‘गरिबको जिन्दगी कस्तो हुन्छ भन्ने हामी उदाहरण हौं’

दिनभरि प्लास्टिकका बोतल संकलन गरेर राती रामजानकी मन्दिरमा सुत्छौं

जेष्ठ १०, २०८२

शेख अलि महमद

”We are an example of what the life of the poor is like”

रौतहट — मेरो जन्म धनुषाको महेन्द्रनगरमा भएको हो । मेरा अभिभावक एक दशकअघि रौतहट बसाइँ सरेर आए । अहिले गुजरा–८ मुस्लिम बस्तीमा घर छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले दुःखमा हुर्कियाैँ । खान–लाउनकै समस्या भएपछि पढ्न पाइएन । बुवाले कपडा सिलाउनु हुन्थ्यो । त्यो काम छाडेर गुजरा आएका थियौं । बुवा इमराइन मुस्तकीको एक वर्षअघि मृत्यु भएपछि हाम्रो परिवारमाथि झन् बज्रपात पर्‍यो ।

हामी तीन दाजुभाइमध्ये म जेठो हुँ । विभिन्न परिकार पकाउन सिपालु छु । तैपनि काम खोज्दा कतै पाइएन । त्यसैले सडकमा यात्रुले फालेका प्लास्टिकका बोतल संकलन गर्दैछु । भाइ नुर पनि सँगै हिँड्छ । कान्छो भाइ इद जनकपुरमा मासु पसलमा काम गर्छ । 

दिउँसोको प्रचण्ड गर्मीमा पनि ठूला बोरा बोकेर पूर्व–पश्चिम राजमार्गमा बोतल टिप्दै हिँड्नु हाम्रो बाध्यता हो । थकाइ लाग्यो भन्न पाइँदैन । दैनिक १० किलोमिटरसम्म पैदल हिँडेर कबाडका बोतल संकलन गर्छौं । 

हामी तीनै दाजुभाइले पढ्न पाएनौं । आर्थिक अवस्थाकै कारण पढ्न नपाइएको हो । अहिले मेरो उमेर ३० वर्षको भयो । म अविवाहित छु । भाइ नुर र म दिनभरि बोतल संकलन गरेर आएको पैसाले खाना खान्छौं र केही रकम आमालाई दिन्छौं । धेरै कमाउँदा दिनमा ८ सयजति हुन्छ । त्यसका लागि झण्डै ४० किलो बोतल संकलन गर्नुपर्छ ।

यात्रुले पानी खाएर फालेका बोतल संकलन गरेर कबाडमा किलोमा बेच्छौं । साहुले प्रतिकिलो २० रुपैयाँ दिन्छन् । कहिले पूर्वतिर त कहिले पश्चिमतिर पैदलै हिँडेर बोतल संकलन गर्छौं । राती चन्द्रनिगाहपुरको रामजानकी मन्दिरमा सुत्छौं । यहाँ हाम्रो घर छैन । गरिब परिवारका हौं । महेन्द्रनगरमा ५ कट्ठा जमिन छ । अब त्यही बेचेर चन्द्रनिगाहपुरतिरै सानो घर बनाउने योजना छ । आमा अमिदा खातुन अहिले गुजरामा बस्नुहुन्छ ।

कहिलेकाहीँ भनेजति बोतल भेटिएन भने ३ सय पनि कमाइ हुँदैन । दाजुभाइ यसैमा लागेका छौं । भाइ नुर मासु काट्न सिपालु छ । उसले पनि फ्रेस हाउसमा काम गर्न खोजेको थियो । कसैले राखेनन् । दुःख छ । अब यसरी नै जिन्दगी चलाउनु पर्ला जस्तो छ । रोजगारी मिल्दैन । तातो घाममा हिँड्दा कहिलेकाहीँ ढलिएलाजस्तै हुन्छ । बिहान सबेरै उठेर दुवै जना होटलमा खाना खान्छौं । त्यसपछि बोतल खोज्ने काम सुरु हुन्छ । हाम्रो यहाँ एक धुर पनि खेत छैन ।

गरिबको जिन्दगी कस्तो हुन्छ भन्ने हामी एक उदाहरण हौं भन्ने लाग्छ । दुई दाजुभाइको गरी महिनाको २० देखि २४ हजारसम्म कमाइ हुन्छ । त्यसैले आमा र आफूहरूको घरखर्च जसोतसो धानिएको छ । हामी तीनै दाजुभाइको नागरिकता बनेको छैन । बुवाले पछि बनाउला भन्नु भयो । पछि बुवा नै बित्नु भयो । 

अब केही दिनमा नागरिकता बनाउँछौ । पढेर ठूलो मान्छे बन्ने मेरो सपना सबै चकनाचुर भयो । एक वर्षअघि गाउँकै आफन्तसित सहयोगको याचना लिएर गएका थियौं । तर आफन्तहरूको मनसाय स्वाभिमानी व्यक्तिलाई पीडा दिने र उक्साउने खालको थियो ।

हामी गरिबले लगाएको लुगामाथि समेत टीका–टिप्पणी र मजाक उडाए । हामी गरिब भए पनि स्वाभिमानलाई झुक्न दिएनौं । कबाड संकलन गरेरै भए पनि आफन्तकहाँ हात फैलाउन जाँदैनौं भनेर यतै लागेका हौं । आशा अनुरूप नहुँदा मान्छेमा घोर निराशाको तहमा पुग्ने जोखिम हुँदो रहेछ । जीवनमा जे अपेक्षा गरेका थियौं, कहिल्यै त्यो प्राप्त गर्न सकेनौं । 

प्रस्तुति : शिव पुरी

शेख

Link copied successfully