‘अर्थ मन्त्रालय तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छ’ :  घनश्याम उपाध्याय सचिव, अर्थ मन्त्रालय

भाद्र २८, २०८२

अर्थ मन्त्रालयमा कत्तिको क्षति पुगेको छ ?
अर्थ मन्त्रालयका विभिन्न विभागमध्ये बजेट तथा कार्यक्रम महाशाखामा पूर्ण रूपमा क्षति पुगेको छ । बाँकी विभाग तथा महाशाखामा आंशिक र धेरै सवारी साधन पूर्ण रूपमा क्षति पुगेको छ । भौतिक संरचना तथा कागजात नष्ट भएका छन् । राम्रो पक्ष बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणाली सुरक्षित छ ।



त्यसो भए अर्थ मन्त्रालयले छिट्टै काम सुरु गर्न सक्छ ? 
हामी तत्काल काम सुरु गर्न सक्ने अवस्थामा छौं । बजेट प्रणाली, राजस्व प्रणाली र भन्सार प्रणाली सुरक्षित रहेकाले तत्काल काम सुरु गर्न सक्ने अवस्था छ । आज पनि भन्सार जाँचपासको काम भइरहेको छ । अनलाइनमार्फत कर तिर्न सकिने अवस्था छ ।

सरकारीसँगै निजी भौतिक संरचनामा पनि ठूलो क्षति भएकाले अर्थतन्त्रमा ठूलो असर पर्ने देखिन्छ । यस्तो अवस्थामा अर्थ मन्त्रालयले कसरी काम सुरु गर्ने योजना छ ?
झन्डै दुई दर्जन भन्सार र राजस्व कार्यालयहरूमा क्षति भए पनि आजको दिनमा अर्थ मन्त्रालय काम सुरु गर्न सक्ने अवस्थामा छ । अर्थ मन्त्रालय छिट्टै पूर्ण रूपमा सञ्चालन गरेर अर्थतन्त्रमा आशा र भरोसा जगाउने प्रयास गर्छौं । मूूल प्रश्न निजी क्षेत्रमा ठूलो क्षति भएको छ भने उनीहरूको मनोबल उठाउनु छ । त्यसका लागि मन्त्रालय पूर्ण रूपमा अहोरात्र खटेर काम गर्ने छ ।

मुलुकमा लगानी विस्तार, रोजगारीका अवसर सिर्जना र उत्पादन बढाउने काम निजी क्षेत्रबाट हुने भएकाले सबैभन्दा पहिले त्यो क्षेत्रको आत्मविश्वास बढाउनेतर्फ मन्त्रालयको ध्यान केन्द्रित हुन्छौं । यसका लागि समाजका सबै सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्नुपर्नेछ ।

भन्सार कार्यालयहरूमा क्षतिको अवस्था कस्तो छ ?
भन्सार विभागकाअनुसार मेची भन्सार, भद्रपुर भन्सार, कैलाली भन्सार र जनकपुर भन्सार कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । यस्तै, विराटनगर भन्सार, नेपालगन्ज भन्सार, भैरहवा भन्सार र ठाडी भन्सार कार्यालयमा आंशिक क्षति भएको जानकारी छ । यद्यपिको कति रकम बराबरको क्षति भएको विवरण आइनसकेको छैन । बाँकी भन्सार कार्यालयहरूमा आज पनि भन्सार जाँचपासको काम भइरहेको छ ।

आन्तरिक कार्यालयहरूमा क्षतिको अवस्था कस्तो छ ?
प्रर्दशनका क्रममा २२ वटा आन्तरिक राजस्व कार्यालयहरू तोडफोड तथा आगजनी भएको जानकारी छ । जसअनुसार दमक, इटहरी, विराटनगर, लाहान, जनकपुर, सिमरा, हेटौंडा, वीरगन्ज, बुटवल, भैरहवा, नेपालगन्ज, जनकपुर, सिमरा, हेटौडा, दाङ, धनगढी डढेल्धुरा र पोखरा १८ वटा पूर्ण रूपमा ध्वस्त भएको छ । प्रर्दशनका क्रममा कृष्णनगर, धुलीखेल, इलाम र सिन्धुली आन्तरिक भन्सार कार्यालयहरूमा आंशिक क्षति भएको छ । यसरी क्षति भएका भन्सार तथा आन्तरिक राजस्व कार्यालयहरूको मूल्यांकन गरेर पुनः संरचनाको काम गरिनेछ ।

अर्थ मन्त्रालयले कहिलेदेखि काम सुरु गर्छ ?

यही मितिदेखि नै काम गर्छौं भन्ने निश्चित भइसकेको छैन । यद्यपि आजको दिनमा अर्थ प्रशासन पूर्ण रूपमा काम सुरु गर्न सक्ने अवस्थामा छ ।


Link copied successfully