कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दसैंमा घुम्न जाने ११ गन्तव्य

कञ्चन अधिकारी

काठमाडौँ — पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि दसैं र तिहारमा कार्यालय बिदा हुने भएकोले परिवार तथा साथीभाइसँग घुम्ने चलन त झन् ह्वात्तै बढेको छ । 

दसैंमा घुम्न जाने ११ गन्तव्य

हुन त नेपालमा मात्रै होइन विदेशमा पनि घुम्ने चलन बढेको छ । नेपालमा घुम्ने ठाउँ धेरै छन् । बाह्य मात्रै होइन, नेपालीले नै नेपालका विभिन्न गन्तव्य घुम्न थालेका । तपाईं पनि दसैंको बिदामा नेपाल चिन्न र घुम्न चाहनुहुन्छ भने यी गन्तव्य उपयुक्त हुन सक्छ ।

पोखरा

नेपालको चर्चित घुमफिर गन्तव्यमध्ये पोखरा एक हो । आँखैअगाडि देखिने माछापुच्छ्रे हिमाल, तालै ताल, आकाशमा फनफनी घुमेका प्याराग्लाइडिङ देखेर पोखरा पुगेपछि मनै रोमाञ्चित हुन्छ । यहाँ दसैं मात्रै होइन, अंग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्षमा विदेशी र आन्तरिक पर्यटकको घुइँचो लाग्छ । सफा, सुन्दर र रमणीय यहाँको वातावरणमा तपाईंलाई पनि ४ दिने बिदा छोटो लाग्न सक्छ ।

यहाँको आकर्षण भनेको फेवाताल र बेगनास तालको डुंगा सयर हो । डुंगामा सयर गर्दै प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । यस्तै डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, डा केआई सिंह पुल, सेतो दोभान र अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयलगायतका ठाउँ छन् घुम्नलाई।

सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ । सहासिक खेलमा रमाउनेका लागि सराङकोटबाट गरिने प्याराग्लाइडिङ र जिप फ्लायर पनि अर्को आकर्षण हो । अल्ट्रालाइट उडानबाट हिमालको नजिकै पुग्न सकिन्छ भने केही वर्षयता पोखरामा बञ्जी समेत सञ्चालनमा आएको छ ।

यहाँ पुग्न पर्यटक बस, सार्वजनिक यातायात र हवाइजहाज जुनसुकै माध्यम प्रयोग गर्न सकिन्छ । दसैंको बेला त झन् कतिपय होटलहरुले विशेष अफरहरु ल्याएका छन् । यस्तै, पोखराबाट नजिकैका गन्तव्य धम्पुस, घान्द्रुक लान्द्रुक लगायतका ठाउँ पनि जान सकिन्छ ।

सौराहा

राजधानी काठमाडौंबाट सहज र चाँडै पुग्ने गन्तव्य हो- सौराह । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनका लागि चर्चित रहेको छ । यहाँ वर्षेनी लाखौं स्वदेशी तथा विदेशी पर्यटक घुम्न पुग्छन् । यहाँको मुख्य आकर्षण हात्ती र जिप सफारी हो । हात्ती तथा जीप सफारी गर्दा बाघ, गैंडा, अर्ना, जंगली हात्ती, घडियाल, चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।

यदि तपाईंमा हिँड्ने जाँगर छ र जंगली जनावरसँग त्यति धेरै डर छैन भने जंगल वाक गर्न सकिन्छ । तर यसमा जोखिम भने हुन्छ । सँगै भएका गाइडले भने जंगली जनावरबाट कसरी जोगिने भन्ने तरिका चाहिँ सिकाउँछन् । यस्तै, राप्ती र ढुंग्रे खोलामा गरिने बोटिङले अर्को रोमाञ्चकता थप्छ । यसको अलवा यहाँ थारु कल्चर समेत अवलोकन गर्न सकिन्छ । बेलुकीको सौराह बजार हिँड्न पनि रमाइलो नै हुन्छ ।

यहाँ पुग्न पनि यातायातका साधन सजिलै पाइन्छन् । देशैभरी जताबाट नै आएपनि महेन्द्र राजमार्गको सौराह चोक झरेपछि त्यहाँ टाँगा र अटो चढेर पुग्न सकिन्छ । सौराहामा दसैं/तिहारलाई लक्षित गरेर होटल व्यवसायीहरुले आकर्षक प्याकेज समेत ल्याएका छन् । करिब ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइने छ । यहाँ सामान्य होटलदेखि स्तरीय होटलसम्म सञ्चालनमा रहेका छन् ।

लुम्बिनी

पछिल्लो समय घुमघामको प्रखुख आकर्षणको केन्द्र बन्दै गइरहेको गन्तव्य हो- गौतम बुद्धको जन्मस्थल लुम्बिनी । लुम्बीनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने यो गन्तव्यमा देशैभरका पर्यटक पुग्ने गरेका छन् ।

बुद्धको जन्मस्थलदेखि यहाँ रहेका विभिन्न गुम्बाहरुले पर्यटकको मन खिच्छ । विभिन्न देशरुहले बनाएका गुम्बामा गएर सेल्फी खिच्न तथा टिकटक बनाउन राम्रो ठाउँ छ । यहाँ भएका सबै गुम्बा घुम्ने हो भने दुई दिनको समय छट्याउनु पर्छ । सरसर्ती हेर्दै हिँड्ने हो भने १ दिनमै सकिन्छ ।

यहाँको अर्को आकर्षण भनेको मोटरबोट हो । शान्ति दीप पछाडि रहेको केन्द्रीय नहरमा मोटरबोटिङ गर्न सकिन्छ ।

१.४ किलोमिटर लामो रहेको उक्त नहरमा बोटिङ गर्दा रमाइलै हुन्छ । यहाँ पुग्न यातायातको सहजता छ भने खान र बस्न होटल तथा रेष्टुरेन्ट जत्ति पनि छन् ।

जोमसोम/मुक्तिनाथ

हिमालपारीको जिल्ला मुस्ताङको राजधानी हो- जोमसोम । त्यहीँबाट जाने अर्को गन्तव्य हो- मुक्तिनाथ मन्दिर । वर्षेनी लाखौं हिन्दू र बौद्धधर्मालम्बीहरु मुक्तिनाथ दर्शनको लागि आउँछन् । प्राकृतिक सुन्दरता, शान्त वातावरण रुचाउनेका लागि यो गन्तव्य उपयुक्त हुन्छ । हुन त अहिले मुक्तिनाथसम्मै सवारीसाधन पुग्छन् । तर जोमसोबाट हिँडेर जाँदा भने यात्रा झन् रमाइलो हुन्छ । निलो आकाश र हिमाललाई पृष्ठभूमीमा राखेर फोटो खिच्दा मनै पुलकित हुन्छ ।

तीन रात ४ दिनका लागि उपयुक्त गन्तव्य हो । यदि तपाईंसँग समय छ भने चाहिँ जोमसोमबाट तिलिचो, थोराङ्ला माथिल्लो मुस्ताङ जताको गन्तव्य पनि रोज्न सक्नुहुनेछ । चिसो हुने भएकोले कपडा चाहिँ न्यानो लिएरै जानुपर्छ । असोज र कात्तिकको मौसममा यो महिना पनि त्यहाँ जानका लागि उत्तम मानिन्छ । तेस्रो विश्वका रुपमा हेरिने सुन्दर भ्याली लोमान्थाङ पनि मुस्ताङमै पर्छ ।

घलेगाउँ

लमजुङको घलेगाउँ ग्रामीण पर्यटनका लागि चर्चित छ । बस्न होटल छैनन् होमस्टे छ यहाँ । होमस्टेमा गरिने आतिथ्य सत्कार नै यहाँको मौलिकता हो । बेंसीसहरबाट जिप वा वाइकमा सजिलै पुग्न सकिने घलेगाउँबाट नजिकै हिमाल नियाल्न सकिन्छ । चिसो मौसममा त्यहाँबाट भुजुङ र घनपोखरा जान सकिन्छ ।

घलेहरुको बस्ती रहेको घलेगाउँमा दसैं विदामा भ्रमणका लागि उत्तम गन्तव्य हो । एकपटक घलेगाउँ पुगेको मानिस त्यहाँको प्राकृतिक सुन्दरता, त्यहाँको बस्ती, त्यहाँका मानिसको आतिथ्य सत्कारका कारण जिन्दगीभर भुल्न सक्दैन ।

बन्दीपुर

तनहुँ जिल्लाको पुरानो बजार हो- बन्दीपुर । नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा घुम्न त्यति धेरै ठाउँ त छैनन् । त्यहाँको आकर्षण भनेको प्राकृतिक दृश्यवलोकन नै हो । पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर शान्त भएकोले एकै ठाउँमा बसेर पनि दिन कटाउन सकिन्छ । मुग्लिनबाट पोखरा जाँदा पर्ने डुम्रे बजारबाट ८ किलोमिटरको दूरीमा छ- बन्दीपुर ।

यहाँबाट गोरखाको पालुङटार, तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ । वातावरणका हिसाबले पनि यो ठाउँ उत्तम रहेको छ । दसैं बिदामा बन्दीपुर गएर परिवार तथा साथीभाईसँग मज्जाले रात बिताउन सकिन्छ ।

चित्लाङ/दामन

मकवानपुरको चित्लाङ र दामन पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । राजधानीबाट नजिक छ चित्लाङ । थानकोट गोदमबाट हिँडेर ३ घण्टा र सवारीसाधनमा १ घण्टामै सरर पुग्न सकिन्छ चित्लाङ । यो ठाउँ पनि चिसो र हराभरा भएकोले यहाँ पुगदा जो कोही रोमाञ्चित हुन्छन् । होमस्टेदेखि होटल र रिसोर्ट छन् यहाँ । बाख्रा फारमको हरियो घाँसै ढिस्को र नासपाती बगान यहाँको प्रमुख आकर्षण हुन् ।

यस्तै, चित्लाङबाट कुलेखानी हुँदै जान सकिन्छ दामन । अथवा नौबिसे हुँदै त्रिभुवन राजपथबाट पनि जान सकिन्छ दामन । यहाँ पनि राम्रा राम्रा होटल तथा रिसोर्ट समेत खुलेका छन् । टिस्टुङ उपत्यकाबाट उकालिँदै गएपछिको चिसो सिरेटोले यात्रा नै रमाइलो बनाउँछ । करिब २५ सय मिटर उचाइ भएको दामन बिहानको हिँडाइ, हरियाली वातावरणमा रम्न रमाइलो हुन्छ । अग्लो स्थानमा रहेको दामनबाट सुन्दर हिमाल, वनजंगल, स्थानिय संस्कृतिको अवलोकन गर्न पाइन्छ ।

रामजानकी मन्दिर

धनुषा जिल्लामा रहेको रामजानकी मन्दिरमा पनि पछिल्लो समय घुम्न जानेहरुको लर्को लाग्ने गरेको छ । हिन्दूहरुको प्रमुख धार्मिक गन्तव्यमध्ये एक हो यो मन्दिर ।तर अहिले हिन्दू मात्रै होइनन् विदेशी र आन्तरिक पर्यटक पनि घुम्न पुग्छन् यहाँ । यहाँको मुख्य आकर्षण भनेको कलात्मक मन्दिर नै हो ।

मुगल शैलीको मन्दिर अगाडि बसेर सेल्फी खिच्दा र पोट्रेट तस्बिर लिँदा मन रमाउँछ । पछिल्लो समय स्तरीय होटलहरु खुलिरहेको जनकपुरमा दसैं विदा मनाउनका लागि उत्तम गन्तव्य हुन सक्छ ।

खप्तड

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । यहाँ चारै जिल्लाबाट जान सकिन्छ । तर डोटीको सिलगढीबाट झिग्राना हुँदै चाँडै पुगिन्छ । बस्नको लागि भने समस्या छ । त्यसको लागि त्यहाँ रहेको नेपाली सेनाको कार्यालयसँग समन्वय गर्न सकिन्छ ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पड दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् । खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् ।

लाङटाङ, नाम्चे, अन्नपूर्ण बेसक्याम ट्रेकिङ

दसैंको बेला ४ दिन सरकारी तथा निजी कार्यालयहरु बन्द रहने हुँदा कामको दबाब कसैलाई हुँदैन । यो बेला 'फेस्टिभ मुड' मा हुने भएकोले ४ दिनको ट्रेकिङ पनि गर्न सकिन्छ । यसको लागि काठमाडौंबाट नजिकैको लाङ्टाङ नजिक र छोटो ट्रेकिङ रुट उपयुक्त हुन सक्छ । सुन्दरीजलबाट हिँडाइ सुरु गरेर क्यान्जिङ उपत्यकासम्म पुगेर आउँदा ४ दिन बितेको पत्तै हुन्न । यो रुटमा खान र बस्न मनग्गे होटल छन् ।

हिँड्न रुचाउनेका लागि अर्को रुट भनेको सोलुखुम्बुको लुक्लाबाट नाम्चेसम्म हो । दुईदिन उक्लन र १ दिन ओर्लन समय लाग्छ । फर्केर लुक्ला आएर एकदिन कस्न सकिन्छ । चौथो दिनको दिन काठमाडौं आउन सकिन्छ । हिँड्नका लागि राम्रो बाटो छ भने बस्नका लागि होटलहरु प्रशस्तै छन् । कोभिडका कारण अहिले विदेशी पर्यटक त्यति धेरै नहुने हुँदा आन्तरिक पर्यटकले पनि होटल पाउँछन् अहिले ।

तपाईंसँग १ हप्ताको समय छ भने अन्नपूर्ण आधारशिविर अर्को गन्तव्य हो । पोखराबाट नयाँपुल हुँदै ३ दिनको दिनमा आधारशिविर पुगिन्छ । फटाफट हिड्न सक्नेको लागि ३ दिनमा आधारशिविर पुगिन्छ नत्र भने ४ दिन लाग्न सक्छ । फर्किन भने २ दिनमा सकिन्छ । यो रुट ट्रेकिङको लागि चर्चित भएकोले खान र बस्न समस्या हुँदैन । तर होटलमा खाना भने महँगो छ ।

कन्याम

इलामको सूर्योदय नगरपालिकामा अवस्थित कन्याम नेपालको पूर्वी क्षेत्र घुम्‍नै पर्ने क्षेत्र हो । यहाँ चियाबारी, घोडचढी र मनोरम दृश्वालोकनका लागि पर्यटकहरु आउने गर्छन् । वनभोजका लागि पनि कन्याम उपयुक्त गन्तव्य हो ।

झापाको चारआली हुँदै कन्याम पुग्न सकिन्छ । यहाँ खान र बस्नलाई होटल तथा रिसोर्ट छन् । खासगरी नवविवाहित जोडीका लागि कन्याम घुमाइ राम्रो मानिन्छ । कन्याम हुँदै श्रीअन्तु, पशुपतिनगर, ताप्लेजुङको पाथीभरा पनि जान सकिन्छ ।कतिपय यात्री यतैबाट भारतको दार्जिलिङ, सिक्किमसम्म पुग्छन् ।

यी गन्तव्य बाहेक नेपालका हरेक ठाउँ घुम्नको लागि उपयुक्त छ । परिवार, आफ्ना दमाली, साथीसंगीसँग दसैंमा आफ्नै गाउँठाउँ र डाँडापाखामा घुम्न सकिन्छ ।

प्रकाशित : आश्विन २६, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?