मुटुको बिरामी भए पनि बागलुङकी वृद्धा महिलाले चिया बेचेर परिवार पाल्दै, मासिक ३० हजार रुपैयाँ कमाउँछिन्।
What you should know
बागलुङ — पुर्ख्यौली घर जैमिनी नगरपालिका–८ छिस्ती हो। तर गाउँ छाडेको ५० वर्ष भइसकेकाले अब नियमित आउजाउ हुँदैन। कुलपूजाका बेला मात्रै त्यहाँ जाने गरिन्छ। अहिले बागलुङ बजार नजिकै दुई आनामा छाप्रो बनाएर बस्दै छु।
त्यसमा पनि छोराबुहारी छुट्टै छन्, म छुट्टै। बागलुङ नगरपालिका–१ रुद्रे पिपलदेखि कालिका मन्दिर जाने सडक छेउमै मेरो छाप्रो छ।
पति बलबहादुरको निधन २०६१ सालमा भयो। त्यति बेला कान्छो छोरा डिलबहादुर नौ वर्षका मात्र थिए। ठूलो छोरा ओमबहादुर पनि हुर्किन सकेका थिएनन्। कहिले गिट्टी कुट्ने, कहिले बालुवा बेच्ने, बिहान बेलुकी चिया बेच्ने गरेर छोरा–छोरीलाई हुर्काएँ। दुई छोरा र एक छोरीलाई चिया बेचेरै कमाएको पैसाले विवाह गरिदिएँ। घरजग्गा नभएकाले जे काम पाइन्छ, त्यही नगरेसम्म हातमुख जोडिन्थेन। छोराछोरी भोकै पर्लान् भनेर आधा पेट खाने, आधा रात सुत्ने गरेर घर व्यवहार चलाएँ।
धेरै समयसम्म बागलुङ कालिका मन्दिरको गेट नजिकैको पिपलको बोटमुनि चिया बेचेर जीवन चलाएँ। पतिले पनि ज्यामी काम गर्नुहुन्थ्यो तर धेरै मदिरा सेवनका कारण निधन भयो। त्यसपछि त सबै जिम्मा मेरो टाउकोमै आयो। १५ वर्षकै उमेरमा विवाह गरेर आएकी म घर धान्न जे पर्ला त्यही काम गर्थेँ। सुरुमा सुका कप चिया बेच्थेँ। पछि एक रुपैयाँ, दुई रुपैयाँ हुँदै अहिले चियाको मूल्य ३० रुपैयाँ पुगेको छ।
अहिले पनि कालिका मन्दिर नजिकै चिया र पानी बेचेर जीवन चलाएकी छु। बिहान तीन लिटर दूध राख्छु, नपुगे थप्छु, कहिलेकाहीँ खेर पनि जान्छ। अहिले रामरेखा सामुदायिक वन उपभोक्ता समितिले एक मिटरको घुम्ती पसलको मासिक ७ सय भाडा लिन्छ। त्यसैले चिया, पानी, चाउचाउ र उसिनेको अण्डा राखेर घुम्ती चलाएकी छु। भाडा तिरेर पनि दैनिक २५ सय रुपैयाँसम्मको कारोबार गर्छु, जसबाट करिब १ हजार रुपैयाँ नाफा हुन्छ। शनिबार, चैतेदसैं र वडा दसैँका दिनहरूमा दैनिक डेढ हजार रुपैयाँसम्म कमाइ हुन्छ।
मासिक करिब ३० हजार रुपैयाँ कमाइ हुन्छ तर म मुटुको बिरामी भएकाले उपचार गर्दा धेरै ऋण लागेको छ। त्यसैले अझै पनि तिर्दैछु। अहिले स्थानीय सहकारी संस्थामा ३ लाख रुपैयाँ ऋण बाँकी छ। मासिक ३ हजार व्याज लाग्छ। साँवा–व्याज गरेर तिर्दा २४ हजार किस्ता छ। त्यसैले निरन्तर काम गर्न बाध्य छु। किस्ता तिरेर बचेको ६–७ हजारले घरखर्च चलाउँछु। सक्ने दिनसम्म आफ्नै कमाइमा खाने सोच छ। नभए भने छोराकै शरणमा पर्नु पर्ने होला।
छोराहरू छुट्टै छन्। उनीहरूले गाडी चलाएर खान्छन्। त्यसैले अहिलेसम्म उनीहरूलाई हात फैलाउनु परेको छैन। तर कान्छो छोरालाई पनि ऋण लागेको छ। उसले ‘आमा, केही छ?’ भनेर सोधेको थियो। सके भने सहयोग गरौँ भन्ने लाग्छ। सहकारीमा केही रकम झिक्न पाएँ भने दिन्छु, उसको काम बन्यो भने मलाई पनि सहयोग गर्ला।
चिसो मौसममा बिहानै उठेर पसल खोल्न गाह्रो हुन्छ। मुटु बिरामी भएकाले चिसोमा अप्ठ्यारो पर्छ। तर पनि केही कमाइ नगरी खान मन लाग्दैन। उमेर छँदा बंगुर पालेँ, रक्सी बनाएर बेचेँ, केही कमाइ पनि गरेँ। तर अहिले सबै काम गर्न सकिन्न। त्यसैले सकेको मात्रै गर्दै छु।
एक मिटरको घुम्ती पसलको भाडा तिरेर मात्र पुग्दैन। बेलाबेला कालिका गुठी र नगरपालिकाले पनि कर उठाउँछन्। चैतेदसैं मेलामा त एक हजार रुपैयाँसम्म तिरेको छु। मेरो मेहनत देखेर कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले भनेका छन् - तपाईँलाई शुल्क लाग्दैन । तर वन उपभोक्ता समितिले मासिक भाडा उठाइरहेको छ।
प्रस्तुति : प्रकाश बराल
