‘दाजुभाइको परिवारको खर्च यही साइकल मर्मतले धानेको छ’

सहरमा नयाँ साइकल बिक्री गर्ने ‘सो–रुम’ खोल्ने ठूलो इच्छा छ । त्यसपछि साइकल मिस्तिरीबाट व्यापारी बन्छु होला । मैले जिन्दगी साइकल बनाएर बिताएँ । मेरा छोराले दुकानबाट साइकल बेचून् भन्ने चाहना छ ।

पुस ९, २०८२

भूपेन्द्र राजवंशी 

'This bicycle repair has covered my brother's family's expenses'

What you should know

झापा — बजार फेरिएर सहर बनिसक्यो । हेर्दाहेर्दै झुपडी महल बने । बाटो–घाटो चौडा भए । धेरै साथी छुटे, नयाँ साथी बने । मेरो जीवनले हिउँद, वर्षा, घामपानी थेग्यो । तर, जिन्दगी फेरिने छाँट छैन ।

मेचीनगर–७, इटाभट्टा बजारमा साइकल मर्मत गर्दै ३० वर्ष बितिसके । बाँकी जीवन पनि साइकल मर्मत गर्दै बिताउँछु जस्तो लाग्छ । तर, मेरो कामप्रति खुसी छु । निराश छैन । यो काम गर्दा अर्काको भनाइ सहनु परेको छैन । दुई/चार पैसा कमाएर घरखर्च चलाइरहेको छु । यही बीचमा एउटा छोरोलाई विदेश पठाएँ, अर्को छोरो १२ कक्षामा पढ्दैछ । संघर्ष नै जीवनसाथी बनेको छ । दुःख आइरहन्छन्, तर हार मान्नु हुन्न भन्ने सिकेको छु । 

अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा साइकल बनाएर बस्छु भनेर मलेसियाबाट स्वदेश फर्किएको हुँ ।एउटा सामान्य किसान परिवारमा २०२९ सालमा जन्मिएको हुँ । २०४६ सालमा एसएलसी परीक्षा दिएपछि के गर्ने भनेर अलमलिएँ । परिवारको भर भनेकै खेती किसानी थियो । नुन–तेल जोहो गर्न पनि जंगलबाट दाउरा खोजेर ल्याएर बेच्नुपर्ने बाध्यता थियो । हैन भने धान खरिद गरेर कुटाएर चिउरा बेच्नु पर्थ्यो । एसएलसी दिएपछि म पनि खेती किसानीमै लागेँ । त्यही बेला कान्छो भाइ कुलबहादुर २०५२ सालमा भारतको नक्सलबाडीबाट साइकल मर्मत गर्न सिकेर फर्कियो । त्यसपछि दाजुभाइ मिलेर साइकल बनाउन थाल्यौं । अहिलेसम्म दाजुभाइको परिवारको खर्च यही पेसाबाट चलेको छ ।

२०६७ सालमा केही बेर यो पेसालाई थाँती राखेर मलेसिया उडेँ । मलेसियामा प्लास्टिकका सामान बनाउने कम्पनीमा तीन वर्ष काम गरेँ । तर, अर्काको मुलुकमा यहाँजस्तो नहुँदो रहेछ । त्यहीँ हुँदा पेट दुख्ने समस्या सुरु भयो । अन्ततः अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा साइकल बनाएर बस्छु भनेर मलेसियाबाट फर्किएँ ।

यहाँ आएपछि साइकल मर्मत गर्ने पुरानै कामलाई निरन्तरता दिएँ । यो काममा टन्न कमाइ नभए पनि आनन्द छ । जति काम गर्न सक्यो, त्यति नै कमाइ हुन्छ । त्यति भएपछि कसैसित गुनासो पनि हुँदैन । यसबाहेक अहिले  आफ्नै ८ कट्ठा जमिनमा खेतीपाती पनि गरेको छु । आफैँले उब्जनी गर्ने भएकाले चामल किन्नु पर्दैन । तर, दाल, तरकारी, माछामासु, मरमसला लगायतमा दिनमा दुई–चार सय खर्च भइजान्छ ।

पेट दुख्ने समस्या अझै पूर्ण रूपमा निको भएको छैन । तैपनि, अहिलेसम्म अस्पताल बस्नु परेको छैन । अब त बुढेसकालले छुन लाग्यो । भविष्य के हुन्छ, मैले कसरी भन्न सक्छु र ! जेठो छोरोलाई जापान पठाउँदा सहकारीबाट तीन लाख रुपैयाँ ऋण लिएको थिएँ  । त्यो अझै चुक्ता गर्न सकेको छैन । कमाउने भन्दा पढ्ने भीसामा छोरो जापान गएको हो । त्यसैले अहिले नै धेरै पैसा पठाउन सकेको छैन । अलिअलि खर्च पठाइरहेको छ । त्यसले घरखर्च भरथेग भइरहेको छ । 

यही पेसाबाट कमाएर भएको बचतले सहरमा नयाँ साइकल बिक्री गर्ने ‘सो–रुम’ खोल्ने ठूलो इच्छा छ । त्यसपछि साइकल मिस्तिरीबाट व्यापारी बन्छु होला । मैले जिन्दगी साइकल बनाएर बिताएँ । मेरा छोराले दुकानबाट साइकल बेचून् भन्ने चाहना छ । खै कहिले पूरा हुने हो यो सपना ! 

प्रस्तुति : नवराज सुवेदी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

भूपेन्द्र राजवंशी 

Link copied successfully