‘मौरीका घार बनाउने उद्योगले मेरो जीवनमा परिवर्तन ल्याएको छ’

'तीन वर्षअघिसम्म मैले मौरीका घार बिक्री गरेर वार्षिक ३० लाखसम्मको कारोबार गरेको थिएँ । भारतीय व्यापारीका कारण अहिले व्यापार त्यति राम्रो छैन । घार कम बिक्री हुन थालेपछि केही महिनाअघिदेखि सुर्खेतमा बसेर मौरी पालन पनि गर्दै आएको छु । '

कार्तिक १७, २०८२

बालु कँवर

'The beehive industry has changed my life'

सल्यान — कक्षा ३ मा पढ्दै थिएँ, बुवाको निधन भयो । घरको मूली नै नरहेपछि परिवारमा आर्थिक अभाव देखिन थाल्यो । त्यसपछि पढ्ने मन मर्‍यो । अनि पढाइ छाडेर १३ वर्षको उमेरमै साथीभाइसित २०४६ सालमा भारतको कालापहाड गएँ ।

बुवा नभएपछि आमा र भाइबहिनीको लालनपालनको जिम्मेवारी मैमाथि आइपरेको थियो । भारतमा २६ वर्ष बिताएँ । त्यसक्रममा हिमाचल प्रदेशदेखि विभिन्न ठाउँमा पुगेर मजदुरी गरेँ । त्यहाँ दिनरात नभनी मजदुरी गरेर कमाएको रकम खान र बस्न मात्रै ठिक्क हुन्थ्यो । नियमित घरखर्च पठाउन सकिएन । लामो समय परदेशमा मजदुरी गरेँ । तर, सहज रूपमा परिवारको लालनपालन गर्न सकिनँ । 

परिवारबाट टाढा भएर पनि कमाउन नसक्ने हो भने खासै अर्थ देखिनँ । यता परिवारको आर्थिक अवस्था झनै कमजोर भइरहेको थियो । सधैं अर्काको ठाउँमा काम गर्नुभन्दा घरमै बसेर केही गर्छु भनेर २०७२ सालमा स्वदेश फर्किएँ । भारतबाट फर्किएलगत्तै केही बेर अलमल भयो । पढाइ नभएकाले जागिर पाउन सकिनँ । कालिमाटीका एक किसानले काठमाडौंबाट मौरीको घार किनेर ल्याएर गाउँमा बिक्री गरेको देखेँ । त्यसपछि मौरीका लागि घार बनाउन थालेँ । केही समयपछि मौरी घार उद्योग नै खोलेँ । अहिले त्यही उद्योगले मेरो जीवनमा परिवर्तन ल्याएको छ ।

दाङको शिवशक्ति मौरीघार उद्योगले सुरुमा सीप सिक्न प्रेरित गरेको थियो । २०७३ सालमा स्थानीयसित एक लाख रुपैयाँ सापटी लिएर उद्योग सुरु गरेँ । घरनजिकै भाडाको जग्गामा रहेको उद्योगमा बिहानदेखि बेलुकीसम्म काममै व्यस्त हुन्छु । सुरुका दुई वर्षजति घाटा भयो, तैपनि हार मानिनँ । त्यसयता प्रत्येक वर्ष ६ सयदेखि एक हजारसम्म मौरीका घार बिक्री गर्छु । गत वर्ष ६ सय घार बिक्री गरेर १८ लाख रुपैयाँको कारोबार गरेँ । सबै खर्च कटाएर ४ लाख चोखो बचेको थियो ।

अहिले म ४९ वर्षको भएँ । मेरो पाँच जनाको परिवार छ । परिवारलाई एक महिनामा ६ हजारको चामल, १ हजार ५ सयको दाल, ७ सयको तोरीको तेल, ६० रुपैयाँको नुन, ३ हजार बराबरको तरकारी खर्च लाग्छ । सातामा एक पटक मासु खाँदा २ हजार खर्च हुन्छ । विद्युत् महसुल, टेलिफोन लगायत अन्य ३ हजार गरी महिनामा २० हजार र वर्षमा २ लाख ४० हजार खर्च छ । कमाएको रकमबाट छोराछोरी पढाएको छु । आफ्नो र परिवारको उपचार गराउँदै आएको छु । अहिले आफ्नै उद्योगमा चार/पाँच जनालाई रोजगारी दिन सक्षम भएको छु । कमाएको रकमबाटै जग्गा पनि जोडेको छु ।

तीन वर्षअघिसम्म मैले मौरीका घार बिक्री गरेर वार्षिक ३० लाखसम्मको कारोबार गरेको थिएँ । भारतीय व्यापारीका कारण अहिले व्यापार त्यति राम्रो छैन । घार कम बिक्री हुन थालेपछि केही महिनाअघिदेखि सुर्खेतमा बसेर मौरी पालन पनि गर्दै आएको छु । रुकुमको एक संस्थाले मौरीका घारको माग गरेको छ । अब कात्तिकको अन्तिममा घर फर्किन्छु र पुनः मौरीका घार बनाउन सुरु गर्छु । पहिला कृषि विकास कार्यालयले सहजीकरण गर्दा मैले बनाएका मौरीका घारले राम्रै मूल्य पाएका थिए ।

केही बिचौलियाले अहिले भारतबाट मौरीका घार सस्तोमा किनेर ल्याई यहाँ बिक्री गरिरहेका छन् । यसबारे सम्बन्धित निकायको ध्यान जाओस् । परम्परागत मेसिन चलाउँदा विगतमा दैनिक एउटासम्म घार बनाउँथेँ । अहिले एकै दिन चारवटासम्म बनाउँछु ।

सुरुवातमा धेरै लगानी गर्न नसक्दा परम्परागत औजारले नै घार बनाउने गर्थें । आम्दानी बढ्दै गएको र कृषि विकास कार्यालय सल्यानले अनुदान दिएपछि अहिले बिजुलीबाट चल्ने आधुनिक मेसिन खरिद गरेको छु । त्यसको प्रयोग गर्दा घार बनाउन सहज पनि भएको छ । 

प्रस्तुति : विप्लव महर्जन

बालु कँवर

Link copied successfully