‘मतलवी जमानामा पैसा भयो भने सबथोक हुन्छ, छैन भने केही हुँदैन’

'अब त कतिन्जेल नै काम गर्न सकिएला र ! सकिन्जेल गरिन्छ, नसकेपछि थन्किने त होला नि ! उहिले बाजे–बराजुदेखिको चलनै यस्तै छ । सकिन्जेल काम गर्ने नसकेपछि कुनामा थन्किने ।'

कार्तिक १३, २०८२

ललित श्रेष्ठ

”In the age of the rich, if you have money, everything is possible, if you don't, nothing is possible.”

What you should know

खोटाङ — हाम्रो मुख्य पेसा कुमाले हो । हाम्रो ८ पुस्ताले यही पेसा गरेर घरखर्च चलाइरहेको छ । म अहिले ६६ वर्षको भएँ । माटाका भाँडाकुँडा बनाएर गुजारा गर्न थालेको पनि ४८ वर्ष भयो ।

मेरा बाजे कृष्णनारायण, बाबु देवीनारायणले पनि यही काम गर्नुभएको थियो । यसबाहेक बस्तुभाउ पालेको छु । अलिअलि खेती किसानी पनि गर्छु । तर, घरमा आवश्यक माछा–मासु, लत्ता–कपडा, नानीहरूलाई कापी–कलम कुमाले कर्मबाटै जोहो गर्छु । 

पाँच छोरी, दुई छोरा छन् । एक छोरा नेपाली सेनामा छ । एउटा छोराले कमाउन कोरिया जाने भनेर भाषा परीक्षा दिएको थियो । तर, पार लाउन सकेन । दुइटी छोरीबाहेक सबैले १२ कक्षा पास गरेका छन् । कान्छा छोराबाहेक सबैको बिहेवारी भइसकेको छ । दुःखम्–सुखम् यसरी नै परिवार चलेको छ । 

मेरा माइलो तुलबहादुर र कान्छो भाइ पूर्णबहादुरले पनि यो काम जानेका छन् । उनीहरूले पनि यही पेसा अपनाएका छन् । तर चार–पाँच वर्षदेखि यो काम गरेका छैनन् । मेरा दुवै छोराले कुमाले काम अलिअलि जानेका छन् । तर, यो पेसा अपनाउन गाह्रो छ । एउटा आर्मीको जागिरे छ, त्यसले भ्याउँदैन । पछि जागिर सकेर काम गर्‍यो भने गर्ला, नत्र गर्ने छाँट छैन । कान्छो पनि दिक्तेल बजारमा टेराम्रिदा कार्वन कफी विरुवा कार्यक्रममा काम गर्दैछ । सीप उनीहरूकै लागि हो, बुद्धि फिरे गर्लान्, नफिरे अरु केही गर्लान् । 

मेरो घर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा पर्छ । अहिले म र बुढीले घरधन्दा, बस्तुभाउ, खेती किसानी गर्दै यो पेसा धानिरहेका छौं । यसबाट त्यत्ति धेरै पैसा कमाइँदैन । तीन सयदेखि पाँच–सात हजारसम्म पर्ने भाँडा बनाइन्छ । तर, बजार छैन । पहिले पहिले धेरै बिक्री हुन्थ्यो । 

पहिले गाउँमा पैसा पनि त्यति धेरै हुँदैन थियो । भाँडाकुँडा बनाएको पैसाले दुःखजेलो गर्जो टर्थ्यो । यसैबाट धेरै काम गर्न सकिन्थ्यो । पहिले पैसाको साटो अन्नले पनि काम चल्थ्यो । अहिलेको समय त्यस्तो छैन । पैसा छ भने सबथोक हुन्छ, छैन भने केही हुँदैन । अहिले मतलबी समय आयो ।

आठ–दस सालअघिसम्म रक्सी पार्ने फुङ्गा, पैनी, भात, दाल, सिस्नु पकाउने बुछालु, मकै भुट्ने खपेटा, गमला, मकल, धुपौरो खुब चल्थ्यो । तर, अहिले विभिन्न खालका भाँडा बनेपछि माटोका भाँडा बिक्री हुन छाड्यो । माटोबाट बनेको भाँडा स्वास्थ्यका लागि राम्रो हुने भन्छन् तर चलन चल्तीमै छैन ।

माटोको भाँडा बनाउने माटो तीन किसिमको चाहिन्छ । कमेरो, रातो र काली माटो चाहिन्छ । आफ्नो बारीमा माटोको खानी छैन । अरुको बारीबाट माटो ल्याउनु पर्छ । त्यो पनि खानी पाउन छाडिएको छ । एक–दुई ठाउँमा पाइन्छ, त्यो पनि टाढा छ । 

सामुदायिक वन समूहलाई माटोबापतको एक पटकमा तीन–चार सय रुपैयाँ पैसा बुझाउनु पर्छ । खानीबाट ट्याक्टरमा माटो ल्याइयो भने एकै ट्याक्टरले वर्षभरि पुग्छ । पहिले चक्र पनि ठूलो हुन्थ्यो । बल नहुनेलाई चलाउन गाह्रो हुन्थ्यो । तर तीन वर्षअघि वडाध्यक्ष खगेन्द्र राईले वडाको बजेटले बिजुलीबाट चल्ने सजिलो चक्र ल्याई दिनु भयो । त्यसपछि सजिलो भएको छ । बिजुलीको लाइन हुँदा काम गर्छु, नहुँदा अरु काम गर्छु । यसरी चलेको छ– मेरो पेसा व्यवसाय ।

अब त कतिन्जेल नै काम गर्न सकिएला र ! सकिन्जेल गरिन्छ, नसकेपछि थन्किने त होला नि ! उहिले बाजे–बराजुदेखिको चलनै यस्तै छ । सकिन्जेल काम गर्ने नसकेपछि कुनामा थन्किने । बाजे–बराजुले नसके पनि हामीले सम्हाल्यौं । तर, हामीले नसके छोरा–नातिले अपनाउँछन् जस्तो लाग्दैन, अब यो पेसा त्यत्तिकै लोप हुने अवस्थामा पुगेको छ । 

प्रस्तुति : डम्बरसिं राई

ललित श्रेष्ठ

Link copied successfully