१० वर्षदेखि पान पसलबाट गुजारा चलाइरहेको छु । सटर भाडा लिएर ठूलो व्यापार गर्न नसक्ने भएपछि पान पसल रोजे ।
काठमाडौँ — बजारभरिकाले मलाई मायाले रामु भनेर बोलाउँछन् । यसरी बोलाएको सुन्दा आनन्द मिल्छ । कर्म गरेर बाँच्ने हिम्मत मिल्छ । म ४७ वर्षको भए । १० वर्षको उमेरमा लडेर गम्भीर घाइते भए । समयमै राम्रो उपचार नभएकाले मेरो शरीर कुप्रो परेको छ । अपांगता भएकै कारण मैले स्कुल गएर पढने अवसर पनि पाईन् ।
दाइ र भाइले पढेकाले आफ्नै पेसा व्यवसायमा छन् । म भने बेकामे भएँ । छाक टार्नकै लागि तौल जोख्ने मेसिन राखेर सडक छेउमा बस्न थाले । यो काम थालेको पनि १५ वर्ष भइसक्यो । यही कामका भरमा मात्रै घर खर्च नचल्ने भएकाले १० वर्षदेखि सानो पान पसल पनि चलाइरहेको छु । यही कमाइले श्रीमती र ६ वर्षको छोरा पाल्न सकेको छु ।
सटर भाडा लिएर ठूलो व्यापार गर्न नसक्ने भएपछि पान पसल सुरु गरेको हो । यसका लागि पनि सुरुमा त ३० हजार रुपैयाँ ऋण खोज्न पर्यो । यसमध्ये २० हजार खर्चेर काठको घुम्ती बनाएँ । बचेको पैसाले पान मसला किनेर काम सुरु गरेको थिए ।
सुरुमा बागलुङ नगरपालिका–२, स्थित पुरानो जिल्ला विकास समिति नजिकै पान पसल चलाइरहेको थिएँ । नगरपालिकाले सडक बिस्तार गर्ने क्रममा मेरो पसल भत्कियो । सडक व्यापार र यात्रुलाई अप्ठ्यारो पर्ने गरी पसल राख्न पनि नगरपालिकाले रोक लगायो । त्यसपछि त गरिखाने उपाय पनि केही समय ठप्प भयो । कता जाउँ, के गरौँ भयो । अनि नगरपालिका पुगेर एकपटक दुःख बिसाउने निधो गरे । नगरपालिकाले अर्गानिक र स्थानीय किसानले उत्पादन गरेका तरकारी र फलफूल बिहान ६ बजेदेखि ९ बजे र साँझ ५ बजेपछिमात्रै बिक्री गर्ने अनुमति दिएको छ ।
दिउँसो जाम हुने र फुटपाथबाट ओहोर–दोहोर गर्नेलाई अप्ठ्यारो हुने भएकाले सडक व्यापारमा रोक लगाएको छ । मेरो अनुरोध र शारीरिक अवस्था देखेपछि नगरपालिकाले पैदल यात्रुलाई असर नपर्ने गरी घुम्ती पसल अट्ने स्थान दियो । अहिले भाडा तिर्नु पनि परेको छैन ।
सानो पसलभित्रै बसेर दिनभर पान र सुपारी बेच्दा दैनिक २ हजार ५ सय कमाइ हुन्छ । पान मसला किनेको पसलको उधारो चुकाएर दैनिक ९ सयदेखि १ हजारसम्म कमाउँछु । यही हिसाबले महिनाको सरदर २५ हजार कमाए पनि २० हजार घर खर्चमा सकिन्छ । मासिक ५ हजार दरले गरेको बचतले चाडपर्व मनाउँछु । एकपटक स्वास्थ्य शिविरमा गएका बेला डाक्टरले उपचारका लागि ४/५ लाख खर्च लाग्छ भनेका थिए । आफूसित नभएपछि उपचार गराउन गइनँ । अब त छोरा पढ्ने उमेरको भइसक्यो । कापी किताब किन्ने, पढाइ खर्च बढ्दै गएको छ । त्यसले पुग्ने हो की होइन भनेर म अन्यौल भएको छु । तर अन्य विकल्प पनि छैन ।
बरु यही काममा अलि बढी मेहेनत गरेर भएपनि कमाइ बढाउने योजनामा छु । अहिले अलिकति कमाएर घर खर्च धान्ने मात्र ध्यान छ । कुनैदिन पैसा धेरै कमाएँ भने मेरो स्वास्थ्य परीक्षण गर्ने धोको छ । कुप्रो परेको ढाडको अपरेसन गरेमा सोझो हुन्छ रे । त्यसका लागि पैसा जुटाउन कहिले सक्छु थाहा छैन । तर पैसा जम्मा पारेर एकपटक उपचार गराएर छाड्ने धोको छ । धेरै पैसा लाग्ने रहेछ भने त घरखर्चमै सीमित हुनेछ । उपचारका लागि सहकारीमा जम्मा गरिरहेको पैसा पुग्ने भएका दिन अस्पताल जानुपर्ला भन्ने सोचेको छु ।
प्रस्तुती : प्रकाश बराल
