‘मुखले फुक्दा सास फुल्छ, कोइला बाल्न हावा दिने फ्यान चाहिएको छ’

कहिलेकाहीँ दिनभरि पसलमा बसेर पनि खाली हात घर फर्किनुपर्छ । पसलमा फलाम किन्ने पैसा समेत हुँदैन् ।

माघ ४, २०८२

लेगड लोहार

”Blowing with the mouth makes the breath swell, a fan is needed to provide air to burn coal.”

What you should know

नेपालगन्ज — अचेल चिसोले औंला जम्ने गरेका छन्। सामान यताउति सार्नै धौ हुन्छ। जाडोमा काम गर्ने जाँगर नचले पनि ढुक्कसाथ बस्न कहाँ मिल्छ र ? सकिनसकी काम गरिरहेकै छु। उमेर बढेपछि जाँगर पनि हराउँदो रहेछ।

अहिले म ५७ वर्षको भएँ । अब बिस्तारै बुढ्यौली लाग्न थाल्यो । यो बेला त कामदाम छाडेर परिवारसित हाँसखेल गर्ने हो । तर, हामी जस्ता दुखियालाई आराम कहाँ लेखेको छ र ? हातपाउ चलाए भोक मेटाउन सकिन्छ । नत्र भोकै बस्नु पर्छ । 

नेपालगन्ज उपमहानगरपालिका–१० गोसाइ गाउँमा माटाको सानो घर छ । मेरा लागि त्यही दरबार सरह हो । दिनभरि काम गरेर थकानले ग्रस्त भएको बेला किन नहोस्, घर पुग्नासाथ ज्यान हलुको भइहाल्छ । दुई कोठाको घरमा परिवारसित रमाउन पाउँदा स्वर्गकै अनुभूति हुन्छ । हाम्रा पूरा नहुने सपना हुँदैनन् । त्यसैले खुसी हुन पनि सजिलो छ । एक छाक आनन्दले परिवारसित बसेर खान पाए पुग्छ । त्यत्तिका लागि दिनभरि दुःख पनि गरिरहेको छु । 

कहिलेकाहीँ त आगो छेउमा बस्दा सास फेर्न गार्‍हो हुन्छ । तै पनि काम नगरी विकल्प छैन ।प्रत्येक दिन बिहान ९ बजे धम्बोजी रोडको व्यस्त चोकमा रहेको मरो सानो पसल खोल्छु । त्यसपछि मेरो दिउँसोको काम सुरु हुन्छ । साँझ ६ बजेसम्म फलाम, आगो र हथौडा खेलाएपछि घर फर्किन्छु । हाम्रो पुर्ख्यौली पेशा नै फलाम पिटेर औजार बनाउने हो । बाउ–बाजेले पनि यही काम गरे । मैले पनि गरिरहेको छु । त्यही भएर सानैदेखि यही काम जानियो । लेखपढ बारे त सोच्न पनि सोचिएन । ३० वर्षअघि जमिल गुरुसँग चार वर्ष काम गरेर सीप सिकेँ । त्यसयता यही पेशा मेरो संसार बन्यो । अहिले बजारमा मेसिन आएको सुन्छु । 

यसरी मरिमेटेपछि दिनमा त्यही ५ देखि ७ सय रुपैयाँसम्म कमाई हुन्छ । धर पिटेको ४० रुपैयाँ लिन्छु । हँसियाको हेरेर ४ देखि ७ सय ५० रुपैयाँमा बिक्री गर्छु । तर सधै ग्राहक आउँदैनन् । कहिलेकाहीँ दिनभरि पसलमा बसेर पनि खाली हात घर फर्किनुपर्छ । पसलमा फलाम किन्ने पैसा समेत हुँदैन । एक टिन कोइलाको १ सय ५० रुपैयाँसम्म पर्छ । दिनमा दुई–तीन टिन सकिन्छ ।

कोइला बाल्नका लागि हावा दिने फ्यान चाहिएको छ । मुखले फुकेर आगो बाल्दा सास फुल्छ । त्यो फ्यानको ४ हजार पर्ने रहेछ । मैले कमाएर कहिले पो किन्न सकुँला । तीन वर्षअघि किनेको पुरानो साइकल नै मेरो आउजाउको साधन हो । परिवारमा दुई छोरा र तीन छोरी छन् । तीनै छोरीको विवाह भइसकेको छ । कान्छी छोरीको विवाह गर्दा १ लाख ऋण लिनु पर्‍यो । विवाह भए पनि छोरी अझै माइतमै छिन् । मधेसी समाजमा विवाहभित्र गौना र थौना संस्कार पनि पर्छ । गौना गर्दाको ऋण अझै तिर्न सकेको छैन । जेठो छोरा ३० वर्षको भयो ।

अर्काको तरकारी पसलमा काम गर्छ । महिनाको ७ हजार रुपैयाँ तलब आउँछ । कान्छा छोरा १७ वर्षका भए । पैसा अभाव भएपछि उसले पनि ६ कक्षामा पढाइ छोड्नु पर्‍यो । छोरीहरूले बरु ८, ९ र १० कक्षासम्म पढेका छन् । पैसा भएको दिनमात्र महिनामा एक/दुई पटक मासु खान पाउँछौं । प्रायः रोटी र तरकारीमै दिन बित्छ । जीवन सजिलो छैन, तर म अझै हार मानेको छैन । जबसम्म हात चल्छ, हथौडा उठाइरहने छु । मेरो चाहना मेरो श्रमले कम्तीमा परिवारको पेट भरियोस् भन्ने छ । सन्तानले म भन्दा राम्रो जीवन पाउन सकुन् । 

प्रस्तुति: रुपा गहतराज

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

लेगड

Link copied successfully