काठमाडौँ — ‘मैले प्रजातन्त्रको बालेको दियो तैँले राम्रोसित सम्हालेर राख्नू, यसलाई बल्न दिनु, निभ्न नदिनू’– सहिद गंगालाल श्रेष्ठले परिवारसँगको अन्तिम भेटमा भाइ पुष्पलालसँग बोलेको वाक्य हो यो । उक्त क्षण सम्झँदै सहिद गंगालालका कान्छा भाइ विजयलाल श्रेष्ठ भन्छन्, ‘९१ वर्षदेखि मेरो दाजुलाई म सम्झिँदै छु ।'
'दाजुलाई मार्नु एक दिनअगाडि दिउँसो ३/४ बजे जगन्नाथको मन्दिरमा भद्रगोल जेलमा भएको भेट अन्तिम थियो । मेरो भाउजूबाहेक परिवारै गएका थियौं । अरु दाइहरू पनि थिए । त्यो भेटमा दाइहरूले भनेको कुरा पछि मैले थाहा पाएको हुँ,’ विजयलालले भने ।
गंगालालसँग भाइ विजयको उमेर १५ वर्षको अन्तर छ । ‘म त्यतिबेला ५ वर्षको थिएँ । मेरो दाइले माया गर्नुहुन्थ्यो । हाम्रा दुई जना आमा हुनुहुन्थ्यो । म र दाजु पहिलो आमाका सन्तान हौं,’ उनले भने, ‘म कान्छा र दाइ जेठो हुनुहुन्थ्यो । दुई आमातर्फका गरेर हामी नौ दाजुभाइ थियौं ।’
सहिदहरु आफ्नो परिवारलाई भन्दा देशलाई सम्झेर ज्यान दिएको उनी बताउँछन् । मुलुकमा सहिदले सम्झेको प्रजातन्त्र, लोकतन्त्र हुँदै गंगालालका भाइ पुष्पलालले खोजेको गणतन्त्र पनि आएको विजयलालले बताए ।
‘तर अहिलेका नेताहरूले प्रजातन्त्रको अर्थ नै नबुझेझैं लाग्छ । लोकतन्त्रका विभिन्न आयामलाई पनि अहिलेका नेताले बुझ्न सकेनन्,’ उनी भन्छन्, ‘गंगालालले बुझेको लोकतन्त्र र अहिलेका नेताले बुझेको लोकतन्त्र विल्कुलै फरक छ । गंगालालले बुझेको लोकतन्त्रको महत्त्व थियो, देशको विकास होस् भन्ने थियो ।’
सहिदहरूको प्राण आहूतिबाट आएको लोकतन्त्रमा देश बनाउन अधिकारभन्दा कर्तव्यको धेरै जिम्मेवारी हुने दाजुबाट बुझेको उनको भनाइ छ । ‘अहिले सबैले अधिकार खोज्छन् । शुल्क नतिर्नेहरूको पनि अधिकार हुन्छ,’ उनले भने, ‘गंगालालले जुन प्रजातन्त्रको परिकल्पना गर्नुभएको थियो, त्यो अचेलका कुनै नेताले बुझ्न सकेका छैनन् ।’
दाजु गंगालालकै कारण राजनीतिमा आएका पुष्पलालसँग जोडिएको घटना स्मरण गर्दै विजयलाल भन्छन्, ‘गंगालाल र उनका साथीहरूको फ्याटल टोलमा घर थियो, त्यो घरमा उनीहरूको मिटिङ भएको थियो । त्यतिबेला उहाँले सुनेर सारांश यति बुझ्नु भयो कि रुसमा गरिबी छैन रे, त्यहाँका मान्छे कोही भोकाएका छैनन्, धर्म मान्दैनन् । पुष्पलाललाई कोठामा राख्न दिइएन । उहाँ बाहिरबाट सुनेको हो ।’
सहिदहरूकै योगदानबाट अहिलेको अवस्थासम्म आईपुगेको र बोल्ने अधिकार मिलेको उनी बताउँछन् । १९९७ सालको माघ १० देखि १५ गतेसम्म चार जना सहिद भए । राणा प्रधानमन्त्री जुद्धशम्शेरले मार्ने आदेश दिएका थिए । उनै जुद्धशम्शेरको शालिक काठमाडौंकै व्यस्त क्षेत्र न्युरोडमा छ । जुन शालिक राखेको विजयलाई मन परेको छैन । नेपालको राजनीतिक परिवेशमा ‘म अझै छु’ भन्ने बिम्बको रूपमा त्यो राखिएको उनको बुझाइ छ ।
‘त्यो सालिक यस्तो ठाउँमा छ, वसन्तपुर फर्कियो भने गंगालालको घर आउँछ । ओमबहालतिर फर्कियो भने धर्मभक्तको घर आउँछ । इन्द्रचोकतिर फर्कियो भने शुक्रराज शास्त्रीको घर आउँछ । टुँडिखेल फर्कियो भने त्यो बाटो हुँदै जाने दशरथ चन्दको घर आउँछ,’ उनले भने, ‘त्यो सालिक हटाएर चारै दिशामा फर्केको चार सहिद राखे पनि हुन्छ । राजाको सालिक भत्काइयो । जुद्धशमशेरको सालिक किन हटाउन सक्दैनन् ?’
निरंकुश जहानियाँ राणा शासनविरुद्ध लागेकै कारणले लखन थापा मगर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालालश्रेष्ठ र दशरथ चन्द सहिद भए ।
सहिद लखनलाई १९३३ साल फागुन २ मा गोरखाको मनकामना मन्दिर परिसरको रूखमा झुण्ड्याएर मारिएको थियो । १८९१ सालमा गोरखामा जन्मिएका मगरले निरंकुश राणा शासनविरुद्धको राजनीतिक आन्दोलन सुरु गरेका थिए । सोही कारण जंगबहादुरकै आदेशमा उनलाई निर्ममतापूर्वक हत्या गरियो । साथै चार जना सहिद पनि राणा शासनविरुद्ध सक्रिय भएकै कारण मारिए ।
तीमध्ये सहिद शुक्रराजलाई विसं. १९९७ माघ १० गते राती टेकुमा झुण्ड्याएर मारियो । धर्मभक्तलाई १९९७ माघ १३ गते सिफलमा फाँसी दिइयो । दशरथ र गंगालाललाई १९९७ माघ १५ गते शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । अन्तत: १९०३ सालमा सुरु भएको जहानियाँ राणा शासन १०४ वर्षपछि २००७ सालमा अन्त्य भयो ।
को हो सहिद ?
नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति’ भनी ‘सहिद’ को परिभाषा दिएको छ ।
यसैगरी प्रज्ञाकै बृहत्तर शब्द संसारले सहिदबारे ‘देश र जनताका निम्ति ज्यान उत्सर्ग गर्ने व्यक्ति, महान् बलिदानी’ र सहिद हुनुबारे ‘सहिद बन्नु, देशेका निम्ति मर्नु’ भनी उल्लेख गरेको छ ।
यसैगरी प्राध्यापक गोपाल शिवाकोटीद्वारा लिखित राजनीतिक शब्दकोशले ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति, मानव हित र सिद्धान्तका लागि, प्रगति र विकासका लागि बलिदानी दिएर लोकहितमा लाग्ने व्यक्तिलाई सहिद भनिन्छ’ भनी परिभाषित गरेको छ ।
एकता बुक्सद्वारा प्रकाशित शब्दकोशमा ‘सिद्धान्तका लागि जीवन बलिदान दिने व्यक्ति’ भनी लेखेको छ । साथै अक्सफोर्ड डिक्सनरीले ‘धार्मिक वा राजनीतिक विश्वासका कारण अत्यधिक पीडा भोग्ने वा मारिने व्यक्ति’ सहिद हो भनी परिभाषित गरेको छ ।
राजनीतिक विश्लेषक सीके लाल भन्छन्, ‘हामी जसलाई ‘सहिद’ भन्छौं, त्यसको दुईवटा ओरिजन (सुरुवात) छ । यो ग्रिक शब्द ‘मार्टियर’ बाट आएको हो जुन अंग्रेजीमा पनि प्रयोग हुन्छ । त्यसको अर्थ ‘साक्षी’ वा ‘साक्षी बस्नु’ भन्ने हुन्छ । त्यसको अर्थ एउटा केही कुरा सत्य छ भने सत्य भनेको एउटै हुन्छ । त्यो भनेको ईश्वर, परमेश्वर अथवा अल्लाह भन्नुहोस्, एउटै हुन्छ । त्यो सत्यको जो साक्षी बस्छ, साक्षी बस्नलाई सत्यलाई हेरेको र सुनेको हुनुपर्यो । त्यो भनेको क्रिश्चियानिटीमा जिसस क्राइस्टलाई ‘फर्स्ट मार्टियर’ भन्छ ।’
उनका अनुसार नेपालीमा प्रयोग गरिने ‘सहिद’ शब्द अरबिक भाषा ‘सहद’ बाट आएको हो । जसको अर्थ हुन्छ ‘देख्ने मान्छे’ वा ‘देखेको’ भन्ने हुन्छ ।
‘के देखेको भन्दा सत्य देखेको मान्छे भयो । त्यो सत्य देखेकामा पैगम्बर मोहम्मद आफैंका लागि त्यो सहिद भन्ने प्रयोग हुँदैन, उनका नाति जो थिए करवालामा, अहिलेको इराकमा पर्छ, ७८ योद्धा लिएर ७ सय विरोधीसँग लडेका थिए । त्यसमा उनको सहादत भयो, उनैलाई मुसलमानहरूको पहिलो सहादत भन्छन्,’ उनले स्पष्ट पार्दै भने, ‘यी दुईबाट के कुरा स्थापित हुन गयो भने सत्यलाई धर्मसँग जोडिएको हुनाले सत्यको परिभाषा पैगम्बरसँग जोडिने भयो । ईसाई धर्मका लागि मारिने सहिद अथवा मार्टियर भए । इस्लाम धर्मका लागि मारिने सहिद कहलिए ।’ जो आफ्नो आस्था परित्याग गर्न तयार हुँदैन, आफ्नो आस्थाका लागि ज्यानसमेत अर्पण गर्न तयार हुन्छ, त्यसलाई सहिद भनिन थालिएको उनले बताए ।
‘हामीकहाँ भने भारतको स्वतन्त्रता संग्रामबाट सहिदको शब्द आएको हो । भारतको स्वतन्त्रता संग्रामका लागि लड्ने ती सहिद हुन भनेर भनियो,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्रतासँग एउटा धर्म र आस्थाकै रुपमा परिभाषित गरियो । सेनालाई पनि सहिदको प्रयोग हुन थालेपछि भारतीय सरकारले सेनामा मारिएकालाई वीर गति प्राप्ति गरेको, सर्वोच्च बलिदान गरेको शब्द प्रयोग गर्ने भनेर भन्यो ।’
धर्म अर्को र सर्वोच्च आस्था, आस्था परित्याग गर्न नमान्ने, एउटा धर्म प्रचारकको लागि धर्मसँग समर्पित हुनेको सहिद शब्द प्रयोग हुन्छ । कर्तव्य पालनको सिलसिलामा ज्यान गुमाएहरूलाई सर्वोच्च बलिदान र वीर गति प्राप्त गरे भन्ने शब्द प्रयोग गरिनुपर्ने कारण रहेको उनले बताए । उनले थप भने, ‘अहिले भारतमा यस्तोमा सहिद भनिँदैन ।’
यसैगरी नेपालमा भने सहिद शब्दको प्रयोग राणाविरोधी आन्दोलनमा लागेकाहरू, जो मुख्य सत्ताविरुद्धको संघर्षमा मारिए, लाई सन् १९५१ पछि हाम्रा चार अमर सहिद भनेर त्यसको मान्यता दिइएको उनी बताउँछन् ।
‘नेपालमा सत्ताको विरुद्धमा लड्नेमा अन्तिम सहिदको अन्तिम रूपमा दुर्गानन्द झालाई लिइन्छ । जसले महेन्द्रको मोटरमा जनकपुरमा बम फालेका थिए,’ उनी भन्छन्, ‘त्यसपछि सहिदका लागि व्यापक बनाइयो । माओवादीभन्दा तत्कालीन मालेले सन् १९७० को दशकदेखि नै जो संघर्षमा हाम्रा कमरेडहरू मारिए,कमरेडहरू सहिद हुन् भन्ने आयो, माओवादीले सहिदको कुरा उठाए, मधेस आन्दोलनमा सहिदको कुरा आयो ।’
यसमा उनको तर्क छ, ‘मोटो ‘श’ ले लेखिनेहरू पुराना र प्रज्ञा प्रतिष्ठानको शब्दकोशले लेख्ने पातलो ‘स’ त्यसपछिका नयाँ सहिदहरू हुन् ।’
अहिले पछिल्लो समय झै–झगडा, दुर्घटना र विभिन्न प्रदर्शनका क्रममा ज्यान गुमाएकालाई व्यक्तिलाई पनि सहिद घोषणा गरी १० लाख रुपैयाँ आर्थिक सहयोग दिनुपर्ने दबाब देखिन थालेको छ । यसबारे लाल भन्छन्, ‘अहिले कस्तो छ भने सरकारले घोषणा गरे सहिदहरू हुन्छन् । त्यसमा १० लाख दिन्छ । त्यसमा कुनै कर्मचारीको मृत्यु भयो र कुनै कर्तव्य पालनका सिलसिलामा वीर गति प्राप्त गर्यो भने खासै हुँदैन । सहिद घोषणा गर्यो भने उसको परिवारले १० लाख पाउँछ । कहिलेकाहीँ मोटरको दुर्घटनामा मारियो भने १० लाखको लोभले सहिद घोषणा गराउन यहाँ हडताल हुन्छ । यो १० लाखको लोभमा पातलो ‘स’ वाला सहिदको संख्या बढ्दै गइरहेको छ । तर आस्थाका लागि जानी जानी ज्यान जोखिममा उठाएर ज्यान अर्पण गर्ने मोटो ‘शहीद’ वाला घट्दै गएका छन् ।’
त्यति मात्र नभई उनी माओवादी सशस्त्र द्वन्द्वमा मारिएकाहरू पनि सहिद नभई वीरगति प्राप्त गरेको तर्क राख्छन् । ‘माओवादीहरूको तर्क यही गलत हुन्छ । उनीहरू एकातिर जनसेना भन्ने । यदि सेना हो भने तिनले तलब पाएका छन् । त्यो तलब लिन्थे, सुविधा लिन्थे, ब्यारेकमा बस्थे, तिनले कर्तव्य पालनको सिलसिलामा वीरगति पाएका हुन् । वीर सहिद कहाँ भए ? उनीहरू विचारधाराप्रति समर्पित रहेको हो, तर वीरगति प्राप्त गरेका हुन्, सहिद होइनन् । सत्य र कर्तव्यको बीचमा फरक छुट्याउनु पर्यो ।’
जनमत पार्टीका महासचिव चन्दन सिंह सहिदको परिभाषा दिँदै भन्छन्, ‘कुनै देशका लागि वा विशेष किसिमको देशमा परिवर्तनका लागि समय–समयमा विभिन्न किसिमको आन्दोलन भइरहेको हुन्छ । त्यो आन्दोलनको जगमा त्यो आन्दोलनमा सहारा दिने सबैलाई सहिद मान्दछौं ।’ त्यतिमात्र नभई अधिकार, पहिचान, संघीयता र समावेशिताका लागि होमिएकाहरू पनि सहिद हुने उनको भनाइ छ । यसमा राज्यले के आधारमा सहिद घोषणा गरिरहेछ भन्ने कुरालाई पनि ध्यानमा राख्नुपर्ने उनको तर्क छ ।
कति छन् त सहिद ?
गृह मन्त्रालयका अनुसार हालसम्म १४ हजार ६ सय ८ जना सहिद घोषणा भइसकेका छन् । मन्त्रालयका सह–सचिव एवं प्रवक्ता रामचन्द्र तिवारीका अनुसार विभिन्न समयमा मुलुकका लागि र राजनीतिक परिवर्तनका लागि वीरगति प्राप्त गरेकालाई सरकारले सहिद घोषणा गरेको बताए ।
सहिद घोषणा गरिएको उक्त संख्यामा सहिद लखन थापा मगर, चार सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्ददेखि विभिन्न द्वन्द्व तथा आन्दोलनमा परी ज्यान गुमाएकाहरूसमेत समावेश रहेको गृह मन्त्रालयका सूचना अधिकारी एवं सरकारका उप–सचिव दिलकुमार तामाङ बताउँछन् ।
‘यसमा नेपालका विभिन्न लोकतान्त्रिक आन्दोलन, सशस्त्र आन्दोलन, तराई आन्दोलनलगायत सबै प्रहरी, सेना, राज्य र विद्रोही पक्षबाट मरेका र मारिएकाको तथ्यांक हो,’ उप–सचिव तामाङले भने । जसमा नेपाल प्रहरीका १ हजार ४ सय ४८, नेपाली सेनाका १ हजार १८, सशस्त्र प्रहरी बलका ३ सय १८, राष्ट्रिय अनुसन्धान विभागका २३, सशस्त्र द्वन्द्वका क्रममा मृत्यु भएका ८ हजार ४ सय ७१, विभिन्न आन्दोलन तथा घटनामा मृत्यु भएका २ हजार ६ सय ७४ र अन्य ६ सय ५१ जना रहेका छन् ।
कसलाई मान्ने सहिद ?
पाँच सहिदसँगै बाँकी कसलाई मान्ने सहिद ? जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता मनीष सुमनको जवाफ छ, ‘जसले राष्ट्रका निम्ति, राष्ट्रको परिवर्तनका लागि आफ्नो प्राण नै आहूति दिए, जसको कुनै निजी स्वार्थ थिएन, प्राय: सबै सहिद राज्यद्वारा मारिएका हुन् । यसरी मारिएका, हत्या गरिएका र आफ्नो प्राण नै आहूति दिएकालाई हामी सहिद मान्न सक्छौं ।’
ती सहिदहरू नयाँ पुस्ताका लागि प्रेरणाका स्रोत हुने र सहिदका परिवारको जिम्मेवारी पनि राज्यले बहन गरिदिनु पर्ने उनको तर्क छ । ‘आन्दोलन सफल भएपछि तिनका परिवारको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ । तिनलाई सामान्य क्षतिपूर्ति दिएर मात्र हुँदैन,’ उनी भन्छन्, ‘तिनका परिवारको पालनपोषण राज्यले जिम्मेवार लिनुपर्दछ । ती सहिदहरूका गाथा राज्यले पाठ्यक्रममा राख्नु पर्छ । भावी सन्ततिले केही सिक्न पाऊन् ।’ सहिदहरूलाई सम्झना गर्न उनीहरूको नामबाट पूर्वाधार निर्माण गरिनुपर्ने समेत उनी सुझाउँछन् ।
‘नेपाल परिवर्तनशील देश हो । छिटोछिटो अवधिमा नेपालका थुप्रै राजनीतिक परिवर्तन भए । माओवादी जनयुद्धका सहिद थप भएर सहिदको संख्या बढेको हो । तर सहादत भएका प्रति राज्यले १० लाख क्षतिपूर्ति बाहेक केही दिएजस्तो लाग्दैन,’ उनी भन्छन्, ‘त्यो अवस्थामा साँच्चै भन्ने हो सहिदको संख्यामा जान पर्दैन । मधेस आन्दोलनका सबै सहिदलाई सम्मान दिइएको छैन । केही छुटेका छन् । तिनलाई पनि समावेश गरिनुपर्छ ।’
कांग्रेसका कार्यालय सचिव समेत रहेका सांसद कृष्णप्रसाद पौडेल पनि नेपालको राजनीतिक आन्दोलनमा विभिन्न कालखण्डमा धेरै जनाले जीवन आहूति दिएकाले यसको संख्यामा धेरै वा थोरै भनेर टीकाटिप्पणी गर्न आवश्यक नभएको बताउँछन् ।
‘हामीले पनि के महसुस गर्नुपर्छ भने माओवादी आन्दोलनको समयमा जति पनि पीडित साथीहरू छन्, उनीहरूलाई समयमा सम्बोधन गर्न नसकेको कुरा सत्य हो,’ उनले भने, ‘अहिले कांग्रेस र एमालेको संयुक्त सरकारले सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक पास गरेको छ । सरकार यसमा संवेदनशील छ । उहाँहरूलाई आत्मसम्मान हुने गरी काम गर्न सरकार लागेको छ ।’
साथै कांग्रेस द्वन्द्वपीडितहरूको मनोभाव बुझेर पुरा गर्ने र अन्याय नहुने ढंगले नेतृत्व गरेर अगाडि बढ्नेसमेत उनले बताए ।
‘मुलुकको लोकतान्त्रिक आन्दोलनमा धेरै अग्रज नेताहरूले आफ्नो जीवन गुमाउनु भएको छ । त्यसमा नेपाली कांग्रेसले उच्च सम्मान गर्छ,’ नेता पौडेल भन्छन्, ‘सहादत प्राप्त गरेका परिवारको लागि उक्त रकम उपलब्ध गराइएको हो । परिवारको जीविकोपार्जनका लागि उहाँको परिवारका लागि राहत होस् भनेर सहयोग उपलब्ध गराएको भनेर हामी सबैले बुझ्न जरुरी छ ।’
२०१२ सालदेखि महानगरले मनाउँछ ‘सहिद सप्ताह’
काठमाडौं महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरेको छ । विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि सहादत प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते ‘सहिद दिवस’ मनाइन्छ । महानगरले २०१२ सालदेखि सहिद सप्ताह मनाउन थालेको हो ।
माघ १० गते सहिद शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचली, माघ १३ गते सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थान शोभा भगवतीमा उनीहरूको स्मृति र सम्मानमा माल्यार्पण गरी मनाउने गरेको छ ।
महानगरले किन सहिद सप्ताह मनाउने गरेको छ ? प्रश्नमा महानगर प्रवक्ता नवीन मानन्धरको जवाफ छ, ‘जसले देशमा सामन्तीबाट छुटकारा पाउन ज्यानको आहूति दिए, देशका लागि कहिल्यै सम्झौता नगर्ने, नझुक्ने र महानगरबासी भएको हुनाले, नेपाल सरकारले सहिद दिवस मनाउने जिम्मेवारी महानगरलाई दिएको हुँदा हामीले गौरवका यी चार सहिदको सम्झनामा सालिकहरूमा माल्यार्पण गरी सहिद सप्ताह मनाउँछौं । माघ १६ गते बृहत् कार्यक्रम आयोजना गरी मनाउँछौं ।’ यी चार सहिदले आफ्नो निजी जीवनबाट जनतालाई निरंकुश शासनबाट मुक्त गर्न नि:स्वार्थ लागेको उनको भनाइ छ ।
‘बेपत्ताहरुलाई कसले सम्झिने ?’
२०५९ असार ३ गते विपिन भण्डारी पक्राउ परे । उनी तत्कालीन विद्रोही पक्ष माओवादीका विद्यार्थी नेता थिए । स्वर्गीय रवीन्द्र अधिकारीका समकालीन साथी पनि हुन् र वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलसँगै विद्यार्थी राजनीतिमा थिए उनी । २०५९ असार ३ गते विपीन र दिलबहादुर राईलगायत माओवादी भएकै आरोपमा १ हजार ९५ जना तत्कालीन शाही सेनाबाट पक्राउ परी बेपत्ता पारिए ।
विपीन पक्राउ परी बेपत्ता पारिँदा २२ वर्षका थिए । उनी बेपत्ता भएको पनि २२ वर्ष भइसकेको छ । तत्कालीन विद्रोही पक्ष माओवादी र सात दलबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता (सीपीए) भएको पनि १८ वर्ष पुगेको छ । सीपीएमा भएको १२ बुँदै सम्झौताअनुसार बेपत्ताहरूको टुंगो लगाउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि गठन भयो ।
त्यसपछि विद्रोही पक्ष माओवादीको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल पटक–पटक सरकारमा आए । तर पनि बेपत्ताहरूको खबर नपाएको विपिनका बुवा एकराज सुनाउँछन् । राज्यले बेपत्ता पारिएका र उनीहरूको परिवारलाई सम्बोधन गर्न नसके उनी आफ्ना छोराहरू जस्तैको त्यागले देशमा परिवर्तन आएको प्रति गर्व गर्छन् ।
‘मेरो छोराजस्तै हजारौंका छोराछोरी, सन्तानहरूले ज्यान गुमाउनु पर्यो । हजारौंका योद्धाहरू मारिनुपर्यो र बेपत्ता भए । कति धेरै घरबारबिहीन भए, कति अपांग भए । ती सबैको त्यागमा मेरो सन्तानको पनि सानो त्याग हो । त्याग भएको सन्दर्भमा म मेरो सन्तानप्रति गौरव गर्छु । यो देशको परिवर्तनमा हाम्रो सन्तानले पनि केही योगदान गर्यो भन्ने लाग्छ,’ उनी भन्छन्, ‘देशमा परिवर्तन भयो । तर परिवर्तनलाई संस्थागत गर्न सकेनौं । मैमाथि कयौं पटक झूटा मुद्दा लगाइएको छ । डरलाग्दो स्थिति थियो । अहिले परिवर्तन भएको छ । कोही न कोहीले गुमाउनु पर्थ्यो त्यसमा म परेँ ।’ एक बुवा र परिवारको हिसाबले आफ्नो सन्तान गुमाउनुको पीडा असह्य हुने भए पनि देशको परिवर्तनका लागि कोही न कोही सहिद हुनुपर्ने उनी सुनाउँछन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अनुसार १३ सय जना बेपत्ता पारिएको उनको भनाइ छ । ‘संविधान बन्यो । तर युद्धमा मानवअधिकार उल्लंघनका ज्यादतीहरूलाई शान्ति प्रक्रियाले टुंगो लगाउन सकेन । यो विषय कुनै पनि राजनीतिक दलको प्राथमिकतामा परेको व्यवहार र परिणामले देखाएन । हामी परिवारहरूलाई परिणाम चाहिएको हो,’ विपीनका बुवा एकराज सुनाउँछन् ।
नेपाल छोटो समयमा विभिन्न राजनीतिक परिवर्तनको साक्षी बनेको देश हो । नेपालले एकलौटी राजतन्त्र, बेलायतको जस्तो संवैधानिक राजतन्त्र, राणाको निरंकुश शासन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास गरिरहेको छ । यी राजनीतिक परिवर्तनका लागि धेरैले ज्यान गुमाए । २०५२ सालमा उदाएको माओवादीको सशस्त्र विद्रोह होस् वा २०६२/६३ मा गणतन्त्र स्थापना गर्ने क्रममा तत्कालीन राज्यपक्ष र विद्रोहीपक्ष दुवैले ज्यान गुमाए ।
‘यसकारण परिवर्तनको सन्दर्भमा हाम्रा चार सहिदका सन्तानले पनि गौरव गर्नुहुन्छ होला । तर ती नेताहरूले यी महान् सहिदको योगदानलाई संस्थागत गर्न सकेका छन् त ?,’ उनी भन्छन्, ‘दशरथ चन्द, शुक्रराज, धर्मभक्त, गंगालालले सोचेजस्तो नेपाल बनाउन सकेका छैनन् । पीडा हुन्छ त्यो आफ्नो ठाउँमा छ तर परिवर्तन भएको छ ।’
बेपत्ता पारिएकाहरूको परिवारमा पीडा रहेकाले त्यसबाट मुक्त गराइदिनुपर्ने उनले बताए । बेपत्ता पारिएकहरू सार्वजनिक गरिनुपर्ने समेत उनले सुनाए । ‘मेरोलगायत हजारौं मान्छे बेपत्ता पारिएका छन् । त्यो पीडा हुन्छ । त्यो पीडाबाट मुक्त गरिदेऊ । सबैभन्दा पहिला सार्वजनिक गरिदेऊ । सार्वजनिक गर्नैपर्छ । त्यो प्रतिबद्धता पनि गरिएको छ,’ उनी भन्छन्, ‘यिनको योगदानलाई संस्थागत गरिदेऊ । उनीहरूको अभिभावत्व राज्यले लिनुपर्छ ।’
