‘सबैतिर हार खाएर सुरु गरेको माछापालन वरदान साबित भयो’

'२०६९ सालबाट कालिमाटी गाउँपालिका–३ ढारेनीमा माछापालन सुरु गरेको हुँ । त्यही माछापालन अहिले मेरा लागि जीविकोपार्जनको माध्यम बनेको छ ।'

मंसिर १०, २०८२

केशरसिंह बुढाथोकी

'Fish farming, which I started after facing defeat everywhere, turned out to be a blessing'

What you should know

सल्यान — दाम कमाउने कुरा सजिलो रहेनछ । अहिले म उमेरले ५० पुगेँ । अहिले पनि माछापोखरी आसपासमै व्यस्त हुन्छु । कृषिभन्दा अन्य व्यवसाय केही नभएपछि बाहिरबाट ल्याएका माछाले बजार प्रभावित भए पनि मैले माछा पाल्न छाडेको छैन । ३ सय ५० देखि ५ सय रुपैयाँ प्रतिकिलो दैनिक १०/१५ किलो माछा अहिले पनि बिक्री गरिरहेको छु । 

खाद्यबाली, तरकारीलगायत अन्य बालीलाई जस्तो गोडमेल गर्न नपर्ने, दिनमा एक/दुई पटक दाना हाले पुग्ने भएकाले मैले माछापालन गरेको हुँ ।  पहिला जागिरका लागि नेताको पछि लाग्दै हिँडेँ । कसैले सुनेनन् । माछा पालन गरेपछि मलाई घरमै रोजगारी मिलेको छ । छोरी पढाउन र घरखर्च चलाउन अरूको भर पर्नु परेको छैन । बाहिरबाट व्यापारीले ल्याएर सस्तो माछा बिक्री गर्दा त्यही मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर गत वर्ष दुईवटा पोखरीका माछा बिक्री भएन तर पनि हार मानेको छैन । 

२०५२ साल सम्झिने बित्तिकै मलाई तत्कालीन माओवादीले थालेको विद्रोहको याद आउँछ । जिल्लामा विद्रोहको प्रभावका कारण मैले गाउँमा बसेर राम्रोसँग पढ्न पाइनँ । गाउँकै विद्यालयबाट २०५१ मा एसएलसी पास गरेर आईए पढ्न दाङ झरेँ । त्यहाँ जसोतसो दुई वर्ष बिताएँ । दाङमा पनि तत्कालीन माओवादीको प्रभाव थियो । त्यसैले आईए पास गरेपछि स्नातक पढ्न २०५३ मा राजधानी काठमाडौं हान्निएँ । त्यसबेला मजस्ता धेरैको गन्तव्य काठमाडौं हुन्थ्यो ।

दुबईबाट कमाएर ल्याएको ३ लाख ५० हजार लगानी गरेर सीमखेतमा पोखरी बनाई माछा पालन सुरु गरेको हुँ ।काठमाडौं त गएँ तर त्यहाँ बसेर ढुक्कले पढ्ने वातावरण बनेन । आर्थिक समस्याले च्याप्न थाल्यो । अरू पनि समस्याले पछ्याउन थालेपछि स्नातक तहको पढाइ छाड्न बाध्य भएँ । अनि घर फर्किएँ । गाउँ आएर शिक्षकको जागिर खान धेरै प्रयास गरे पनि सफल भइनँ । लामो समय बेरोजगार भएर बसेँ । घरमा बस्दा बुवाआमालाई बोझ बनेजस्तो लाग्यो । त्यसैले २०६५ सालमा ३१ वर्षको उमेरमा कमाउन भनेर दुबई गएँ । त्यहाँ दुःख धेरै पाइयो ।

सात रोपनी जग्गामा पोखरी बनाई सुरु गरेको माछापालन अहिले २० रोपनीमा विस्तार गरेको छु । १२ वटा पोखरी छन् । त्यसमा सबैमा विभिन्न जातका माछा पालन गरेको छु । माछा पालन गरेर वार्षिक १० लाख कमाउने लक्ष्य थियो । त्यही भएर ३ लाख ५० हजारबाट लगानी बढाएर १३ लाख पुर्‍याएको थिएँ । सुरुसुरुमा त राम्रै आम्दानी भयो । प्रत्येक वर्ष ४ लाख बढी कमाइ गरेँ । गत वर्षदेखि बाहिरबाट आउने माछाले गर्दा व्यवसाय धरापमा परेको छ । पहिलाजस्तो माछा बिक्री पनि हुन छाडेको छ । पहिला वार्षिक ४ लाखसम्म कमाइ हुनेमा अहिले खानलाउन मात्रै ठिक्क छ ।

२० रोपनी जग्गामा बनाएको पोखरीमा भएका माछा मैले वर्षमा पाँच महिना कात्तिक, मंसिर, पुस, माघ र फागुनमा मात्र बिक्री गर्दै आएको छु । प्रतिमहिना दुई लाखका दरले माछा बिक्री गर्छु भन्ने सोचेको थिएँ । पछिल्लो समयमा नजिकै बजार नभएका कारण व्यापार खासै नहुँदा एक लाखमै सीमित छु । माछाका लागि दाना दाङबाट ल्याउनु पर्छ । दानामै महिनामा ४०/५० हजार खर्च लाग्छ । बिक्री भएको मध्येबाट त्यस्तै ५० हजार बचत हुन्छ । तीन छोरीसहित अहिले मेरो पाँच जनाको परिवार छ । धान, मकै, गहुँ, तोरी आफ्नै जग्गामा उत्पादन हुने भएकाले खाद्यान्न किन्न पर्दैन । 

छोरी पढाउन मासिक १५ हजार खर्च लाग्छ । नुन, तेललगायत आवश्यक बस्तु किन्न ४ हजार, सातामा एक दिन मासु, लत्ताकपडा, औषधि उपचारमा ६ हजार र अन्यमा ७ हजार गरी ३३ हजारजति मासिक खर्च छ । अहिले महिनामा १५/१६ हजार मात्र बचाउन सकेको छु । पहिला सबै खर्च कटाएर वार्षिक ३/४ लाख बचाउँदा जग्गा जोडेको थिएँ । अहिले खानलाउन र छोरी पढाउनमै ठिक्क छ । 

प्रस्तुति : विप्लव महर्जन

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

केशरसिंह बुढाथोकी

Link copied successfully