‘मलाई सबैले लठ्ठी बाजे भनेर बोलाउने गर्छन्’

छोराको मृत्यु भएको दिनदेखि अहिलेसम्म श्रीमतीको मानसिक अवस्था ठिक छैन । यस्तो दिन कसैको नआओस् । मलाई पनि घरमा बस्न मनै लाग्दैन् । चित्त बुझाउन म लठ्ठी बनाउने काठ खोज्न वनपाखा डुलिरहन्छु।

चैत्र ७, २०८२

कृष्ण लावड

”Everyone calls me the stick player”

What you should know

बैतडी — दुखियाको जिन्दगीमा दुःखबाहेक के पो हुन्छ र ? ज्यालावनी गर्‍यो, त्यसबाट कमाएको सय/दुई सयले अन्नपात किन्यो । पकायो, खायो अनि सकियो । म जस्ताको जीवन चक्र यत्ति हो । नातिनतिना खेलाउने समयमा लठ्ठी खेलाइरहेको छु । यो मेरो पेसा र रहर भन्दा पनि बाध्यता हो । आफ्नो चित्त बुझाउन र मन भुलाउन लठ्ठीको व्यापार गरिरहेको छु । यसरी डुलेर लट्ठीको व्यापार गर्दा दुई/चार पैसा कमाई भइरहेको छ । घर खर्च पनि चलिरहेको छ । लट्ठी मेरो खर्चको आधार र अरुलाई भरोसा बनेको छ । 

मेरो घर दशरथचन्द नगरपालिका–२ देहिमाडौं हो । तीन छोरा र दुई छोरी जन्मिए । अहिले घरमा दुई छोरामात्र छन् । एउटा छोरो पढाईमा राम्रै थियो । त्यसैकै भरोसा पनि थियो । त्यसैले हामीलाई सधैंका लागि छाडेर गयो। छोराको मृत्यु भएको दिनदेखि अहिलेसम्म श्रीमतीको मानसिक अवस्था ठिक छैन । यस्तो दिन कसैको नआओस् । मलाई पनि घरमा बस्न मनै लाग्दैन् । चित्त बुझाउन म लठ्ठी बनाउने काठ खोज्न वनपाखा डुलिरहन्छु। दिनभरी वनपाखा घुमेर साँझ मात्र घर फर्किन्छु । घरमा पनि लठ्ठी बनाउनै व्यस्त हुन्छु । बुवा–बाजेको पालादेखिनै हाम्रो पेसा भनेको चोया (निगालो) को काम गर्ने हो । 

मलाई पनि चोयाबाट डोको, डाली बनाउन राम्रोसँग आउँछ । म घर निर्माण गर्ने मिस्त्री हुँ । अहिले मेरो उमेर ६१ वर्ष पुग्यो । अहिले म मिस्त्रीको काम पनि गर्न सक्दैन् । दिनभरी मिस्त्रीको काम गर्न औजार चलाउन सकिँदैन् । पाखुरा मात्रै कमजोर भएनन् । अहिले आफै कमजोर भइसके । लठ्ठीबाट दैनिक गुजरा त चलिरहन्छ । 
लठ्ठीलाई कोही शौख र कोही साच्चिकै टेक्नलाई किन्ने गर्दछन् । एउटा लठ्ठीको ५ सय रुपैयाँ लिन्छु । कहिलेकाँही व्यापारीले पनि एकमुस्ट सबै किनिदिन्छन् । म लठ्ठी बेच्न सदरमुकामको गोठलापानी, गढी, शाहिलेक र छिमेकी गाउँतिर पनि जाने गर्दछु । सदरमुकामका सरकारी कार्यालयमा जाने गर्छु ।

मलाई सबैले लठ्ठी बाजे भनेर बोलाउने गर्छन् । दिनमा राम्रोसित दुई लठ्ठी मात्र बनाउन सकिन्छ । जेठो छोरो अहिले २२ वर्षको भयो । घरमै बस्छ । माइलो छोरा भारत गएको छ । कहिल्यै फोन गर्दैन । घरबाट गएको तीन चार वर्ष भयो, खै कता छ कता । न घर आउँछ न फोन नै गर्छ । फोन गरेको भए पनि चित्त बुझाउन हुन्थ्यो। कान्छो छोरा पढाईमा राम्रो थियो । उसलाई कृषि प्राविधिक पढाउन भनेर जग्गा बेचे । पढेर राम्रो जागिर पाउँला र हामीलाई पनि हेर्ला भनेर ठूलो आशा गरेका थियौं । पढाई सकेर घर पनि आएको थियो । आत्महत्या रोज्यो । हामीबाट सधैंका लागि टाढा भयो । सम्झ्यो भने म त पागलै हुन्छु । 

त्यसकै याद भुलाउन पनि लठ्ठी बेच्ने बहाना गरेर घरबाट निस्किन्छु । छोरीको त बिहे गरिसके । अब घरमा भएको छोरोको पनि बिहे गर्न पाए हुन्थ्यो । बिहे गरिदिए पनि बेरोजगार छ । बुहारीलाई कसरी पाल्न नसक्ला भन्ने चिन्ता लाग्छ । खेतीपाती गर्न प्रशस्त जमिन पनि छैन् । जमिन पनि पाखो भएकाले आकाशे पानीको भरमा खेती गर्छौं । किनेर खानुपर्ने बाध्यता छ । पहिले त दिनभरी मजदुरी गर्थे अब त्यो पनि सकिँदैन् । अबको साहारा भनेको समाजिक सुरक्षा भत्ता हो । गत वर्षदेखि भत्ता पनि पाउन थाले । 

चुनावमा नेताहरु गाडीमा प्रचार गर्न आए । भोट माग्ने बेला नेता घरमा आएर हजुर तपाई जस्ता काम गर्ने मान्छेलाई काम दिउला भनेर गए । जितेपछि त नमस्कार नै फर्काउँदैन्न् । धेरै पटक मतदान गरियो । हाम्रा दिन हामीसँगै छन् ।  

प्रस्तुति: मोहन चन्द 

कृष्ण

Link copied successfully