पछिल्लो समय विकसित घटनाक्रमपछि नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञाले सबैक्षेत्रमा प्रभाव पार्यो । बजार बिहान–बेलुका बजार खुले पनि दिउँसो ठप्प रह्यो । सवारीसाधन सञ्चालन नहुँदा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास बुलेट ढुवानीमा पनि समस्या देखियो ।
ग्यास पसलमा सर्वसाधारणले ग्यास पाएनन् । चाडपर्व नजिकिइरहेको अवस्थामा इन्धनको आपूर्ति व्यवस्था र मौज्दातबारे कान्तिपुरकर्मी राजु चौधरीले निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो पटक उत्पन्न परिस्थितिले खाद्यवस्तुको आपूर्तिमा केही समस्या देखिएको थियो, पेट्रोलियम पदार्थको आपूर्तिमा केही असर पर्यो कि परेन ?
पेट्रोलियम पदार्थको हकमा बजारमा कुनै समस्या आएको छैन । आयात र बिक्रीवितरण नियमित छ । भदौ २५ मा भन्सार सिस्टम डाउन हुँदा केही घण्टा आपूर्तिमा समस्या आयो । ग्यास बुलेट र ट्यांकर भारतीय भूमिमा राख्नुपर्यो । अहिले नियमित आयात भइरहेको छ ।
आन्दोलनका क्रममा पेट्रोल पम्पमा सर्वसाधरणको भीड देखियो, केही पम्प बन्द पनि थिए, किन होला ?
nnप्रदर्शनमा कुनै पम्पमा क्षति भएको छैन । व्यवसायीले नियमित पेट्रोल, डिजेल र ग्यास उठाएका छन् । कुनै ठाउँमा केही कारणले सर्वसाधारणको लाइन भएको हुन सक्छ । तर आपूर्तिमा अवरोध भएर होइन । आन्तरिक वितरण प्रणालीमा समस्या छैन ।
मुलुकभर दिनको कति इन्धन बिक्री हुन्छ, निगमसँग कति परिमाणमा मौज्दात छ ?
मुलुकभर दैनिक औसत पेट्रोल दुई हजार किलोलिटर र डिजेल चार हजार किलोलिटर बिक्री हुन्छ । शनिबार बन्द हुने हुँदा शुक्रबार माग बढी नै हुन्छ । तर औसत खपत पेट्रोल दिनको दुई हजार किलोलिटर र डिजेल ४ हजार किलोलिटर नै हो । निगमसँग करिब १६ हजार किलोलिटर पेट्रोल र ४० हजार किलोलिटर डिजेल मौज्दात छ । अहिलेको मौज्दातले पेट्रोलको माग आठ दिनलाई धान्छ । डिजेल १० दिनलाई पुग्छ । आवश्यक पर्दा पाइपलाइनबाट पेट्रोलियम तत्काल ल्याउन सकिन्छ । पेट्रोलियम पदार्थमा कुनै समस्या छैन ।
सर्वसाधारणले खाना पकाउने ग्यास नपाएको गुनासो गर्दै आएका छन्, ग्यास अभाव हुन लागेको हो ?
भन्सारबाट दिनको ७५ देखि ८० बुलेट आउने गरेको थियो । भन्सारको सिस्टम र केही साताअघि भारतीय रिफाइनरी मर्मत हुँदा केही कम आयो । शुक्रबार २ सय १० बुलेट भन्सार पास भएको छ । चाडपर्वलाई लक्ष्य गरी शनिबार पनि वीरगन्ज नाकाबाट ३४ बुलेट छुटेका छन् । यस अर्थमा ग्यासमा कुनै समस्या छैन । चाडपर्वमा समस्या आउँदैन ।
चाडपर्व नजिकै आइसकेका छन्, इन्धन र ग्यास अभाव हुन नदिन निगमले के–कस्तो रणनीति अपनाउँछ ?
दुई साताअघि भारतको रिफाइनरी मर्मत गर्ने क्रममा कम लोड भयो । तर अहिले त्यस्तो अवस्था छैन । सामान्य अवस्थामा आइसकेको छ । निगमले जारी गरेको पीडीओअनुसार आईओसीको रिफाइनरीबाट ग्यास लोड भइरहेको छ । जेनजीको आन्दोलनले दुई दिन बुलेट बोटलिङ प्लान्टसम्म जान समस्या भयो । त्यही कारणले बजारमा सामान्य समस्या देखियो ।
बजारमा ढिला गरी ग्यास पुग्दा उपभोक्ता ग्यास मौज्दात गर्न खोजेको हुन सक्छ । त्यसबाहेक ग्यास अभाव हुने कुनै कारण छैन । चाडपर्वमा चाहिनेभन्दा बढी ग्यास आएको छ । मासिक ४० देखि ४५ हजार टन ग्यास खपत हुनेमा यस पटक चाडपर्वलाई लक्ष्य गरी ५० हजार टनको पीडीओ जारी गरेका छौ । बजारमा खपत बढे अझै पाँच हजार टन थप्ने तयारी छ ।
