‘मिहिनेत गरेपछि आम्दानी हुन्छ भन्ने बुझेकी छु’

महँगो बजार, श्रीमान् विदेश, घरको जिम्मा, अनि बंगुर, खुर्सानी, काफल र सुन्तलाबाट महिनामा २० हजारसम्म कमाउने महिलाको मन छुने संघर्ष।

आश्विन २३, २०८२

सम्झना सारु लाम्टाङ्गे

”I understand that after hard work, you will get income”

What you should know

पाल्पा — घरको अवस्था कमजोर थियो । के गर्ने के नगर्ने भन्ने हुन्थ्यो । निकै सोचेपछि मिहिनेत गरेरै सफलता मिल्छ भन्ने लाग्यो । मुलुककै इलम गर्न र श्रीमानलाई वैदेशिक रोजगारीमा पठाउन पनि पैसा थिएन । १० वर्षअघिसम्म के खाम्, के लाम अवस्था थियो । श्रीमान‍्ले कमाएको देख्न पाइनँ । त्यसैले आफैंले मिहिनेत गर्न थालेँ ।

आम्दानीको बाटो केही नभएपछि खुदी (चामलको आधा कटेको) किनेर घरेलु मदिरा उत्पादन गरेर बिक्री गर्थें । त्यसबाट पनि केही रकम आम्दानी भएपछि मसँग नगद पैसा बल्ल हुन थाल्यो । 

घरेलु मदिरा बनाउने र एउटा बंगुर पाल्ने योजना बन्यो । घरेलु मदिराबाट फ्याँकिने पास (जाडको छोक्रा) बंगुरको आहारा बन्यो । एउटा बंगुर पाल्दा पाल्दै दुईवटा बच्चा वडा कार्यालयले अनुदानमा दियो । एउटै बंगुर एक वर्ष पाल्दा ५७ हजार ६ सय रुपैयाँ आम्दानी भयो । निकै खुसी लाग्यो । अहिले गोठमा ४ वटा भाले र एक पोथी बंगुर पालेकी छु । दुई वटा पोथी थिए । एउटा बिक्री गरेँ । बंगुरपालनसँगै खुर्सानी खेती पनि गरेकी छु । अकबरे खुर्सानी ६ सय बोट रहेका छन् ।

२० देखि ३० हजार आम्दानी अकबरे खुर्सानीबाट पनि हुन्छ । घरमा बाख्रा पनि पालेकी छु । तीन माउ, खसी, बोका पनि छन् । एक वर्षमा ३० देखि ४० हजार रुपैयाँका खसी, बोका बिक्री गरेर पनि आम्दानी गरेकी छु । बारीमा सुन्तला र मौसम पनि फलेका छन् । सुन्तला र मौसम बिक्री गरेर ३० हजारजति कमाइ गर्ने गरेकी छु ।

काफलको सिजनमा पनि आम्दानी राम्रै हुन्छ । काफल टिपेर नजिकैको बतासेसम्म लगेर बिक्री गर्दा ४० हजार बढी आम्दानी भएको छ । गाउँमा बसेर केही न केही काम गर्ने हो भने आम्दानी गर्न सकिन्छ भन्ने मलाई लाग्छ । काम नहुँदा पनि घरमा सुतेर दिन बिताउन कहिल्यै मन लागेन । केही आम्दानी गरेपछि जीवन पनि सहज बन्दै गएको छ । तर मिहिनेत गर्न भने छाडेकी छैन । मेरो घर रिब्दीकोट गाउँपालिका–८, फेकको सोमहरमा पर्छ । 

अहिले ३४ वर्षकी भएँ । तानसेन–छहरा सडकअन्तर्गत बतासेदेखि ४५ मिनेट पैदल दूरीमा सोमहर गाउँ छ । मेरो माइती घर भने अर्घाखाँचीको पाणिनी गाउँपालिकाअन्तर्गत पणेना हो । अर्घाखाँचीकै हरिहर संस्कृति मावि पोखराथोकबाट कक्षा १२ सम्म अध्ययन गरेकी छु । मेरो छोरा कक्षा १ र छोरी ६ मा पढ्छन् । श्रीमान् देवेन्द्र लाम्टाङ्गे भारतमा कामका लागि बस्न थालेको १० वर्ष भइसक्यो । श्रीमान् लामो समयदेखि भारतमा काम गर्ने भए पनि उनको कमाइ आफैंलाई ठिक्क छ । घरखर्च चलाउने जिम्मा मेरै हो । घरमा सासू–ससुरा, छोराछोरी भएकाले सबैको भरथेग पनि मैले नै गर्नुपर्छ । 

बजारमा महँगी बढेको छ । हरेक दैनिक उपभोग्य सामग्रीको मूल्य बढेको छ । त्यसैले आम्दानी नहुने हो भने घरखर्च चलाउन समस्या हुने गरेको छ । नुन, तेल, मसला, चामल, लत्ताकपडा सबै महँगो छ । नियमित आम्दानी केही छैन । तर, सिजन अनुसारको तरकारी, फलफूल, खसीबोका, घरेलु मदिरा, बंगुरबाट भएको आम्दानीलाई पुर्‍याइ पुर्‍याइ खर्च गर्नुपर्ने अवस्था छ ।

घरमा पालेका बंगुरको मासु र पाठापाठी बिक्री गर्न समस्या छैन । नजिकै बतासे बजार भएकाले खसी–बोका पनि बिक्री गर्न समस्या परेको छैन । काफल बिक्री गर्न पनि समस्या हुन्न । सुन्तला र मौसम बजारमा लगेर बिक्री गर्दा नाफा राम्रै हुने गरेको छ । महिनाको सरदर १५ देखि २० हजार आम्दानी भए पनि खर्च पनि उत्तिकै छ । १२ वर्षअघि र अहिलेको महँगीलाई तुलना गर्न मिल्ने अवस्था छैन । किनभने, त्यसबेला र अहिले धेरै नै महँगी बढेको छ ।

६ सय रुपैयाँ किलोमा पाइने मसला १ हजार २ सयमा पनि नपाउने अवस्था छ । चामलको अवस्था उस्तै छ । ३० रुपैयाँ किलोमा पाइने चामल अहिले ६० मा पनि नपाउने अवस्था भइसकेको छ । त्यसैले सरकारले महँगी नियन्त्रण नगर्ने हो भने विपन्न परिवारलाई अझ विपन्न बनाउनेछ ।

प्रस्तुति : माधव अर्याल 

सम्झना

Link copied successfully