दिनभरि प्लास्टिकका बोतल संकलन गरेर राती रामजानकी मन्दिरमा सुत्छौं
रौतहट — मेरो जन्म धनुषाको महेन्द्रनगरमा भएको हो । मेरा अभिभावक एक दशकअघि रौतहट बसाइँ सरेर आए । अहिले गुजरा–८ मुस्लिम बस्तीमा घर छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले दुःखमा हुर्कियाैँ । खान–लाउनकै समस्या भएपछि पढ्न पाइएन । बुवाले कपडा सिलाउनु हुन्थ्यो । त्यो काम छाडेर गुजरा आएका थियौं । बुवा इमराइन मुस्तकीको एक वर्षअघि मृत्यु भएपछि हाम्रो परिवारमाथि झन् बज्रपात पर्यो ।
हामी तीन दाजुभाइमध्ये म जेठो हुँ । विभिन्न परिकार पकाउन सिपालु छु । तैपनि काम खोज्दा कतै पाइएन । त्यसैले सडकमा यात्रुले फालेका प्लास्टिकका बोतल संकलन गर्दैछु । भाइ नुर पनि सँगै हिँड्छ । कान्छो भाइ इद जनकपुरमा मासु पसलमा काम गर्छ ।
दिउँसोको प्रचण्ड गर्मीमा पनि ठूला बोरा बोकेर पूर्व–पश्चिम राजमार्गमा बोतल टिप्दै हिँड्नु हाम्रो बाध्यता हो । थकाइ लाग्यो भन्न पाइँदैन । दैनिक १० किलोमिटरसम्म पैदल हिँडेर कबाडका बोतल संकलन गर्छौं ।
हामी तीनै दाजुभाइले पढ्न पाएनौं । आर्थिक अवस्थाकै कारण पढ्न नपाइएको हो । अहिले मेरो उमेर ३० वर्षको भयो । म अविवाहित छु । भाइ नुर र म दिनभरि बोतल संकलन गरेर आएको पैसाले खाना खान्छौं र केही रकम आमालाई दिन्छौं । धेरै कमाउँदा दिनमा ८ सयजति हुन्छ । त्यसका लागि झण्डै ४० किलो बोतल संकलन गर्नुपर्छ ।
यात्रुले पानी खाएर फालेका बोतल संकलन गरेर कबाडमा किलोमा बेच्छौं । साहुले प्रतिकिलो २० रुपैयाँ दिन्छन् । कहिले पूर्वतिर त कहिले पश्चिमतिर पैदलै हिँडेर बोतल संकलन गर्छौं । राती चन्द्रनिगाहपुरको रामजानकी मन्दिरमा सुत्छौं । यहाँ हाम्रो घर छैन । गरिब परिवारका हौं । महेन्द्रनगरमा ५ कट्ठा जमिन छ । अब त्यही बेचेर चन्द्रनिगाहपुरतिरै सानो घर बनाउने योजना छ । आमा अमिदा खातुन अहिले गुजरामा बस्नुहुन्छ ।
कहिलेकाहीँ भनेजति बोतल भेटिएन भने ३ सय पनि कमाइ हुँदैन । दाजुभाइ यसैमा लागेका छौं । भाइ नुर मासु काट्न सिपालु छ । उसले पनि फ्रेस हाउसमा काम गर्न खोजेको थियो । कसैले राखेनन् । दुःख छ । अब यसरी नै जिन्दगी चलाउनु पर्ला जस्तो छ । रोजगारी मिल्दैन । तातो घाममा हिँड्दा कहिलेकाहीँ ढलिएलाजस्तै हुन्छ । बिहान सबेरै उठेर दुवै जना होटलमा खाना खान्छौं । त्यसपछि बोतल खोज्ने काम सुरु हुन्छ । हाम्रो यहाँ एक धुर पनि खेत छैन ।
गरिबको जिन्दगी कस्तो हुन्छ भन्ने हामी एक उदाहरण हौं भन्ने लाग्छ । दुई दाजुभाइको गरी महिनाको २० देखि २४ हजारसम्म कमाइ हुन्छ । त्यसैले आमा र आफूहरूको घरखर्च जसोतसो धानिएको छ । हामी तीनै दाजुभाइको नागरिकता बनेको छैन । बुवाले पछि बनाउला भन्नु भयो । पछि बुवा नै बित्नु भयो ।
अब केही दिनमा नागरिकता बनाउँछौ । पढेर ठूलो मान्छे बन्ने मेरो सपना सबै चकनाचुर भयो । एक वर्षअघि गाउँकै आफन्तसित सहयोगको याचना लिएर गएका थियौं । तर आफन्तहरूको मनसाय स्वाभिमानी व्यक्तिलाई पीडा दिने र उक्साउने खालको थियो ।
हामी गरिबले लगाएको लुगामाथि समेत टीका–टिप्पणी र मजाक उडाए । हामी गरिब भए पनि स्वाभिमानलाई झुक्न दिएनौं । कबाड संकलन गरेरै भए पनि आफन्तकहाँ हात फैलाउन जाँदैनौं भनेर यतै लागेका हौं । आशा अनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुँदो रहेछ । जीवनमा जे अपेक्षा गरेका थियौं, कहिल्यै त्यो प्राप्त गर्न सकेनौं ।
प्रस्तुति : शिव पुरी
