एक घानबाट २० किलोसम्म सख्खर तयार भएपछि बिक्रीका लागि बोकेरै सदरमुकाम खाँदबारी पुर्याउँछु
संखुवासभा — बाजेको पालादेखि पाँचखपन नगरपालिका–४, दोभानटार छाडेर अन्त गइएन । गाउँठाउँको मायाले होला, ५३ वर्षको उमेरसम्म थातथलोमै छु । दस वर्षको उमेरमा बुवासँग उखु पेलेर सख्खर बनाउन सिकेकाले अहिलेसम्म घरखर्च धान्न सहज भएको छ । वर्षभरि दुःख गरेर साँझ–बिहान दुई छाक खान सकिएको छ । यही काम नसिकेको भए त परिवारकै बिल्लीबाँठ हुने रहेछ नि !
सामान्य किसान परिवारमा जन्मिएकाले लेखपढतिर ध्यानै पुगेन । बालक, किशोर, युवाकाल आराम नभनेर उखु पेलेरै बित्यो । यो काम नभएका बेला ज्याला मजदुरीबाट अलिकति आर्जन गर्न परिहाल्यो । मेरो मुख्य काम भनेकै सक्खर बनाउने हो । त्यसैले मंसिरदेखि फागुन अन्तिमसम्म बिहान ५ बजे उठेर उखु पेलेर सख्खर बनाउन व्यस्त हुन्छु ।
अहिले उखुको मुख्य सिजन भएकाले बिहान–बेलुका दुई घान सख्खर बनाउँछु । घान हालेको ४ घन्टामा उखुको रसबाट सख्खर तयार हुन्छ । एक घानबाट २० किलोसम्म सख्खर तयार भएपछि बिक्रीका लागि बोकेरै सदरमुकाम खाँदबारी पुर्याउँछु । गाडीमा लैजाँदा ३/४ सय भाडा लाग्ने भएकाले पैसा बचाउन आफैंले बोकेर लैजान्छु ।
चार घन्टामा सदरमुकाम पुगेपछि घरदैलो गर्दै एकएक डल्लो गरेर सख्खर बेच्छु । सिजनमा धेरै उत्पादन हुने भएकाले किलोको २ सय ५० रुपैयाँमात्र पाइन्छ । सक्खरको याम सकिएपछि किलोकै ५ सय रुपैयाँसम्म पर्छ । स्टोर गर्ने ठाउँ नभएकाले किसानले सिजनमा बेचेको सख्खरको फाइदा भने व्यापारीले उठाउँछन् ।
सख्खर बेचेर फर्किने बेला नुन, तेल र चामल किनेर फर्किन्छु । २५ किलो चामलको बोराको २४ सय मूल्य छ । गाउँकै दोकानमा एक प्याकेट नुनको २६ रुपैयाँ र आधा लिटर तेलको दुई सय रुपैयाँ तिर्नुपर्छ । घरमै सख्खर भएकाले चियाका लागि चिनी भने किन्नु पर्दैन ।
गोरु घुमाएर पुरानै शैलीमा कतिन्जेल उखु पेलेर सख्खर बनाउनु भनेर मेसिन किन्नका लागि घरखर्चबाट उब्रेको अलिअलि पैसा बचत गरेको छु । कहिलेकाहीँ बिरामी पर्दा उपचारका लागि सदरमुकाम धाउनुपर्दा बचत गरेको ३/४ हजार पनि खर्च भइहाल्छ । ९ कक्षाबाट पढाइ छुटेपछि छोरा हेमराज र उसकी आमा कृष्णमायाले काममा सघाइरहेका छन् । मरिमेटी श्रम गर्दासमेत कहिलेकाहीँ ज्यालासम्म नउठ्दा मन खिन्न हुन्छ । दुःख गरेर छोरीलाई स्नातकसम्म पढाएपछि छोरीको बिहे गरिदिएँ ।
बजार गएर बुझेको गोरुको सहायतामा घुमाउने मेसिनलाई २ र जेनेरेटरबाट चल्नेलाई ४ लाख मूल्य भने । अनुदानबाट पाइन्छ कि भनेर घरेलु तथा साना उद्योग कार्यालय, वडा र नगरपालिका पनि धाएँ । चारपटकसम्म निवेदन दिए पनि नपाएपछि निराश भए । कर कार्यालय, उद्योग वाणिज्य संघ, नगरपालिका र घरेलुमा मेरो व्यवसाय दर्ता छ । ढुंगा र माटोले बनेको घरमा बसेर थोरै जमिनमा उखु रोपेको छु ।
वर्षमा ४ लाख जतिको सख्खर बेचे पनि आम्दानी र खर्च बराबरै हुन्छ । सख्खर बनाउने र बेच्ने सिजन सकिएपछि घरखर्च टार्न धौ भइहाल्छ । त्यसैले वर्षका ७ महिना घर बनाउने, भारी बोक्ने र बाटो बनाउने काम गर्न जान्छु । मजदुरी गर्दा दिनको ७ सय रुपैयाँ मिल्छ । ज्यालादारी मिलेन भने साहुँसँग उधारो मागेर सामान ल्याउँछु । त्यो बाँकी पैसा तिर्न फेरि उखु पेलेर सख्खर बनाउने दिन कुरेर बस्छु । दुःखैदुःख भएकाले सुखीले जसरी मन परेको लुगा किनेर लाउन सकिन्न । त्यही दसैंका बेला लुगाफाटो फेर्छौं । नत्र भने पुरानै लुगा धोइपखाली लाउने हो ।
प्रस्तुति : दीपेन्द्र शाक्य
