सपना भएर मात्रै नहुने रैछ । देखेको नहुने रै'छ, लेखेको चाहिने रहेछ। यही टहरा बनाउन युद्ध गरेजस्तै भयो । हामीजस्ता भुइँमान्छेलाई बाँच्न पनि कठिन छ ।
What you should know
सिन्धुपाल्चोक — मुटुमा समस्या सुरु भएपछि सदरमुकाम बाह्रबीसे बजारमा बसाइँ सरेको हुँ । बारम्बार अस्पताल आएर स्वास्थ्य परीक्षण गर्नुपर्ने भएपछि गाउँ छोड्न पर्यो । मुटु रोगी भएको पनि २३ वर्ष पुग्यो । मुटुमा पीडा बोकेर जीवन बढाइरहेको छुँ ।
केही समय त चल्छ जस्तो लागेर अटेरपनि गरेँ । थला पर्ने अवस्था आएपछि ०७५ साल चैतमा अपर्शेन गरेर मुटुको भल्भको प्वाल टालियो । त्यहाँ जम्मा भएको रगत निकालियो ।
आफूसित अपरेशन गर्ने खर्च थिएन । दाताहरु भगवान बनिदिनुभयो । उहाँहरुकै सहयोगले उपचार गरेपछि अहिले मुटुको चाल ठिक छ । मेरो जीवनको हालपनि सुधार भएको छ । मेरो स्थायी घर बाह्रबिसे–३ धार्पा हो । अहिले म ६३ वर्षको भएँ ।
टहराको बास छ । त्यो टहरापनि जाडोमा चिस्यान केन्द्र जस्तै छ । भूकम्प र पराकम्पनले घर ढल्यो । क्षति पुगेपनि भूकम्प पीडितकालागि दिने अनुदानमा मेरो नाम परेन । एकातिर घरविहिन अवस्था, अर्कोतिर मुटु रोगले जिन्दगी नै बिथोल्यो । टहरालेपनि ठूलो वर्षा–हुरी थेग्दैन । विकल्प पनि छैन । यो जुनी कटाउन के–के गरिएन । भारतको विहार पुगेर ७ वर्ष सुरक्षा गार्डको काम गरेँ ।
त्यहाँबाट फर्किने बित्तिकै मुटुको समस्या सुरु भयो । काठमाडौँको गंगालाल हृदयरोग अस्पतालमा स्वास्थ परीक्षण गर्न गएँ। शल्यक्रिया गर्नुपर्ने अवस्था रहेछ, त्यो गरियो। त्यसपछि डाक्टरले पनि महिनैपिच्छे स्वास्थ्य परीक्षण गर्न आउनु भनेका थिए । तर काठमाडौं आउजाउ र अस्पतालमा जाँच गराउँदा ५ देखि ६ हजार खर्च लाग्दो रहेछ । त्यति रकम जुटाउन नसकेर काठमाडौँ जाने आँटपनि गर्न सकेको छैन। अहिले औषधिको मात्रै महिनामा २ देखि ३ हजारसम्म खर्च हुन्छ ।
केही समय भारतमा काम गरेर जम्मा भएको रकमले २/३ महिना धान्यो । पैसा हुँदा काठमाडौं गएरपनि अस्पतालमा जचाए । एक वर्ष भयो, काठमाण्डौं गएको छैन् । आर्थिक अभावले गर्दा राम्रो अस्पताल जान सकेको छैन । बाह्रबिसे बजारको मेडिकलमा औषधि मगाएर खाने गरेको छु ।
म कमजोर भएपछि गुजारका लागि श्रीमती तारा मजदूरी गरिरहेकी छन्। पहिले होटेलमा गर्थिन् । अहिले यहीँको एक घरमा काम गर्न जान्छिन् । उनले महिनाभर घोटिएर कमाएको दस हजारबाट छाक टारिरहेका छौं । रासन पानी लगायतमा महिनामा ४ हजार खर्च हुन्छ ।
टहरा बनाएर बसेको जग्गाको वार्षिक भाडा ५ हजार तिर्नुपर्छ । बत्ती र पानीको बिलपनि तिर्नुपर्यो । मनमा अनेक तर्कना चल्छन् । एउटा घर बनाउन सके, राम्रो अस्पतालमा उपचार गराएर निको हुन पाए, यस्तै कुरा मनमा खेल्छन् ।
मुटु रोग र दमका कारण धेरै हिँडडुल गर्न सक्दिन। जाडो याम लाग्यो कि थला पर्छु । धेरै चिसो सहनपनि सक्दिन । धेरै समयअघि बाह्रबिसे नगरपालिकाले टहरा बनाउन ५ हजार सहयोग गरेको थियो । त्यसयता फेरि म सहयोग माग्न नगरपालिका गएको छैन ।
त्यतिखेर नगरपालिकाको प्रशासन शाखाका कर्मचारीले भीख माग्न गएजस्तो व्यवहार गरेपछि साह्रै चित्त दुख्यो । मुटुमात्र होइन मनपनि दुखाएर फर्किए । सन्तानको नाममा एक छोरी छ । उनीपनि बिबाह गरेर काठमाडौ बस्छिन् । उसको घरबार छ । यता हाम्रो दुःख छ ।
मन त छ नि! अरुको जस्तै सानो भएपनि न्यानो घरमा बसेर नियमित काठमाडौँको अस्पतालमा जँचाउन जाऔँ । अलि स्वथ्य भएर बाँच्न पाउँ । तर पैसाको कुरा आउँछ र पो गाह्रो छ । सपना भएर मात्रै नहुने रैछ । देखेको नहुने रै'छ, लेखेको चाहिने रहेछ। यही टहरा बनाउन युद्ध गरेजस्तै भयो । हामीजस्ता भुइँमान्छेलाई बाँच्न पनि कठिन छ ।
प्रस्तुति : अनिश तिवारी
