'हुन त मेरो यो उमेर भनेको आराम गर्नुपर्ने बेला हो । पाल्लान् भन्ने बेला छोराछोरी आ–आफ्नो घर–व्यवहारमा लागे । त्यत्तिकै बसिरहनुभन्दा यसो हातखुट्टा पनि चल्ने र दैनिक चार/पाँच सय हात पर्ने भएकाले कामलाई माया मार्न सकिनँ ।'
What you should know
सल्यान — उतिबेला गाउँमा विद्यालय थिएनन् । बालबच्चा पढाउनुपर्छ भन्ने चेत पनि थिएन । त्यसैले ६ वर्षको उमेरबाटै बाबु–बाजेको पछि लाग्दै हिँडेँ । उनीहरू घरनजिकैको ढुंगाखानी पुगेर जाँतो र सिलौटो बनाउँथे । मलाई पनि त्यत्तिकै बस्न मन लाग्थेन । ढुंगा बोक्न रहर लाग्थ्यो । बाबु र बाजे थाकेर सुस्ताएका बेला हथौडा र छिनो समातेर ढुंगा कुँद्ने गर्थें ।
१० वर्षको उमेरपछि बाबुबाजेले मलाई पनि सिलौटो र जाँतो बनाउन सिकाए । ढुंगाको जाँतो र सिलौटो बनाउने काम हाम्रो पुर्ख्यौली पेसाजस्तै थियो । त्यही काम गरेर गुजारा चलाउँथे । उहिले बाबु–बाजेले सिकाएको सीप अहिले मेरो पनि गुजारा गर्ने माध्यम बनेको छ ।
म मात्र होइन, गाउँका धेरैजसो बालबालिका पढ्थेनन् । स्कुल जानेहरू पनि पढाइ छाडेर भारतका विभिन्न सहरमा मजदुरी गर्न जाने चलन थियो । १४/१५ वर्ष पुगेपछि म पनि बाबु–बाजेलाई सहज होस् भनेर साथीभाइसँगै २०३४ सालमा भारतको लद्दाक पुगेँ । त्यहाँ जति मरिमेटी गरे पनि खानेबस्ने भन्दा धेरै कमाइ गर्न सकिनँ । आफूले कमाएको आफैंलाई ठिक्क भएपछि घरखर्च कसरी पठाउनू ?
दुई वर्ष लद्दाकमा बसेर घर फर्किएँ । घर फर्केर फेरि बाबु–बाजेकै कामलाई निरन्तरता दिएँ । ढुंगाको जाँतो, सिलौटो र ओखल बनाउन सुरु गरेँ । त्यही काम गरेर २२ जनाको परिवारको गुजारा चलाइयो । अहिले पहिलेजस्तो जाँतो, सिलौटो र ओखलको माग छैन । बसाइँसराइले बस्ती पनि रित्तिँदै गए ।
अहिले म ६३ वर्षको भएँ । आयस्रोतको अन्य माध्यम केही छैन । अहिले घरमा श्रीमान् श्रीमती मात्र छौं । घरखर्च चलाउने विकल्प नभएपछि बुढेसकालमा पनि ढुंगाको जाँतो, सिलौटो, ओखल बनाउन बाध्य छु ।
उमेर छँदा त ठूल्ठूला ढुंगा उठाएर एक ठाउँबाट अर्को ठाउँमा लगेर घट्टको जाँतो पाँच दिनमै बनाउँथेँ तर अहिले सक्दिनँ । एउटा बनाउनु परे १५ दिनसम्म लाग्छ । पहिला घट्टको जाँतोको माग धेरै हुँदा महिनामा ९० हजारसम्म कमाउँथेँ । अहिले माग छैन र पहिलाजस्तो काम गर्न पनि सक्दिनँ । सानातिना जाँतो र सिलोटो मात्र बनाइरहेको छु । सानो जाँतो र सिलौटो बिक्री गरेर अहिले महिनाको १५ हजारजति मात्र कमाइ गर्दै आएको छु । दुई जनाको परिवारलाई खान पुग्ने र अरुको भर पर्न नपर्ने भएकाले काम चटक्कै छाड्न सकेको छैन ।
दुई जनाको परिवारलाई एक महिना बिहान–बेलुकी छाक टार्न २ हजार बराबरको २५ किलो चामल, एक हजारजतिको पाँच किलो दाल र २ हजारको तरकारी, ५ सयको दुई लिटर तेल, ३० रुपैयाँको एक किलो नुन लाग्छ । महिनामा २ हजारजतिको मासु खान्छौं । बिजुली, टेलिफोनमा एक हजार खर्च हुन्छ । जाँतो र सिलौटो बिक्री गरेर महिनामा कमाएको १५ हजारमध्येबाट घरखर्च छुट्याएर ६ हजारजति बच्ने गर्छ । बचेको रकम दुई जनालाई उपचार खर्च गर्न चाडपर्वमा नयाँ लत्ताकपडा फेर्न पुगेको छ । छोराबुहारी गुहार्न परेको छैन ।
हुन त मेरो यो उमेर भनेको आराम गर्नुपर्ने बेला हो । पाल्लान् भन्ने बेला छोराछोरी आ–आफ्नो घर–व्यवहारमा लागे । त्यत्तिकै बसिरहनुभन्दा यसो हातखुट्टा पनि चल्ने र दैनिक चार/पाँच सय हात पर्ने भएकाले कामलाई माया मार्न सकिनँ । पालिकाले व्यवस्थित गर्न सकेको भए धेरै युवाले रोजगारी पाउँथे ।
पालिकाले बेवास्ता गर्दा र युवा पुस्ता विदेशिँदै गएकाले ढुंगाको जाँतो, सिलौटो बनाउने क्रम घट्दै गएको छ भने कुट्ने, पिस्ने आधुनिक मेसिनका कारण लोप हुने अवस्थामा पुगेको छ । जसका कारण स्थानीयको रोजगारीसमेत धरापमा पर्दै आएको छ ।
प्रस्तुति : विप्लव महर्जन
