एक छाक खान र एकसरो लाउन समस्या हुने मेरो नाम पनि धनबहादुर हो । नामअनुसार हुँदो हो त गज्जब हुन्थ्यो नि !
पर्वत — मसँग धेरै जनाले जिन्दगी के रैछ दाइ भनेर सोध्छन् । त्यस्तो बेला म नाजवाफ हुन्छु । मलाई फेरि सबैभन्दा गाह्रो लाग्ने प्रश्न पनि यही हो । अहिले ३६ वर्षको भएँ । मनमनै न्वारनको नाम कसले जुरायो होला भनेर गमिरहन्छु । हुन त हाम्रो मुलुकमा नामअनुसारको काम कहाँ पो भइरहेको छ र !
एक छाक खान र एकसरो लाउन समस्या हुने मेरो नाम पनि धनबहादुर हो । नामअनुसार हुँदो हो त गज्जब हुन्थ्यो नि ! तर के गर्नु, भएन ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका डोबामा मेरो जन्म भयो । त्यसबेला गाउँमा हाम्रो एक्लो घर थियो । म जन्मिएपछि बुवा–आमाले धुमधामसित खुसीयाली मनाउनु भएको थियो रे ! भतेर आयोजना भएको थियो रे ! आमाले सुनाएका कुरा कहिलेकाहीँ सम्झनामा आइरहन्छन् । त्यस बेला हाँस्ने, खेल्ने, कुद्ने मेरो दैनिकी थियो । तर, ७ वर्षको उमेरमा म एक्कासि ढलेँ । त्यसबेला घरनजिक अस्पताल थिएन । उपचार नपाए पनि जसोतसो म बाँचेँ भनौं न ! त्यसपछि म हिँड्न नसक्ने भएँ । दुई वर्षजति त घस्रेरै घरको पिँढी र आँगनमा यताउता गरिरहन्थेँ । ९ वर्षको भएपछि उभिन सक्ने भएँ । खुट्टा खोच्याउँदै यताउता गर्न थालेँ ।
म्याग्दीबाट कुश्मा बसाइ सरेर आएको लगभग ८ वर्ष पुग्न थाल्यो । दुवै खुट्टाको पैतालाले टेकेर हिँड्न मिल्दैन । औँलाले टेकेर हिँडडुल गर्नुपर्ने भएकाले खुट्टा सुन्निने समस्या छ । सुन्निएपछि टनटन दुख्ने गर्छ । कुश्मा आएको ३/४ वर्षसम्म इलम गरिनँ । बजारमा हात फैलाएरै माग्दै हिँड्थेँ । एउटै ठाउँमा सधैँ मागेर पनि त जीवन चल्दैन भन्ने लाग्यो । आफैं केही गर्छु भनेर अघि बढेँ । कुश्मा नगरपालिकामा गएर दुखेसो पोखेँ । नगरपालिकाले सानो ठेला दियो । चार वर्ष भइसक्यो, त्यही ठेलामा तरकारी र फलफूल बेचेर गुजारा चलाएको छु ।
सबेरै उठेर कुश्मा बजारमा ठेला गुडाउँछु । धकेल्दै घर–घरमा पुगेर दैलोसामु उभिएर ‘तरकारी खरिद गर्नूस्’ भन्छु । मेरो आवाज सुनेपछि केहीले आएर किन्नु हुन्छ । धेरैले भाउ मात्र सोध्छन् । चर्को घाम भएकाले ठेला डुलाउँदै हिँड्दा तरकारी चाँडै सुक्ने, कुहिने हुन्छ । बिहान खरिद गरी ल्याएर बेलुकासम्म नबेच्ने हो भने खेरै जान्छ । तरकारी कुहिएर फाल्नुपर्दा मन कुँडिन्छ । धेरैपटक भक्कानिएर रोएको पनि छु ।
ठेला गुडाउन सहज छैन । दश पाइला हिँडेपछि रोकिन्छु । खुट्टाको दुखाइ भुल्न लामो श्वास तान्छु र फेरि ठेला धकेल्छु । अहिले त बजारका सबै पसलमा तरकारी बिक्रीका लागि राख्छन् । फेरि गाउँबाटै डोकोमा तरकारी ल्याएर बेच्न आउँछन् । पहिले जस्तो तरकारी नबिके पनि एक फन्को ठेला बजारमा डुलाउन चाहिँ छाडेको छैन । यसरी डुल्दा दिनमा २/३ सयको व्यापार हुन्छ ।
‘अपाङ्ग’ मान्छेले ठेलामा तरकारी बेच्न हिँडेको देखेर होला, बाहिरबाट आउने पर्यटकले केही आर्थिक सहयोग पनि गर्नु हुन्छ । मैले चाहिँ ‘तपाईंले दिएको पैसा बराबरको तरकारी लानूस्, नभए केरा, स्याउ पनि छन् लानूस्’ भन्छु । तर, उहाँहरूले ‘पर्दैन’ भन्नु हुन्छ । ‘तपाईंलाई हैन, तपाईंको मिहिनेतलाई सहयोग गरेका हौँ’ भन्ने उहाँहरूको जवाफ हुन्छ । अब महिनामा कति कमाइ हुन्छ भनेर कसरी भनौँ ? मुस्किलले साँझ–बिहान हातमुख जोर्न सकेको छु । यही नै मेरो खुसी हो ।
सामाजिक सुरक्षा भत्ता २ हजार रुपैयाँ आउँछ । भत्ताको रकमचाहिँ मेरै लागि औषधि किन्दै ठिक्क हुन्छ । मधुमेह र हाडजोर्नी रोगको औषधि खान्छु । तरकारी फलफूल बेचेर भएको आम्दानीले दाल–चामल, नुन–तेल, मरमसला किन्छु । महिनाको १० हजार हाराहारी घरखर्च छ । कहिलेकाहीँ नयाँ लुगा लाउन मन लाग्छ । त्यस्तो बेला किनेर लगाउने हो । हैन भने ठेला गुडाउनेलाई लुगाको के चासो हुन्छ र !
तीन वर्षदेखि बहिनी पनि मसँगै बस्छिन् । ज्वाइँ विदेश गएपछि उनले ‘दाइ म कुश्मै आउँछु’ भनिन् । मैले पनि आइज भनेँ । सानो किराना पसल गरेकी छिन् । बहिनी आएपछि मलाई सहज भएको छ । तीन वर्षअघि आमा बित्नुभयो । आमा बित्दा घर गएको थिएँ । घरमा बुवा एक्लै बस्नु हुन्छ । गाउँमा गएर बुवासँगै बस्ने मन त हुन्छ नि ! तर बोझ भइन्छ । मैले केही गर्न सक्दिनँ । बुवालाई झनै मेरो चिन्ता हुन्छ । त्यसैले सहर छिरेदेखि गाउँ फिर्ने चाहना मारिसकेको छु ।
प्रस्तुति : सुमनजंग थापा
