समानका छोरा कृष्ण प्याकुरेलले भने । उनी अहिले फलैंचा बजारमा बसोबार गर्छन् ।Awaiting development: Burmese village in Rittin Lagad

तिम्बुपोखरी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपबहादुर राईका अनुसार १० वर्षअघि (२०७१ सालसम्म) बर्मे गाउँमा २७ घरमा मानिसको बसोबास थियो । यस वर्ष (२०८१ सालमा) फर्समान प्याकुरेल र बेनुप्रसाद भट्टराई गरी २ घर, २०८० मा पदमबहादुर भट्टराई, श्रीप्रसाद भट्टराई र कुलप्रसाद भट्टराई, २०७९ मा चूडामणि प्याकुरेल, हर्कप्रसाद भट्टराई, मानबहादुर भट्टराई, हिमप्रसाद गौतम र बिर्ख राई गरी तीन वर्षमा ११ परिवारले यहाँबाट बसाइँ सारिसकेका छन् ।

यहाँबाट बसाइँ सरेका मध्ये धेरै च्याङ्थापु र फलैंचा हुँदै गाउँपालिका केन्द्र थर्पु, फिदिम र झापासम्म झरेका छन् ।

याङवरक-२ मा कुल ६ सय ८० घर छन् । जहाँको जनसंख्या ३ हजार १ सय ६१ छ ।२०७९ को निर्वाचनमा  वडाभरि २ हजार ४ सय मतदाता थिए । त्यसबेला बर्मे गाउँमा ५२ जना मतदाता थिए । सानो बस्ती भए पनि बर्मे गाउँका मतदाता  यस वडाकै निर्णायक मतदाता रहेको बस्ती हो । उनीहरू मतदान गर्न पनि ५ घण्टा हिँडेर बेतेनी पुग्नुपर्छ ।

आफूले जिताएका वडाध्यक्ष र वडा सदस्यले आफ्ना दु:खसुख बुझे पनि संसदीय निर्वाचनका उम्मेद्‍वार र निर्वाचित सांसद कहिल्यै र कोही नआएको गाउँलेको गुनासो छ । ‘बसाइँ सरेकाहरू त गैगए, हामी बसेकालाई कम्तीमा एउटा सामुदायिक स्वास्थ्य इकाइ, मोटरबाटो र कक्षा ८ सम्म केटाकेटी पढाउने व्यववस्था भइदिए सहज हुन्थ्यो,’ अर्का स्थानीय दीपक राई भन्छन् ।

सोही वडाका अध्यक्ष देउकुमार योङहाङ बर्मे गाउँसम्म मोटरबाटो पुर्‍याउन पटक-पटक पहल गरे पनि अप्ठेरो भूगोल र बजेटको सीमितता बाधक भएको बताउँछन् । 'पाँच घण्टाको पैदल दूरीमा रहेको बेतेनीसम्म मोटरबाटो आइपुगेको छ, सेपीदेखि चिङ्मासम्म ट्रयाक खुलेको छ, एक किलोमिटर ट्रयाक खोल्न सरदर एक करोड खर्च भयो,'  उनले भने, 'बर्मे जोड्ने सम्भावना खोज्न पाँच लाख खर्च गरेर सर्भे गरार्यौ, पूर्वाधार विकास कार्यालयका प्राविधिकले चिङ्मादेखि बर्मेसम्मको २० किलोमिटर दूरी पार गर्न २० करोड रुपैयाँ बजेट चाहिन्छ भनेपछि केही बोल्न सकेका छैनौं, स्रोत पहिचान गर्न भने छोडेका छैनौं ।’

बर्मे गाउँमा सामुदायिक स्वास्थ्य इकाइ खोल्न र यसपछिका निर्वाचनमा भोट हाल्न बेतेनी पुग्न नपर्ने गरी मतदान केन्द्र स्थापना गर्न सम्बन्धित निकायसँग संवाद भइरहेको पनि योङहाङले बताए । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully