'आम्दानी थोरै भए पनि त्यस्तो ठूलो अपेक्षा केही छैन । मादल बेचेको आम्दानीले घरखर्च आनन्दसँग चलेको छ ।'
What you should know
गुल्मी — यसपालि तिहारका बेला मादल बेच्न चन्द्रकोटबाट सदरमुकाम तम्घास आएको हुँ । घरबाट ८ वटा मादल लिएर आएको छु । पहिले पहिले त गाउँघरमै बिक्री हुन्थ्यो । अहिले बिक्री हुन छाडेको छ । गाउँमा बिक्री हुन छाडेपछि सदरमुकाम आएको हुँ ।
मादल बनाएर गुजारा चल्दैन भनेर ८ वर्षअघि विदेश गएर दुःख पनि गरेँ । साउदी अरबमा रगत–पसिना बगाए पनि त्यति कमाइले जीवनभरिलाई नपुग्ने रहेछ । सकुन्जेलका लागि गाउँघरकै पेसा ठिक लाग्न थालेको छ । त्यसैले म पुर्ख्यौली पेसामा फर्किएको हुँ ।
बुबा र हजुरबुबाले मादल बनाउनु हुन्थ्यो । मैले पनि त्यही काम गरेर अहिले गुजारा गर्न थालेको छु । मादल बनाउन मिहिनेत बढी लाग्छ । यसका लागि पहिले काठ खोज्नु पर्यो । खमौरी, मौयाँ, घ्वाँरी, खिर्रो र सिउँडीका काठ प्रयोग गर्छु । बाख्राको छाला र खरी लगाएपछि मादल तयार हुन्छ । मादल बनाउन लगानी थोरै भए पनि मिहिनेत बढी लाग्छ । दुःख गरेर बनाएको मादल बिक्री हुँदा ज्यादै खुसी मिल्छ ।
चन्द्रकोट गाउँपालिका–१ दिब्रुङको वलिबाङमा मेरो घर छ । अहिले ३८ वर्षको भएँ । वर्षभरि बनाएका मादल तिहारमा धेरै बेच्ने गरेको छु । श्रीमती ताराले पनि मलाई मादल बनाउन र मादलका लागि आवश्यक कच्चा पदार्थ तयार पार्नका लागि सघाउँछिन् । मेरा चार छोरी छन् । जसका लागि पढाइ खर्च र घरखर्च सबै यही मादल बेचेर पुर्याउने गर्छु । एउटा मादल बनाउन ५ दिन लाग्छ । मादलको आकार अनुसार २ हजारदेखि ७ हजार रुपैयाँसम्म पर्छ । वर्षभरिमा २५ देखि ३० वटा मादल बेच्ने गर्छु । जसबाट १ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । मिहिनेत बढी लागे पनि ५० हजार रुपैयाँजति फाइदा हुन्छ । यसैले घरखर्च चलेको छ ।
आम्दानी थोरै भए पनि त्यस्तो ठूलो अपेक्षा केही पनि छैन । मादल बेचेको आम्दानीले घरखर्च आनन्दसँग चलेको छ । घरमा त्यति ठूलो खर्च पनि छैन । छोरीहरू सरकारी स्कुलमा पढ्छन् । सामान्य खर्चले पुग्छ । घरमा तरकारी किन्नु पर्दैन । भान्सामा सामान्य दाल, भात र तरकारी भए पुग्छ । चाडपर्वमा दुःखसुख र रमाइलो गर्न पनि पुगेकै छ । कपडा लगाउनमा पनि त्यति धेरै सोख छैन । सामान्य भएपछि हाम्रो परिवारलाई भइहाल्छ । त्यसैले त हाम्रो परिवार सन्तुष्ट छ । म विदेशमा बस्दा त्यति धेरै सन्तुष्ट थिएन । तर, यहाँ गाउँमा बस्दा एकदमै सन्तुष्ट छु । घरपरिवारसँगै बसेको छु । आम्दानी त धेरैथोरै भइहाल्छ ।
वर्षभरि बनाएका मादल म खास गरी तिहारमा बिक्री गर्छु । तिहारका लागि नै भनेर ती मादल तयार गर्छु । पहिले जस्तो बजार नपाए पनि हल्काफुल्का बिक्री भइहाल्छ । जसले गर्दा तिहारमै मादल बेचेर भए पनि जीविकोपार्जन भइरहेको छ । हामीलाई मादल बनाउन पुर्खाले सिकाएका हुन् । जसका कारण भोकै बस्नु परेको छैन । सीप सिकेपछि केही न केही गरेर घरखर्च चलाउन सकिने रहेछ । मलाई पुर्ख्यौली सीपले नै जीवन निर्वाह गराउन सहयोग पुर्याएको छ ।
पहिलेजस्तो व्यापार छैन । अहिले यही पनि आधुनिक बनेको छ । हाम्रो पुर्खाको पालामा जति मिहिनेत गरे पनि मूल्य थिएन । तर, अहिले हाम्रो मिहिनेतले मूल्य पाउँछ । यसमा म सन्तुष्ट छु । दुःख त के कुरामा लाग्छ भने हाम्रो पछिल्लो पुस्ता मादल बनाउन रुचि नै राख्दैन । यो सीप सिक्नै चाहँदैन । त्यसैले कतै यो बिस्तारै हराएर जाने त होइन भनेर चिन्ता लाग्छ ।
बिस्तारै प्रविधिले बजार लिंदैछ । डिजिटल माध्यमबाट मानिसले रमाइलो गर्न थालेका छन् । तर, अझै पनि तीज, दसैं र तिहारमा भने मादलको प्रयोग हुन्छ । बिस्तारै हराउने पो हो कि भन्ने चिन्ता लाग्छ । यसलाई जोगाइराख्न हामी नै लाग्नु पर्दछ । हामीले बनाएको मादलले थरीथरी गीतमा ताल भरिरहेको हुन्छ । जसले गर्दा रमाइलोको अनूभूति गराइरहेको छ । मादल बनाउने, बजाउने र रमाउने संस्कृति हराउनु हुँदैन । यसले दुःख गरिरहेको मान्छेले पनि रमाइलोको अनुभूत गर्छ जस्तो लाग्छ ।
मादल बनाउने पेसा हाम्रो समुदायले मात्रै होइन, अरुले पनि अँगाल्नुपर्छ । सीप सिकेर व्यावसायिक बनेमा यो पेसामा टिकिरहिन्छ । तर, यसलाई पुर्ख्यौली पेसाका रूपमा मात्रै हेर्ने हो भने त यो छिट्टै हराएर जान्छ जस्तो लाग्छ ।
प्रस्तुति : सन्तोष महतारा
