धान आधा–आधा भाग लगाउँछौं । साहुको भागमा परेको धान बिक्री गरेर पैसा पठाइदिन्छौं । उहाँहरु विराटनगरमा बस्नुहुन्छ । साहुका परिवार डुल्नपनि आउनुहुन्न । हामीलाई पनि ठाउँ छोड त भनेका छैनन् ।
ताप्लेजुङ — ओत लाग्नै आफ्नो जग्गा छैन । त्यसैले यहीका भीमप्रसाद बरालको जग्गामा बसिरहेका छौं। फक्ताङलुङ–३ सिंवा लिखिममा आश्रय लिएको पनि २० वर्ष भइसक्यो । छ भनौं भने माथि लेकमा आफ्नै जग्गा पनि छ । तर, त्यो खर्क मात्रै हो । खेतीपातीलाई काम लाग्दैन ।
फेरि श्रीमानको भाईहरुबीच अंशबण्डा भएको छैन । कसको भागमा पति पर्छ भन्ने पनि टुंगो छैन । पाँच दाजुभाई मध्ये तीन भाईको मृत्यु भइसकेकाले अंशबण्डा कहिले हुन्छ भन्ने नै टुंगो छैन । हाम्रो अवस्था देखेर साहुले सित्तैँमा घरमा बस्न दिएका छन्।
हामीले फलाउने धान आधा–आधा भाग लगाउँछौं । साहुको भागमा परेको धान बिक्री गरेर यतैबाट पैसा पठाइदिन्छौं । उहाँहरु विराटनगरमा बस्नुहुन्छ । साहुका परिवार डुल्न पनि आउनु हुन्न । हुने खाने हुनुहुन्छ । हामीलाई पनि छोड् त भनेका छैनन् । त्यही हो भनेका दिन कहाँ जाने भन्ने चिन्ता लाग्छ । त्यस्तो योजना पनि बनाएका छैनौं । ज्यादै भए तराईतिर जानुपर्छ होला । दुई छोरी मधेशतिरै छन् । चार छोरी हुन् । सबैको विवाह भएर आ–आफ्नो घर गरेर खाँदैछन् ।
हाम्रो अवस्था देखेर साहुले सित्तैँमा घरमा बस्न दिएका छन्।एउटा छोरो छ । यताउता काम गर्छ । बाबै (श्रीमान्) पनि बस्तुभाउ हेरचाह र खेतीपाती गर्नुहुन्छ । हामी वर्षमा २०/२२ मुरीसम्म धान थन्क्याउँछौं । आधा भाग पर्दा १०/१२ मुरी आफ्नो हुन्छ । मकै फलाउँछौं । गाई पालेका छौं । दहीमोही किनेर खानु पर्दैन । चामल पनि धेरै किन्दैनौं । खेतीले पुग्छ । अब पछिपछि त मधेशतिर बसाइँ सर्नुपर्छ होला । मधेशमा जग्गा जमिन त किनेको छैन । तर, लडेका ढुंगाले पनि बास पाउँछ भन्छन् । बाससम्म पाइएला भन्ने लागेको छ । घर खर्च आजकाल धेरै हुन्छ । बजारे सामानले गाउँ पिटेको छ ।
एक किलो खसीको मासु खायो भने ८ सय रुपैयाँ जान्छ । पाहुना आउँदा त मासु ल्याउनै पर्यो । गाउँमा बसे पनि उब्जाएका सामान बिक्री नहुँदा समस्या छ । बेचिने भए त टन्न तरकारी खेती गर्न हुन्थ्यो । म २०२४ सालमा जन्मिएको मान्छे । श्रीमान् म भन्दा जेठा छन् । छोराछोरी स्कुल पढ्छन् । उमेरले गर्दा पनि धेरै काम गर्न सकिँदैन । नियमित आम्दानीको बाटो बनाउन गार्हो रहेछ ।
अहिले त गाउँमा पनि जन्मदिन मनाउन थाले । जन्म, मृत्यु संस्कारमा पनि पुग्नै पर्यो । ‘केक’ खान अन्त जाँदा र आफ्नोमा बोलाउँदा पनि दुई/चार हजार खर्च भइहाल्छ । आफ्नै कमाईले चामल–दाल पुग्ने भए पनि तेल, नुन, मसलामा धेरै खर्च लाग्छ । मान्छे बसेका घरमा मान्छे आउाछन् । बसौं खाउँ भन्नुपर्छ । हाम्रो पुरानो संस्कृति हो । त्यसमा पनि खर्च निकै हुन्छ । अस्ति हाम्रो परिवार बसेर महिनाभरिको खर्चको हिसाब निकाल्दा २० हजार जति घरायसी खर्च हुँदो रहेछ । शरीरमा बल हुनेले हाइड्रो कम्पनीमा काम गर्छन् । राम्रै पैसा पाउँछन् । नसक्नेलाई चाहिँ घरधन्दा पनि निकै धौ हुने रहेछ ।
प्रस्तुति: आनन्द गौतम
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
