ठूला रहर र इच्छा कहिल्यै जागेनन् । बरू भएको कुरामा सन्तुष्ट हुनु नै जीवन जिउनुको मजा जस्तो लाग्छ ।
What you should know
रूपन्देही — सानैदेखि जे काम मिल्छ, त्यही गरेर हुर्किएँ । काम गर्ने गन्तव्य पनि एउटै थिएन । त्यसैले कामको खोजीमा धेरै डुलियो । एकपटक बुटवलमा काम गर्ने सिलसिलामा गोर्खाकी सुमित्रासँग मौकाले भेट भयो । भेटमा गफगाफ गरेपछि मायाप्रेम झाँगियो । अनि उनलाई विवाह गरेर तिलोत्तमास्थित घरमा भित्र्याएँ । त्यतिबेला कोठाभाडा १ सय थियो ।
समयसँगै हाम्रो जीवनयात्रा बगिरहेको छ । कहिले कता, कहिले कता गर्दै समय बितिरहेको छ । घर निर्माणको काममा मजदुरी गर्छु । यसरी काममा सघाउँदा सघाउँदै मिस्त्रीको काम पनि सिकेको छु । अहिले दैनिक ८ सय रुपैयाँ ज्याला मिल्छ । त्यही काम गरेर परिवार पालेको छु ।
मैले काम गर्न थालेदेखि धेरै जनाको घरमा गारो लगाएँ । तर आफ्नो घर बनाउन सकिनँ । श्रीमतीले अरुको घरमा गएर झाडुपोछा र लुगा धुने काम गर्थिन् । तर केही महिना भयो, उनको शरीरमा एलर्जी आएर काम गर्न सकेकी छैनन् । डाक्टरका अनुसार उनलाई मधुमेह पनि देखिएको छ । डाक्टरले महिनाभरिको औषधि दिएका छन् । त्यसमै ५ हजारभन्दा बढी खर्च भयो ।
मासिक २४ हजार बाहेक आउने बाटो छैन । बिरामी परेर हाजिर नलाए त्यही पनि घट्छ । श्रीमतीले काम गर्दा पनि त्यही रेटको पैसा आउँथ्यो । तर उनको उपचार गर्दा धेरै खर्च भइसक्यो ।
अहिले ४५ वर्ष पुगेँ । तिलोत्तमा नगरपालिका–७ मा जन्मिएँ । साथीसँगी स्कुल गए । खेल्दै हुर्किएँ । तर, आमाबुवाको माया पाउने बेलादेखि मैले मजदुरी गर्न थालेको हुँ । त्यसैले ठूला रहर र इच्छा कहिल्यै जागेनन् । बरू भएको कुरामा सन्तुष्ट हुनु नै जीवन जिउनुको मजा जस्तो लाग्छ ।
मैले कति कक्षासम्म पढेँ भन्ने पनि याद छैन । मेरा तीन सन्तानमध्ये जेठी छोरी काठमाडौंमा बस्छिन् । हामीले राम्ररी पढाउन सकिंदैन जस्तो लागेर पढाइदिने शर्तमा उनलाई अरुको घरमा राखिदिएका छौं । उनले राम्रो पढ्न पाएकी छिन् । अहिले कक्षा १० मा पढ्छिन् । माइलो छोरा ७ मा पढ्छ । कान्छी छोरी ६ मा पढ्छिन् ।
सामुदायिक विद्यालय भएकाले अहिलेसम्म खर्च त्यति लागेको छैन । अब कक्षा बढेपछि लागिहाल्छ । ३ कठ्ठा खेत अँधिया गरेको छु । त्यसैबाट चामल खान पुगेको छ । खेतीको पनि वार्षिक ६ हजार साहुलाई बुझाउनुपर्छ । कोठा भाडा ३ हजार र बिजुली पानीको खर्च ९ सयजति आउँछ । खर्च त जति गर्यो त्यति हुने रहेछ । म खर्च अड्कलेर जिन्दगी चलाइरहेको छु ।
छोराछोरीले खान मन लाग्यो भन्दा वा लगाउन मन लाग्यो भन्दा नाई त भनिएको छैन । तर दिनैपिच्छे, हप्तैपिच्छे वा महिनैपिच्छे सुविधा पुर्याउन सकिंदैन । चाडपर्वमा कपडा, जुत्ता किन्न भन्छन्, त्यसलाई चाडको दिनमात्र लगाएर अर्को पटकलाई जतन गर्ने गरेका छौं । किन्नै परे किनिन्छ, होइन भने धोएर, पट्टाएर राख्ने र फेरि लगाउने गरिन्छ ।
चाड आयो विशेष खानकी भनेर मानिसले भन्छन्, मलाई त सदाबहार उस्तै छ । पैसा भएका बेला मासु, माछा खाइएकै हुन्छ, नभए छाक टर्छ, त्यो विशेष भन्ने जान्दिनँ । कति चाड बिनाखर्च, बिना पैसा बिताइयो, कसैको घरमा जाँदा रित्तै हात जान भएन । पैसो नै चाहियो । पैसालाई जति महत्त्व दियो, त्यति नै महत्त्वपूर्ण रहेछ भन्ने लाग्छ ।
मैले कमाएको पैसामा महिना कटाउन सहज त छैन । तर, मेरो अवस्थाले त्यसमै पुर्याउनुपर्छ भन्ने सिकाएकाले अहिलेसम्म धानिएको छ । पैसा भएको भए बैंक ब्यालेन्स राख्थेँ जस्तो लाग्छ । त्यही बैंकबाट ऋण लिएर घर बनाउँथेँ । पैसालाई भइपरि आउँदा निकालेर खर्च गर्न हुन्थ्यो । आफूलाई साह्रै निराश बनाएर बाँच्ने बानी त छैन तर म नभए परिवारको के हालत होला भन्ने पिर ज्यादै छ । केही समयअघि छाती दुखेर जाँच गराएँ । दम भएको रहेछ । औषधि गरेर अहिले निको भएको छ । काम गर्न सकुन्जेल त हिम्मत छ, पाल्छु तर नसकेको दिन कसो होला, यही कुराले पिरोल्छ ।
जिन्दगीमा देखेको र भोगेको– पैसा भएकालाई पैसाले पुग्ने रहेछ । नभएकालाई हेपिएको महसुस हुने रहेछ । मेरो त नागरिकतासमेत थिएन । बुवाआमा पहिल्यै बिते । ३ महिनाजति भयो, हजुरबुवाको माध्यमबाट नागरिकता बनाएको । न जमिन छ, न घर छ, भाडामा कोठा खोज्ने, काम गर्ने गरेको हो । अहिले २ वटा कोठामा बसिरहेका छौं । वर्षाभरि सर्पको डर भयो । अलि अस्ति नै पनि सर्प निस्कियो, अब यहाँ बस्न सकिंदैन जस्तो छ । अर्को ठाउँ खोज्ने, त्यहीअनुसार काम पाइएला नपाइएला, गाह्रो छ । तर विकल्प त छैन ।
पैसा नभएकाका लागि यस्तै बाध्यता आइपर्छन् । म अब १० वर्ष बाँचेँ भने केही रकम कमाएर बालबच्चा र श्रीमतीका लागि राखिदिन मन छ । । छोराछोरी पनि हुर्कन्छन् । केही त गर्लान् । यो उमेरसम्म भोकै बस्न परेको छैन । अरूको दैलोमा माग्न जान परेको छैन । यतिले नै खुसी दिएको छ ।
प्रस्तुति : सन्जु पौडेल
