काठमाडौँ — नेपालका गान्धी भनेर चिनिने कृष्णप्रसाद कोइराला कुनै बेला भन्सारको ठेक्का गर्थे । उनको कृषि, ठेक्का र व्यापार धुमधाम चलेको थियो । उनलाई जताततै लाभ भइरहेको थियो । जे छोयो, त्यसैमा लाभ भइरहेकाले उनमा आत्मसन्तुष्टि थियो ।
उनै कोइराला वि.सं १९७४ साउनको अन्तिम साताको एक दिन सिरहाको चन्द्रगन्जस्थित आफ्नै कार्यालयस्थित काँटामा केही तौलाइरहेका थिए । त्यसैक्रममा पहाडी क्षेत्रबाट झरेका गरिब र दयनीय अवस्थाका केही मानिस त्यहाँ देखिए । ती मानिसले जीउ ढाक्न लगाएको कपडा झुत्रो थियो ।
कोइरालाले एक जना सहयोगीलाई उनीहरूलाई नयाँ कपडा सिलाइदिन र त्यसमध्ये एक जनाको कपडा आफूलाई दिन अह्राए । र, त्यो झुत्रो कपडा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल पठाए । झुत्रो कपडामा पनि उनले घेरो मात्र भएको टोपी र लगौँटी पठाएका थिए । पार्सलसँगै उनले पत्र पनि पठाएर ९५ प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीमा बाँचेको अवगत गराए । खासमा गरिब जनताको दयनीय अवस्था प्रतिविम्बित होस् भनेरै कोइरालाले यो उपाय रचेका थिए ।
कृष्णप्रसाद कोइरालाका बुबा नन्दीकेश्वर आफ्नो समयमा काठमाडौंमा डिट्ठा भएका थिए । पारिवारिक मूल थलो भने सिन्धुलीको दुम्जा थियो । नन्दीकेश्वरका जेठा छोरा अर्थात् कृष्णप्रसादका जेठा दाजु कालिदास पनि राणा सरकारकै जागिरे थिए । जागिरमा उनको उन्नति पनि भइरह्यो । एक दिन प्रधानमन्त्री वीरशमशेरकी मन परेकी केटीका दाजुलाई कालिदासले न्यायिक दण्डित गरेका थिए । तर केटीले वीरशमशेरलाई कुरा लगाइदिइ । परिणामतः कालिदास चार भञ्याङ कटाइए । आफ्नो पेसामा काबिल रहेका पछि उनको पुनर्नियुक्ति भने भयो ।
राणा शासकसँग निकट सम्बन्ध रहेका, भन्सारको ठेक्का गरेर आर्थिक अवस्था सबल बनाएका र पूर्वी क्षेत्रमा लोकप्रिय छवि बनाएका कृष्णप्रसादको जीवनमा सो पार्सलले उथलपुथल ल्याइदियो । उनी रातरात भागेर भारत निर्वासित हुनुपर्यो । गरिबीका चक्र बेहोर्नुपर्यो । र, अन्ततः नेपाल फर्किएर राणाकै बन्दी भएर मर्नुपर्यो । यो सामग्री उनै कृष्णप्रसादको विषयमा केन्द्रित रहनेछ ।
बसाइँसराइदेखि राणा शासनसँगको सम्बन्ध
कृष्णप्रसाद कोइरालाका बुबा नन्दीकेश्वर आफ्नो समयमा काठमाडौंमा डिट्ठा भएका थिए । पारिवारिक मूल थलो भने सिन्धुलीको दुम्जा थियो । नन्दीकेश्वरका जेठा छोरा अर्थात् कृष्णप्रसादका जेठा दाजु कालिदास पनि राणा सरकारकै जागिरे थिए । जागिरमा उनको उन्नति पनि भइरह्यो । एक दिन प्रधानमन्त्री वीरशमशेरकी मन परेकी केटीका दाजुलाई कालिदासले न्यायिक दण्डित गरेका थिए । तर केटीले वीरशमशेरलाई कुरा लगाइदिइ । परिणामतः कालिदास चार भञ्याङ कटाइए । आफ्नो पेसामा काबिल रहेका पछि उनको पुनर्नियुक्ति भने भयो ।
कालिदास काठमाडौंमा रहँदा कृष्णप्रसाद पनि गइरहन्थे । काम सिक्थे । कृष्णप्रसादले काठमाडौंमै बेलायती दूतावासका एक जना कर्मचारीबाट अंग्रेजी भाषा सिकेका थिए । उनलाई संस्कृत तथा फारसीको ज्ञान पनि थियो । काठमाडौंमा आफ्ना दाजु कालिदासलाई जागिरबाट जसरी हटाइयो, त्यसले कृष्णप्रसादमा ठूलै प्रभाव पारेको थियो । त्यसपछि उनले संकल्प लिएका थिए- ‘म कहिल्यै पनि जागिर खान्नँ ।’ यद्यपि पछि उनले आफ्नो यो संकल्प केही समयका लागि तोड्नुपरेको थियो ।
चन्द्रशमशेर प्रधानमन्त्री भएका बेलामा कृष्णप्रसादको परिवार दुम्जाबाट तराई क्षेत्रमा झरेको थियो । उनीहरू मोरङ पुगेका थिए । अचेल विराटनगर भनिने त्यस ठाउँको नाम गोग्राहा थियो । क्रमशः व्यापारका सम्भावना खुल्दै गएको त्यही ठाउँमा उनी बसाइ सरेका थिए । बिस्तारै कृष्णप्रसाद पनि परिपक्व हुँदै गए । उनले सम्हालेको व्यापार व्यवसाय राम्रोसँग चलेको थियो । त्यतिबेला नेपालमा चुरोट ल्याउने एकाधिकार उनीसँग मात्रै थियो । यद्यपि, उनी व्यापारी मात्रै थिएनन् । आफ्नो नाफामा मात्रै रुचि राख्ने प्रवृत्तिको थिएनन् । देश-दुनियाँका खबरहरू लिइरहन्थे । अन्तर्राष्ट्रिय राजनीतिक समाचारको जानकारी लिनका लागि भारतबाट पत्रपत्रिका मगाउँथे । उनी धर्म, व्यवहार र रीतिरिवाजका बारेमा आधुनिक दृष्टि राख्थे ।
कृष्णप्रसादले मात्रै होइन, उनकी पत्नी दिव्या कोइरालाले पनि चन्द्रशमशेरकी महारानी बालकुमारी देवीलाई पत्र लेखेकी थिइन् । त्यसमा उनले नारीहरूलाई देश हितका कार्यमा प्रोत्साहित गर्नका लागि एउटा संघ खोल्नुपर्ने आवश्यकता औँल्याएकी थिइन् । उनले त्यसको संरक्षक वा सभापति महारानी नै बस्दा नारीहरू प्रोत्साहित हुने पनि अवगत गराएकी थिइन् । सोही अनुसार १९७४ असारमा बालकुमारी देवी अध्यक्ष र दिव्या कोइराला सचिव रहेको ‘महिला समिति’ गठन भएको थियो । त्यो नै नेपालमा महिलाको हक हित र जागरणका निमित्त स्थापित पहिलो संस्था थियो ।
कृष्णप्रसादकी माइली छोरी इन्दिरा आचार्यको भनाइ छ- ‘पिताजीमा आधुनिकपन धेरै थियो । उहाँको दृष्टिकोण माथिल्लो तहको थियो । उहाँ सानो कदको, फुर्तिलो, जीवनमा सधैं नयाँ कुरा खोज्ने परिस्थितिलाई आफ्नो वशमा राख्ने खालको हुनुहुन्थ्यो । सानातिना कुरालाई उहाँले कहिल्यै स्थान दिनुभएन ।’
त्यतिबेला नेपालका सबै भन्सारहरू ठेक्कामा चल्ने गर्थे । कृष्णप्रसादले दक्षिणी सिमानाका धेरै ठाउँको ठेक्का लिएका थिए । व्यापारको सिलसिलामा उनी भारतीय सहरहरू पटना, कलकत्ता र बनारसतिर गइरहन्थे । त्यस समयमा ती सहरहरू भारतको राष्ट्रिय जागरणका केन्द्र थिए । आवतजावतका क्रममा भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न कतिपय व्यक्तिहरूसँग उनको भेट भइरहन्थ्यो । त्यसले उनमा भारतमा चलिरहेको आन्दोलनप्रति रुचि जगाएको थियो । आन्दोलनका विषयमा जानकारी लिनका लागि उनी 'स्टेट्स्यमान' तथा 'अमृत बजार'जस्ता पत्रिका किनेर पढ्थे ।
हरेक क्षेत्रमा सफल हुँदै गएका उनलाई एक दिन महसुस भयो- ‘उनको सफलता सबै आफू र आफ्ना परिवारका निम्ति मात्रै भयो । अरूका निम्ति केही भएन ।’ त्यसपछि उनले अस्पताल र विद्यालय खोल्न सुरु गरे । त्यसका लागि उनले कलकत्तामा विज्ञापन गरेर एउटा डाक्टर र शिक्षक ल्याएका थिए । उनकै पहलमा विराटनगरमा आदर्श विद्यालय, काली मन्दिर, हुलाक, धर्मशाला आदि स्थापना भएको थियो ।
खासमा कृष्णप्रसादलाई चन्द्रशमशेर बुद्धिमान भएको र उनले चाहे भने नेपालको सामाजिक-आर्थिक सुधार गर्न सक्छन् भन्ने विश्वास थियो । त्यसैकारण पनि उनी चन्द्रशमशेरलाई पत्रहरू लेखिरहन्थे । उनको पत्रमा देशमा औद्योगिक विकास गर्ने र स्कुल, अस्पताल इत्यादिको व्यवस्था गर्ने अनुरोध हुन्थ्यो । उनको सुझावलाई चन्द्रशमशेरले पनि ध्यानपूर्वक सुन्थे ।
कृष्णप्रसादले आधा जनसंख्या नारीहरूको रहेकाले उनीहरू उपेक्षित अवस्थामा रहिरहनुपर्यो भने, मुलुकले उनीहरूको श्रम र सीपको उपयोग गर्न पाएन भने त्यस्तो मुलुकले कहिल्यै उन्नति गर्न नसक्ने भएकाले नारी जागरणका केही आधारभूत कार्यहरू तत्कालै गर्न अनुरोध गर्दै पत्र पठाएका थिए ।
बीपी कोइरालाको आत्मवृत्तान्तमा कृष्णप्रसादले चन्द्रशमशेरलाई व्यंग्य गर्दै पत्रमा आफूले लगाएको र प्रजाको पोसाकको फरक हेर्न भनेर पार्सल पठाएको भनेर लेखेको उल्लेख गरेका छन् । पत्रका उल्लेखित विवरणबारे बीपीले भनेका छन्, ‘यो खोल्दा गन्हाउला, त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाई हेरिबक्सेला ।’
कृष्णप्रसादले मात्रै होइन, उनकी पत्नी दिव्या कोइरालाले पनि चन्द्रशमशेरकी महारानी बालकुमारी देवीलाई पत्र लेखेकी थिइन् । त्यसमा उनले नारीहरूलाई देश हितका कार्यमा प्रोत्साहित गर्नका लागि एउटा संघ खोल्नुपर्ने आवश्यकता औँल्याएकी थिइन् । उनले त्यसको संरक्षक वा सभापति महारानी नै बस्दा नारीहरू प्रोत्साहित हुने पनि अवगत गराएकी थिइन् । सोही अनुसार १९७४ असारमा बालकुमारी देवी अध्यक्ष र दिव्या कोइराला सचिव रहेको ‘महिला समिति’ गठन भएको थियो । त्यो नै नेपालमा महिलाको हक हित र जागरणका निमित्त स्थापित पहिलो संस्था थियो ।
झुत्रो कपडाको पार्सल र भारत निर्वासन
सुरुमै चर्चा भइसक्यो, कृष्णप्रसाद कोइरालाले भन्सारको ठेक्का लिएका थिए र सिरहाको चन्द्रगन्जस्थित कार्यालयबाट उनले झुत्रो कपडा लिएर चन्द्रशमशेरलाई पार्सल गरेका थिए । संयोग थियो, झुत्रो कपडा लिइएको त्यो चन्द्रगन्ज भन्ने ठाउँको नाम कृष्णप्रसादले चन्द्रशमशेरको नामबाट नामकरण गराएका थिए ।
पार्सलसँगै पत्रमा लेखेका थिए- नेपालका ९५ प्रतिशतभन्दा अधिक जनता यस्तै निरपेक्ष गरिबीको अति दयनीय हालतमा बाँचेका छन् । तिनीहरू पेटभरि खान पाउँदैनन् । तिनीहरूले लाउन पाएको वस्त्र यही हो । तर तिनीहरूको उत्थानका निमित्त सरकारबाट कुनै कार्यको थालनी भएको छैन । शासक वर्ग केवल आफ्नै धन थुपार्ने होडमा छन् । यो शोभनीय कुरा होइन । यी ३ महाराजले जनताको यो अति दारुण अवस्थाको निराकरण गर्न उचित कदम चाल्न आवश्यक छ ।
पत्रमा चरम गरिबीको कारण के हो र कुन-कुन कार्यहरू गरिएमा जनताको जीवनस्तर उठ्न सक्छ ? त्यसको योजना पनि उल्लेख गरिएको थियो ।
बीपी कोइरालाको आत्मवृत्तान्तमा कृष्णप्रसादले चन्द्रशमशेरलाई व्यंग्य गर्दै पत्रमा आफूले लगाएको र प्रजाको पोसाकको फरक हेर्न भनेर पार्सल पठाएको भनेर लेखेको उल्लेख गरेका छन् । पत्रका उल्लेखित विवरणबारे बीपीले भनेका छन्, ‘यो खोल्दा गन्हाउला, त्यसो हुनाले सरकारले टाढै बसेर खोल्न लगाई हेरिबक्सेला ।’
झुत्रो कपडा र पत्रले चन्द्रशमशेर क्रुद्ध भए । तत्कालै त उनले कुनै कदम चालेनन् । यद्यपि, कृष्णप्रसादलाई पक्राउ गर्ने आदेश आउन सक्नेबारे चर्चा भइरहेकै थियो । पार्सल पठाएको केही समयपछि अर्थात् १९७४ असोजमा कृष्णप्रसाद कोइराला र उनका मातहत सबैलाई पक्राउ गर्नु भनेर विराटनगरका बडाहाकिम कर्णेल जितबहादुर खत्रीलाई गोप्य आदेश पठाए । त्यसअघि चन्द्रशमशेरले भन्सार ठेक्का तोडेका थिए । भन्सारको त्रिसाला (तीनवर्षे) ठेक्का म्याद नपुग्दै तोडेर सरकारको बाँकी नबुझाएको आरोप लगाई उनलाई गिरफ्तार गर्ने आदेश पठाएका थिए ।
रोचक कुरा के छ भने, उनै बडाहाकिम जितबहादुर र कृष्णप्रसादको सम्बन्ध केही पुरानो र राम्रो थियो । जितबहादुर सप्तरीको बडाहाकिम रहँदा कृष्णप्रसादलाई आफ्नै मातहतको खरिदार पदमा नियुक्त गरेका थिए । खरिदारको रूपमा कृष्णप्रसादले केही महिना काम गरेर छाडेका थिए ।
उनै बडाहाकिम जितबहादुर र पार्सल पठाउने कृष्णप्रसाद १९७४ असोजको एक साँझ कुरा गरिरहेका थिए । कार्यालय समयपछि कृष्णप्रसाद बडाहाकिम जितबहादुरसित उनकै निवासमा त्यहाँका अस्पतालका बारेमा कुरा गरिरहेका थिए । त्यहीबेला हुलाकीले बडाहाकिम कार्यालयको फाँटवाला कर्मचारीलाई लाहाछाप बन्द एउटा पत्र बुझाए । सिंहदरबारबाट आएको र चन्द्रशमशेरको विशेष आदेशवाला पत्र भएकाले फाँटवालाले तुरुन्तै बडाहाकिमलाई बुझाउन ल्याए । कतै कृष्णप्रसाद पक्राउ गर्नु भन्ने आदेशयुक्त पत्र नै त होइन भन्ने शंका लागेर हुनसक्छ बडाहाकिमले सो पत्र भोलि कार्यालयमा बुझाउनु भनेर फिर्ता दिए ।
पिताजीको गरिबी झल्काउन बीपीले आत्मकथामा लेखेका छन्- हाम्रो घरमा भोकभोकै बस्नुपर्थ्यो, खाना थिएन । त्यसताका हाम्रो परिवार बेतिया थियो; कोही कहाँ, कोही कहाँ थिए । अखबार बेच्थे हाम्रा मान्छेहरू । अखबार बेचेर आएको पैसाबाट किनमेल गरी कुँडो बनाउँथे, धेरै पानीमा पिठो-तरकारी सबैथोक हालेर पकाएर खान्थे ।
एकातिर कृष्णप्रसाद कोइरालाको इमानदारी र देशप्रतिको सेवाभावबाट बडाहाकिम जितबहादुर प्रभावित थिए । अर्कोतिर, जितबहादुर स्वयं कर्तव्यपरायण प्रशासक थिए । त्यसैले पत्रमा कृष्णप्रसादलाई पक्राउ गर्नु भन्ने आदेश रहेछ भने तत्कालै पक्राउ गर्नुपर्ने हुन्थ्यो । उनलाई नैतिक अप्ठ्यारो सिर्जना हुन्थ्यो । त्यसैले उनले पत्रलाई पन्छाए । कुराकानीको विषयलाई पनि पन्छाए । बरू अप्रत्याशित रुपमा कृष्णप्रसादलाई ‘आफ्नो व्यापारको निमित्त कहिले हिन्दुस्तान जाँदै हुनुहुन्छ ?’ भनेर सोधे । कृष्णप्रसादले सहज रूपमा उत्तर दिए, ‘दशैं मानेर जान्छु ।’ बडाहाकिमले अझ अगाडि बढेर भने, ‘दशैं त प्रत्येक वर्ष आइरहन्छ नि ! आफ्नो व्यापारमा पनि दशैं, तिहार पर्खेर हुन्छ ?’
बडाहाकिमले पत्रलाई तत्काल नखोली पन्छाएका थिए । कृष्णप्रसादलाई भारत जानेबारे सोधेका थिए । दशैं तिहार नपर्खिन सुझाएका थिए । बुझ्नेलाई इसारा काफी थियो । कृष्णप्रसादले स्थितिको गम्भीरता बुझे । उनी त्यहाँबाट आफ्नो घर गएनन्, सरासर सीमापारि जोगवनी पुगे । राति नै आफ्ना सबै परिवारलाई जोगवनीमा भित्र्याए ।
बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा कृष्णप्रसादले बडाहाकिमकै घोडा लिएर गएको उल्लेख गरेका छन् । घोडा लिएर गोलामा गएको, त्यहाँ भएको पैसा लिएको, एक जना आफन्तसँग गएर पैसा मागेको जस्ता विवरण पनि उनले उल्लेख गरेका छन् ।
भोलिपल्ट कार्यालय समयमा बडाहाकिमले पत्र खोले । नि:सन्देह त्यसमा कृष्णप्रसादलाई तुरुन्त पक्राउ गर्नु र भाग्न-उम्किन नदिई, अड्डासार गरी पठाइदिनु भन्ने आदेश थियो । साथै उनको परिवारका सबै सदस्यलाई कडा निगरानीमा घरमै नजरबन्द गरेर राख्नु भनिएको थियो । उनको भन्सार मातहतका सबै कर्मचारीलाई पनि पक्राउ गरी, जाहेर गर्नु भनिएको थियो ।
भारतमा रहँदाको अवस्था र सक्रियता
अघि नै चर्चा गरिसकियो, कृष्णप्रसाद भन्सारको ठेक्का गर्थे । उनी मातहतका कर्मचारीलाई पनि पक्राउ गर्नु भन्ने आदेश भएकाले कर्मचारीहरूले पनि देश छाडेका थिए । पछि सबैको भारतमै मिलन भयो । 'पिताजी कृष्णप्रसाद कोइराला स्मृतिग्रन्थ' मा उनका जेठा पुत्र मातृकाप्रसाद कोइरालाको भनाइ उल्लेख छ- ‘काशीमा सबै परिवार थुप्रियो हाम्रो मात्रै हैन, भान्दाजी रामचन्द्र अधिकारीको, काका विष्णुप्रसाद कोइरालाको, मामा बाजे जनकप्रसाद ढुंगेल र अरु एक दुई परिवारको । यी सबै पिताजीको भन्सार कारोबारका मानिस थिए । … ठाउँठाउँबाट पैसा लिइ भागी आएका मानिसहरूको रुपियाँ जम्मा गर्दा ८०/८५ हजार पुगेका रहेछ । पिताजीले बीमा गरेर सोझै चन्द्रशमशेरकहाँ पठाइदिनुभयो । आमाहरूको नपठाउने आग्रहको विपरीत । पिताजीको तर्क थियो, ‘मैले राणाहरूलाई विदेश पैसा नपठाऊ भन्ने- मचाहिँ राख्ने कसरी हुन्छ ?’
कृष्णप्रसादसँगै केटाकेटी, महिला लगायत ४५ जनाको टोली थियो । उनीहरू बनारस पुगे । बनारसमा कृष्णप्रसादकी आमा राज्यलक्ष्मी केही वर्ष पहिलेदेखि नै काशीवासमा थिइन् । सबै त्यहीँ गए । त्यसपछि भारतका विभिन्न ठाउँमा बस्दै र सर्दै उनीहरूले १२ वर्ष बिताए । भारत निर्वासनलाई बीपीले १२ वर्षे वनबास जस्तो कठोर रहेको उल्लेख गरेका छन् ।
सुरुवातमा बनारसमा बसेका कृष्णप्रसादको परिवार पछि भागलपुरको टेंढी भन्ने ठाउँमा गयो । बासुदेव बर्मा भन्ने एक जना व्यक्तिले आफ्नो बहिनीको नाममा रहेको पैसाहरू उपलब्ध गराएका थिए । अरुहरूले पनि त्यसमा मद्दत गरेका थिए । त्यही पैसाले टेंढीमा केही जमिन किनिएको थियो । त्यहीँ मचान जस्तो घर बनाइएको थियो । तर त्यहाँ कोशीको पानीले दुःख दिन्थ्यो । पानी जम्थ्यो । नाउबाट घर-भान्सा गर्नुपर्ने स्थिति हुन्थ्यो । पानी सुकेपछि हैजाको प्रकोप फैलिन्थ्यो । टेंढीमा बीपीले सात कक्षा पास गरिसकेका थिए । बाहिर पढ्न जानका लागि पैसा थिएन । पिताले पठाउन सकिरहेका थिएनन् । त्यसैबखत उनले बहिनी नलिनी र सानिमाको सुन लिएर गएर त्यसलाई बेची बनारसमा पढेका थिए ।
बीपी स्वयं नै एकपटक बिरामी हुँदा तत्कालै अपरेसन गर्नुपर्ने भएको थियो । फी अरुले सहयोग गरे तर एनेस्थेसियाको लागि तिर्नुपर्ने पैसा जुटेन । जसकारण कडा दुखाइ सहँदै र झन्डैझन्डै बेहोस हुने स्थितिमा पुगेर उनको अपरेसन गरिएको थियो ।
पिताजीको गरिबी झल्काउन बीपीले आत्मकथामा लेखेका छन्- हाम्रो घरमा भोकभोकै बस्नुपर्थ्यो, खाना थिएन । त्यसताका हाम्रो परिवार बेतिया थियो; कोही कहाँ, कोही कहाँ थिए । अखबार बेच्थे हाम्रा मान्छेहरू । अखबार बेचेर आएको पैसाबाट किनमेल गरी कुँडो बनाउँथे, धेरै पानीमा पिठो-तरकारी सबैथोक हालेर पकाएर खान्थे । मेरो भाइ थियो हरिहर, ऊ हैजाले मर्यो । उसलाई घाट लैजान कात्रो किन्ने पैसा समेत छैन । छिमेकमा एउटा नेपाली परिवार थियो । घरमा आमा मात्रै हुनुहुन्छ । पिताजी पनि बाहिरै (जयनगर) हुनुहुन्थ्यो । मैले पनि अखबार बेचेको छु । सुशील (कोइराला)का पिता बोधप्रसाद एउटा दुकानमा काम गर्नुहुन्थ्यो । बेलुका अखबार बेच्न जानुहुन्थ्यो, म पनि जान्थें अखबार बेच्न । त्यस्तो अवस्था थियो हाम्रो ।
बनारस बसाइँकै बेलामा कृष्णप्रसाद काम पाइने आसमा कलकत्ता गएका थिए । त्यहाँ उनी घाँटीमा फित्ता बेरेर सामानहरू राखी, हातमा मालसामानको माला बेरेर बेच्दै हिँड्थे । फुटपाथ र ट्राममा बेच्थे । हिँड्दाहिँड्दैको ट्राममा चढ्ने र झर्ने गर्नुपर्थ्यो ।
बीपीको आत्मवृत्तान्तमा पिताजीसँगै पैसा नभएकै कारण घरव्यवहार, यात्रा तथा उपचारमा विभिन्न सहयोगीहरूको मद्दत लिएको कैयौं उदाहरण प्रस्तुत गरिएका छन् । कृष्णप्रसादको परिवार भारतमा निर्वासनमा रहँदा पनि सक्रिय देखिन्थ्यो । त्यहाँ देश विदेशका घटनाक्रममाथि विमर्श भइराख्थ्यो । उनको घरमा फरक-फरक पृष्ठभूमिका मानिसहरू आइराख्थे । उनी नेपाली भएको र उनको व्यक्तित्वको कारणले त्यस्तो भएको बीपीको भनाइ छ ।
कृष्णप्रसादले बौद्धिक काममा पनि आफूलाई जोडेका थिए । भारतमा निर्वासित भएका देवीप्रसाद सापकोटाले प्रकाशित गर्ने ‘गोरखाली’ नामक साप्ताहिक पत्रिकालाई कृष्णप्रसादले सक्रियताका साथ र नियमित रूपमा प्रकाशित गर्न थाले । पत्रिकामा मूलतः नेपालमा राणा शासनबाट गरिएका थिचोमिचोको चर्चा गरिन्थ्यो । उनीहरूका जनविरोधी र राष्ट्रविरोधी कार्यहरूको विरोध गरिन्थ्यो । तर पछि चन्द्र शमशेरको आग्रहमा ब्रिटिश सरकारले गोरखाली पत्रिकाको प्रकाशनमा प्रतिबन्ध लगाइदियो । पछि कृष्णप्रसाद स्वयंले ‘जन्मभूमि’ मासिकको प्रकाशन थाले । तर यो पत्रिका पनि लामो समय भने चल्न सकेन ।
भारतको ब्रिटिश शासकले नेपालको राणा शासकलाई संरक्षित गरेकाले भारतमा जारी स्वतन्त्रता आन्दोलनमा नेपालीहरूले पनि भूमिका खेल्नुपर्छ भन्ने कृष्णप्रसादको मान्यता थियो । त्यसैले उनले भारतमा रहेका नेपालीलाई स्वतन्त्रता आन्दोलनमा सहभागी हुन घच्घच्याए । उनले बनारसका विभिन्न भागमा हुने नेपाली सभा, सम्मेलनमा भाषण दिने गरेको र उनलाई सभामा फूलमाला लगाइदिएको बीपीले सम्झना गरेका छन् ।
उनले आफ्नो परिवारमा बालक उमेरका मातृका र बीपीलाई पनि त्यसमा प्रोत्साहन गरेका थिए । यसबारेको एउटा सन्दर्भ बीपीले आत्मकथामा लेखेका छन् । एकपटक महात्मा गान्धी र जवाहरलाल नेहरुको एउटा सभा भएको थियो अस्सीघाटमा । त्यहाँ गान्धीले सरकारी स्कुल छाडेर राष्ट्रिय स्कुल पढ्न आह्वान गरेका थिए । बीपी जुरुक्क उठेर भन्छन्- हम नहीँ जायंगे स्कुल, हम भी बहिष्कार करेंगे । मातृकाले पनि थपे, ‘हम भी नहीं जायेंगे ।’ त्यतिबेला बीपी आठ वर्षजतिका थिए । उनलाई मञ्चमा लगेर फूलमाला लगाइदिए । घर आएर बीपीले पितालाई सबै कुरा बताइदिए । पिताले भने बीपीले राम्रो गर्यो भने ।
स्वतन्त्रता आन्दोलनमा आफू पनि सक्रियतापूर्वक सहभागी भए । बनारस, कलकत्ता र बिहार प्रान्तको विभिन्न भागमा भारतीय राष्ट्रिय कांग्रेससित सम्बद्ध भएर काम गरेका थिए । यसै सिलसिलामा महात्मा गान्धी, चित्तरञ्जन दास, मदनमोहन मालवीय, डा. राजेन्द्रप्रसाद आदि तत्कालीन नेताहरूसँग उनको निकटतम सम्बन्ध स्थापित भयो । गान्धीको सरल, सत्य र अहिंसा, स्वदेश प्रेम, पिछडिएका र दलित वर्गको उत्थान, स्वदेशी वस्तुमा आत्मनिर्भरता आदिले उनलाई उनलाई गहिरो प्रभाव पारेको थियो । तिनैलाई उनले आफ्नो आदर्श वा जीवनपद्धतिको रुपमा ग्रहण गरे । त्यसैकारण पनि उनलाई ‘नेपालका गान्धी’ वा ‘पिताजी’ भनेर सम्मान गरिन्छ ।
राजनीतिक काममा मात्रै होइन । सामाजिक काममा पनि उनी सक्रिय थिए । भारतमा निर्वासनमा रहेकै बेलामा पनि उनले बिहारमा आदर्श विद्यालय स्थापना गरेका थिए । त्यो केही वर्षसम्म व्यवस्थित रुपले चलेको पनि थियो । तर कोशीको बाढीले त्यहाँबाट सबैलाई विस्थापन गरेपछि विद्यालय नै बन्द हुन पुगेको थियो ।
यसबीच, रोचक कुराचाहिँ के छ भने, निर्वासित अवस्थामा पनि कृष्णप्रसादसँग चन्द्र शमशेरको सम्बन्ध भने कायमै थियो । कृष्णप्रसाद दासप्रथा उन्मुलन हुनुपर्ने भन्ने आग्रह पठाइरहन्थे । जब चन्द्रशमशेरले १९८१ सालमा दासप्रथाको उन्मूलन नै गरे, उनले कृष्णप्रसादलाई पत्र पठाएरै सोधेका थिए- ‘तिमीलाई कस्तो लाग्यो ?’
एक समय छातीको बिरामी भएका बेलामा कृष्णप्रसादलाई चन्द्रशमशेरले सरकारी आयुर्वेदशालाबाट रसादि पठाएका थिए । ती मन्द विष हुन सक्ने भएकाले सेवन गर्न नहुने धेरैको धारणा थियो । तर कृष्णप्रसादले भने, ‘मेरो प्रतिरोधीले सदाशयताका साथ मेरो स्वास्थ्यका प्रति चासो राखेर, औषधि भनेर पठाएको यो वस्तु विष भए पनि मैले खानुपर्छ ।’ उनले त्यसको सेवन गरे । त्यसले फाइदा पनि गर्यो । बिरामी भएर घरमै आराम गरिरहेको त्यस समयमा चन्द्रशमशेरले नेपालबाट नेपालमा छापिएका किताबहरू पठाइदिन्थे ।
यो सम्बन्ध सहज र सहयोगी मात्रै थिएन । १९७७ मा प्रकाशित 'मकैको खेती' पुस्तक र त्यसका लेखक कृष्णलाल अधिकारीलाई दिइएको दण्डले नासु कृष्णप्रसाद कोइरालाप्रति चन्द्रशमशेरको प्रतिशोध पुष्टि हुन्छ । पुस्तक लेखेकै कारण अधिकारीको पुस्तक मात्रै जलाइएन, उनले ९ वर्ष जेल सजाय पनि पाएका थिए । जेलमै उनको निधन भएको थियो । 'मकैको खेती' पुस्तकमा उल्लेखित ‘बेलायती कुकुर’ र ‘भोटे कुकुर’ जस्ता प्रसंगलाई मामुली कुरा भन्दै सरदार भीमबहादुर पाँडेले अर्थको अनर्थ लगाइएको भनेर लेखेका छन् । उनले भनेका छन्, ‘मकैको खेतीको अर्थको अनर्थ लगाई त्यो काण्ड त्यसरी चर्कनाको ठोस कारण थियो नासु कृष्णलाल अधिकारीले भित्रीसञ्चो बनारसमा बस्ने श्री कृष्णप्रसाद कोइरालासँग सम्पर्क राखेका छन् भनी प्रधानमन्त्रीको जुनाफमा परेको गोप्य रिपोर्ट…।’
चन्द्रशमशेर कृष्णप्रसादलाई आदर त गर्थे तर नेपाल आउन दिँदैनथे । नेपाल आउनलाई माफी नै माग्नुपर्छ भन्ने उनको हठ थियो । कृष्णप्रसाद पनि चन्द्रशमशेरलाई त मान्थे । तर माफी माग्दैनथे ।
आफ्नो अवस्था दयनीय भएपछि कृष्णप्रसादलाई लाग्यो अब सहन सकिँदैन । उनले चन्द्रशमशेरलाई अब त धेरै भयो, आउन पाऊँ भनेर चिठी लेखे । तर हुलाकमा खसाउन जाँदा उनको मन बदलियो । चिठी नखसाएरै फर्किए । तर भोलिपल्टै अखबारमा खबर आयो- चन्द्रशमशेरको निधन भयो ।
वि.सं. १९८६ मंसिर १० मा चन्द्रशमशेरको निधन भएको थियो । त्यसपछि भीमशमशेर नयाँ प्रधानमन्त्री बने । केही समयपछि नै उनले कृष्णप्रसादसमेत उनको समूहका सबैलाई आममाफी दिए । आममाफी पाएपछि कृष्णप्रसादको टोली १९८६ माघमा नेपाल फर्कियो ।
नेपाल फर्केपछिको सक्रियता
भारत निर्वासित भएकै अवस्थामा कृष्णप्रसादको सारा सम्पत्ति सरकारले जफत गरिसकेको थियो । मोरङमा रहेको उनको जमिन चन्द्र शमशेरले कतिपय व्यक्तिहरूलाई बकसको रुपमा बाँडिसकेका थिए । अरुले भोगचलन गरिसकेको जमिन फेरि खोसेर कोइरालाले आफूले लिन चाहेनन् । स्वदेश फर्केपछि केही समय उनी काठमाडौंमा नै बसे ।
त्यतिबेला काठमाडौंमा सार्वजनिक पुस्तकालय वा वाचनालय केही थिएन । त्यसैले कृष्णप्रसाद कोइराला, चित्तधर उपासका (हृदय), जोगवीर सिंह कंसाकार र हर्षदास तुलाधर समेत केही व्यक्तिहरूले मछेन्द्र बहालमा एउटा सार्वजनिक पुस्तकालय खोल्ने निर्णय गरे । पुस्तकालय खोल्न राणा शासकबाट स्वीकृति लिनैपर्थ्यो । त्यसैले भीम शमशेरसँग अनुमति माग्न एउटा आवेदन पत्र तयार पारियो । यसमा ४५ जना जतिको हस्ताक्षर भइसकेको थियो । तर त्यो आवेदन पत्र भीम शमशेरलाई बुझाउनुभन्दा केहीअघि रामचन्द्र अधिकारीले राणातन्त्र विरुद्धको गतिविधि सञ्चालन गर्ने अभिप्रायले प्रेरित भनेर पोल हाले । आवेदनमा हस्ताक्षर गर्ने ४५ जनालाई १९८७ वैशाख १६ र १७ गते पक्राउ गरियो । र प्रतिव्यक्ति एकएक सय जरिवाना गरियो । यस्तो जरिवानामा पर्नेहरूमा कृष्णप्रसाद कोइराला, चित्तधर हृदय, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ लगायत थिए ।
त्यसो त नेपाल फर्किनासाथ भीम शमशेरले उनलाई बोलाएर ‘तिमी कसरी बसोबास गर्छौ ? पैसा कति दिने ?’ भनेर सोधेका थिए। तर कृष्णप्रसादले ‘केही पनि दिनुपर्दैन, म व्यापार गर्छु । त्यसैबाट म व्यवस्था गर्छु ।’ भन्ने जवाफ दिएका थिए । व्यापारमा पनि उनलाई सबैले गर्ने जस्तो धान-चामलको निकासी पैठारीमा रुचि थिएन । बरु चाँडमडुवा भनिने एक प्रकारको जडीको व्यापार थालेका थिए ।
१९८९ मा उनी काठमाडौंबाट विराटनगर गए । उनी त्यहाँ पुग्दा उनले सिरहामा खोलेको विद्यालय, विराटनगरमा खोलेको विद्यालय र अस्पताल राणाहरूको नकारात्मक दृष्टिकोण परेर उठिसकेका थिए । उनले फेरि पनि विद्यालय, पुस्तकालय तथा अस्पतालहरू खोले । उनकै सक्रियतामा विराटनगरमा कलकारखाना खुल्न थाले । हुलाक खुल्यो । हुलाक प्रमुखको तलब उनै तिर्थे । चिठीपत्र कम भएमा हुलाक नै खारेज हुने सर्त राखिएको थियो । त्यसैले उनी हरेक दिन आफैं विभिन्न ठाउँमा चिठीहरू पठाइरहन्थे । त्यतिबेला फारवीसगंजसम्म मात्रै रहेको रेल्वे लाइनलाई उनैले जोगबनीसम्म विस्तार गराए । यात्रुहरूको संख्या कम भएमा विस्तारित रेल्वे सेवा खारेज हुने सर्त थियो । त्यसैले यात्रु घटेको नदेखाउन उनी आफैं रेलका टिकटहरू किनिदिन्थे । यसरी उनकै कारण विराटनगरमा सञ्चार र यातायातको सुविधा बढ्दै जान थाल्यो । विराटनगरको स्वर"प नै परिवर्तन हुन थाल्यो । भारतका प्रमुख नगरहरूसँग यसको आबद्धता बढ्यो ।
यसैबीच भारतमा स्वतन्त्रता आन्दोलन उत्कर्षमा पुग्यो । त्यस आन्दोलनलाई नेपालमा रहेका कृष्णप्रसादले पनि सहयोग गरे । भारतमा पक्राउ पर्नबाट जोगिनका लागि कतिपय भारतीय नेता नेपाली भूभागमा आउँथे । उनीहरूलाई संरक्षण गर्ने काममा कृष्णप्रसादले भूमिका निर्वाह गरे । आफ्नो राइस मिललाई पूर्णतः शरणार्थी शिविरमा परिणत गरेका थिए । त्यहाँ खाने, बस्ने र प्रशिक्षण दिने व्यवस्था गरिएको थियो । त्यो ब्रिटिश सरकारलाई मात्रै होइन, राणा सरकारलाई पनि सह्य हुने विषय थिएन । परिणामतः १९९९ फागुनको अन्तिम हप्ता उनी पक्राउ परे ।
पिताजीको पक्राउ र मृत्यु
भीमशमशेरको निधनपछि नेपालमा जुद्ध शमशेर प्रधानमन्त्री भएका थिए । उता अंग्रेज शासनका विरुद्धमा भारतमा जारी आन्दोलनमा सक्रिय भएका कृष्णप्रसाद कोइरालाका पुत्र बीपी विस १९९९ मंसिरमा पटनाबाट पक्राउ परेका थिए। त्यसको केही महिनापछि १९९९ फागुनको अन्तिम हप्ताको एक बिहान कृष्णप्रसाद कोइराला विराटनगरमा पक्राउ परे । त्यो खबर फैलिनेबित्तिकै त्यहाँ स्थानीयहरू जम्मा भए । उनीहरूले ‘पिताजीलाई छाड’ भन्ने नारा लगाउँदै मोरङ गोश्वारालाई घेराउ गरे ।
भीडलाई हटाउन बडाहाकिम सोमशमशेरले बल प्रयोग गरे तर भीड पछि हटेन । बरु उनले कृष्णप्रसादलाई नै भीडलाई सम्झाइदिन आग्रह गरे । उनले सम्झाएपछि भीड शान्त पनि भयो । त्यसपछि उनलाई कडा पहराका साथ बयलगाडामा राखियो र तराईका जिल्लाहरूबाट अड्डासार गरेर काठमाडौं चलान गरियो । तर भीडले काठमाडौं लैजान नदिने भनेर अवरोध गर्न खोज्यो । फेरि पनि कृष्णप्रसादले नै भीडलाई सम्झाए ।
मोरङबाट चलान गरिएका उनलाई २२ दिनपछि काठमाडौं पुर्याइएको थियो । पक्राउ पर्नुभन्दा केहीअघि देखि नै उनी अस्वस्थ थिए । वाथ प्रवृत्तिको रोगले सताएकाले उनलाई हिँडडुल गर्न कठिन हुन्थ्यो । काठमाडौंमा सुरुवातमा उनलाई राणाहरूले जफत गरेको भेटनारायण बहादुरको घरमा बन्दीको र"पमा राखियो । एकातिर उनको स्वास्थ्य बिग्रिँदै गइरहेको थियो । अर्कोतिर राणाहरूले कडाइ गर्दै लगेका थिए ।
कृष्णप्रसादसँग मोरङबाट उनका सुपुत्र तारिणीप्रसाद कोइराला पनि आएका थिए । उनी नै काठमाडौंमा पनि कृष्णप्रसादको हेरचाहमा बसेका थिए । त्यतिञ्जेल कृष्णप्रसादका जेठा छोरा मातृकाप्रसाद कोइराला काठमाडौंमै सरकारी नोकरी थिए । तर २००० को वैशाखको पजनीमा उनलाई बर्खास्त गरियो । र मातृका तथा तारिणी दुवैलाई तुरुन्त काठमाडौं छाडेर जान आदेश दिइयो । त्यसको केही समयमै कृष्णप्रसादलाई भने सेन्ट्रल र भद्रगोल जेलको छेउमा एउटा अति अस्वस्थकर, सानो कारागार बनाएर राखियो ।
जेलमा छँदा उनले आफूमाथिको आरोपको न्यायिक परीक्षणको माग गरेका थिए । उनले हजुरिया जनरलबहादुर शमशेरलाई आफ्नो कसुर के हो ? भनेर सोधेका थिए । केही बिराएको हो भने अदालतमा मुद्दा चलाइयोस्, त्यहाँबाट थुनामा रहनुपर्ने कारण थाहा होस्, नत्र आफूलाई रिहा गरियोस् भन्ने माग गरेका थिए । बहादुर शमशेरले भने कृष्णप्रसादलाई उनी विषालु सर्प भएको, उनका छोराहरू पनि उस्तै भएको र विष कसरी झार्नुपर्ने हो आफूहरूलाई थाहा भएको प्रत्युत्तर दिएका थिए । कृष्णप्रसादले फेरि पत्रमा लेखे- भयको सीमा मृत्यु हो । म मृत्युदेखि नै डराउन्न भने यो निरर्थक धम्की किन ? रह्यो, मेरा छोराहरूको कुरा, मैले जन्माएका छोराहरू मेरो औरस सन्तान हुन् भने यो अन्यायको प्रतिकार अवश्य नै गर्लान् ।
उसै पनि कृष्णप्रसाद अस्वस्थ थिए । काठमाडौंमा झन् आक्रान्त हुँदै गए । तर औषधि उपचारको कुनै प्रबन्ध थिएन । उनी दिनप्रतिदिन नाजुक अवस्थामा पुग्दै गए । जेल सारिएको एक वर्षमा त उनी सिकिस्तै भए । त्यसपछि मात्रै उनलाई औषधि सेवन गर्न र परिवारका सदस्यहरूसित भेट दिइयो । पछि उनलाई जेलबाट त्रिपुरेश्वरस्थित बागमती किनारको धर्मशालामा सारियो । त्यहाँ एकडेढ महिना जति बसेपछि उनको स्वास्थ्यमा केही सुधार भयो । फेरि उनलाई जेलमै सारियो । जेलको अस्वस्थकर वातावरणमा उनी पुनः सिकिस्त भए । उनलाई फेरि धर्मशाला ल्याइयो । त्यतिबेला अर्थात् वि.सं. २००१ पुस अन्तिम हप्तामा काठमाडौंसहित देशका धेरै भागमा हिमपात भएको थियो । त्यही हिमपातका बीच सिकिस्त कृष्णप्रसादलाई स्ट्रेचरमा राखेर धर्मशालाबाट पुनः जेलमा ल्याइयो । तर अब उनी बाँच्दैनन् भन्ने भएपछि केही दिनमै धर्मशाला सारियो । जाडोमा यता र उता सार्ने क्रममा उनलाई निमोनियाले पनि आक्रमण गर्यो । अन्ततः २००१ साल माघ ३ गते साँझपख उनको मृत्यु भयो ।
अन्तिम समयमा कृष्णप्रसादको नजिक उनका दुई पत्नीहरू- मोहनकुमारी र दिव्या, छोरा केशव, छोरी विजयालक्ष्मी, बुहारीहरू सुशीला र नोना थिए । बीपी भने भारतको हजारीबाग जेलमै थिए । सन् १९४५ जनवरी १७ (२००१ माघ ४) का दिन बीपीको रिहाइ भयो । त्यसै दिन रिहाइको पत्रसँगै हजारीवाग जेलको ढोकामा बीपीले अर्को पत्र पनि पाएका थिए । त्यो पत्र कृष्णप्रसादको निधनको टेलिग्राम थियो, जुन बीपीका भाइ केशवले काठमाडौंबाट पठाएका थिए ।
(२००१ साल माघ ३ गते निधन भएका कृष्णप्रसाद कोइरालाको आज स्मृति दिवसको अवसरमा तयार गरिएको सामग्री )
सन्दर्भ सामग्रीहरू
पिताजी कृष्णप्रसाद कोइराला स्मृतिग्रन्थ/सम्पादक दधिराज सुवेदी
बीपी कोइरालाको आत्मवृत्तान्त
आफ्नो कथा/ विश्वेश्वरप्रसाद कोइराला
नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास/डा सूर्यमणि अधिकारी
नेपाली कांग्रेसको इतिहासको प्रारूप/पुरुषोत्तम बस्नेत
बीपी कोइरालाः एक क्रान्तिकारी व्यक्तित्व/भोला चटर्जी
त्यसबखतको नेपाल/सरदार भीमबहादुर पाँडे/पहिलो भाग
