मूर्तिकारहरूले जंगलमा फ्यालिएका जराहरूमा हात्ती, गैंडा, चरा, सर्पदेखि देवीदेवतासम्मका आकृति तयार गरी वन संरक्षण र पर्यापर्यटन जोड्ने प्रयास गरेका छन्।
चितवन — जंगलभित्र त्यसै मिल्केका रूखका जरा बटुलेर चितवनको भरतपुर महानगरपालिका–६ स्थित नवज्योति मध्यवर्ती सामुदायिक वनले कलात्मक आकृति कुदेको छ । वनको कार्यालय परिसरको खुला ठाउँमा पार्क बनाएर ती आकृतिहरू राखेको वन समितिका अध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए ।
जराहरूलाई मूर्तिकारहरू जंगबहादुर थापा मगर, विकास थापा मगर, राकेश श्रेष्ठ र अमृत पुन मगरले कलात्मक रूप दिएका हुन् ।
जराहरूमा कुनैमा हात्ती, गैंडा अटाएका छन् भने सर्पदेखि चरा र भगवानका आकृतिहरू पनि समावेश छन् । 'जंगलभित्र त्यसै मिल्केका जराहरूमा यी आकृति तयार गर्नुको उद्देश्य यसलाई हेरेर मान्छेमा जीवजनावरप्रति उत्सुकता बढोस् भन्ने पनि हो,' अध्यक्ष तिमिल्सिनाले भने । यसबाट संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ ।
वनलाई पर्यापर्यटनसँग जोड्न 'जरा पार्क' बनाएर राख्नका लागि खेर जाने वन स्रोतको सदुपयोग गरेको उनको भनाइ छ । सदरमुकाम भरतपुरदेखि लगभग १० किलोमिटर दक्षिण भरतपुर चक्रपथको गोन्द्राङ–छितामाई खण्डको आडमै छ यो सामुदायिक वन । वनको क्षेत्रफल निकै थोरै, जम्मा ४६ हेक्टर छ । ३० वर्षअघि समुदायले संरक्षण गर्दै आएको यो वन २०५८ सालमा दर्ता भएको हो ।
वनका आठ सय घरधुरी उपभोक्ता छन् । बरण्डाभार क्षेत्रमा रहेका कारण वन क्षेत्र निकै संवेदनशील छ । बरण्डाभार वन चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारतसँग जोड्ने महत्त्वपूर्ण जैविक मार्ग हो । वनको संवेदनशीलतालाई ख्याल राख्दै पर्यापर्यटनका गतिविधि बढाउनुपर्ने भएका कारण 'जरा पार्क'को सोच बनाएको अध्यक्ष तिमिल्सिनाले बताए ।
