‘कर्जाको बोझले रातभर निद्रा लाग्दैन’

दाह्रीजुँगा नआउँदै सुरु गरेको टाँगा र घोडासितको संगत कहिले टुट्ने हो, पत्तै छैन 

फाल्गुन १६, २०८१

सरफुद्दिन मियाँ

”Debt burden does not sleep all night”

पर्सा — वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलमा मेरो घर छ । चार दाजुभाइमध्ये म साहिँलो हुँ । मेरो बुवा बाला मियाँले टाँगा चलाएरै जीवन बिताएकाले मैले पनि १६/१७ वर्षको उमेरबाट यही पेसा समातेँ । घोडालाई हिर्काउने चाबुक समातेको पनि ५० वर्ष पूरा भइसकेछ । दाह्री जुँगा नआउँदै सुरु गरेको टाँगा र घोडासितको संगत कहिले टुट्ने हो, पत्तै छैन ।

सम्पत्तिका नाउँमा ५ धुर जग्गामा २० वर्षअघि मैले बनाएको एउटा इटाको घर छ । पुरानो घरमा म, श्रीमती र चार छोरा–बुहारी बस्छौं । मेरो माहिलो छोरा अनवरले पनि पुर्ख्यौली पेसा सम्हालिरहेको थियो । दुई वर्षअघि यात्रु ओसार्ने माध्यम फेर्छु भनेर १ लाख ४५ हजार खर्च गरेर पुरानो विद्युतीय रिक्सा किनेर चलाउँछ । अहिले परिवारमा मैले र मेरो कान्छो भाइ नसरुद्दिनले मात्र टाँगा चलाइरहेका छौं । कान्छो छोरा जैबलाई २ वर्षअघि रोजगारीका लागि मलेसिया पठाएँ । 

जैबलाई मलेसिया पठाउन त्यतिबेला निर्धन उत्थान बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएको थिएँ । टाँगा चलाएर कमाएको पैसाले अलिअलि गर्दै आधाजति ऋण तिरेँ । कान्छो छोरो मलेसिया गएर कमाउन थालेपछि छोराको परिवार अलग्गै बस्न थालेको छ । अहिले कान्छा छोराले मासिक २० देखि ४० हजार रुपैयाँ मेरै नाममा पठाए पनि एक रुपैयाँ मेरो हात पर्दैन । उसले पठाएको पैसा सर्लक्क बुहारीको हातमा हाल्दिन्छु ।

म र पत्नी फूलबानी कहिले जेठो छोरा त कहिले कान्छाको परिवारसँग बस्छौं । कहिले एक्लै पनि हुन्छौं । रासनपानी महँगो हुँदै गएको छ । मोटो चामल, दाल, तरकारी, नुन, तेल र मसला किन्दा महिनामा १० हजार खर्च हुन्छ । सातामा एकपटक तीन सय रुपैयाँ खर्च गरेर माछा–मासु खान्छौं । 

दुःख गरेर बालबच्चा हुर्काए पनि आफूले आराम गर्ने समयमा छोराहरू छुट्टिए । ५० वर्षमा छोराभन्दा १०/१५ टाँगा र १०/१५ वटा घोडीसँग संगत भयो होला । थोत्रो भएपछि टाँगा र बुढो भएपछि घोडी पनि सस्तोमा इँटा भट्टालाई बेचिन्छ ।

प्रायः वीरगन्ज–रक्सौल रुटमा दिनमा २/४ पटक ओहोरदोहार गरिन्छ । मुसाफिर बढी भएका बेला चारपटकसम्म ओहोरदोहोर गरिन्छ । अहिले त २ पटकमै बुढो ज्यान फत्रक्क गल्छ । एउटा यात्रुबाट ३० देखि ४० रुपैयाँ भाडा लिन्छु । दैनिक सरदर ४/५ सय रुपैयाँ कमाइ हुन्छ । मुसाफिर धेरै पाएका दिन १ हजारदेखि १२ सयसम्म कमाइ हुन्छ । तर कहिलेकाहीँ बोहनी पनि हुँदैन ।

डेढ वर्षअघि २५ हजार तिरेर किनेको नयाँ घोडीले अहिले साथ दिइरहेको छ । अहिले राम्रो घोडीको मूल्य ५० देखि ७५ हजार पुगिसक्यो । ३० वर्षअघि एउटा चोरले नराम्ररी फसाएर भाग्दा दुःख पाएँ ।

भारतबाट चोरी गरेर ल्याएको बसका पार्टपुर्जा बोक्न त्यस चाेरले मेरो टाँगा रिजर्भ गर्‍यो । बसपार्कबाट त्रिमूर्ति सिनेमा हलनजिक जाउँ भनेका बेला पुलिस आएपछि ऊ भाग्यो । पुलिसले मलाई समातेर तीन दिन थुनामा राख्यो ।

५० वर्षमा १ लाख भन्दा बढी मुसाफिर बोक्दा कहिलेकाहीँ फसादमा पनि परिँदो रहेछ । अहिलेसम्म कुनै रोगब्याधी नलागे पनि १० वर्षअघि मस्जिद गएका बेला लड्दा भाँच्चिएको दाहिने हातले चाबुक हान्दा नराम्रोसँग दर्द हुन्छ । 

टाँगा चलाएर भएको कमाइले घरखर्च चल्छ । कोरोनाकालमा ३/४ महिना घर बसेको बाहेक विश्राम गरेको सम्झना छैन । ‘न बचपन याद छ, न पचपन नै’ भनेजस्तो छ । छोराछोरी जन्माइयो, हुर्काइयो, बढाइयो तर आफ्नो उमेर बितेको पत्तै पाइएन । सुर्ती, चुरोट र चिया मात्र अम्मल छ । त्यसमा दिनको सय/पचास खर्च भइहाल्छ ।

छोरो विदेश पठाउँदा लागेको कर्जाको बोझले राति १२ बजेसम्म निन्द्रा लाग्दैन । अनि अल्लाहको नाम लियो, सुत्यो । चारपल्ट अजमेश शरीफ गएको छुँ । जीवनमा एकपटक मक्का–मदिना हज गर्न जाने धोको भए पनि पासपोर्ट र भिसामै अढाई लाखजति खर्च हुन्छ । यो जुनिमा मक्का–मदिना नटेकिएलाजस्तो छ । 

प्रस्तुति : शंकर आचार्य

सरफुद्दिन

Link copied successfully