'अब त कतिन्जेल नै काम गर्न सकिएला र ! सकिन्जेल गरिन्छ, नसकेपछि थन्किने त होला नि ! उहिले बाजे–बराजुदेखिको चलनै यस्तै छ । सकिन्जेल काम गर्ने नसकेपछि कुनामा थन्किने ।'
What you should know
खोटाङ — हाम्रो मुख्य पेसा कुमाले हो । हाम्रो ८ पुस्ताले यही पेसा गरेर घरखर्च चलाइरहेको छ । म अहिले ६६ वर्षको भएँ । माटाका भाँडाकुँडा बनाएर गुजारा गर्न थालेको पनि ४८ वर्ष भयो ।
मेरा बाजे कृष्णनारायण, बाबु देवीनारायणले पनि यही काम गर्नुभएको थियो । यसबाहेक बस्तुभाउ पालेको छु । अलिअलि खेती किसानी पनि गर्छु । तर, घरमा आवश्यक माछा–मासु, लत्ता–कपडा, नानीहरूलाई कापी–कलम कुमाले कर्मबाटै जोहो गर्छु ।
पाँच छोरी, दुई छोरा छन् । एक छोरा नेपाली सेनामा छ । एउटा छोराले कमाउन कोरिया जाने भनेर भाषा परीक्षा दिएको थियो । तर, पार लाउन सकेन । दुइटी छोरीबाहेक सबैले १२ कक्षा पास गरेका छन् । कान्छा छोराबाहेक सबैको बिहेवारी भइसकेको छ । दुःखम्–सुखम् यसरी नै परिवार चलेको छ ।
मेरा माइलो तुलबहादुर र कान्छो भाइ पूर्णबहादुरले पनि यो काम जानेका छन् । उनीहरूले पनि यही पेसा अपनाएका छन् । तर चार–पाँच वर्षदेखि यो काम गरेका छैनन् । मेरा दुवै छोराले कुमाले काम अलिअलि जानेका छन् । तर, यो पेसा अपनाउन गाह्रो छ । एउटा आर्मीको जागिरे छ, त्यसले भ्याउँदैन । पछि जागिर सकेर काम गर्यो भने गर्ला, नत्र गर्ने छाँट छैन । कान्छो पनि दिक्तेल बजारमा टेराम्रिदा कार्वन कफी विरुवा कार्यक्रममा काम गर्दैछ । सीप उनीहरूकै लागि हो, बुद्धि फिरे गर्लान्, नफिरे अरु केही गर्लान् ।
मेरो घर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्छ । अहिले म र बुढीले घरधन्दा, बस्तुभाउ, खेती किसानी गर्दै यो पेसा धानिरहेका छौं । यसबाट त्यत्ति धेरै पैसा कमाइँदैन । तीन सयदेखि पाँच–सात हजारसम्म पर्ने भाँडा बनाइन्छ । तर, बजार छैन । पहिले पहिले धेरै बिक्री हुन्थ्यो ।
पहिले गाउँमा पैसा पनि त्यति धेरै हुँदैन थियो । भाँडाकुँडा बनाएको पैसाले दुःखजेलो गर्जो टर्थ्यो । यसैबाट धेरै काम गर्न सकिन्थ्यो । पहिले पैसाको साटो अन्नले पनि काम चल्थ्यो । अहिलेको समय त्यस्तो छैन । पैसा छ भने सबथोक हुन्छ, छैन भने केही हुँदैन । अहिले मतलबी समय आयो ।
आठ–दस सालअघिसम्म रक्सी पार्ने फुङ्गा, पैनी, भात, दाल, सिस्नु पकाउने बुछालु, मकै भुट्ने खपेटा, गमला, मकल, धुपौरो खुब चल्थ्यो । तर, अहिले विभिन्न खालका भाँडा बनेपछि माटोका भाँडा बिक्री हुन छाड्यो । माटोबाट बनेको भाँडा स्वास्थ्यका लागि राम्रो हुने भन्छन् तर चलन चल्तीमै छैन ।
माटोको भाँडा बनाउने माटो तीन किसिमको चाहिन्छ । कमेरो, रातो र काली माटो चाहिन्छ । आफ्नो बारीमा माटोको खानी छैन । अरुको बारीबाट माटो ल्याउनु पर्छ । त्यो पनि खानी पाउन छाडिएको छ । एक–दुई ठाउँमा पाइन्छ, त्यो पनि टाढा छ ।
सामुदायिक वन समूहलाई माटोबापतको एक पटकमा तीन–चार सय रुपैयाँ पैसा बुझाउनु पर्छ । खानीबाट ट्याक्टरमा माटो ल्याइयो भने एकै ट्याक्टरले वर्षभरि पुग्छ । पहिले चक्र पनि ठूलो हुन्थ्यो । बल नहुनेलाई चलाउन गाह्रो हुन्थ्यो । तर तीन वर्षअघि वडाध्यक्ष खगेन्द्र राईले वडाको बजेटले बिजुलीबाट चल्ने सजिलो चक्र ल्याई दिनु भयो । त्यसपछि सजिलो भएको छ । बिजुलीको लाइन हुँदा काम गर्छु, नहुँदा अरु काम गर्छु । यसरी चलेको छ– मेरो पेसा व्यवसाय ।
अब त कतिन्जेल नै काम गर्न सकिएला र ! सकिन्जेल गरिन्छ, नसकेपछि थन्किने त होला नि ! उहिले बाजे–बराजुदेखिको चलनै यस्तै छ । सकिन्जेल काम गर्ने नसकेपछि कुनामा थन्किने । बाजे–बराजुले नसके पनि हामीले सम्हाल्यौं । तर, हामीले नसके छोरा–नातिले अपनाउँछन् जस्तो लाग्दैन, अब यो पेसा त्यत्तिकै लोप हुने अवस्थामा पुगेको छ ।
प्रस्तुति : डम्बरसिं राई
