विश्व स्वास्थ्य संगठनका अनुसार १ वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनै हुँदैन । त्यस्तै २ देखि ४ वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउन हुँदैन ।
काठमाडौँ — काठमाडौंको रातोपुलस्थित किड्स क्याम्पस मन्टेस्वरीकी प्रिन्सिपल अनु अधिकारीको फोनमा एकदिन घण्टी बज्यो । नजिक रहेका बालबालिकाले चनाखोपूर्वक हेरे । मन्टेस्वरीको ग्राउन्डमै उभिएर फोन रिसिभ गरेकी उनले कुराकानी सकेर फोन राखेकी मात्र के थिइन्, एक जना बच्चा खुरर्र दौडिएर उनीछेउ आए । बच्चाले उनको हातमा भएको फोन मागे। अधिकारीले बच्चालाई स्कुलमा फोन चलाउन हुँदैन भन्दै सम्झाइन् । तर ती बच्चाले फोन नपाएर रुने र कराउने गर्न थाले । फोन पाउनका लागि जिद्दी गर्ने बच्चालाई अधिकारीलगायत स्कुलका अन्य शिक्षकले सम्झाउँदै थुम्थुमाए ।
बच्चा शान्त त भए, तर अधिकारीको मन शान्त हुन सकेन । उनी घोत्लिइन्, '१५ वर्षको अनुभवमा यस्तो कहिल्यै भएको थिएन । हिजोआज किन यस्तो छ ?'
‘सानाबालबालिकाको त के दोष ? अभिभावकहरूले नै बानी लगाउनु भएको हुन्छ,’ साना बालबालिकामा परेको स्मार्टफोनको लतको विषयमा अधिकारीले आफ्नो अनुभव सुनाइन्, ‘हालै आफ्नो छोरीलाई भर्ना गराउनुभएका एक अभिभावकलाई, तपाईंको नानीले केही खान मान्दिन भनेर हामीले बतायौँ । उहाँले, नानीले खान मान्दिन, फोन देखायो भने ज्ञानी भएर खान्छे । फोन देखाएरै भए पनि खुवाइदिनु भन्नु भयो । बिग्रेकै यसरी हो ।’
किड्स क्याम्पसमा साढे दुईदेखि ६ वर्षका बालबालिका भर्ना छन् । अचेल स्क्रिन देखाएर मेरो छोरा/छोरी ज्ञानी हुन्छ भन्ने अभिभावक धेरै आउने गरेको अधिकारीले बताइन् ।
प्रिन्सिपल अधिकारीकै जस्तो अनुभव सुनाउँछिन् बाल रोग विशेषज्ञ डाक्टर निभा राजभण्डारी पनि । उनका अनुसार एक जना अभिभावकले लगभग साढे चार वर्षकी छोरी एबी (नाम परिवर्तन)लाई लिएर डाक्टर निभासँग जाँच गराउन ल्याएकी थिइन् । एबीलाई 'युरिनरी ट्राक्ट इन्फेक्सन' भएको रहेछ । उनलाई इन्फेक्सन निको हुने, बल्झिने, भइराख्ने रहेछ । इन्फेक्सनको कारण डिहाड्रेसन अर्थात् पानीको कमी थियो ।
‘एबीलाई मोबाइल हेर्दै खाना खुवाउने गरिएको रहेछ । उनलाई जे खान पनि मोबाइल नै हेर्ने बानी लागेछ । पानी र दुध पिउनसमेत उनलाई मोबाइल देखाउनैपर्ने बाध्यता भएको रहेछ,’ निभा भन्छिन्, ‘एबी यत्तिकैमा स्कुल जान थालिन् । स्कुलमा पनि उही समस्या भयो । तर अभिभावकले शिक्षकहरूलाई छोरीको समस्याबारे खुलाएनन् । खानेकुरा घरबाट ल्याइदिन शिक्षकहरूले धेरै पटक भनेका पनि रहेछन् । खाना, खाजा जसोतसो खुवाए पनि पानी भने एबीले निकै कम पिउने रहेछिन् । जसका कारण एबीलाई डिहाइड्रेसन भयो र युरिनरी ट्राकट इन्फेक्सन नै हुन पुग्यो ।’
स्मार्टफोनको अनियन्त्रित प्रयोगले आफ्ना संवेग (इमोसन)हरू नियन्त्रण गर्न गाह्रो हुने, आवेगपूर्ण व्यवहार देखाउने, काममा ध्यान दिन नसक्ने, एकचित्त भएर काम गर्न नसक्ने, बच्चाहरूमा लजालुपन बढ्ने, आत्मसम्मान र स्विकारोक्तिमा कमी आउने जस्ता
समस्या निम्ताउन सक्छ ।
त्यस्तै, काठमाडौंको गोकर्णकी सावित्री कोइराला दिनभरि आफू अफिसबाट थाकेर आउने भएकाले बच्चासँग समय बिताउन सक्दिनन् । त्यसैले आफूले नचाहे पनि स्क्रिन वा मोबाइल दिनैपर्ने बताउँछिन् । भन्छिन्, ‘हामी दुवैले समय दिन भ्याइरहेको हुँदैनौँ । यस्तोमा के गर्ने ? घरमा उसको साथी नै फोन हो ।’
यी केही प्रतिनिधि घटना मात्र हुन् । तर अहिले अधिकांश घरमा यस्तै समस्या पाइन्छ । बालबालिकालाई स्मार्टफोनको लतले कस्तो असर पार्छ त ? अत्यधिक स्मार्टफोनको प्रयोगले किशोर–किशोरी र युवाहरूमा पर्ने असरबारे सन् २०२१ मा नेसनल लाइब्रेरी अफ मेडिसिन, फ्रन्टायर इन साइकियाट्री जर्नलमा एउटा अध्ययन प्रकाशित छ । जसमा अत्यधिक स्मार्टफोन प्रयोग डिप्रेसन, एन्जाइटी, ओसीडी (अबसेसिभ, कम्पल्सिभ डिसर्डर), एडीएचडी (अटेन्सन डिफिसिट हाइपर एक्टिभ डिसर्डर) र मदिरा सेवनसम्बन्धी समस्यासँग पनि जोडिने उल्लेख गरिएको छ ।
स्मार्टफोनको अनियन्त्रित प्रयोगले आफ्ना संवेग (इमोसन)हरू नियन्त्रण गर्न गाह्रो हुने, आवेगपूर्ण व्यवहार देखाउने, काममा ध्यान दिन नसक्ने, एकचित्त भएर काम गर्न नसक्ने, बच्चाहरूमा लजालुपन बढ्ने, आत्मसम्मान र स्विकारोक्तिमा कमी आउने जस्ता समस्या निम्ताउन सक्छ ।
त्यस्तै, शारीरिक समस्या जस्तै निद्रा नलाग्ने, मोटोपना बढ्ने, अस्वस्थ खानेकुरा खाने बानी बस्ने, टाउको दुख्ने, माइग्रेन हुने, मस्तिष्कका केही भागहरूमा परिवर्तन ल्याउने जस्ता हानि गर्न सक्छ ।
अध्ययनका अनुसार धेरै समय स्क्रिन चलाउँदा समग्र मानसिक, शारीरिक र सामाजिक रुपमा असर पार्छ । अधिकतम स्क्रिन प्रयोगले आँखाको थकान, घाँटी र काँधको दुखाइ बढ्छ । सन् २०१५ मा चाइनिज एकेडेमी अफ साइन्सेस, वुहानको एक अध्ययनले ‘इन्टरनेट एडिक्सन डिसअर्डर’ भएका व्यक्तिहरू र नभएका व्यक्तिहरूको मस्तिष्कको संरचनाको तुलना गर्न ‘एमआरआई स्क्यान’ गरेको थियो ।
अनुसन्धान अनुसार इन्टरनेट एडिक्सन डिसअर्डर भएका व्यक्तिहरूको मस्तिष्कका केही भागमा परिवर्तनहरू देखिए । मस्तिष्कको यस्तो भागमा परिवर्तन देखियो, जुन निर्णय गर्ने क्षमता, अरुको भावना बुझ्ने सक्ने क्षमता र आत्म–नियन्त्रण जस्ता महत्त्वपूर्ण भूमिकाहरूसँग सम्बन्धित छ ।
‘इन्टरनेट र कोकिनले मस्तिष्कमा खुसी गराउने न्युरोट्रान्समिटर, डोपामिन उत्पादन गर्छ । जसले हामीलाई बारम्बार त्यो खुसी
पाउन धकेलिरहन्छ ।’–एन्टोइन विसारा, न्युरोसाइन्टिस्ट
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा मनोचिकित्सक सरोज ओझाका अनुसार अचेल बच्चाको पढाइ कमजोर हुने, दैनिक काम राम्रोसँग नगर्ने, गृहकार्य नगर्ने, खाना राम्रोसँग नखाने, तौल अस्वाभाविक बढ्ने वा घट्ने हुने, राती नसुत्ने अथवा ढिलासम्म सुत्ने जस्ता समस्या लिएर धेरै अभिभावक आउने गर्छन् । ‘धेरै बालबालिकामा यस्तो समस्याका कारण अत्यधिक स्क्रिन टाइम भएको पाइएको छ,’ उनी भन्छन् ।
कतिपय अध्ययनले त इन्टरनेट र लागूपदार्थले एउटै तरिकाले काम गर्ने समेत बताएका छन् । युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया (यूएससी)को डोर्नसाइफ कलेज अफ लेटर्स, आर्टस् एण्ड साइन्सेसका प्रोफेसर र न्युरोसाइन्टिस्ट एन्टोइन विशाराका अनुसार लागू पदार्थ कोकिन र इन्टरनेटको एडिक्सनमा उस्तै गरी मस्तिष्कमा काम हुन्छ ।
‘इन्टरनेट र कोकिनले मस्तिष्कमा खुसी गराउने न्युरोट्रान्समिटर, डोपामिन उत्पादन गर्छ । जसले हामीलाई बारम्बार त्यो खुसी पाउन धकेलिरहन्छ,’ विशाराले यूएससी टुडेको स्मार्टफोन र ड्रग्सको लतसम्बन्धी २०१७ मा प्रकाशित एक लेखमा उल्लेख गरेका छन् ।
त्यस्तै स्मार्टफोनको लतले मोटोपन गराउने तर्कलाई व्याख्या गर्दै डाक्टर निभा भन्छिन्, ‘स्मार्टफोनले सिधै मोटोपना बढाउने होइन । बच्चाहरू स्क्रिन हेर्न नपाउने डरले पनि खान्छन् । तर के खाइरहेको छु भन्ने पनि थाहा नपाइ खाने गरेका छन् । भोक मरेको पनि थाहा नपाएपछि धेरै खान्छन् । फेरि ध्यान दिएर नखाएपछि शरीरले छिटो र राम्रोसँग पचाउन पनि सक्दैन ।’
सन् २०२२ मा ‘जामा पेडियाट्रिक्स’ले ३ देखि ५ वर्षका ४ सय २२ बच्चा र तिनका अभिभावकलाई लिएर एउटा अध्ययन गरेको छ । उक्त अध्ययनले बच्चालाई शान्त पार्न अत्यधिक मोबाइल प्रयोग गर्दा उनीहरूको कार्यकारी क्षमता घटेको र सानो कुरामा छिटो उद्वेलित हुने, मनोभाव तीव्रताका साथ बदलिने जस्ता कुराहरू देखायो । बालबालिकालाई शान्त पार्न बारम्बार मोबाइलको प्रयोग गर्दा, समयसँगै उनीहरूले आफ्ना भावना व्यवस्थापन गर्ने कुरा सिक्न सक्दैनन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमुनिका बालबालिकालाई स्क्रिन देखाउनै हुँदैन । त्यस्तै २ देखि ४ वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउन हुँदैन ।
धेरै यस्ता अध्ययनका अनुसार वयस्कहरूका लागि पनि कामबाहेक ३ देखि ४ घण्टाभन्दा बढी स्क्रिन हेर्नु हानिकारक हुन्छ । तर नेपालमा नै युनिसेफ र चाइल्ड सेफ नेटले कोभिडपछि बालबालिका र युवामा गरेको अध्ययनअनुसार चार जना बालबालिका वा युवामध्ये एक जनाले दिनमा १० घण्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्ने गरेका छन् । जुन कोभिडअघि ७ प्रतिशत रहेकामा कोभिडपछि २४ प्रतिशत पुगेको हो ।
त्यस्तै, सन् २०२० मा काठमाडौं उपत्यकाका १३ देखि १७ वर्षका ५ सय किशोरकिशोरीसँग गरिएको अध्ययनले झण्डै ८३ प्रतिशतसँग आफ्नै मोबाइल वा कम्प्युटर रहेको देखाएको छ ।
सन् २०१० मा स्टिभ जब्सले आइप्याड सार्वजनिक गर्न आयोजित कार्यक्रममा आइप्याड इन्टरनेट ब्राउज गर्न ल्यापटप र फोनभन्दा पनि उत्कृष्ट माध्यम भएको दाबी गरेका थिए । त्यसको केही महिनापछि न्युयोर्क टाइम्समा स्टिभ जब्सको एउटा अन्तर्वार्ता प्रकाशित भयो । स्टिभ जब्सलाई तपाईंका बच्चाहरूलाई आइप्याड निकै मन पर्छ होला भनेर प्रश्न गरियो । त्यसमा स्टिभ जब्सले आफ्ना बच्चाहरूले आइप्याड प्रयोग नगर्ने खुलासा गरेका थिए । उनले आफ्ना बच्चाहरूको टेक्नोलोजी प्रयोगलाई सीमित गरेको बताएका थिए ।
टेक जायन्ट जब्सले नै आफ्ना बच्चालाई किन टेक्नोलोजीको प्रयोग सीमित गरेका होलान् ? कारण, उनी यस्ता कुराहरूको अत्यधिक प्रयोगको हानिबारे जानकार छन् ।
अर्कोतर्फ, विभिन्न अध्ययनहरूका अनुसार बालबालिकालाई लक्षित गरी बनाइने सामग्री लत लाग्ने खालका हुन्छन् । मनोचिकित्सक डाक्टर रचना शर्मा पनि बच्चाहरूले हेर्ने कन्टेन्टहरू धेरै एडिक्टिभ हुने बताउँछिन् । यी समग्रीहरू एक-दुईपटक हेरेपछि फेरि-फेरि हेर्न मन लाग्ने शर्माले बताइन् ।
साना बालबालिकामा के असर पर्छ ?
सुरुको तीन वर्ष बालबालिकाको सम्पूर्ण विकासमा निकै महत्त्वपूर्ण हुने भएकाले, तीन वर्षमुनिका बालबालिकालाई स्क्रिन देखाउन नहुने डाक्टर शर्मा बताउँछिन् । उनी भन्छिन्, ‘यो उमेरमा अरुले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रियाहरू गर्ने, अनुहारको भाव पढ्ने, भावना बुझ्ने जस्ता काम सिक्ने हो । त्यसैले यो उमेरमा बच्चा धेरै डिभाइसमै एकोहोरियो भने उसमा कुनै यस्ता क्षमता विकास हुँदैन, जसले प्रत्यक्ष अप्रत्यक्ष सबै क्षेत्रमा असर गर्छ । त्यसकारण पनि अचेल अत्यधिक मात्रामा भिजुअल अटिजमको समस्या समेत बढ्ने गरेको छ ।’
डिभाइसको लत लाग्ने पनि चक्र नै हुने मनोचिकित्सक डाक्टर अरुण कुँवर बताउँछन् । ‘बालबालिकाकै कुरा गर्ने हो भने, फोनको धेरै प्रयोगले स्कुल जान मन लाग्दैन र घरमा बस्छन्, अझ धेरै स्क्रिनमा समय बिताउँछन् । जसले एन्जाइटी जस्ता समस्या बढ्छ अनि त्यो बिर्साउन पनि फोन नै हेर्यो । यसरी यो समस्याको साइकल बनिरहन्छ,’ उनले भने ।
बालबालिकाले झगडा गर्ने, रिसाउने बित्तिकै चुप बनाउन फोन वा स्क्रिन हेर्न दिनु अझ हानिकारक हुने कुवँरले बताए । त्यसैले रिसाउने, जिद्दी गर्ने जस्ता प्राकृतिक कुरालाई दबाउने होइन, राम्रोसँग व्यक्त गर्न सिकाउनेमा जोड दिनुपर्ने कुवँर बताउँछन् ।
अभिभावक नै रोल मोडल
अभिभावकहरूले आफ्नो सहजता हेरेर बालबालिकालाई स्क्रिन देखाउने गरेको शर्माको तर्क छ । ‘सानो परिवार र व्यस्त अभिभावक भएकाले बालबालिकालाई घरमा समय दिने कोही हुँदैन र उनीहरू कुनै पनि डिभाइसमा अभ्यस्त हुन्छन्,’ शर्मा भन्छिन्, ‘बिस्तारै दैनिकी नै त्यही हिसाबले बन्छ । डिभाइस नभइ नहुने बानी बस्छ, डिभाइस नहुँदा रिसाउने, झिँझो मान्ने जस्ता व्यवहार देखिने शर्माले बताइन् ।
बालबालिकाको सिकाइको पहिलो खुड्किलो नै अभिभावक हुन् । अभिभावकलाई हेरेर बालबालिकाले सिक्ने ओझाको भनाइ छ । तर अचेल अभिभावकहरूले फोन चलाएको देखेर पनि बालबालिका डिभाइसमा अभ्यस्त हुन्छन् । अभिभावकहरूले बच्चालाई लत लागेको भन्नुभन्दा पनि आफू रोल मोडल बनिरहेको त छैन भनेर मनन गर्नुपर्ने तर्क ओझाको छ ।
फोन र डिभाइसहरूलाई लतका रूपमा मात्र होइन, अवसरका रूपमा पनि हेर्नुपर्ने क्लिनिकल साइकोलोजिस्ट तृष्णा क्षेत्रीको राय छ । प्रविधिसँग उठबस गर्ने अहिलेको पुस्तामा अभिभावकहरू धेरै सजग हुन आवश्यक रहेको क्षेत्रीको भनाइ छ । ‘लत बसेको छ कि छैन, बालबालिकाको दैनिकीमा असर गरेको छ वा छैन, आफ्नो बच्चाले स्क्रिनमा के कस्ता सामग्री हेर्दै छ- यो सबै अभिभावकले जाँच्ने कुरा हो । राम्रो सिकाइतर्फ ढल्काउने जिम्मेवारी पनि अभिभावकै हो,’ उनी भन्छिन्, ‘सोर्स अफ इन्टरटेनमेन्ट जस्तो बनाउने हो, न कि सोर्स अफ टाइम पास । बालबालिकालाई आफ्नो दैनिकीको काम सक्यो भने रिवार्डका रूपमा समय तोकेर फोन चलाउन दिने हो भने पनि यसले फोन चलाउने कुरा नकारात्मक नभई सकारात्मक बन्छ ।’
फोनलाई विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने क्लिनिकल साइकोलोजिस्ट तृष्णा क्षेत्रीको तर्क छ । उनका अनुसार फोन प्रयोग गरे पनि व्यायाम गर्ने, बाहिर ठाउँ नभए भित्र खेल्ने गेमहरूमा बानी लगाउने, क्रियटिभ कामजस्तै पेन्टिङ, नाँच्ने, गाउने सिक्ने जस्ता कामहरूमा लगाउनु उपयुक्त हुन्छ । 'जे कुरा पनि धेरै हुँदा हानि हुन्छ,' उनले भनिन्, 'फोन पनि हेर्ने बित्तिकै बर्बाद हुने होइन । अभिभावकले मोनिटर गर्ने हो भने खासै समस्या हुँदैन ।’
