३२ संस्थालाई करोड–करोडका कृषि अनुदान : अधिकांशले गरे दुरुपयोग

२ करोड ३० लाख भुक्तानी पाएको कैलाश कोल्ड स्टोर सञ्चालनमै आएन

माघ २०, २०८१

प्रदेश ब्युरो

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

काठमाडौँ — सरकारले ३२ संस्थालाई एक करोड रुपैयाँभन्दा बढी कृषि अनुदान दिएको भेटिएको छ । तर त्यो अनुदान कति प्रभावकारी छ, सदुपयोग भएको छ कि छैन- सरकार त्यति जानकार छैन । सर्वसाधारण उपभोक्ताले त्यसको लाभ लिएका छन् कि छैनन् भन्ने विषयमा पनि सरकारलाई  बेखबरजस्तै छ ।

कान्तिपुरले एक करोडभन्न्दा बढी अनुदान लैजाने संस्थाको विवरण खोजी गर्दा सरकारबाट मोटो रकम लिएर कोल्ड स्टोर सञ्चालनमै नरहेकोसम्म भेटिएको छ । त्यसको एउटा उदहारण हो, बाँकेमा रहेको कैलाश कोल्ड सेन्टर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट २ करोड ३० लाख अनुदान लिए पनि उक्त कोल्ड स्टोर सञ्चालन नै भएको छैन ।

‘धेरै वर्षअगाडि नाम त सुनिएको हो, तर सञ्चालनमा आएको थाहा पाइएन,’ बाँकेका अगुवा कृष्णप्रसाद श्रेष्ठले भने, ‘बाँकेमा दुइटा मात्रै चिस्यान केन्द्र सञ्चालनमा छन् । ती हुन्, नेपालगञ्ज कोल्ड स्टोरेज एण्ड एयर हाउजिङ  र भेरी शीत भण्डार सहकारी संस्था लिमिटेड ।’

कैलाश कोल्ड स्टोर बैजनाथ गाउँपालिका- ७ मा सञ्चालन हुने भनिएको थियो । २०७७ सालमा सञ्चालनमा आउने भनिए पनि अहिलेसम्म अत्तोपत्तो छैन । ‘कैलाश कोल्ड स्टोर दुई चार वर्षअगाडि नै सञ्चालनमा आउने भनियो । तर अहिलेसम्म सञ्चालनमा आएन,’ बैजनाथ गाउँपालिका-७ का अध्यक्ष दिनेशकुमार थारुले भने ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले पनि त्यस क्षेत्रमा दुइटा चिस्यान केन्द्र मात्रै सञ्चालनमा रहेको जनाए । ‘राज्यले किसानको उत्पादनलाई सुरक्षित राख्न चिस्यान केन्द्रलाई अनुदान दिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा दुईवटा मात्रै सञ्चालनमा छन् ।’

उत्पादन नहुने ठाउँमा बनाइने यस्ता शीत भण्डारण प्रभावकारी छैनन् । तर राज्यको पैसा हावादारीमा वितरण भएको जानकारहरू बताउँछन् । कपिलवस्तुमा रहेको सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था (कृषि बहुउद्देश्यीय सहकारी संस्था) ले पनि १ करोड १ रुपैयाँ अनुदान लगेको छ ।

नेपाल लाइभस्टक सेक्टरले इनोभेसन आयोजनाबाट लगेको अनुदान सदुपयोग भएन । अनुदान रकमबाट दुध उत्पादन तथा बिक्री वितरण आयोजना सञ्चालन गरिएको थियो । संस्थामा ५० जना सेयर सदस्य रहेको नाम उल्लेख भए पनि अन्तिममा १३ जना मात्रै भए ।

‘एक जनालाई ३ देखि १० वटा गरी १३ कृषकलाई ७० उन्नत भैंसी र दुई उन्नत राँगा वितरण गरियो,’ संयोजक कृष्णप्रसाद न्यौपानेले भने, ‘५ वटा भैंसी लिएकामध्ये एक जना भैंसी बेचेर विदेश गए । ७० भैंसीमध्ये अहिले किसानको गोठमा आधा मात्रै देखिन्छन् ।’

.......................................................................................................................

करोड बढी कृषि अनुदान लैजाने फर्म/संस्था

१. श्री राजदेवी महिला पशुपालन सहकारी संस्था, धनुषा

२. अटल कृषि सहकारी संस्था, पर्सा

३. जनचेतना कृषि सहकारी संस्था लि, रौतहट (राजेश ठाकुर)

४.श्री बुद्ध बहुउद्देश्यीय सहकारी संस्था लि, रौतहट

५.जनपुरिया बहुउद्देश्यीय सहकारी संस्था ल, रौतहट

६. जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि, सप्तरी

७. राधेकृष्ण कृषि सहकारी संस्था, सर्लाही

८. श्री लभकुश बहुउद्देश्यीय सहकारी सहकारी संस्था लि, सिराहा

९.जय माँ रक्क्तमाला कृषि सहकारी संस्था, सिराहा

१०. गुलाब कृषि सहकारी संस्था लि, सिराहा

११. रिचवे कृषि सहकारी संस्था, पसा

१२.जनलहर अर्गानिक कृषि सहकारी संस्था लि, रौतहट

१३. जनचाहना कृषि सहकारी लि, रौतहट

१४.उद्यमशिल लघु उद्यमी महिला तरकारी समूह, रामेछाप

१५.भद्रुटार स्वावलम्बी कृषि सहकारी संस्था लि, नुवाकोट

१६. नुवाकोट शित भण्डारण, बिदुर नुवाकोट

१७.कैलाश कोल्ड स्टोर, बाँके

१८. क्वालिटी कोल्ड स्टोरेज प्रालि, गजुरी धादिङ

१९.ग्रीन फरेस्ट्री एण्ड एग्रीकल्चर प्रालि, धनुषा

२०. सब्जे फर्म प्रालि, मनाङ

२१. बन्जारा एग्रो प्रालि, मोरङ

२२. त्रिवेनी बोयर बाख्रा स्रोत विकास समिति,वेलका नगरपालिका

२३.गौरीगन्ज दुग्ध उत्पादक सहकारी संस्था लि, भरतपुर

२४.चौरी देउराली उत्थान कृषक समूह, चौरी देउराली नगरपालिका, काभ्रे

२५. साना किसान कृषि सहकारी सस्थां, विष्णुपुर गाउँपालिका, सिराहा

२६. सगरमाथा कृषि सहकारी संस्था लि, शुद्धोधन गाउँपालिका, कपिलवस्तु

२७. त्रिशा पशुपालन समूह, तिलोत्तमा नगरपालिका,रूपन्देही

२८.उद्यमी नेपाल कृषि सहकारी संस्था लि, तानसेन नगरपालिका, पाल्पा

२९.सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लि (कृषि बहुउद्देश्यीय सहकारी संस्था, बाणगंगा नगरपालिका कपिलवस्तु)

३०. तीनधारा दुग्ध उत्पादक सहकारी संस्थान लि, सैनामैना नगरपालिका, रूपन्देही

३१. साना किसान कृषि सहकारी संस्थान लि, मधुवन नगरपालिका, बर्दिया

३२.ताराताल साना किसान सहकारी संस्थान लि, मधुवन नगरपालिका, बर्दिया

.......................................................................................................................

सहकारीका अनुसार १३ जना किसानलाई अनुदान उपलब्ध गराइएको थियो । तर, तीमध्ये दुई जनाले भैंसी पाल्नै छोडेको, अन्य ११ जनामध्ये पनि धेरैले भैंसी छोडेर अन्य व्यवसायमा लागेको जनाएको छ ।

त्यस्तै, पाल्पाको तानेसेन नगरपालिका–१४ अर्गलीमा खुलेको उद्यमी नेपाल कृषि सहकारी संस्थाले आयोजनासँग ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ अनुदानको सम्झौता गरेको छ । पूर्वाधार संरचना, घाँस, दानासहित ३ सय बाख्रा पाल्ने गरी सम्झौता भएको थियो ।

‘३ सय बाख्राका लागि पुग्ने संरचना निर्माण, घाँस उत्पादन, बाख्रा र दाना खरिदमा १ करोडभन्दा बढी लगानी भएको थियो,’ किसान ध्रुव पाण्डेले भने, ‘तर, परियोजनाका कर्मचारी समयमै अनुगमन गर्न पुगेनन्, पछि मुद्दा पर्‍यो भन्दै भुक्तानी नै रोकिदिएपछि अहिले संस्थाले काम नै गर्न सकेको छैन ।’

बुटवलमा पनि अनुदान रकमको अपचलन भएको छ । राज्यले लगानी गरेका कृषि संरचना अलपत्र परेका छन् । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का अमित शर्मासहित २१ जनाको समूहले ६० वटा भैंसी पाल्ने योजनासहित २०७८ सालमा त्रिशा पशुपालन समूह दर्ता गरेका थिए ।

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

२०७९ भदौमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट १ करोड रुपैयाँ अनुदानको सम्झौता भएको थियो । आयोजना र समूहले २ करोडको परियोजना तयार पारेका थिए । संरचना निर्माण र भैंसी खरिदका लागि उनीहरूले आयोजनाबाट ८८ लाख रुपैयाँ प्राप्त गरेको र खर्च १ करोड भइसकेको सञ्चालकहरूको दाबी छ ।

त्यसबाहेक आयोजनासँग ६० वटा मुर्रा भैंसी खरिद गर्ने सम्झौता भएको छ । ८८ लाखबाट खरिद गरिएको दाबी गरेका ६० वटा भैंसी भने अहिले छैनन् । गोठमा ३ वटा भैंसी मात्र छन् । ‘हामीले खरिद गरेका ६० भैंसीमध्ये सुरुमै ४ वटामा मात्र राँगो लागे, बाँकी उत्पादनयोग्य नभएपछि हटायौं,’ समूहका प्रोप्राइटर रहेका अमित शर्माले भने, ‘आयोजनाले पूरै रकम दिएन, हामीले पनि थप लगानी गर्न सकेनौं ।’

तर, फार्म वरपरका स्थानीयले भैरहवाका टाठाबाठा मिलेर फर्म सञ्चालन गरेर भैंसी बिक्री गरेर अनुदान दुरुपयोग गरेको बताउँछन् । अनुदान मात्र लिने गरी संरचना निर्माण गरी अनुगमनको बेला केही समय ३०/४० वटा भैंसी बाँध्ने गरेको बताउँछन् । ‘६० वटा भैंसी अट्ने गोठ नै छैन, सरकारी अनुगमन आउँदा केही समयका लागि ३०/४० वटा भैंसी बाँध्ने गरेको देखिन्छ,’ स्थानीय एक युवकले भने, ‘उनीहरूले हामीले ६० वटा भैंसी किनेको भनेर कसरी पत्याउने ? बढीमा ४० भैंसी मात्र अट्ने गरी संरचना निर्माण गरियो, त्यही पनि अहिले खाली नै छ ।’

रूपन्देहीमा वितरण गरेको अनुदानमा महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदनले प्रश्नसमेत उठाएको छ । ‘रूपन्देहीको एक पशुपालक समूहसँग दुग्ध मूल्य शृंखलाअर्न्तगत उपयोजना सञ्चलन गर्न २ करोडको सम्झौता भएकोमा गोठ, आहार भण्डार र मेसिनरी तथा ५८ भैंसीका लागि ८८ लाख ६१ हजार भुक्तानी गरी आयोजना फरफारक गरेको देखियो,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाबाट २०८० भदौ ३ मा उपआयोजना अनुगमन गर्दा मुर्रा भैंसी ५८ बाट घटेर ५ वटा मात्रै देखियो । रूपन्देहीकै एक बहुउदेश्य सहकारी संस्थासँग १ करोड १६ लाख ४८ हजारको सम्झौता भएकामा रकम अपचलन भएको छ । अनुदान उपयोगको सुनिश्चतताका लागि सम्झौताको पालना सम्बन्धमा छानबिन गर्नुपर्दछ ।’

अनुदानमा दिगोपनका लागि ल्याइए पनि केही झन्झटिलो प्रक्रियाका कारण लुम्बिनीमा असफल भएको लुम्बिनी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयमा पशुपंक्षी महाशाखा पूर्वप्रमुख तुलसीराम भण्डारीले जनाए । आयोजनाले टेण्डर गरेर खरिद गर्ने, बैंक ऋण अनिवार्य गर्नेजस्ता नीतिले समस्या परेको उनले बताए ।

‘जहिले पनि वास्तविक किसानका लागि ल्याउने योजना झन्झटिलो हुनुहुँदैन,’ भण्डारीले भने, ‘किसान कागजपत्र मिलाउन जाँदा गोठमा गाई भैंसीले सुसार नै पाउँदैनन्, सुसार गर्ने किसान कागज मिलाउन जानै सक्दैनन् ।’ त्यसमाथि बिमा, टेण्डर, बैंकजस्ता झन्झटिला प्रक्रियामा किसानले मेसो नै नपाउने भएकाले अहिले करोडौं लगानी भएको आयोजना लुम्बिनीमा असफल भएको उनले बताए ।

झापामा वितरण गरिएको अनुदानको अवस्था पनि उस्तै छ । झापाको बुद्धशान्ति-६ शान्तिनगरस्थित बाबरीटार कृषि फर्मका सञ्चालक विदुर भट्टराई अहिले नेपालमै छैनन् । चार महिनाअघि उनले फर्म बन्द गरेर युरोपको यात्रा सुरु गरेका थिए । भट्टराई पहिले माल्टा पुगेका थिए र अहिले पोल्याण्डमा छन् । उनले कृषि फर्म सञ्चालन गर्न १३ लाख ८५ हजार रुपैयाँ अनुदान प्राप्त गरेका थिए, जसका आधारमा उनले खसी बाख्रा पालन सुरु गरेका थिए । तर, अनुदान प्राप्त गरेपछि उनका फर्मका गतिविधिहरू बन्द भए र उनले विदेश जाने निर्णय गरे । अहिले शान्तिनगरस्थित उनको घरमा बाख्राको रित्तो खोर मात्र देखिन्छ, तर बाख्रा भने छैनन् ।

पारिवारिक स्रोतका अनुसार, भट्टराईले करिब ३ देखि ४ लाख रुपैयाँ लगानी गरेर बाख्रा पालन सुरु गरेका थिए । तर, उनले बाख्रा पालनमा ७ लाख रुपैयाँ घाटा व्यहोरेको दाबी गरेका छन् । पोल्याण्डमा रहेका भट्टराईले यस असफलताका बारेमा कुरा गर्दै भने, ‘फर्मबाट घाटा भएपछि म युरोपतिर हिँडेको हुँ ।’

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

कृषिमन्त्री रामनाथ अधिकारीले प्रत्यक्ष अनुदान अपचलन भएको गुनासो सुरुदेखि आएको जनाए । कृषि अनुदान प्रभावकारी र सबैको पहुँचमा ल्याउन किसान सूचीकरण वर्गीकरणसँग कृषि अनुदानलाई जोड्ने योजना रहेको बताए । कृषि अनुदानमा देखिएको दोहोरोपन रोक्न तिनै तहका सरकारसँग समन्वय गरिने बताए । मन्त्रालय सम्हालेपछि मन्त्री अधिकारीले अनुदान लैजाने र दुरुपयोग गर्नेको सूची सार्वजनिक गर्ने बताउँदै पनि आएका थिए । अनुदान लैजानेको सूची सार्वजनिक भए पनि दुरुपयोग गर्ने संघ, संस्था, सहकारी फेला पार्न सकेको छैन ।

‘मन्त्रालयबाट लगिएका र दिइएका अनुदानको अवस्था के कस्तो छ भनेर अध्ययनका लागि हामीले समिति नै गठन गरेर काम सुरु गरिसकेका छौं,’ पुस २८ मा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भने, ‘कृषि अनुदान लगेर दुरुपयोग गरिएको छ भने कारबाही हुन्छ र हुनुपर्दछ । त्यस कार्यमा तपाईंहरूको पनि साथ र सहयोगको अपेक्षा गरेको छु ।’

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि ०८०/८१ सम्म मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख रुपैयाँ अनुदान प्रवाह भएको छ । प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख रुपैयाँ र अप्रत्यक्षतर्फ (अनुदानित रसायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

मन्त्रालयबाट वितरण भएको अनुदान पहिचान गर्न सहसचिव हरिबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको थियो । सहसचिव केसीले अनुदान रकम शतप्रतिशत सदुपयोग नभए पनि अनुदानले कृषि उत्पादन वृद्धि भएको दाबी गरे । ‘अनुदान दुरुपयोग भएपछि कतिपय छानबिनको दायरामा आएका छन् । केही न केही गुनासो भएरै छानबिन भएको हो,’ उनले भने, ‘केहीले कामै नगरेको भन्ने पनि छ । तर विगतको जस्तो समस्या छैन, सुधार नै छ । समग्रमाभन्दा अनुदान प्रभावकारी नै छ ।’

प्रत्यक्ष ५ वटा आयोजनाबाट अनुदान रकम प्रवाह छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ, कृषि क्षेत्र विकास कार्यक्रम, नेपाल लाइभस्टक इनोभेसन आयोजना र खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना रहेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको छ । उक्त रकम १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी,कृषि समूह तथा कृषि फर्महरूले लगेका छन् ।

सुरुवातका वर्षमा कोल्ड स्टोर लगायत ठूला आयोजनामा रकम वितरण भए पनि अहिले त्यो नभएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जनाए । ‘सुरुमा ठूला आयोजनामा लगानी भएपछि आलोचना भयो, त्यसपछि सरकार पछि हट्यो,’ उनले भने, ‘अहिले परियोजना समुदायमा आधारित भई क्षेत्र विस्तार र उत्पादन बढाउने कार्यक्रमहरूमा केन्द्रित छ । ठूला अनुदानको कार्यक्रम प्राथमिकतामा छैन ।’

रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ भने त्यसबाट २१ हजार ४ सय ५० कृषि सहकारी, समूह, फर्मले लगेका छन् ।

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रमबाट ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ । त्यस कार्यक्रममार्फत २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले रकम लगेका छन् । नेपाल लाइभस्टक इनोभेसन आयोजनाबाट १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको छ । त्यसबाट ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूलाई रकम वितरण भएको छ । आयोजानाका सूचना अधिकारी ईश्वरी खतिवडाले अनुदानबाट पशु खरिद गरेपछि पाल्न नसकेर बिक्री गरेको गुनासो आएको जनाए ।

‘पाल्न नसकेर पशु बिक्री गरेर ऋण तिरेका हुन्छन् । १० वटा खरिद गर्नुपर्नेमा ५ वटा मात्रै खरिद गरेको गुनासो पनि छ । तर फार्म नै शून्य पार्न पाइँदैन,’ उनले भने, ‘अनुदान लिएर एक वर्षमै फार्म बन्द भए गलत हो । उजुरी परेका ठाउँमा अनुगमन र कारबाही पनि गरेका छौं ।’

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ । ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूलाई रकम वितरण भएका छन् ।

केही ठाउँमा मात्रै अनुदान सदुपयोग

सरकारले वितरण गरेको अनुदान केही ठाउँमा सदुपयोग पनि भएको छ । झापा मेचीनगर १ को अपेक्षा गाई फर्म र २ को सन्जीव गाई तथा कृषि फर्मले गाई पालनसँगै अर्ग्यानिक खेती पनि गरेका छन् । अनुदानबाट प्राप्त रकमलाई दुध दुहुने मेसिनलगायतका सामग्री खरिदमा प्रयोग गरेको देखिन्छ । अपेक्षा गाई फर्मले २९ लाख ९७ हजार ७ सय र सन्जयले २९ लाख २५ हजार रुपैयाँ अनुदान पाएका थिए ।

सन्जीव गाई फर्मका संचालक गोपाल पौडेल (खत्री) ले अनुदान रकम लिन धेरै सास्ती व्यहोर्नु परेको अनुभव सुनाए । २०७९ मा पहल गरेका उनले २०८० असोजमा मात्रै रकम पाए । ‘डेढ वर्षपछि बल्लतल्ल रकम पाइयो,’ उनले भने । खासमा उनले पाउनुपर्ने २९ लाख २५ हजार रुपैयाँ थियो । तर, २३ लाख मात्रै पाए । करिब ६ लाख हाराहारी रकम कता गयो भन्ने उनलाई नै थाहा छैन । ‘मेरो खातामा २३ लाख मात्रै आएको थियो,’ उनले भने ।

यता काभ्रेको चौंरीदेउराली गाउँपालिका- ४ स्थित मझुवामा चौरीदेउराली उत्थान कृषक समूहले पनि विभिन्न जातका बाख्रापालन गरिरहेको छ । फार्म (गोठ) निर्माण तथा बाख्रा खरिद तथा व्यवस्थापनका लागि संघीय सरकारबाट आएको अनुदानले सहज भएको समूहकी अध्यक्ष देवकी गौतमले जनाइन् । लाइभस्टक सेन्टर इनोभेसन आयोजनाबाट १ करोड ६४ लाख २१ हजार ६ सय ७८ रुपैयाँ अनुदान प्राप्त भएको उनले बताइन् । ‘फार्ममा विभिन्न जातका करिब २ सय बाख्रा पालेका छौं,’ उनले भनिन्, ‘ठूलो संख्यामा बाख्रापालन गर्दा फार्मको अवस्था राम्रो नै देखिएको छ ।’ 

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

अनुदान पाएर चितवन–गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुध विविधिकरण तथा प्रशोधन र प्याकेजिङका मेसिनहरू जडान गरेको छ । सहकारीका उपाध्यक्ष टुङ्गनाथ जैसी चापागाईका अनुसार भवन निर्माण, मेसिन उपकरण र खरिदमा १ करोड ९७ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ ।

‘एक करोड रुपैयाँ अनुदान आउने भनिएको हो । ९० लाख रुपैयाँ आयो । हामीले ४० प्रतिशत रकम जम्मा गर्नुपर्ने थियो, त्यो जुटाउन अलि समय लाग्दा पूरा रकम नआएको हो,’ निर्माण समितिका संयोजकसमेत रहेका जैसीले भने, ‘गत वर्षको असोजदेखि संस्थाले दूधबाट दही, मही, नौनी, घ्यु र पनिर बनाउन र प्याकेजिङ सुरु गरेको छ । अनुदान रकमबाट हामीलाई उत्पादन र प्याकेजिङमा काम गर्न सजिलो भयो । तर प्याकेजिङ गरेको दूधभन्दा परम्परागत पोका दूध नै खोज्ने गर्दा हामीले दूधको प्याकेजिङमा सोचे अनुसार सफलता पाएका भने छैनौं ।’

नमुना एग्रो

विराटनगरको कोलाहलबाट टाढा छ, बन्जरा एग्रो । महानगरपालिका–१२ को दरैयास्थित पूर्वकै उत्कृष्ट कृषि फार्मका रूपमा चिनिएको छ । फार्ममा अहिलेसम्म ३० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । सञ्जय चापागाईं र गजेन्द्र शर्मा नाताले मामा–भान्जा हुन् । मामा–भान्जाको संयुक्त लगानीमा फर्म सञ्चालित छ ।

मामा विदेशमा छन् । सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी भान्जा सन्जयको काँधमा छ । पाँच बिघा जमिनमा फैलिएको फार्ममा अहिले  बाच्छासहित १ सय ८० हाराहारी भारतीय उन्नत जातका होलस्टेन जर्सी गाई छन् । ५ वर्षअघि फर्म सुरु गर्दा उनीहरूसँग ८ वटा जर्सी गाई मात्रै थिए । फर्मले अहिले आफैं गाई उत्पादन गर्छ । जसले भारतबाट गाई खरिद गर्नुपर्ने समस्या हल हुँदै गएको छ ।

‘पहिला भारतबाट गाई किनेर ल्याउनु पर्ने अवस्था थियो’, चापागाईंले भने, ‘अहिले हामी नै उत्पादन गरेर गाई बेच्छौं ।’  फार्मले मासिक १५ लाख आम्दानी गर्दै आएको छ । ५० बढीले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । दैनिक १३ सय लिटर त दुध नै उत्पादन हुन्छ ।

Agricultural subsidies worth crores to 32 organizations: most of them misused them

फार्ममा दुध मात्रै होइन दही र पनिर बन्छ । दैनिक २०० लिटर दही र पनिर उत्पादन हुने गरेको छ । फर्म असाध्यै व्यवस्थित छ । गोठ व्यवस्थापन, गोबर ग्यासका लागि हज निर्माण, साइलेज संरक्षण केन्द्र र पशु आहार संरक्षण केन्द्र जस्ता सुविधाहरू छन् । दुध दुहुने मिल्किङ पार्लर समेत जडान गरिएको छ । जसले स्विच थिचेका भरमा दुध दुहुन सकिन्छ । साथै ३ हजार लिटर क्षमताको चिलर मेसिनसमेत अनुदानको रकमबाटै खरिद गरिएको चापागाईंले जनाए । काउ सावरिङ मेसिन पनि छ । ‘यो मेसिनले दुध दुहुनुअघि गाईहरूलाई सधैँ नुहाइदिन्छ,’ चापागाईंले भने ।

- राजु चौधरी (काठमाडौं), मनोज पौडेल (कपिलवस्तु), घनश्याम गौतम (बुटवल), माधव अर्याल (पाल्पा), रूपा गहतराज (नेपालगन्ज), पर्वत पोर्तेल (विराटनगर), ज्योती श्रेष्ठ (काभ्रे), रमेशकुमार पौडेल (चितवन)

प्रदेश

Link copied successfully