काम नपाउँदा भोक पनि नलाग्ने, खानै नपर्ने हुने भए त कति सजिलो हुन्थ्यो नि ! के गर्नु सोचेर भएन, हकिकतमा त्यस्तो हुँदैन ।
काठमाडौँ — त्यही २७ वर्षजति भयो काठमाडौंमा आएको पनि । अहिले ४३ वर्षकी भएँ । मेरो गाउँ धादिङको थाक्रे–१० हो । गएको १९ वर्षदेखि ढुंगा छाप्ने काम गरिरहेकी छु । यही ज्यामी काम गरेर घरखर्च चलाइरहेकी छु । मेरा दुई छोरा र एक छोरी छन् । छोरीको बिहे भइसक्यो । अहिले आफै कमाएर दुई छोरा हुर्काइरहेकी छु ।
यही काम पनि नियमित हुँदैन । ठेकेदारले काममा बोलाएपछि नै हो काम गर्ने । नत्र घरमै थन्किनुबाहेक उपाय छैन । कहिलेकाहीँ लामै समय काम पाइँदैन । त्यसरी बसेका बेला काम पाउँदा औधि खुसी लाग्छ । पहिलाको तुलनामा अहिले काम पाउन अलि गाह्रो नै छ । तैपनि, अलिअलि त गुजारा चलेको छ ।
काम नपाउँदा भोक पनि नलाग्ने, खानै नपर्ने हुने भए त कति सजिलो हुन्थ्यो नि ! के गर्नु सोचेर भएन, हकिकतमा त्यस्तो हुँदैन । कोरोनाका बेलामा त ठप्पै भयो नि काम । ऋण गरेर भए पनि खाने बस्ने गर्यौं । कोठा नजिकैको किराना पसलबाट उधारोमा सामान लिने गर्छु र काम गरेपछि ऋण तिर्ने गरेकी छु ।
कोठाभाडा नै महंगो छ । महिना लाग्ने बित्तिकै ११ हजार तिर्नुपर्छ । चामल, तेल, दाल किन्दा उस्तै खर्च छ । मेरो त चामलमा भन्दा तरकारीमा धेरै पैसा खर्च हुन्छ । रासन किन्दा यति खर्च भयो भनेर लेखेर हिसाब गरेर त राखेको छैन । तर पनि धेरै नै खर्च हुन्छ । अहिलेसम्म अन्दाज नै गर्दा पनि कोठा भाडा र रासन खर्च गरेर २०/२१ हजार सकिन्छ । चाडवाडका बेला झन् हिसाब गरेर नसक्नु खर्च हुन्छ ।
ओ हो । मैले त पैसा नै बचत गरेकी छैन । पछि बुढेसकालमा के कस्तो हुने हो भन्ने सोच्दिनँ म त । अहिल्यैदेखि किन त्यसको पिर गर्नु भन्ने लाग्छ । भाग्यमा जे लेखेको छ, त्यही हुने भई हाल्छ । एक्लैले कमाएर भए पनि जसोतसो घर त चलाएकै छु भन्ने कुराले नै मन बुझाउँछु । त्यही भएर होला– मलाई आफ्नो काम देखेर कहिल्यै लाज लागेन ।
महिलालाई हेप्ने, केही गर्दैनन् भनेर कुरा काट्ने समाजमा आफूले सानो काम भए पनि काम गरेर हातमा पैसा खेलाउन पाउँदा खुसी मिल्छ । यो ठेक्काको काम सक्ने बित्तिकै आउने पैसाले त्यो सामान जोड्छु, यो काम निप्टाउनु छ भनेर हिसाब गर्न पाउँदा त्यसैमा रमाउँछु ।
मान्छेले हेर्ने नजर न हो, कुनै पनि काम सानो र ठूलो हुँदैन । सबैले आ–आफ्नो ठाउँबाट संघर्ष गर्ने नै त्यही दुई छाक राम्रोसँग खानलाई नै त हो । भलइ धनीका सपना ठूला होलान्, भनेको जस्तो हुन्छ होला । त्यो भिन्दै कुरा हो । आफू त गरिब परियो । सपना पनि सानै छन् ।
जिन्दगी संघर्ष नै संघर्षले भरिएको खाडल रहेछ । जति पूरा गर्न खोजे पनि इच्छा र आवश्यकता कहिल्यै पूरा नहुने । जहिल्यै दुःख मात्र गर्नुपर्ने कस्तो जिन्दगी हो भन्ने पनि लाग्छ कहिलेकाहीँ फेरि । छोराछोरीको र आफ्नो पेट पाल्नलाई कहिले चटपटे बेचेँ, कहिले के काम गरेँ । जे काम गरे पनि सम्पन्न हुने मनका रहर र इच्छा पूरा गर्न गाह्रो पर्दो रहेछ । अरुका अगाडि हात फैलाएर खान नपरोस् । आफूले सक्ने बेलासम्म काम गरेर कोही खिइँदैन । घर बसेर अर्काको कुरा काट्ने र अरुको कामको खिल्ली उडाउने, मनमा नानाथरीका कुरा खेलाउने भन्दा त आफ्नै खुट्टामा उभिए जितिन्छ जस्तो लाग्छ ।
मेरो काममा त महिनामा यति हजार आउँछ भन्ने नै हुँदैन । काम गरेर सकेपछि स्क्वायर फिट (वर्गफुट) को हिसाबले पैसा आउने हो । त्यसैले महिनामा यति नै ठ्याक्क आउँछ भन्ने त हुँदैन । कुनै कामबाट २५/३० हजार पनि आउँछ, कुनै बाट कम पनि हुन्छ । ठेगान नै हुँदैन । यही हो– काम मिलिराखोस् । छोराछोरीले राम्रो गरुन् । उनीहरूले जागिर खाएर आफ्नो खुट्टामा उभिएको देख्न पाए आनन्द हुन्थ्यो । आमाले गरेको दुःख बुझेर राम्रो बाटो हिँडून् । म हातपाउ चल्ने बेलासम्म काम गरिरहन्छु । काम गर्न नपरे हुन्थ्यो भन्ने कहिल्यै लागेन ।
प्रस्तुतिः आरती पौडेल
