उजाड चौतारा : चराको घर न सहरको शोभा

बिना अनुमति मासिँदै पोखराका चौतारा

माघ २२, २०८१

दीपक परियार

Deserted Chautara: A bird's nest, not a city's beauty

पोखरा — घरैनिरको बर-पीपल चौतारीमा साँझपख बास बस्न आउने चराका बथान देख्न अचेल हेमन्त ढकाललाई मुस्किल छ । पोखरा–१४ शुभमार्ग टोलका चौतारा नपलाउने गरी मुठारिएदेखि उनी चिन्तित छन् । ‘चराले गुँड बनाउने र प्रजनन प्रक्रिया सुरु गर्ने बेलामै छानीछानी बर, पीपल र समीका रूख काटिएका छन्,’ संरक्षणकर्मी ढकाल भन्छन्, ‘यसले पर्यावरणमा असर पुर्‍याउँछ ।’

शुभमार्ग टोलमा माघ ५ मा झण्डै सय वर्ष पुरानो बर-पीपलको चौतारो काटिएको छ । पाँचवटा चौताराका ७ वटा रुख यो टोलमा मुठारिएको हो । वडाकै भोटेचौतारामा रहेको एउटा पुरानो पीपलको रुख र अर्को नयाँ पीपलको रुख काटिएको छ । राधाकृष्ण टोलको देउरालीमा पनि एक सय वर्ष पुरानो पीपलको रुख ठुटै बनाएर काटिएको छ । यसरी लेकसाइड क्षेत्र र पोखराको १३ नम्बर वडामा पनि चौतारा मुठारिएका छन् ।

मानव सेवा फाउन्डेसन, नेपालले आगामी वैशाख १७ देखि जेठ २६ सम्म पोखरामा गर्ने कोटिहोम विराट महायज्ञ गर्दैछ । त्यसमा हवन गर्नका लागि आवश्यक दाउराका लागि भन्दै बर, पिपल, समी, चाँप, आँपलगायतका रुख काटिएको छ । यस्ता रुख काट्न फाउन्डेसनलाई स्थानीय टोल विकास संस्थाले अनुमति दिएका छन् । तर यसरी रुख काट्न टोल विकास संस्थाको मौखिक अनुमतिबाहेक फाउन्डेसनले कतैबाट पनि अनुमति लिएको छैन ।

सुकेका हाँगाबिगाले दुर्घटना निम्त्याउन सक्ने भए पनि महानगरबाट अनुमति लिएर मात्रै काट्नु पर्नेमा जथाभावी चौतारा काटिएको उनले बताए । चौताराका बर-पीपल काट्न थालिएपछि उनले शुभमार्ग टोल विकास संस्थाका सदस्यलाई चौतारा काट्न नहुने र हागाँबिगा काटे पनि वैज्ञानिक र कानुनी प्रक्रिया पूरा गरेर मात्रै काट्नुपर्ने सुझाव दिएका थिए । ‘सुकेका, जोखिमयुक्त हाँगाहरूलाई छोट्याउने काम मात्र गर्नुपर्नेमा ठुटै हुने गरी र पुनः पलाउने सम्भावना कम हुने गरी काटियो,’ उनले भने, ‘बारम्बार सुझाव दिँदा पनि बेवास्ता गरी रुख काट्ने अभियानलाई तीव्रता दिइयो ।’

रुख काट्न थालिएपछि उनले टोल विकास संस्थाका अध्यक्ष तारा तिवारी, पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीलाई रुख काट्न रोक्न आग्रह गरेका थिए । माघ ६ मा उनी वडा कार्यालयमै पुगेर वडाध्यक्षलाई रुख काट्न रोक्न आग्रह गरे पनि चौतारा काट्ने काम रोकिएन । उनले पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई पनि रुख काटिएको बारे जानकारी गराए । यद्यपि, चौतारा मास्ने काम रोकिएन । त्यसबेलासम्म ४ वटा रुख कटान भइसकेको थियो ।

आफ्नै घरअगाडिको रुख काट्न थालेपछि माघ ११ मा उनी महानगरपालिकाको कार्यालय पुगेर उपप्रमुख मञ्जुदेवी गुरुङलाई जानकारी गराए । उपप्रमुख गुरुङले वडाध्यक्ष कार्कीलाई रुख काट्न रोक्न निर्देशन दिइन् । तर रुख काट्ने काम अझै रोकिएको छैन । उनले डिभिजन वन कार्यालय, कास्की र गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयमा समेत खबर गरे । डिभिजन वन कार्यालयले माघ ९ मा पोखरा महानगरपालिकाको कार्यालयलाई पत्र लेखेर चौतारा मासिएको सम्बन्धमा जानकारी माग गर्‍यो ।

चौताराका रुख काट्न महानगरपालिकाले अनुमति दिएको हो वा होइन, कुन प्रक्रिया पुर्‍याएर रुख काटिएका हुन् भन्ने जानकारी माग गर्दै ऐन-नियमविपरीत भएको भए आवश्यक कारबाहीसमेत गर्न पत्रमा अनुरोध गरिएको छ ।

Deserted Chautara: A bird's nest, not a city's beauty

माघ १२ मा बल्ल महानगर प्रहरी पुगेर शुभमार्ग टोलकै चौतारो आधाउधी काटिसकेपछि रुख काट्न रोक लगायो । स्थानीय मेरो नेपाल युवा क्लबले गैरकानुनी रुपमा चौताराका रुख काट्ने काममा संलग्नलाई कारबाहीको माग गर्दै माघ १३ मा वडा कार्यालयमा निवेदन दिएको छ । हाल पोखरा–१४ मा चौतारा काट्न रोकिए पनि फाउन्डेसनले १३ नम्बर वडाका चौताराका हाँगाबिगा काटिरहेको छ ।

पृथ्वीनारायण क्याम्पसमा प्राणीशास्त्रका प्राध्यापकसमेत रहेका ढकालले आफ्नो वडामा पाइने चराको अभिलेख राखेका छन् । पोखरामा ४ सय ९० भन्दा बढी प्रजातिका चराहरू अभिलेख भएका छन् । उनले आफ्नो वडामा सन् २०१४ देखि २०२३ सम्म गरेको अध्ययनले १ सय ६७ प्रजातिका चरा पाइने देखाएको थियो । तीमध्ये ९ वटा लोपोन्मुख प्रजातिका चरा त्यस क्षेत्रमा अभिलेख भएका छन् । उनका अनुसार बसन्त ऋतु लागेपछि चराले गुँड बनाउन सुरु गर्छन् । जोडी बनाउन थाल्छन् । प्रजननको प्रक्रिया सुरु हुन्छ । हाँगाबिगा मासिएपछि त्यहाँ पाइने किरा, फट्यांग्रा, फलहरू नाश भएर जान्छन् । जसले गर्दा चरालाई अहाराको पनि अभाव हुन्छ । रुखमा प्वाल बनाएर बस्ने उल्लु, कुथुर्के लगायत चराहरूको पनि बासस्थान नास हुन्छ । साँझमा बास बस्ने बकुल्ला, डांग्रे, काग, चिल, लगायतका चराहरूलाई पनि प्रत्यक्ष असर पर्छ ।

‘यी काटिएका सबै चौताराहरूमा चराहरूको बास थियो,’ उनी भन्छन्, ‘ प्रजनन प्रक्रिया रोकिँदाको कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने देखिन्छ ।’ उनको वडामा खेतीयोग्य जमिन धेरै छन् । खेतीबालीमा लाग्ने किरा, फट्यांग्रा, मुसाको सन्तुलन यी चराहरूले कायम गर्छन् ।

पोखरा महानगरपालिकाको कार्यालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै अनधिकृत रुपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

‘पोखरा महानगरपालिका क्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौं वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरू प्राप्त भएका छन्,’ सूचनामा भनिएको छ, ‘यसप्रकार अनधिकृत रूपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने व्यहोरा सूचित गरिन्छ ।’ अनुमतिबिना सार्वजनिक स्थानमा रहेका रुख तथा विरुवाहरू कटान र बिक्रीवितरण गर्न नपाइने भएकाले त्यसरी काटिएका रुखहरूको विवरण संकलन गरिरहेको उक्त सूचनामा जानकारी गराइएको छ ।

महानगर प्रमुख आचार्यले पोखरा महानगरपालिका र स्थानीय प्रशासनले कुनै कोटिहोम आयोजना गर्न कसैलाई अनुमति प्रदान नगरेको बताएका छन् । पोखराका सार्वजनिक चौतारी र अन्य स्थानमा दिनदहाडै सयौं वर्ष पुराना बर, पीपल र समीका रुखहरू निर्मम रूपमा काटिएको विषय गम्भीर रहेको र वातावरणीय सन्तुलनका लागि समेत हानिकारक रहेको बताए । ‘माछापुच्छ्रे हिमाल कालो हुँदै गएको र दिनप्रतिदिन तापमान वृद्धि भइरहेको विषय हाल व्यापक छलफलमा रहेको छ,’ उनले भने, ‘यसै सन्दर्भमा, पोखरा महानगरपालिकाले सार्वजनिकस्थलहरूमा २ लाख २६ हजार बिरुवा रोप्ने अभियान सुरु गरिरहेको छ ।’ गण्डकी प्रदेशले चौतारा संरक्षण गर्न ऐन नै ल्याएको छ ।

बर, पीपल, समी र चौतारो संरक्षण ऐन, २०७५ ले चौतारो संरक्षणको दायित्व, काटछाँटका लागि पूरा गर्नुपर्ने प्रक्रियाको जिम्मा स्थानीय तहलाई दिएको छ । सार्वजनिक स्थानको जोखिमयुक्त रुख हटाउने प्रबन्ध वन ऐन र नियमावलीमा पनि छ । उक्त ऐनमा डिभिजनल वन अधिकृतको संयोजकत्वमा रहेको समितिले अनुमति दिएपछि मात्रै काँटछाँट गर्नुपर्ने उल्लेख छ । बर, पीपल, समीका रुख काटछाँट गर्दा प्रदेशको चौतारो संरक्षण ऐन नै लागू हुने डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्ले बताउँछन् ।

यद्यपि, उक्त ऐन आइसकेपछि पनि कार्यालयले बर, पीपल काट्नेलाई वन ऐन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाएको र पोखरा कै न्युरोडमा अशोकका रुख काँटिदा महानगरले आफ्नो आर्थिक ऐन अनुसार कारबाही गरेको नजिर रहेको उनले सुनाए । ‘कार्यक्षेत्र कसको हो भन्ने कानुनमा अस्पष्ट भएजस्तो पनि देखिन्छ,’ उनी भन्छन्, ‘वन ऐन आकर्षित हुने हो कि भनेजस्तो पनि लाग्छ तर ठ्याक्कै भन्न सकिएन । वन मन्त्रालयमा चौतारो संरक्षण पालिकाकै कार्यक्षेत्रभित्र पर्ने बुझाइ छ ।’

Deserted Chautara: A bird's nest, not a city's beautyपोखरा–१४ शुभमार्ग टोलमा काटिएका चौतारा । तस्बिर : कान्तिपुर

पोखराको चौतारा काटिएको सन्दर्भमा महानगरपालिकाले नै प्रचलित कानुन अनुसार कारबाही गर्नुपर्ने, मुद्दा लगाउने विषय महानगरले नगरे डिभिजन वन कार्यालयमा पठाउनुपर्ने उनी बताउँछन् ।

पोखरा महानगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले मानव सेवा फाउन्डेसनले कोटिहोम सञ्चालनका लागि काटेका काठलाई जफत गर्ने निर्णय गरेको छ । महानगरपालिका प्रवक्ता मोतीलाल तिम्सिनाका अनुसार कोटिहोमका नाममा काटिएका बर, पीपल, समीका काठ जफत गर्ने निर्णय भएको छ । कारबाहीको हकमा महानगरबाट स्वीकृत नलिएकाले त्यसतर्फ कुनै निर्णय नभएको उनले बताए । ‘रुख मुठारिएको विषयमा वन कार्यालयको ध्यानाकर्षण भइसकेकाले प्रचलित कानुनबमोजिम कारबाही होला, महानगरले त्यसतर्फ कुनै निर्णय गरेको छैन,’ उनले भने । फाउन्डेसनले काटिएका रुखहरू लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा लगेर थन्क्याएको छ । 

चौतारो संरक्षण ऐनको दफा ७ मा बर, पीपल, समी र चौतारो काट्नु, मास्नु वा हटाउनुपूर्व अध्ययन तथा सिफारिस समितिको सिफारिसका आधारमा मात्रै गर्नुपर्ने प्रावधान छ । स्थानीय तहको प्रमुख वा अध्यक्ष वा निजले तोकेको वडाध्यक्ष संयोजक रहने समितिमा डिभिजनल वन अधिकृत वा प्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्ष वा सदस्य, सम्बन्धित आयोजनाको प्रमुख सदस्य र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने व्यवस्था ऐनमा छ । बर, पीपल, समी र चौतारो संरक्षण समिति, संरक्षण कोषको पनि कल्पना ऐनले गरेको छ ।

यसअघि पशुपतिमा महायज्ञ गरेको फाउन्डेसनले नै पोखराको लेकसाइडमा कोटिहोम गर्न लागेको हो । कोटिहोमका लागि पोखरा वरपरबाटै संकलन गरिने फाउन्डेसनका प्रबन्धक विष्णुराज गिरीले बताए । स्थानीय टोल विकास संस्थाकै समन्वयमा रुख काटिएको उनले सुनाए । ‘टोल विकास संस्थाले जुन–जुन काट्ने भन्छ त्यही मात्रै काटेका छौं,’ उनले भने, ‘सामुदायिक वन, टोल विकास संस्था, वडा कार्यालयहरूलाई पनि बाधा अवरोध पुर्‍याउने रुख काट्नुपर्ने भए हामीलाई दिनुहोला भनेका छौं ।’ उनले पोखरा–१४ को शुभमार्ग टोल विकास संस्थालाई किरियापुत्री भवन बनाउन ७० हजार रुपैयाँ सहयोग गरेर दाउरा संकलन गरेको बताए ।

शुभमार्ग टोल विकास संस्थाका अध्यक्ष तारा तिवारीले वडाकै अन्य टोलमा गत वर्ष बर-पीपलका काटिएका हाँगा पलाएको देखेपछि अहिले आफ्नो टोलमा पनि काटिएको बताए । उनले हाँगा काट्न भने महानगरको अनुमति नलिएको स्वीकारे । ‘घरमाथि सुकेका हाँगा खस्ने भए, बाटो हिँड्नेलाई लागेर घाइते हुने भए भनेर हाँगा काँटछाँट गरिएको हो । हाँगा काट्न अनुमति लिनुपर्छ भन्ने थाहा भएन,’ उनले भने, ‘हाँगा छिमल्दा कुनै–कुनै टोलका स्थानीयले २–४ वटा हाँगा अलि बढी काट्न भन्नुभएछ । ठुटै बनाइएको छैन ।’ उनले टोल विकास संस्थाले दुईवटा चौतारा पहिले नै बनाएको र अहिले दुईवटा निर्माणकै क्रममा रहेको बताउँदै वडामा पुगेर नयाँ रुख रोप्ने प्रतिबद्धता गरेको सुनाए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully