यही भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा सिंहदरबारका धेरै सरकारी कार्यालय आगजनी तथा तोडफोड भए । धेरै कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ भने केहीमा आंशिक । एकै पटक धेरै क्षति भएकाले बिमा कम्पनीले सबै दाबी भुक्तानी गर्न सक्छन्/सक्दैनन् भन्ने चासो सबैतिर छ ।
यही चासोलाई ध्यानमा राखेर हालसम्म परेको बिमा दाबी, भुक्तानी प्रक्रिया, फर्छ्योटको अवस्थालगायत विषयमा नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीसँग कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको कुराकानीको सम्पादित अंश :
प्रदर्शनका क्रममा धेरै भौतिक संरचनामा ठूलो क्षति पुग्यो, दाबीको अवस्था कस्तो छ ?
दाबी आउने क्रम चलिरहेको छ । पूरा विवरण आइसकेको छैन । हरेक कम्पनीले विवरण संकलन गरिरहेका छन् । सबैलाई एकीकृत गर्न बाँकी छ । परेका दाबी र भुक्तानीको विवरण हरेक वुधबार पठाउन बिमा प्राधिकरणबाट निर्देशन आएको छ । यसकारण बुधबारसम्म एकीकृत तथ्यांक आउँछ ।
शुक्रबारसम्म प्राप्त प्रारम्भिक दाबी कस्तो छ, बताइदिनुस् न ?
यो निकै प्रारम्भिक हो । करिब १५ अर्ब बराबरको सुरु दाबी परेको अनुमान छ, यकिन तथ्यांक आउन केही दिन लाग्छ ।
आफ्नो सम्पत्तिमा क्षति भएका बिमितले बिमा कम्पनीमा कसरी दाबी गर्न सक्छन् ?
अरू बिमा जस्तै हुलदंगा तथा आगलागी बिमाको दाबी गर्ने प्रक्रिया पनि समान हुन्छ । क्षति भएपछि सबैभन्दा पहिले बिमितले भौतिक रूपमा उपस्थित भएर अथवा विभिन्न माध्यम (इमेल, एसएमएस, टेलिफोन आदि) मार्फत सम्बन्धित कम्पनीमा जानकारी दिनुपर्छ । त्यसपछि कम्पनीले क्षतिको मूल्यांकन प्रक्रिया थाल्छ । मूल्यांकन गर्ने काम सर्भेयर (मूल्यांकनकर्ता) को हो । सर्भेयरको मूल्यांकन प्रतिवेदन आएपछि त्यसका आधारमा कम्पनीले भुक्तानी दिन्छ ।
प्रदर्शनमा ठूला भवन, भौतिक संरचना, सवारी साधन, घर तथा कार्यालयका सामानमा क्षति पुगेको देखिन्छ, सबै जोड्दा अर्बौंको दाबी भुक्तानी पर्ने अनुमान छ, कम्पनीले त्यो दाबी भुक्तानी गर्न सक्छन् ?
बिमाको सुन्दर पक्ष भनेकै यही हो, परेका दाबी भुक्तानी गर्नैपर्छ । यसमा बिमा कम्पनी आनाकानी गर्न पाउँदैनन् । क्षतिको अवस्था हेर्दा धेरै दाबी आउने देखिन्छ । तर धेरै सरकारी संरचनाको बिमा गरिएको छैन । निजीलगायत अन्य क्षेत्रको बिमा भएकाले दाबी आउन सक्छ । सवारीसाधनको हकमा तेस्रो पक्ष बिमा मात्र गरिएको रहेछ भने त्यसमा भुक्तानी दिन मिल्दैन । बिमा पाउन सवारीसाधनको पूर्ण (पूरा) बिमा गरिएको हुनुपर्छ ।
घर, कार्यालय र सम्पत्तिको हकमा भने बिमा पाइन्छ । हाम्रोमा सबै सम्पत्ति बिमा गर्ने चलन निकै कम छ । यसकारण भएको सबै क्षतिको बिमा दाबी आउने भन्ने हुँदैन । बिमा कम्पनीले पनि आफूले गरेको बिमाको पुनर्बिमा कम्पनीमा बिमा गरेका हुन्छन् । बिमितलाई बिमा कम्पनीले भुक्तानी दिए पनि त्यो रकम उनीहरूले पुनर्बिमा कम्पनीबाट भुक्तानी पाउँछन् । पुनर्बिमा कम्पनीले पनि अन्य पुनर्बिमा कम्पनीसँग बिमा गरेका हुन्छन् । बिमा भनेको जोखिम स्थानान्तरण गर्ने व्यवसाय पनि हो । यसकारण जति धेरै दाबी भुक्तानी आए पनि बिमा कम्पनीहरूले तिर्न सक्छन् ।
सरकारी भवन तथा संरचनामा धेरै क्षति पुगेको देखिन्छ, तिनमा कतिको बिमा भएको होला ?
हामीले धेरै पहिलेदेखि सरकारी संरचनाको बिमा गर्न भनेका थियौं । तर हुन सकेन । यसकारण बिमा पाउने भन्ने हुँदैन । यद्यपि काठमाडौं उपत्यकाबाहिर केही स्थानीय तहले भवन र सवारी साधनको बिमा गरेका छन् । तर त्यो संख्या निकै कम छ ।
अहिले ठूला कर्पोरेट कार्यालय, उद्योगी व्यवसायीको निजी आवास तथा व्यापारिक कार्यालयमा पनि क्षति पुगेको देखिन्छ ?
बिमा गरेका आधारमा कम्पनीले भुक्तानी दिने हो । यसकारण बिमा गरेकाले पाउँछन्, नगरेकाले स्वभावैले पाउँदैनन् । त्यसैले क्षति भएअनुसार नै दाबी भुक्तानी आउने भन्ने हुँदैन ।
अहिलेको अवस्थामा बिमितले कति दिनमा दाबी भुक्तानी पाउँछन् ?
घर कार्यालय, सवारीसाधन अथवा अरू सम्पत्तिको हकमा पूर्ण क्षति भएको रहेछ भने निकै छिटो भुक्तानी दिइन्छ । आंशिक क्षति भएको अवस्थामा त्यसको मूल्यांकन गर्नुपर्ने भएकाले सर्भेयरको प्रतिवेदन पर्खिनुपर्ने हुन्छ । यसकारण केही समय लाग्न सक्छ । छिटो भुक्तानी दिन हामीले सबै बिमा कम्पनीहरूलाई आग्रह गरेका छौं । कागजात र प्रक्रिया पूरा भएको हकमा भुक्तानी ढिलाइ हुँदैन । यद्यपि मूल्यांकनमा समय लाग्ने अवस्था भएमा कम्पनीहरूले बिमितलाई केही अंश पेस्की (अग्रिम भुक्तानी) दिएर पनि सहजीकरण गरिदिन्छन् ।
छिटो दाबी भुक्तानी पाउन बिमितले के गर्नपर्छ ?
बिमितको सुविधाका लागि हरेक कम्पनीले सम्पर्क व्यक्ति तोक्न र तिनको सम्पर्क नम्बर वेबसाइटमा राख्न बिमक संघले आग्रह गरेको छ । केही दुबिधा भए ती व्यक्तिसँग जानकारी लिन सकिन्छ । यसबाहेक बिमा दाबीका लागि आवश्यक कागजात र क्षतिको यथार्थ विवरण उपलब्ध गराउनुपर्छ ।
